+
+
Shares

‘एआईको युगमा हुर्किरहेका जेनजीलाई के पढाउने, कसरी पढाउने ?

गोपाल भण्डारी गोपाल भण्डारी
२०८२ असार २६ गते १०:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखक भण्डारीले पुरातन शिक्षाको प्रणालीले अब काम नगर्ने र विद्यार्थीलाई जीवनका लागि तयार पार्नुपर्ने बताए ।
  • जेभियर इन्टरनेशल कलेजले अन्तर्राष्ट्रिय ब्याकलोरिएट फ्रेमवर्क अपनाएर वैश्विक स्तरको शिक्षण प्रणाली विकास गरिरहेको छ।
  • विद्यालयले विविध विद्यार्थीलाई समेटेर सहकार्य, सम्मान र जीवनोपयोगी सीप सिकाउने वातावरण निर्माण गरेको छ।

हामी जुन पुरातन शिक्षाबाट आयौं, त्यसको ‘म्याद गुज्रिएको’ छ । पहिले जस्तै विद्यार्थीलाई एउटा कक्षाकोठामा बन्द गरेर ६–७ घण्टासम्म एकोहोरो पाठ घोकाउने प्रणालीले अब काम गर्दैन । किनभने विद्यार्थीलाई परीक्षाका लागि होइन, जीवनका लागि तयारी गराउनुपर्छ ।

विद्यालय अब आफैंमा एक सानो समाज हो । यस्तो समाज, जहाँ थरीथरीका विद्यार्थी भेला हुन्छन् । खेल्छन्, रमाउँछन् । एकअर्कालाई चिन्छन्, एकअर्काबाट सिक्छन् । सहयोग आदानप्रदान गर्छन् । आफ्नो रुचि र लक्ष्य पहिल्याउँछन् ।

उनीहरूको रुचि केमा छ ? क्षमता कस्तो छ ? लक्ष्य के छ ? सोही अनुसार विद्यालयले अनुकूल वातावरण मिलाइदिन्छ । यस्तो वातावरण, जहाँ उनीहरू स्वच्छन्द रूपले आफ्नो कला–प्रतिभा निखार्न सक्छन् । कसैले आफूलाई खेलकुदमा लगाउन सक्छ, कसैले कला–साहित्यमा । कसैले आफूलाई प्रविधिमा पोख्त बनाउन सक्छ, कसैले व्यवस्थापनमा । सबैले पढेर ‘टपर’ बन्नुपर्छ भन्ने छैन ।

हरेक विद्यार्थी आफैंमा विशेष हुन्छन् र हरेकको आ-आफ्नै खुबी हुन्छ । उनीहरूको खुबी के हो  ? त्यही अनुसार समुचित शिक्षा दिने व्यवस्था अहिलेको आवश्यकता हो ।

अब कक्षाकोठामा विद्यार्थीले किताब मात्र पढ्दैन, आफ्ना सहपाठीसँग सहकार्य गर्दै अगाडि बढ्न सिक्छन् । अब कक्षाकोठामा शिक्षकले पढाउने काम मात्र गर्दैन, सहजीकरण गरिदिन्छन् । अहिले हामीले अभ्यास गरिरहेको शैक्षिक विधि यही हो ।

हामी पढाईमा धुरन्धर, टप्पर विद्यार्थीलाई मात्र भर्ना गर्दैनौं । सबैखालका विद्यार्थीलाई आमन्त्रण गर्छौं । विद्यार्थीको विविधता नै हाम्रो कक्षाकोठाको सुन्दरता हो ।

चाहे दृष्टिविहीन होस् वा विशेष क्षमता भएका । चिनियाँ मुलका होस् वा नेपाली । हरेक किसिमका विद्यार्थी हामीसँग हुनेछन् । किनकि हामी विद्यालयलाई  विद्यालय मात्र होइन, सानो समाजको रूपमा निर्माण गर्न चाहन्छौं । त्यसैले हाम्रो विद्यालयमा विद्यार्थीले कसरी बाँच्ने, कस्तो व्यवहार गर्ने, कसरी सौहार्द्र सम्बन्ध स्थापना गर्ने भन्ने कुरा आफै अनुभव गरेर सिक्छन् । केवल किताबको पाठ पढेर होइन ।

