+
+
Shares

विधार्थी आन्दोलनबाट बिदा हुँदै गर्दा …

समिक बडाल समिक बडाल
२०८२ असार २८ गते १३:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बडालले दुई दशक विद्यार्थी आन्दोलनमा बिताएर नयाँ नेतृत्वलाई कार्यभार सुम्प्दै आन्दोलनबाट औपचारिक विदा भएको घोषणा गरे।
  • उहाँले शिक्षामा आमूल सुधार र परिवर्तनलाई राष्ट्रिय एजेन्डा बनाउँदै आन्दोलनलाई रचनात्मक र बन्द हड्ताल रहित बनाउने निर्णय गरेको स्मरण गराए।
  • बडालले अनेरास्वियुको संरचनामा रहेका सबै सहयोद्धालाई मुलुक निर्माणको यात्रामा सहकार्यको लागि अपिल गर्दै आफ्नो नेतृत्वकालमा भएका कमजोरीको जिम्मा लिने तयारी व्यक्त गरे।

विधार्थी आन्दोलनमा दुई दशक बढी समय व्यतित गरेर गत महिना सम्पन्न अधिवेशन मार्फत् निर्वाचित नयाँ नेतृत्वलाई कार्यभार सुम्पदै यस आन्दोलनबाट औपचारिक रुपमा विदा भएको छु । नेपालको शिक्षामा रुपान्तरणको एजेन्डालाई राजनैतिक आन्दोलनको मुख्य एजेन्डा बनाउनु पर्दछ भन्ने मान्यतामा अबको मेरो राजनैतिक जीवन अगाडि बढाउने मेरो संकल्प छ।

तसर्थ प्राविधिक रुपले यस आन्दोलनसँग प्रत्यक्ष नजोडिए पनि परोक्ष रुपमा यसलाई राजनैतिक आन्दोलनको महत्वपूर्ण हिस्साको रुपमा लैजान मेरो पहलकदमी र प्रयत्न रहिरहने नै छ । आन्दोलनमा आफु नेता हुँदा या कार्यकर्ता हुँदा उठाएका एजेन्डा, आन्दोलनभित्र स्थापित गर्न खोजिएका मान्यता र आगामी कार्यदिशामा आफ्ना केही मत यस आलेखमा उल्लेख गरेको छु।

विधार्थी आन्दोलनका आफ्नै सीमा, बाध्यता, चुनौती र कमजोरी छन् । यसलाई समय सापेक्ष परिवर्तन गर्नुपर्ने, आन्दोलनका एजेन्डालाई पुनर्परिभाषित गर्नुपर्ने र आन्दोलनमा देखिएका विकृति-विसंगतिलाई निर्मूल पार्दै इमान सहितको राजनीतिलाई स्थापित गर्नुपर्ने चुनौती छन् र थिए । विधार्थी आन्दोलनप्रति रहेको आम बुझाइमा अलग्गै छाप बनाउनुपर्ने परिवेशमा विधार्थी आन्दोलन आइपुगेको छ ।

यसको पुनर्जागरण र पुनर्संरचनाको पानी ढलो कस्तो हुने आजको सरोकारको विषय हो। मूल प्रश्न अहिलेको विद्यार्थी आन्दोलनको समग्र चित्रमा एक अलग क्यानभास भर्नु नै हो। जुन क्यानभासमा विद्यार्थी नेताहरुको चित्र एक रचनात्मक, परिवर्तनकामी , जुझारु , देशभक्त र इमानका रंग्गहरुले भरिएको हुनुपर्नेछ। र समग्र आन्दोलन देशका प्रत्येक नागरिकले मेरो आफ्नो आन्दोलन हो भनेर अपनत्व लिन सक्ने खालको हुनुपर्नेछ।

