
२५ असार, धनगढी । कैलालीस्थित गोदावरी नदीको टापुमा फसेका ६ जनाको उद्धार गरिएको छ । गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीमा एक्कासी बाढी आएपछि फसेका ६ जनालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
उद्धार गरिएकामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ बस्ने ६५ वर्षीय पल्लु सार्की, ६५ वर्षीया भागेश्वरी सार्की, ३५ वर्षीय विकट सार्की, १२ वर्षीय योगेश सार्की, ३५ वर्षीय बिर सार्की र वेदकोट नगरपालिका–७ बस्ने २८ वर्षीय अब्दुल सार्की रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले जानकारी दिए ।
उनका अनुसार श्राद्ध गर्न गोदावरी नदीमा पुगेका बेला एक्कासी बाढी आएपछि उनीहरु टापुमा फसेका थिए । बाढीमा फसेको सूचना प्राप्त भएपछि कैलालीका प्रमुख जिल्ला अधिकारी इन्जिनियर गोगनबहादुर हमाल उद्धार टोलीसहित त्यहाँ पुगेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उनीहरुको उद्धार गरेको थियो । उनीहरुसँगै गोदावरी नगरपालिकाका मेयर विरेन्द्र भट्ट पनि त्यहाँ पुगेका थिए ।
अहिले वर्षातका कारण बाढी, पहिरो जस्ता प्राकृतिक विपद्ले धनजनको क्षति हुनसक्ने कुरालाई ख्याल गर्दै सुरक्षित रुपमा बस्न स्थानीय प्रशासनले अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया 4