
News Summary
Generated by OK AI. Editorially reviewed.- मेटाको सुपरइन्टेलिजेन्स ल्याबमा नियुक्त ११ जना शीर्ष एआई वैज्ञानिकहरू सबै आप्रवासी हुन् र उनीहरूले अमेरिका बाहिरै स्नातक गरेका हुन्।
- यी वैज्ञानिकहरू भारत, चीन, दक्षिण अफ्रिका, बेलायत र अस्ट्रेलियाबाट आएका छन् र ओपन एआई, डीपमाइन्ड तथा एन्थ्रोपिक जस्ता संस्थामा काम गरेका छन्।
- आप्रवासी वैज्ञानिकहरूले अमेरिका र विश्वका अग्रणी प्रविधि कम्पनीहरूमा एआई मोडेल, एल्गोरिदम र सुरक्षा मापदण्ड विकास गर्दै छन्।
वास्तवमा अमेरिका आप्रवासीहरूले बनाएको देश हो । त्यस्ता आप्रवासी समुदाय जसलाई अमेरिकाको मुक्ति शालिक (स्ट्याचु अफ लिबर्टी) ले खुला हृदयले स्वागत गर्न आह्वान गरेको छ ।
अल्बर्ट आइन्स्टाइनदेखि एलन मस्कसम्मका आप्रवासीहरूले नै अमेरिकालाई एक महान् देश बनाएका हुन् । अनि यो क्रम रोकिएको छैन । आप्रवासीहरूले अहिले पनि अमेरिकालाई महान् बनाइरहेका छन् र यो पटक कृत्रिम बौद्धिकता अर्थात एआईको क्षेत्रमा ।
अमेरिकाको प्रतिस्पर्धात्मकता केवल उसको आफ्नै नवप्रवर्तनबाट मात्रै भएको होइन । दशकौंदेखि सबैजसो देशका उत्कृष्ट मस्तिष्कहरू अमेरिका आएर योगदान दिँदै आएका छन् । त्यही नै अमेरिकाको साँचो शक्ति हो । फेसबुकको मातृ कम्पनी मेटाको नयाँ सुपरइन्टेलिजेन्स ल्याबमा नियुक्त ११ जना शीर्ष एआई वैज्ञानिकहरू यसका स्थुल प्रमाण हुन् । किनकि ती सबै वैज्ञानिकहरू नै आप्रवासी हुन् ।
वास्तवमा तीमध्ये एक जनाले पनि अमेरिकाभित्रै स्नातक पढेका छैनन् । अर्थात् स्नातकसम्मको अध्ययन आफ्नै देशमा गरेर ती अमेरिका प्रवेश गरेका हुन् । ती सबैजना उच्च स्तरका इन्जिनियर, मोडेल डिजाइनर र मेसिन लर्निङका अगुवा हुन् जो भारत, चीन, दक्षिण अफ्रिका, बेलायत र अस्ट्रेलियामा जन्मिएका थिए ।
उनीहरूले अमेरिकाका उत्कृष्ट प्रयोगशालाहरूमा तालिम लिए । ओपन एआई, डीपमाइन्ड तथा एन्थ्रोपिक जस्ता अग्रणी संस्थाहरूमा अत्याधुनिक एआई प्रणालीहरू निर्माण गरे । र, अब मार्क जुकरबर्गले तिनैलाई आफ्नो कम्पनीमा भित्राएका छन्, नयाँ पुस्ताको एआई निर्माण गर्नका लागि ।
आप्रवासीहरू लामो समयदेखि सिलिकन भ्यालीको मौन तर सशक्त इन्जिन बनेका छन् । गुगलमा कोड लेख्नदेखि माइक्रोसफ्टमा क्लाउड पूर्वाधार डिजाइन गर्नेसम्मका काममा उनीहरूले दिग्गज अमेरिकी प्रविधि कम्पनीहरूमा मेरुदण्डको भूमिका खेलेका छन् ।
ती विदेशी प्रतिभाहरूको सञ्जाल अमेरिकी प्रविधि क्षेत्रको नवप्रवर्तन क्षमताको अनिवार्य हिस्सा बनिसकेको छ । उनीहरूले केवल त्यहाँ जागिर मात्र खाइरहेका छैनन्, प्रविधि उद्योगलाई दिशानिर्देश नै गरेका छन् ।
