
News Summary
Generated by OK AI. Editorially reviewed.- केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता व्यवस्थापन गर्न दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग बढाएको हो।
- अन्तरबैंक ब्याजदर घटेपछि केन्द्रीय बैंकले ब्याजदर करिडोरको सीमा कायम राख्न निक्षेप संकलन उपकरण प्रयोग गरेको हो।
- पछिल्लो दिनमा अन्तरबैंक दर २.७५ प्रतिशतसम्म झरेपछि केन्द्रीय बैंकले ६३ दिनको निक्षेप संकलन गरेको हो।
२५ असार, काठमाडौं । वित्तीय प्रणाली अधिक तरलता भएपछि अन्तरबैंक ब्याजदर तोकिएको सीमाभन्दा तल आएको छ । अन्तरबैंक दर घटेपछि त्यसलाई बढाउन केन्द्रीय बैंकले दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग बढाएको हो ।
यसै साता आइतबार ४५ अर्बको दीर्घकालीन निक्षेप संकलन गरेको केन्द्रीय बैंकले बुधबार पुन: ४० अर्बको निक्षेप संकलन उपकरण प्रयोग गरेको हो ।
अन्तरबैंक ब्याजदर वित्तीय प्रणालीको तरलताका आधारमा घट्ने र बढ्ने गर्छ । पछिल्लो समय रेमिट्यान्स आप्रवाहमा भएको सुधार तथा निर्यात वृद्धिका कारण वित्तीय प्रणालीमा अधिक तरलताको समस्या छ ।
साथै, आर्थिक वर्षको अन्तिम महिना भएका कारण कर्जा लगानीभन्दा असुली बढेपछि वित्तीय प्रणालीको तरलता झनै बढेको अवस्था छ ।
प्रणालीमा बढेको तरलताका कारण पछिल्ला दिनमा अन्तरबैंक दर ३ प्रतिशतभन्दा तल आएको अवस्था छ । केन्द्रीय बैंकले ब्याजदरको उतारचढावलाई निश्चित सीमाभित्र राख्न ब्याजदर करिडोर लागु गरेको छ । करिडोर अनुसार तल्लो सीमा स्थायी निक्षेप सुविधाको ब्याजदर अर्थात् ३ प्रतिशत तोकेको छ ।
त्यसैगरी माथिल्लो सीमा स्थायी तरलता सुविधा दर अर्थात् ६.५ प्रतिशत तोकेको छ । केन्द्रीय बैंकले न्यून तरलता भएको अवस्थामा प्रणालीमा पैसा पठाउँदा स्थायी तरलता सुविधा प्रयोग गर्छ । त्यसैगरी अधिक तरलता खिच्न स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरण प्रयोग गर्छ ।
पछिल्लो समय स्थायी निक्षेपले मात्र वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन नभएपछि केन्द्रीय बैंकले दीर्घकालीन निक्षेप उपकरण प्रयोग बढाएको हो ।
स्थायी निक्षेप मार्फत प्रणालीको पैसा २ देखि ३ दिनसम्म मात्र केन्द्रीय बैंकमा होल्ड हुन्छ । त्यसले अधिक तरलता व्यवस्थापन नभएपछि ६३ दिनसम्मको निक्षेप संकलन उपकरण बोलकबोल गर्न थालेको हो ।
वित्तीय प्रणालीको अधिक तरलता दीर्घकालका लागि केन्द्रीय बैंकमा होल्ड हुँदा अन्तरबैंक ब्याजदर समेत स्थिर हुने भएकाले निक्षेप संकलन उपकरण प्रयोग बढाएको हो ।
आइतबार ४२ दिनका लागि ४५ अर्ब निक्षेप संकलन गरेको केन्द्रीय बैंकले बुधबार पुन: ६३ दिन अवधिका लागि ४० अर्ब रुपैयाँ बराबर संकलन गरेको छ ।
केन्द्रीय बैंकले अन्तरबैंक दर ब्याजदर करिडोरको तल्लो सीमाभन्दा थोरै भए पनि त्यसलाई बढाउन निक्षेप संकलन उपकरण प्रयोग बढाएको हो । पछिल्ला दिन अन्तरबैंक दर २.७५ प्रतिशतसम्म झरेको केन्द्रीय बैंकले जनाएको छ ।
केन्द्रीय बैंकले अल्पकालीन ब्याजदरलाई करिडोरको सीमाभित्र राख्न अन्तरबैंक दरलाई आधार बनाएको छ । अन्तरबैंक दर तल्लो सीमाभन्दा माथि गए स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरण मार्फत पैसा खिच्ने काम गर्छ ।
त्यसैगरी केन्द्रीय बैंकले तरलता अभाव भई अन्तरबैंक दर माथिल्लो सीमाभन्दा माथि गएको खण्डमा स्थायी तरलता सुविधा मार्फत बजारमा पैसा पठाउँछ । करिडोरलाई प्रभावकारी बनाउन अल्पकालीन ब्याजदर र तरलता व्यवस्थापन गर्ने काम गर्छ ।
निक्षेप संकलन उपकरण प्रयोग बढाएसँगै ब्याजदर पनि बढेको छ । आइतबारको निक्षेप संकलन उपकरणको औसत भारित ब्याजदर ३ प्रतिशत पुगेको छ ।
मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाको ५ खर्ब ८० अर्ब रुपैयाँ केन्द्रीय बैंकमा छ । उक्त रकममध्ये निक्षेप संकलन उपकरण मार्फत खिचेको ३ खर्ब ४५ अर्ब हो भने स्थायी निक्षेप सुविधाको २ खर्ब ३५ अर्ब हो ।
प्रतिक्रिया 4