+
+
Shares

बाबुबाट पीडित सन्तानका लागि नागरिकता विधेयक संशोधन : गृहमन्त्री लेखक

‘अहिले हामीले आमा र बाबु दुवै नेपालकै नागरिक हुन भने वंशज हुन्छ । यदि आमा नेपाली नभए अंगिकृत नागरिकता हुन्छ भन्ने व्यवस्था गरेको कारण संविधानको व्यवस्था नै परिवर्तन हुनेगरी ऐन बनायौं भने त्यो ऐन कार्यान्वयन हुन सक्दैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २७ गते १७:१७

२७ असार, काठमाडौं । गृहमन्त्री रमेश लेखकले बाबुको संरक्षण नपाएका सन्तानलाई आमाको नामबाट नागरिकता दिई नागरिकतासम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले नागरिकतासम्बन्धी विधेयक संशोधन गर्न लागिएको जानकारी गराएका छन् ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले सन्तानलाई नागरिकता प्राप्तिमा बुबाले असयोग गरेको खण्डमा आमाको नामबाट नागरिकता पाउन सकिने व्यवस्था विधेयकमा रहेको स्पष्ट पारे ।

गृहमन्त्री लेखकले राष्ट्रिय र नागरिकता नहुनु अत्यन्त पीडादायी अवस्था भएको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्न सरकारले विधेयकमा विभिन्न प्रस्तावहरू समावेश गरेको पनि बताए ।

‘कुनै पनि नागरिकको राष्ट्रियता नै नहुनु भनेको एकदमै पीडादायी हुन्छ । त्यसलाई पनि ख्याल गरेर हामीले विधेयकमा यी प्रस्तावहरु गरेका छौं । आमाले नै वंशजको नागरिकता दिने प्रावधान पनि राख्न सकिन्छ तर त्यसका लागि संविधानतर्फ पनि हेर्नुपर्ने आवश्यकता हुनसक्छ,’ गृहमन्त्री लेखकले भने, ‘अहिले हामीले आमा र बाबु दुवै नेपालकै नागरिक हुन भने वंशज हुन्छ । यदि आमा नेपाली नभए अंगिकृत नागरिकता हुन्छ भन्ने व्यवस्था गरेको कारण संविधानको व्यवस्था नै परिवर्तन हुनेगरी ऐन बनायौं भने त्यो ऐन कार्यान्वयन हुन सक्दैन ।’

वर्तमान व्यवस्थाअनुसार बाबु र आमा दुवै नेपाली नागरिक भएमा मात्र सन्तानले वंशजको नागरिकता पाउने र आमा विदेशी भएमा सन्तानलाई अंगीकृत नागरिकता दिने व्यवस्था रहेको उनले स्मरण गरे ।

‘जुन बाबुको सन्तानलाई नागरिकता दिन सहयोग गरिरहेका छैनन् । जुन बाबु भौतिक रुपले बाबु भएपनि आफ्ना सन्तानलाई स्नेह, संरक्षण र अभिभाकत्व दिन तयार छैनन् । र सन्तानले आफ्नो बाबु भएको अनुभूति गर्न सकेको छैन त्यस्ता सन्तान अथवा बाबु पीडित सन्तानको लागि यो व्यवस्था गरिएको हो,’ लेखकले भने ।

गृहमन्त्री लेखकले भोलिको दिनमा आमाले सन्तानलाई नागरिकता लिने प्रक्रियामा असहयोग गरेको खण्डमा बाबुको नामबाट मात्रै नागरिकता पाउन सकिने व्यवस्था समेत गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?