अहिले जब कृत्रिम बौद्धिकता अर्थात एआई नयाँ प्रविधिको ठूलो सीमारेखा बन्दैछ, यसबेला तिनै आप्रवासी मस्तिष्कहरूले त्यसको मोडेल, एल्गोरिदम र सुरक्षा मापदण्डको संरचना तय गर्दैछन् र यसले एआईको भविष्यलाई निर्देशित गर्नेछ । मेटाको नयाँ सुपरइन्टेलिजेन्स टोली त केवल पछिल्लो प्रमाण हो कि आप्रवासीहरू विना एआई क्रान्ति सम्भव नै छैन ।
यी हुन् मेटाको सुपरइन्टेलिजेन्स ल्याबमा नियुक्त भएका शीर्ष वैज्ञानिक आप्रवासीहरू :
त्रपित बंसल
भारतीय मूलका बंशल भारतको कानपुरस्थित आईआईटीबाट गणित र तथ्यांकमा स्नातकोत्तर र अमेरिकाको युनिभर्सिटी अफ म्यासाचुसेट्सबाट विद्यावारिधी गरेका हुन् । यसअघि ओपन एआईमा कार्यरत बंसललाई चेन-अफ-थट रिजनिङमा आधारित रिइन्फोर्समेन्ट लर्निङका प्रतिपादक मध्येका एक मानिन्छ । यस प्रविधिले एआई मोडेलहरूलाई तार्किक ढंगले चरणबद्ध रूपमा समस्याको समाधान गर्ने क्षमतामा सुधार गर्न मद्दत गर्छ । उनी o-series का सह-निर्माता पनि हुन् जसले Large Language मोडेलहरूको कार्यसम्पादन र विश्वसनीयताको नयाँ मापदण्ड स्थापना गरेको छ । बंसलको अनुसन्धान शैक्षिक र औद्योगिक दुवै क्षेत्रका एआई प्रणालीहरूमा व्यापक रूपमा उपयोगी र प्रभावशाली मानिन्छ ।
सुचाओ बी
चिनियाँ मूलका सुचाओले चीनको झेजियाङ विश्वविद्यालयबाट स्नातक र अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन् ।
मल्टिमोडल एआईका अगुवा शोधकर्ता उनी यसअघि ओपन एआईमै कार्यरत थिए । उनले च्याट जीपीटीको जीपीटी-४० को भ्वाइस मोड र ०४‑ मिनी मोडेल का सह निर्माता हुन् ।
उनको विशेषज्ञता कथ्य (speech) र लेख्य (text) सामग्रीको एकीकरणमा केन्द्रित छ, जसले एआईलाई विभिन्न स्वरूपमा सामग्री बुझ्न र उत्पादन गर्न सक्षम बनाउँछ । उनको कार्यले अन्तरक्रियात्मक एआईलाई अझ स्वाभाविक र पहुँचयोग्य बनाउन ठूलो योगदान पुर्याएको छ ।
हुवेन चाङ
चीनको छिङह्वा विश्वविद्यालयबाट स्नातक गरी अमेरिका प्रवेश गरेका हुवेनले प्रिन्सटन विश्वविद्यालयबाट पिएचडी गरेका छन् ।
यसअघि गुगलमा कार्यरत हुवेन MaskIT र Muse नामक आर्किटेक्चरको आविष्कारकर्ता हुन्, जुन आजका धेरै image-generating AI मोडेलको आधार बनेको छ ।
उनले GPT‑4o को इमेज जेनेरेसन टिमको पनि नेतृत्व गरेका थिए । उनको अनुसन्धानले कम्प्युटर दृष्टि र सिर्जनात्मक एआईबीचको दुरी घटाउन सहयोग गरेको छ ।
जी लिन
चीनको छिङह्वा विश्वविद्यालयबाट स्नातक तथा अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीबाट विद्यावारिधी गरेका जी लिन ओपन एआईका पूर्व कर्मचारी हुन् ।
जी लिनले GPT‑4o र o4 शृङ्खला जस्ता ठूला भाषा मोडेलहरूलाई मापनयोग्य र दक्ष बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । उनको कामले एआई मोडेलहरूलाई कम लागतमा, उच्च कार्यक्षमतासाथ प्रयोगमा ल्याउन मद्दत पुर्याएको छ ।
जोएल पोबार
अस्ट्रेलियन मूलका यी वैज्ञानिकले मेटामा प्रवेश गर्नुअघि एन्थ्रोपिकमा काम गरेका थिए । जोएल पोबार एआई पूर्वाधारको निर्माणमा एक दशकभन्दा लामो अनुभव भएका विज्ञ हुन् ।
