
News Summary
Generated by OK AI. Editorially reviewed.- संजय कुमार मेहता लाई ललितपुर महानगरपालिकाको नगर प्रहरी कार्यालय नजिकै कुकुरमाथि निर्घात कुटपिट गरेको आरोपमा पक्राउ गरिएको छ।
- स्नेहा केयरले घाइते कुकुरको उपचार गरेपछि जाहेरी दर्ता गराएको र प्रहरीले अनुसन्धान गरिरहेको छ।
- मुलुकी अपराध संहिता २०७४ अनुसार पशु क्रूरतामा तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँ जरिवाना हुन सक्छ।
काठमाडौं । ललितपुर महानगरपालिकाको नगर प्रहरी कार्यालय नजिकै कुकुरमाथि निर्घात कुटपिट गर्ने व्यक्ति प्रक्राउ परेका छन् । संजय कुमार मेहता नामक व्यक्तिले अन्धधुन्ध रड प्रयोग गरी एक कुकुरलाई कुटपिट गरेका हुन् ।
ललितपुर महानगरपालिकाको नगर प्रहरीले घाइते कुकुरलाई उद्धार गर्नका लागि स्नेहा केयरलाई फोन गरेपछि कुकुरलाई उपचारका लागि सेल्टरमा पठाएको स्नेहाज केयरकी सञ्चालक स्नेहा श्रेष्ठले जानकारी दिइन् ।
घटनापछि स्नेहा केयरले जाहेरी दर्ता गर्न खोज्दा सुरुमा प्रहरीले जाहेरीको सट्टा निवेदन दर्ता गर्न सुझाएको थियो । अधिवक्ता पदम बहादुर श्रेष्ठलाई उजुरी लेख्न लगाएपछि जाहेरी दर्ता गरिएको छ । ‘प्रहरीले आरोपीलाई उपचार खर्च बेहोर्ने शर्तमा छाड्ने प्रस्ताव राखे पनि हामीले त्यसलाई अस्वीकार गर्दै कानुनी कारबाहीको माग गर्यौ’ स्नेहाले भनिन् ।
प्रहरी हिरासतमा रहेका मेहतामाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका छन् ।
‘यो केवल कुकुरमाथिको आक्रमण मात्र होइन, यो पशु क्रूरताको ज्वलन्त उदाहरण हो’ स्नेहा भन्छिन्, ‘यदि यस्तो व्यवहार मानवमाथि भएको भए समाजले यति सजिलै स्वीकार गर्ने थिएन । हामी यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउन प्रतिबद्ध छौ।’
के हुन्छ सजाय ?
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ मा पशुपक्षी सम्बन्धी कसुरको व्यवस्था छ । संहिताको दफा २९० मा ‘कसैले कुनै पशुपक्षीलाई कुटी, हिर्काइ वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाउनु दण्डनीय हुने यसमा उल्लेख छ । साथै सामर्थ्य भन्दा बढी दौडाइ वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकालाई काममा लगाई वा हानिकारक वस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन नपाइने पनि कानुनी व्यवस्था छ । आफूले पालेको पशुपक्षी रोगी वा वृद्ध भएका कारणले सार्वजनिक रूपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रूर व्यवहार गर्न नहुने यस परिच्छेदमा उल्लेख छ ।
उक्त कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । संहिताको दफा २८९ मा त्यस्ता पशु मारेमा तीन वर्षसम्म कैदको व्यवस्था छ । अंगभंग गराएमा ६ महिनासम्म कैद हुन्छ ।
प्रतिक्रिया 4