किताब वा पाठ्यक्रम भनेको एउटा आधार मात्र हो । त्यो सम्पूर्ण र परिपूर्ण होइन । कुनैपनि जानकारी लिन, ज्ञान आर्जन गर्न किताब मात्र भर पर्ने बाध्यता छैन । आज विद्यार्थीले कुनैपनि कुरा चुड्किनै भरमा थाहा पाउन सक्छन् ।

किनभने एआईको युगमा हुर्किरहेका स्मार्ट पुस्तालाई हामीले उहिलेकै ढंगले पढाएर हुँदैन । बरु उनीहरूलाई त विश्वभरका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्ने र विश्वको जुनसुकै कुनामा पुगेर पनि आफूलाई सक्षम तुल्याउन सक्ने बनाउनुछ ।

विश्वको समाजभन्दा हामी एक हजार किलोमिटर पछाडि छौं । उनीहरूसँगै चाल मिलाउनका लागि हामीसँग दुईवटा विकल्प बाँकी हुन्छ । या त उनीहरूलाई रोक्नुपर्छ । या त हाम्रो गति बढाउनुपर्छ । पहिलो कुरा सम्भव छैन ।

त्यसैले हामीले विश्वको समाजसँगै अगाडि बढ्न हाम्रो “स्पिड” बढाउनुपर्छ ।

यसका लागि हाम्रो शिक्षण प्रणाली वैश्विक स्तरको बनाउन जरूरी हुन्छ । त्यस अनुसार हामी आईबी स्कूल (इन्टरनेशनल बकलोरिएट) लाई अपनाउने तयारीमा छौं । यो भनेको कुनै पाठ्यक्रम होइन, फ्रेमवर्क हो । यस फ्रेमभित्र हामीले आफ्नो पाठ्यक्रम, पठन विधि, कक्षाकोठालाई राख्नुपर्ने हुन्छ । यसरी राखेपछि हामीले वैश्विक स्तरमा योग्य जनशक्ति उत्पादन गर्न सक्छौं ।

यस अन्तर्गत सानै उमेरदेखि बालबालिकालाई आत्मनिर्भर बन्न, आफ्नै अनुभवबाट सिक्न, आफ्नो लक्ष्य निर्धारण गर्न अभ्यस्त गराइन्छ। सबैलाई सम्मान गर्न, सबैसँग मिलजुली बस्न, छलकपट नगर्न सिकाइन्छ। मूल्यमा आधारित रहन, जातपातमा भेद नगर्ने, सबै संस्कृतिलाई सम्मान गर्ने अभ्यास विद्यालयमै हुन्छ ।

निर्धारित अवधिमा आफूले सिकेको, जानेको कुरा देखाउनुपर्ने अर्थात् प्रदर्शनी गर्नुपर्ने । त्यसमा आफ्ना अभिभावकलाई पनि सहभागी गराउनुपर्ने । सरोकारवालालाई देखाउनुपर्ने । अन्तर्क्रियात्मक किसिमको सिकाइ जरूरी हुन्छ ।

यो फ्रेमवर्कभित्र रहनका लागि विद्यार्थीले रिसर्चमा आधारित रहेर पढ्नुपर्ने हुन्छ । आफ्नो अभ्यास र प्रयोगबाट धेरै कुरा सिक्नुपर्ने हुन्छ । यसरी सिकेका कुरा जीवनोपयोगी हुनुपर्छ ।

रोचक कुरा के छ भने, यसले एआई (आर्टिफिशियल इन्टेलिजेन्स) ग्रहण गरिसकेको छ । यसले विद्यार्थीलाई सहज, छरितो र द्रुत ढंगको शैक्षिक प्रणालीमा पुर्याउँछ। परम्परागत शिक्षामा जस्तो “म्यानुअल” कामले अब पार लगाउँदैन । खेत खन्नका लागि कुटो–कोदालो बोक्ने कि ट्र्याक्टर लैजाने? हामीसँग यतिबेला विकल्प छन् ।