हामीले त्यस दिशामा इमान्दार पहलकदमी लियौ नै। मेरो कार्यकालमा आन्दोलनको रचनात्मक रुपान्तरणमा केही उल्लेखनीय पहलकदमी लिइएको थियो। जसको स्मरण आन्दोलनले गर्ने नै छ भन्ने अपेक्षा गरेको छु। हामीले शैक्षिक संस्थाहरुमा कहिले तालाबन्दी नगर्ने निर्णय गर्‌यौ । र आन्दोलन बन्द हड्ताल रहित रचनात्मक हुनुपर्दछ भन्ने मानक स्थापित गर्‌यौ, त्यो कठिन र दुरगामी निर्णय थियो। आन्दोलनलाई कतै यस्तो निर्णयले कमजोर त बनाउदैन भन्ने बहस पनि थियो। नेतृत्वले केही जोखिम उठाउनु पर्ने नै थियो। त्यो हामीले उठायौ र कार्यान्वयन पनि गर्यौ ।

मैले अनेरास्वियुले मात्र होइन, सबै संगठनले तालाबन्दी नगर्ने निर्णय गर्नुपर्दछ भनेर निरन्तर बहस र पैरवीको अगुवाई गरिरहेँ। जुन कुराले मलाई गौरवान्वित बनाउँदछ। हामीले आन्दोलनलाई रचनात्मक दिशा दिन केही हदसम्म सफल भयौ। हामी ताला नलगाइ विश्वविद्यालय सुधारको लागि अनसन बस्यौ। धर्ना दियौ। विधार्थीका जायज माग र सरोकारमा सम्झौता चाँही गरेनौ।

अहिले नेपालमा केही भएन र यो देश बन्दैन भन्ने भाष्य स्थापित गर्न खोजिदैछ। नयाँ पुस्ताले यसलाई खारेज गर्नु पर्दछ। त्यसको लागि नौजवानहरुमा देशप्रतिको कर्तव्य बोधको झंकारहरु सिर्जना गर्न सक्ने गरी सन्देश प्रवाह गर्नुपर्नेछ। परिवर्तनप्रति विधार्थीहरुमा बेजोडको उर्जा भर्नुपर्नेछ। र, विधार्थीहरुलाई रचनात्मक बन्न र उद्यमी बन्न प्रेरित गर्नुपर्नेछ। त्यो कसरी हुन्छ त ? हिजो हामीले सडकमा ढुंगा र टायर बाल्ने आन्दोलनकर्मीहरुको उत्पादन गर्यौ। त्यो तत्कालिन परिस्थितिको उपज थियो।

अहिले हामी मुलत: राजनैतिक स्थायित्व र देशको विकासको रास्ट्रिय एजेण्डामा आन्दोलनलाई गोलबद्द गर्नु पर्ने अवस्थामा छौ। त्यसको मेरुदण्ड भनेको शिक्षामा आमूल सुधार र परिवर्तन नै हो। त्यसको लागि हामीलाई रचनात्मक जागरणको आवश्यकता पर्दछ। त्यो जागरणको नेतृत्व अब क्रिटिकल युवा र विधार्थीहरुको पंक्तिले गर्नु पर्दछ भन्ने अनुभूतिले हामीलाई प्रेरित गर्यो।

मानिस कोही पनि पूर्ण हुँदैन। नेतृत्व गर्दा भएका कमजोरीहरुको जिम्मा लिन म तयार र खुल्ला नै छु। आलोचना र आत्मालोचना मैले सिकेको राजनैतिक दर्शनको अङ्ग नै हो । म अहिले अनेरास्ववियुको संरचनामा रहेका या नरहेका सबै सहयोद्धाहरुलाई मुलुक निर्माणको यात्रामा सहकार्यको लागि अपिल गर्दछु। हाम्रो यात्रा रोकिने छैन

हामीले प्रश्न सोध्न सक्ने र आफ्नो कर्तब्यप्रति पनि सचेत विधार्थीहरुको मास निर्माण गर्नुपर्दछ भन्ने अठोट गर्यौ। त्यसका लागि हामीले आफैलाई पुनर्ताजगी, त्याग र समर्पणको लागि तयार गर्नुपर्ने थियो। त्यही अभियानको महत्वपुर्ण खम्बाको रुपमा हजारौ विधार्थीको उपस्थितिमा हामीले विधार्थी महोत्सव गर्यौ । विधार्थी आन्दोलनको इतिहासमा यस्तो खालको अभियान सम्भवत पहिलो थियो। नयाँ पुस्तामा सकारात्मक संदेश पुर्‌याउन महोत्सव सफल भयो। यस्ता कार्यक्रमहरु आगामी दिनमा पनि हुनेछन् भन्नेमा आशावादी छु।