उनले HHVM, Hack, PyTorch जस्ता उद्योगमैत्री टुलहरूको विकासमा योगदान गरेका छन् ।
ज्याक रे
बेलायती मूलका वैज्ञानिक ज्याकले बेलायतको युनिभर्सिटी अफ ब्रिस्टलबाट स्नातक, अमेरिकाको कार्नेगी मेलोन युनिभर्सिटीबाट स्नातक तथा बेलायतको युनिभर्सिटी कलेज लन्डनबाट विद्यावारिधी गरेका छन् ।
यसअघि गुगल डीपमाइन्डमा काम गरिसकेका ज्याक रे Large Language Model हरूको अग्रणी अनुसन्धानकर्ता हुन् ।
उनले Gemini 2.5 को प्रि-ट्रेनिङ, Gopher र Chinchilla मोडेलहरूमा पनि काम गरेका छन् । उनको अनुसन्धानले मोडेल स्केलिङ र डेटा दक्षता बुझ्नमा महत्त्वपूर्ण योगदान दिएको छ ।
होंग्यु रेन
चीनको पेकिङ विश्वविद्यालयबाट स्नातक तथा अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयबाट विद्यावारिधी गरेका होंग्यु ओपन एआईका पूर्ववैज्ञानिक हुन् ।
ओपन एआईमा रहँदा उनले GPT‑4o, o1, o3, o4o-mini को विकास र प्रशिक्षणमा काम गरेका छन् ।
उनको अनुसन्धान एआई मोडेललाई विश्वसनीय र सुरक्षित बनाउने चुनौतीहरूको समाधानमा केन्द्रित छ ।
जोहन शाल्कविक
दक्षिण अफ्रिकी मूलका वैज्ञानिक शाल्कविकले यसअघि गुगलमा काम गरिसकेका छन् । उनी भ्वाइस रिकग्निसन प्रविधिको विकासका अग्रणी व्यक्ति हुन् ।
उनले Google Maya टिमको नेतृत्व गरेका थिए भने Sesame परियोजना को विकासमा पिन योगदान दिएका थिए ।
उनका आविष्कारहरूले दैनिक प्रयोग हुने आवाज प्रविधिको मानक निर्धारण गरेका छन् ।
पेइ सुन
चिनियाँ मूलका पेइले छिङह्वा विश्वविद्यालयबाट स्नातक तथा अमेरिकाको कार्नेगी मेलोन युनिभर्सिटीबाट स्नातकोत्तर गरेका छन् ।
Google DeepMind मा काम गरिसकेका पेइ सुनले Gemini र Waymo एआई मोडैलको लागि प्रशिक्षण र तार्किक प्रणालीहरूको विकासमा विशेष योगदान पुराएका छन् ।
उनको कामले एआई र रोबोटिक्स लाई व्यवहारिक उपयोगतर्फ लैजानका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
जियाहुआई यु
युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी अफ चाइनाबाट स्नातक गरेका जियाहुआईले अमेरिकाको युनिभर्सिटी अफ इलिनोइसबाट विद्यावारिधी गरेका छन् ।
ओपन एआई र जेमिनाईमा काम गरिसकेका उनी मल्टिमोडेल एआईका विशेषज्ञ हुन् । उनले GPT‑4, o3, o4o-mini मा काम गरेका थिए ।
सेन्जिया झाओ
चिनियाँ मूलका एआई वैज्ञानिक सेन्जियाले चीनको छिङह्वा विश्वविद्यालयबाट स्नातक र अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन् ।
ओपन एआईमा काम गरिसकेका उनले ChatGPT, GPT‑4 र o4-mini को विकासमा अग्रणी भूमिका खेलेका थिए ।
उनले डेटा सश्लेषण तथा एआई सुरक्षा सम्बन्धमा गहन अनुसन्धान गरेका छन् ।
-एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4