
News Summary
Generated by OK AI. Editorially reviewed.- सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ र १३ को सिमानामा जिप र मोटरसाइकल ठोकिँदा पाँच जना घाइते भएका छन्।
- घाइतेमध्ये नेपाली सेनाका सिपाही चन्द्रदेव धामीको ८५ प्रतिशत भाग जलेर अवस्था गम्भीर रहेको छ।
- जिल्ला प्रहरी कार्यालय सर्लाहीले घाइतेहरूको उपचार भइरहेको र थप अनुसन्धान गरिरहेको जनाएको छ।
३० असार, जनकपुरधाम । सर्लाहीमा जिप र मोटरसाइकल एकआपसमा ठोकिँदा दुई नेपाली सेनासहित ५ जना घाइते भएका छन् ।
सोमबार सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ र १३ को सिमानामा बाँकेस्थित रेल्वे ट्र्याक नजिक प्र.०३–०२८ प २१९१ नम्बरको मोटरसाइकल र बा ८ च ६५ नम्बरको जिप एकआपसमा ठोकिँएर दुर्घटना भएको हो ।
दुर्घटना पश्चात दुवै गाडीमा आगलागी भएको छ । मोटरसाइकल पूर्णरूपमा जलेको छ भने जिपको अगाडिको भाग जलेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेहरूमा मोटरसाइकल चालक सर्लाही ईश्वरपुर नगरपालिका-१५ बस्ने २३ वर्षीय चन्द्रदेव धामी, पछाडि सवार स्थानीय २२ वर्षीय प्रशेस चौधरी र सोही मोटरसाइकलमा पछाडि सवार स्थानीय २१ वर्षीय अमित चौधरी छन् ।
चन्द्रदेव भगवती दल गण इटहरीमा कार्यरत नेपाली सेनाका सिपाही हुन् । दुर्घटना पश्चात भएको आगलागीमा ८५ प्रतिशत भाग जलेर चन्द्रदेव धामीको अवस्था भने गम्भीर रहेको छ ।
अर्का घाइते २२ वर्षीय प्रशेस हाल मध्य पश्चिम पृतना बुटवलमा काजमा कार्यरत छन् ।
यस्तै जिप चालक हरिवन नगरपालिका-३ डाबरी टोल बस्ने ४० वर्षीय रामएकबाल महतो र हरिवन-२ का ६५ वर्षीय लेखनाथ उपाध्याय घाइते भएका छन् ।
घाइतेहरूको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको र गाडी नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रतिक्रिया 4