
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले आगामी आर्थिक वर्षदेखि कर्जाको ब्याजदर वाणिज्य बैंकको औसत आधार दरमा ९ प्रतिशत विन्दु थपेर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ।
- लघुवित्तले आफ्ना ग्राहकसँग कर्जामा लिने ब्याजदर आफ्नो आधार दरमा बढीमा ३ प्रतिशत विन्दुसम्म प्रिमियम थप गरी त्रैमासिक रूपमा निर्धारण गर्नुपर्नेछ।
- लघुवित्तले मासिक आधार दर तयार गरी केन्द्रीय बैंकमा पेश गर्नुपर्नेछ र कर्जा प्रस्ताव पत्रमा आधार दरमा थप गर्ने प्रिमियम दर स्पष्ट उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।
२६ असार, काठमाडौं । लघुवित्त वित्तीय संस्थाले आगामी आर्थिक वर्ष देखि कर्जाको ब्याजदर निर्धारण गर्दा वाणिज्य बैंकको औसत ‘आधार दर’ लाई मूख्य आधार बनाउनु पर्ने भएको छ ।
लघुवित्तले वाणिज्य बैंकको औसत आधार दरमा ९ प्रतिशत विन्दु थप गरेर ब्याजदर कायम गर्नु पर्ने भएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार लघुवित्तहरुलाई हालसम्म प्रवाह भएको तथा बक्यौता ब्याजमा १५ प्रतिशत नै लिनु पर्नेछ । तर, नयाँ कर्जा दिँदा आधार प्लस ३ प्रतिशत प्रिमियम अर्थात् वाणिज्य बैंकहरुको पछिल्लो महिनाको औसत आधार दरमा ९ प्रतिशत विन्दु जोडेर कायम गर्न पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
केन्द्रीय बैंकका अनुसार लघुवित्त वित्तीय संस्थाहरुले साउन आगामी १ भन्दा अगाडि प्रवाह गरेको तथा हाल बक्यौता रहेको कर्जाको हकमा आफ्ना ग्राहकसँग लिने ब्याजदर अधिकतम् १५ प्रतिशतसम्म निर्धारण गर्न सक्ने छन् ।
तर, नयाँ आर्थिक वर्ष सुरु भएपछि प्रवाह हुने कर्जामा ‘आधार दर’सँग आबद्ध गरी तय गर्नु पर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
लघुवित्त वित्तीय संस्थाहरुले आफ्ना ग्राहकसँग कर्जामा लिने ब्याजदर आफ्नो आधार दरमा बढीमा ३ प्रतिशत विन्दुसम्म प्रिमियम थप गरी त्रयमास रुपमा निर्धारण गर्नु पर्नेछ ।
ब्याजदर निर्धारण गर्दा लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो पछिल्लो तीन महिनाको प्रकाशित औसत आधार दरमा प्रिमियम थप गरी निर्धारण गर्नु पर्ने ब्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
तर, लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहकसँग कर्जामा लिने ब्याजदर निर्धारण गर्दा केन्द्रीय बैंकबाट प्रकाशित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ मा उल्लेख भएबमोजिम वाणिज्य बैंकहरुको पछिल्लो मासिक औसत आधार दरमा ९ प्रतिशत विन्दु थप गर्दा हुन आउने दरभन्दा बढी हुने गरी कर्जाको ब्याजदर निर्धारण गर्न पाइने छैन ।
लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो आधार दरमा बढीमा ३ प्रतिशत विन्दुसम्म प्रिमियम थप गर्दा हुनआउने ब्याजदर र यस बैंकबाट प्रकाशित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख भएबमोजिम वाणिज्य बैंकहरुको पछिल्लो मासिक औसत आधार दरमा ९ प्रतिशत विन्दु थप गर्दा हुन आउने ब्याजदरमध्ये जुन कम हुन्छ सो दरको सीमा भित्र रही आफ्ना ग्राहकसँग कर्जामा लिने ब्याजदर निर्धारण गर्नु पर्नेछ ।
लघुवित्त वित्तीय संस्थाले मासिक रुपले आधार दर तयार गरी महिना समाप्त भएको १५ दिनभित्र केन्द्रीय बैंकमा पेश गर्नुपर्ने छ । साथै, आधार दर मासिक रुपमा आफ्नो वेबसाइटमा समेत प्रकाशन गर्नु पर्ने व्यवस्था गरिएको छ ।
आगामी त्रयमासका लागि कर्जा तथा सापटमा लागू हुने ब्याजदर सम्बन्धी सूचना त्रयमास शुरु हुनु पूर्व आफ्नो वेबसाइट तथा शाखा कार्यलयहरुमा प्रकाशित गरिसक्नुपर्नेछ । ब्याजदर प्रकाशन गर्दा कर्जा शीर्षक अनुसार आधार दरमा थप गरिने प्रिमियम दर स्पष्ट रुपमा उल्लेख गर्नु पर्नेछ । साथै, आगामी त्रयमासको लागि कर्जा तथा सापटमा लागू हुने ब्याजदर आफ्ना ग्राहकलाई जानकारी गराउनु पर्नेछ ।
कर्जा प्रवाह गर्दा ऋणीसँग गरिने सम्झौतामा वार्षिक पेनाल/हर्जाना ब्याजदर २ प्रतिशत भन्दा बढी नहुने गरी उल्लेख गर्नु पर्नेछ । पेनाल/हर्जाना ब्याज गणना गर्दा म्याद नाघेको किस्ताको साँवा रकममा वार्षिक पेनाल ब्याजदरले विलम्ब भएको समयावधिका लागि कायम हुन आउने रकमभन्दा बढी लिन र पेनाल ब्याजमा ब्याज लाग्ने गरी रकम असुल उपर गर्न नपाइने समेत केन्द्रीय बैंकले व्यवस्था गरेको छ ।
त्यसैगरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा आधार दरमा थप गर्ने प्रिमियम दर स्पष्ट रुपमा उल्लेख गर्नु पर्नेछ ।
कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म त्रयमासिक रुपमा परिवर्तन गर्नु पर्नेछ ।
तर, पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तन भन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न बाधा पर्ने छैन ।
लघुवित्तले व्याजदर घटाउँदा वा वृद्धि नगर्दा सबै ग्राहकले समानरुपमा सुविधा पाउने गरी व्यवस्था मिलाउनु पर्नेछ ।
लघुवित्त वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको परिवर्तनीय ब्याजदरको साथै स्थिर ब्याजदर समेत प्रकाशन गर्नु पर्नेछ ।
ग्राहकले कर्जा लिँदा परिवर्तनीय ब्याजदर एवम् स्थिर ब्याजदर मध्ये कुनै एक किसिमको ब्याजदर कायम हुने गरी कर्जा लिन सक्ने व्यवस्था मिलाउनु पर्नेछ ।
परिवर्तनीय ब्याजदरमा प्रवाह भएको कर्जाको हकमा कर्जाको प्रस्ताव पत्रमा उल्लेख गरिएको प्रिमियम दर कर्जा अवधिभर परिवर्तन गर्न पाईने छैन ।
स्थिर ब्याजदरमा प्रवाह भएको कर्जाको हकमा कर्जाको प्रस्ताव पत्रमा उल्लेख गरिएको ब्याजदर कर्जा अवधिभर परिवर्तन गर्न नपाईने केन्द्रीय बैंकले जनाएको छ ।
साथै, लघुवित्त वित्तीय संस्थाले परिवर्तनीय ब्याजदर तथा स्थिर ब्याजदरको विवरण संलग्न गरी केन्द्रीय बैंकमा बैंकमा पेश गर्नु पर्नेछ ।
प्रतिक्रिया 4