रचनात्मक रुपले आफ्ना आवाजलाई दुनियाँ सामु राख्न सक्ने र आफ्नो उत्तरदायित्व/कर्तव्य इमान्दारितापुर्वक निर्वाह गर्न सक्ने विद्यार्थीहरुको समूह नै अहिलेको समयको परिवर्तनको वाहक हो। हामीले हाम्रो कार्यकालमा आवाजहरुलाई बुलन्द बनाउन निरन्तर लागि नै रह्यौ। अब पनि अनेरास्ववियुको मुख्य काम आवाजहरु उठाउने र विधार्थीले अनुभूत हुने गरि शिक्षाका एजेन्डालाई स्थापित गराउनुनै हुनेछ भन्ने मेरो बुझाइ छ।

अनेरास्वियुले निर्माण गर्नुपर्नेछ–विश्वविधालयको उपकुलपतिहरुलाई प्रश्न गर्न सक्ने विधार्थीहरुको पंक्ति । विद्यार्थीको ४ वर्षको पाठ्यक्रम ५ वर्षमा पनि किन सकिदैन ? १ वर्ष क्षतिको जिम्मेवार को ? अनेरास्वियुले निर्माण गर्नुपर्नेछ शिक्षा मन्त्रीलाई प्रश्न गर्न सक्ने विधार्थी – शिक्षामा प्रयोग कहिलेसम्म ? शिक्षाले कहिलेसम्म बेरोजागार उत्पादन गरिराख्ने ? शिक्षाको बजेट कहिले २०% पुर्‌याउने ? सार्वजनिक शिक्षाको गुणस्तर कहिले उकास्ने ? कहिलेसम्म दुई खालको शिक्षा प्रणाली कायम राख्ने ? शिक्षाको विभेद कहिले अन्त्य गर्ने? संविधानमा उल्लेखित समाजवाद उन्मुख शिक्षा प्रणाली कहिले र कसरी कार्यान्वयन गर्ने? कहिले नेपाली मौलिक शिक्षाको दर्शन विकास गर्ने ?

अनेरास्ववियु आफैले पनि आफु निकट र गैरनिकट राजनतिक दल र तिनका नेताहरुलाई प्रश्न गर्ने हिम्मत गर्नुपर्नेछ – शिक्षा दल र नेताहरुको कति नम्बरको प्राथमिकताको विषय हो ? दलका घोषणापत्र र ब्यवहारबीच तादाम्यता किन हुदैन? युवाहरुलाई देश बाहिर पठाएर रेमिटेन्सको पैसामा कतिन्जेल मुलुक चल्छ?

रोजगारी, उधमशिलता , सार्वजनिक शिक्षा र स्वास्थ्यमा दलको धारणा के हो? र अनेरास्ववियु आफै पनि प्रश्नहरुको कठघरामा उभिनुपर्नेछ विधार्थी आन्दोलनको औचित्य र सान्दर्भिकता के हो ? आफ्ना सामाजिक र नैतिक कर्तब्यप्रति सचेत पंक्ति अहिलेको आवश्यकता हो। आफुले बहण गर्नुपर्ने सामदायिक र व्यक्तिगत उत्तरदायित्वप्रति जिम्मेवार, नैतिक मूल्य र मान्यताले युक्त, देशप्रेमले ओतप्रोत विधार्थीहरुको पंक्ति नै सच्चा अनेरास्ववियुको पंक्ति हुनुपर्दछ। विगतमा हामी कहीँकतै अलमिएको भए त्यसको वस्तुनिष्ठ समीक्षा गरौ। इतिहासको कठघरामा आफैलाई निर्ममतापूर्वक समीक्षा नगरी भविष्यको गन्तब्य तय गर्न सक्दैनौ।