अब मान्छेको काम भनेको अवधारणा बनाउने हो । त्यसैले एआईलाई ग्रहण गरिसकेपछि शिक्षकहरूको जुन शारीरिक काम छ, त्यो बचत हुन्छ । अतः उनीहरू आफ्नो वृद्धि–विकासमा लाग्छन् ।

हामीले समयसँगै दौडनका लागि त्यही किसिमको पूर्वाधार बनाएका छौं । शिक्षक–शिक्षिकालाई त्यही अनुरूप तयार गरिरहेका छौं । आधुनिक विश्वले अभ्यास गरिरहेको शिक्षालाई नेपाली परिवेशमा ढाल्न खोजिरहेका छौं। हाम्रो उद्देश्य यति मात्र होइन कि, जेभियोबाट शैक्षिक रूपमा अब्बल विद्यार्थी मात्र उत्पादन गरौं। बरु एउटा असल र उन्नत समाजका लागि जग तयार गर्न सकौं ।

हामीकहाँ पढेर गएका विद्यार्थीसँग आफ्नै किसिमको सीप र दक्षता हुनेछ । त्यसलाई बुद्धिमत्ता ढंगले प्रयोग गर्ने खुबी हुनेछ । समाजसँग सौहार्द्र सम्बन्ध स्थापना गर्ने गुण हुनेछ। सधैं सकारात्मक, उत्साहित र अग्रसर बन्ने प्रवृत्ति हुनेछ । उनीहरूसँग केवल शैक्षिक योग्यताको प्रमाणपत्र मात्र हुने छैन ।

अहिले मान्छेले पढेका छन्, डिग्री लिएका छन् । त्यही मान्छे समाजमा भेदभाव गर्दै हिँड्छन्, भ्रष्टाचार गर्दै हिँड्छन्, बलत्कार गर्दै हिँड्छन् । यस किसिमको विकारबाट मुक्त समाज निर्माण गर्नपनि हामीले शैक्षिक प्रणाली बदल्न जरूरी भएको हो ।

हाम्रो समाजमा झमकुमारी घिमिरे छिन्, स्टिफन हकिंग छन् । यिनीहरूलाई कतै कोठामा थुनेर राखिएको छ, कतै साङ्लाले बाँधेर । हामी यी सबैलाई एकसमान कक्षाकोठामा आमन्त्रण गर्छौं । सौहार्द्रपूर्ण वातावरण बनाइदिन्छौं । चाहे त्यो दृष्टिविहीन होस् वा डाउन सिन्ड्रोम भएका ।

सन् २००१ मा हामीले शैक्षिक संस्था सुरु गरिरहँदा अवस्था यस्तो थिएन । २००३ तिर कमलपोखरीमा हामीले कक्षा ६ सम्मको विद्यालय सुरु गरेका थियौं । त्यसपछि कालोपुलमा आएर माध्यमिक तह बनाइयो । यहाँ अहिले उमावि र ए लेभल सञ्चालन भइरहेको छ । अहिले मन्टेश्वरीदेखि स्नातकोत्तरसम्मको कार्यक्रम हामी सञ्चालन गरिरहेका छौं ।

यो शैक्षिक फैलावटसँगै हामीले आफूलाई पनि परिमार्जन गर्दै लगेका छौं । हिजो पठनपाठनका लागि मात्र सुरु गरेको हाम्रो शैक्षिक संस्था अब विश्वस्तरीय शिक्षा प्रदान गर्ने ठाउँ भएको छ। यसलाई हामी एआईको युगमा हुर्किरहेका पुस्तकाका लागि सही मार्गदर्शन दिने माध्यम बनाउने यत्नमा छौं ।

(लेखक भण्डारी जेभियर इन्टरनेशल कलेजका सिईओ हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?