
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पत्रकार मञ्चले सञ्चारकर्मीको असुरक्षा सामना गर्न क्षमता विकास तालिम सञ्चालन गर्ने निर्णय गर्यो।
- तालिममा प्रविधि, सामाजिक सञ्जाल र स्रोताको रुचि विषयहरू समावेश हुनेछन्।
- मञ्चले २ लाख रुपैयाँको स्वास्थ्य कोष स्थापना गरी सदस्यहरूको स्वास्थ्योपचारमा मद्दत गर्ने योजना बनाएको छ।
२५ असार, काठमाडौँ । ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ का कारण सञ्चारकर्मीले भोग्नु परेको शारीरिक, मानसिक र पेशागत असुरक्षा सामना गर्न नेपाल पत्रकार मञ्चले क्षमता विकास तालिम सञ्चालन गर्ने निर्णय गरेको छ ।
मंगलबार काठमाडौँमा बसेको केन्द्रीय समितिको बैठकले तालिम सञ्चालन गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष युवराज विद्रोहीले जानकारी दिए ।
अध्यक्ष विद्रोहीका अनुसार प्रविधिसँग बदलिएका सञ्चार माध्यमको अवस्था, दर्शक, पाठक तथा स्रोताहरूको रुचि, सामाजिक सञ्जालले निम्त्याएका अवसर र चुनौती जस्ता विषय तालिममा समावेश हुनेछन् ।
यी पक्षलाई विश्लेषण गर्दै सम्भावित दृष्टिकोण निर्माण गरी परिस्थितिजन्य द्वन्द्वमा बिचलित नभई पेशागत धर्म कसरी निभाउने भन्नेबारे भन्नेमा तालिम केन्द्रित रहने अध्यक्ष विद्रोहीले बताए ।
‘आर्थिक, सामाजिक र राजनीतिक कारण व्यक्ति र समाजमा बढ्दो द्वन्द्वबाट पत्रकारहरु जोखिममा छन्’ विद्रोहीले भने, ‘यो जोखिमबाट पत्रकारलाई बचाउन सके मात्र पत्रकारिता बचाउन सकिन्छ ।’
मञ्चले २ लाख रुपैयाँबाट स्वास्थ्य कोष स्थापना गर्ने र सदस्यहरुको स्वास्थ्योपचारमा मद्दत गर्ने निर्णय पनि गरेको छ ।
नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य मनुका कुँवरले, कन्फ्लिक्ट अफ इन्ट्रेस र यसको सामना गर्ने विधि पत्रकारहरूले जान्नु आवश्यक भएको बताइन् ।
मञ्चले आफ्ना सदस्य, एशोशियट संघसंस्थाका सदस्यलाई प्राथमिकतामा राखेर क्षमता विकास गर्दै लैजाने योजना बनाएको छ ।
प्रतिक्रिया 4