हामीले केही जोखिम नउठाएको होइन। शिक्षामा भएको लुटतन्त्र, माफियाकरण र शिक्षामा रहेको विभेद विरुद्द हामीले ‘कालो अक्षर, रातो अक्षर’ मार्फत् हामीले प्रश्न गर्न सुरु गर्‍यौं। ‘कालो अक्षर, रातो अक्षर’ नामक नाटक हाम्रो वैचारिक हस्तक्षेप थियो ‍, जसले शिक्षाको निजीकरण मात्र होइन, त्यो निजीकरणलाई संरक्षण गर्ने नीतिगत चुप्पीमाथि प्रहार गर्‍यो। ‘कालो अक्षर, रातो अक्षर’ केवल नाटक थिएन, त्यो चेतना थियो, जुन भन्छ- शिक्षा अधिकार हो, व्यापार होइन।

जब मौलिक अधिकार संविधानमा लेखिएर पनि ऐन बन्न सक्दैन, त्यो केवल नीति विफलता होइन, पुस्तागत धोका हो। अब जुनसुकै दलको नेतृत्व होस् ,उसले बुझ्नैपर्छ: शिक्षा बेच्न पाइँदैन, शिक्षा सुलभ गराउन पाइन्छ। र यदि कसैले त्यो बुझ्दैन भने विद्यार्थी आन्दोलन फेरि उठ्नेछ, शब्दले, सिर्जनाले र सत्यको साहसले। आगामी नेतृत्व निरन्तर यस्ता खालका रचनात्मक खबरदारीमा लाग्नेछ भन्ने मेरो अपेक्षा छ।

अनेरास्ववियुको नेतृत्व मैले सम्हाल्दा हामीकहाँ सन्देह पनि थियो, अपेक्षा पनि। नेतृत्वको बोझ तब झन् गह्रौँ हुन्छ, जब तपाई त्यो संगठनमा हुनुहुन्छ, जसले निरङ्कुशता हटाउने संघर्षदेखि शिक्षाको व्यापारीकरणविरुद्ध आन्दोलनसम्मको गौरवशाली इतिहास बोकेको छ। तर मलाई थाहा थियो ,इतिहास केवल दोहोर्याएर हुँदैन।

प्राविधिक रुपमा अनेरास्वियुमा हामी रहे पनि नरहे पनि हामि सबैको साझा नर्सरीलाई मलजल गर्न सबैको प्रयास र साथ सहयोग आवश्यक हुन्छ नै । लामो यात्रामा कहिलेकाँही गुनासाहरु हुन्छन्। अपेक्षाहरु हुन्छन् । कति राजनैतिक, त कति व्यक्तिगत अपेक्षाहरू। राजनीतिक मानिसले साझा मूल्य र मान्यतामा विश्वास सहित अगाडि बढ्दा हाम्रा मनहरु माझिनछन् नै

आन्दोलनमा नयाँ प्रश्न जन्मिनुपर्छ, नयाँ विधि र नयाँ दृष्टिकोणबाट हस्तक्षेप हुनुपर्छ। त्यसैले मैले नेतृत्वका दिनहरूमा केही असाधारण र केही जोखिमपूर्ण, तर आवश्यक निर्णयहरू गरेँ। माथि उल्लेखित कामहरु तिनै जोखिमको परिधिभित्र नै थिए।

‘विश्वविधालयको संरचनात्मक सुधारको लागि हामीले बोर्ड अफ ट्रस्टी र राष्ट्रसँग जोडिएको विश्वविद्यालयको अवधारणामा काम गर्यौ। हामीले विश्वविद्यालयको नेतृत्व ‘पार्टी सिफारिस’ बाट होइन, प्राज्ञिक ट्रस्टी बोर्डबाट चयन होस् भन्ने अवधारणा अगाडि सारेका थियौं। विश्वविद्यालय दलको संरचना होइन, राष्ट्रको दीर्घकालीन उत्पादन प्रणाली हो भन्ने सोच स्थापित गर्न प्रयास गर्यौं।

