+
+
Shares

नवलपरासी कांग्रेसमा दुई धार : केन्द्रले खनाल निकाल्यो, जिल्लाले कँडेल

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २७ गते १४:०२
बर्दघाटमा संस्थापनइतरले आयोजना गरेको पत्रकार सम्मेलन ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस नवलपरासीमा केन्द्रीय अनुशासन आयोगले लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई कारबाही गरेपछि किचलो सुरु भएको छ।
  • जिल्ला समितिले संस्थापन पक्षका नेता देवेन्द्रराज कँडेललाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ।
  • खनालले कारबाहीलाई धन र डनको बलमा गरिएको आरोप लगाएका छन् र जिल्लाका अधिकांश नेता कार्यकर्ता आफ्नो पक्षमा रहेको बताएका छन्।

२७ असार, बुटवल । नेपाली कांग्रेस नवलपरासीमा किचलो सुरु भएको छ । कांग्रेस केन्द्रीय अनुशासन आयोगले संस्थापनइतरका लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई कारबाही गरेपछि नवलपरासीमा किचलो सुरु भएको हो ।

खनाललाई अनुशासन आयोगले कारबाही गरेपछि त्यसको प्रतिक्रिया स्वरूप जिल्ला समितिले संस्थापन पक्षका नेता देवेन्द्रराज कँडेललाई कारबाही गरेको हो । कँडेल पूर्वगृह राज्यमन्त्री समेत हुन् ।

अनुशासन आयोगमा खनालमाथि कारबाहीको सिफारिस गर्न कँडेलले अगुवाइ गरेको आरोप जिल्ला समितिको छ ।

खनाललाई भने आयोगले एक वर्षका लागि पार्टी सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

बर्दघाटमा पत्रकार सम्मेलन गरेर जिल्ला कार्यसमितिका कार्यवाहक सभापति विक्रम यादवले केन्द्रीय सदस्य कँडेललाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गरिएको जानकारी दिए ।

जिल्ला अनुशासन समितिले कँडेललाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको प्रवक्ता राधेश्याम पाठकले बताए ।

जिल्ला अनुशासन समितिले २९ वैशाखमा कँडेललाई कारबाही गरेको भए पनि बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले उक्त कारबहीलाई अनुमोदन गरेको उनको भनाइ छ ।

कँडेललाई कारबाही गरिएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बर्दघाट नगर समिति, प्रदेश क्षेत्रीय समिति र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय समिति र जिल्ला कार्यसमिति नेतृत्व उपस्थित थिए ।

उनीहरूले खनालमाथिको कारबाही तत्कालै फुकुवा नभए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार केन्द्रीय समिति हुने निर्णय गरेको बताए ।

पार्टी केन्द्रको कारबाहीमा परेका प्रदेश महामन्त्री खनालले १३ वर्षको उमेरदेखि पार्टीमा क्रियाशील आफूलाई धन र डनको बलमा केन्द्रबाट कारबाही गरिएको तर जिल्लाको बहुमत नेता कार्यकर्ता आफ्नो पक्षमा रहेको बताए ।

पत्रकार सम्मेलनमा कांग्रेस नेता तथा प्रदेशसभा सदस्य विश्वप्रेम पाठकले विद्यार्थी उमेरदेखि पार्टीमा निरन्तर  योगदान दिएका खनाललाई पार्टीका केही व्यक्तिले प्रतिशोध साँधेर कारबाही गरेको बताए ।

उनले जिल्लाका सबै निर्वाचित जनप्रतिनिधिहरू खनालको साथमा रहेको पनि सुनाए ।

खनालमाथि कारबाहीका लागि गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विनोद चौधरीलाई असहयोग गरेको कारण देखाइएको छ ।

कांग्रेस सांसद एवं उद्योगपति विनोद चौधरीले खनालले गत निर्वाचनमा असहयोग गरेको भन्दै अनुशासन समितिमा उजुरी दिएका थिए ।

कारबाहीको विषयलाई लिएर संस्थापनइतर सडकमा प्रदर्शनको तयारी गरेपछि यसको विपक्षमा संस्थापन पक्षले विज्ञप्ति जारी गरेर विरोधको कु्नै कार्यक्रम नरहेको भनेको छ ।

जिल्ला समितिको कारबाही अवैध भएकाले स्वीकार्य नहुने नेता कँडेलको प्रतिक्रिया छ ।

खनालले नेतृत्व गरेको निर्वाचन क्षेत्र नम्बर १ मा विनोद चौधरीले जितेका थिए भने कँडेल राप्रपाका उपाध्यक्ष ध्रुव प्रधानसँग १६ हजार मतान्तरले पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?