
२६ असार, गुल्मी । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले तीन जना कृषकलाई सम्मानित गरेको छ ।
धुर्कोट गाउँपालिका वडानम्बर–६ का अर्याल पशुपंक्षी फार्मका सञ्चालक मेघनाथ अर्याल, इस्मा गाउँपालिका वडानम्बर–३ का ग्यालेक्सी कृषि फार्मका गोकर्ण नेपाली र गुल्मीदरबार गाउँपालिका वडानम्बर–रेसुङ्गा एग्रो एण्ड रिर्चस फार्म विशाल थापालाई सम्मान गरिएको हो ।
यी कृषकहरु मध्ये नेपालीलाई सर्वोकृष्ठ, अर्याल र थापालाई उत्कृष्ठ कृषकको रुपमा नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्णबहादुर खत्रीले उनीहरुलाई नगद र प्रमाणपत्रले सम्मान गरे ।
बाख्रा पालन, भैंसी पालन, घाँस खेती र पशुपालन विधामा मिहिनेतको कदर गर्दै सम्मान गरिएको हो ।
सम्मानित हुने कृषकहरुमा गोकर्ण नेपालीले १२० रोपनी क्षेत्रफलमा घाँस खेती र नर्सरी उत्पादन गर्दै आएका छन् ।
उनले कृषि क्षेत्रमा नवीनतम प्रविधिहरू र परम्परागत पद्धतिहरूलाई सँगै ल्याएर कृषि कर्म गर्दै उत्पादनशक्ति र दक्षतामा उल्लेखनीय वृद्धि गरेका छन् ।
उनको मेहनत र समर्पणले गाउँका अन्य कृषकहरूलाई पनि प्रेरित गरेको छ ।
त्यस्तै मेघनाथ अर्यालले ३५ वटा भैंसी पालेर प्रतिदिन १०० लिटर दूध उत्पादन गर्दै स्थानीय बजारमा बिक्री गर्दै आएका छन् ।
शहरको सुख छोडेर गाउँमै करोडौं लगानी लगाएर भैंसीपालनसँगै कृषि कर्म समेत गर्दै आएका छन् ।
कृषक बिशाल थापाले १५० वटा विभिन्न जातका बाख्रा पालन गर्दै आएका छन् । थापाले बाख्रा पालनको क्षेत्रमा नयाँ सम्भावनाहरू खोल्दै कृषकहरूलाई थप जानकारी र तालिम प्रदान गर्दै आएका छन् ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाभरिका कृषकहरूलाई सम्मानित गर्न आवेदन माग गरेको थियो ।
उक्त आवेदनका आधारमा बाख्रा पालन, भैंसी पालन, घाँस खेती र पशुपालन विधामा उत्कृष्ठ योगदान पुर्याएका कृषकहरूको चयन गरिएको कार्यालयका प्रमुख हुमाकान्त पाण्डेले बताए ।
प्रतिक्रिया 4