त्यहाँबाट निस्कने जनशक्ति राष्ट्रिय आवश्यकताको आधारमा उत्पादन होस्, यो हाम्रो नीतिगत आग्रह थियो। हामीले आन्दोलनको फ्रेमलाई क्याम्पसको पर्खालबाट बाहिर निकालेर राष्ट्रिय अर्थतन्त्रको बुनियादसम्म जोड्ने दृष्टिकोण प्रस्तुत गर्यौं। यस्ता प्रयत्नहरु कतिको दुरागामी थिए भन्ने कुरा इतिहासमा दर्ज हुनेनै छ। अस्ति मात्र शिक्षा मन्त्रीज्युले बोर्ड अफ ट्रस्टीमा जानु आवश्यक छ भन्नु भो। नेपाल सरकारले विषयबस्तुको गम्भीरतालाई बुझेको अनुभूति मैले गरेको छु। नीतिगत पहलकदमी यस दिशामा आवश्यक छ। अहिलेको अनेरास्वियुको नेतृत्व यो काम गर्न लाग्नेनै छ भन्ने कुरामा म आशावादी छु।

विधार्थी आन्दोलनबाट मूल धारको राजनीतिमा संक्रमण हुदै गर्दा मेरा केही मत छन् नै । लोकतन्त्र प्राप्ति पछाडिका दशकहरू नेपालको शिक्षा क्षेत्रलाई लयमा ल्याउन कामयावी हुन नसकेको यथार्थतालाई मध्यनजर गर्नु पर्नेछ। नेपालबाट बाहिर जाने विधार्थी संख्या उच्च छ। पढाइलाई मात्र नभएर काम र पढाइ सँगै हुने अवस्थाको कारण विधार्थीहरु देश बाहिर गइरहेका छन्।

नेपालको सार्वजनिक शिक्षामा भौतिक लगानी र भौतिक पूर्वाधारमा कामहरु भएका छन्। तर विद्यालय र विश्वविधालयको गुणस्तरमा समस्या छन्। तीव्र दलीयकरणले शैक्षिक क्षेत्र प्रभावित छन्। पाठ्यक्रममा मौलिकता र रास्ट्रिय सोच निर्माण गर्ने तत्वको अभाव छ।

शिक्षा एक हिसाबले भन्ने हो भने दाताले प्रयोग गर्ने प्रयोगशाला जस्तो भएको छ। पराधीन अर्थतन्त्रको मारमा सबै भन्दा बढी शिक्षा क्षेत्र छ। आत्मनिर्भर अर्थतन्त्रको जगमा मौलिक शिक्षा प्रणाली आजको आवश्यकता हो। शिक्षामा संरचनात्मक र नीतिगत सुधारको खांचो छ। अबको अनेरास्ववियुको ध्यान यसतर्फ केन्द्रित हुनु जरुरी छ। समाजवाद उन्मुख राज्यका लागि शिक्षाको आधारभूत तहबाट काम गर्नु पर्ने अवस्था छ।

यसमा मेरो संधै साथ र सहयोग हुने नै छ। आन्दोलनको दौरान साथ सहयोग गर्ने सबैप्रति म आभारी छु। अहिले नयाँ पुस्ता माझ नेतृत्व हस्तातरण भएको छ। निर्वाचित जोशिला साथीहरुको टिम छ। केही जुझारु साथीहरु छुट्नु भएको छ। केही उमेर हदको कारण, केही निर्वाचनको कारण ।

प्राविधिक रुपमा अनेरास्वियुमा हामी रहे पनि नरहे पनि हामि सबैको साझा नर्सरीलाई मलजल गर्न सबैको प्रयास र साथ सहयोग आवश्यक हुन्छ नै । लामो यात्रामा कहिलेकाँही गुनासाहरु हुन्छन्। अपेक्षाहरु हुन्छन् । कति राजनैतिक, त कति व्यक्तिगत अपेक्षाहरू। राजनीतिक मानिसले साझा मूल्य र मान्यतामा विश्वास सहित अगाडि बढ्दा हाम्रा मनहरु माझिनछन् नै। मानिस कोही पनि पूर्ण हुँदैन। नेतृत्व गर्दा भएका कमजोरीहरुको जिम्मा लिन म तयार र खुल्ला नै छु। आलोचना र आत्मालोचना मैले सिकेको राजनैतिक दर्शनको अङ्ग नै हो । म अहिले अनेरास्ववियुको संरचनामा रहेका या नरहेका सबै सहयोद्धाहरुलाई मुलुक निर्माणको यात्रामा सहकार्यको लागि अपिल गर्दछु। हाम्रो यात्रा रोकिने छैन।

(बडाल अनेरास्ववियुका निवर्तमान अध्यक्ष हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?