+
+
Shares

मनलाई नियन्त्रण गर्ने व्यक्ति नै जीवनमा सफल हुन्छ

रामकुमार थापा रामकुमार थापा
२०८२ साउन ५ गते १४:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मनले शरीरलाई चलाउँछ र मन बलियो नभएसम्म शरीर बलियो हुनुको अर्थ हुँदैन भन्ने विषयमा लेखमा चर्चा गरिएको छ।
  • मन भन्नाले व्यक्तिको भावना, सोचाइ, बुझाइ तथा संवेगका विभिन्न पक्षहरूलाई बुझाउँछ र यसले हाम्रो व्यवहारमा प्रभाव पार्दछ।
  • मनलाई नियन्त्रण गर्न नसक्दा मानिसले मानसिक समस्या भोग्नु परेको र मन जित्नेले मात्र विश्व जित्न सक्ने लेखकले उल्लेख गर्नुभएको छ।

मनले शरीरलाई चलाउँछ । मानिस शरीरलाई आकर्षण वा बलियो बनाउन जिमखाना जाने गर्छन् । तर मन बलियो बनाउनका लागि न कुनै ठाउँ छ न कसैले सोहीअनुसार दु:ख गरेको भेटिन्छ । शरीर बलियो हुनुको अर्थ छैन, जबसम्म मन बलियो हुँदैन । मनसँग सम्बन्धित रहेर हजारौँ गीतहरू बनिसकेका छन् ।

आफूले धेरै प्रेम गरेको व्यक्तिलाई मनमै राखेका हुन्छौँ ।भनिन्छ नि, तिमी त मेरो मनको कुनामा छौ ।

मनले मन नपराएसम्म केही हुँदैन । झगडा, लडाइँ वा ठूला-ठूला युद्ध होस वा पारिवारिक विखण्डन सबै मन नमिलेपछि हुन्छ ।

मन मिले सबै मिल्छ तर मन नमिलेपछि विद्रोहो हुन्छ । मन नमिलेपछि मानिसले ठाउँ, जागिर, परिवार अझ संसार छोडेर जान्छन् अर्थात आत्महत्या पनि गर्न सक्छन् । मनलाई खुसी र आनन्दित बनाउन मानिसहरू धेरै भौँतारिरहेको देख्न सक्छौँ ।

मन जित्नेले मात्र विश्व जित्न सक्छन् । तर मानिस आज आफ्नै मन जित्न नसकेर दु:ख भोगिरहेको छ ।

नेपालीमा एउटा भनाइ प्रचलित छ, ‘वन डढेको सबैले देख्छन् तर मन डढेको कसैले देख्दैनन।’

मानिसले मनलाई नियन्त्रणमा राख्न नसक्नुमा मनोवैज्ञानिक, जैविक र सामाजिक कारणहरू हुनसक्छन् । यसलाई बुझ्नका लागि हामीले मनोविज्ञान, स्नायु प्रणाली र ध्यान–चिन्तनको पृष्ठभूमिबाट विश्लेषण गर्न सकिन्छ ।

अरूको मनलाई सूक्ष्मरूपमा अध्ययन गर्न नसकिने हुँदा यो लेखमा आफ्नो अनुभवलाई प्राथमिकतामा राखेर पाठकमाझ पस्किन कोसिस गरेको छु । विगत एक दशक भन्दा बढी समयदेखि मानसिक समस्याको क्षेत्रमा काम गर्दै आएको छु ।

मन भन्नाले व्यक्तिको भावना, सोचाइ, बुझाइ तथा संवेगका विभिन्न पक्षहरूलाई बुझाउँछ । हाम्रो मनले विभिन्न अवस्थामा फरक-फरक अनुभव गराउँदछ भने अप्ठ्यारो घटनाले बढी तनाव अनुभुत गराउँछ, जसले हाम्रो सोचाइ तथा भावनालाई निर्देशित गर्दछ ।

मन मानसिक प्रक्रियासँग सम्बन्धित छ । मानसिक प्रक्रिया र अवस्थाले हामी के सोच्छौँ, कसरी सोच्छौँ र किन सोच्छौँ ? भन्ने कुरामा प्रभाव पार्छ । र, यसले हाम्रो शरीर र व्यवहारलाई पनि निरन्तर असर पारिरहेको हुन्छ ।

यस्ता मानसिक प्रक्रियालाई अन्तरव्यक्ति सम्बन्ध, सामाजिक वातावरण र घटनाहरूले निरन्तर प्रभाव पारिरहेका हुन्छन् । सिग्मण्ड फ्रायडको भनाइअनुसार हाम्रो अधिकांश व्यवहार अचेतन मनबाट नियन्त्रित हुन्छ ।

अचेतन मन त्यो भाग हो, जसमा गहिरा यादहरू, दबिएका भावना, चाहना, डर आदिको सञ्चय हुन्छ । यी कुरा हामीलाई सतही रूपमा थाहा नहुन सक्छ, तर तिनीले हाम्रो व्यवहारमा ठूलो प्रभाव पारिरहेका हुन्छन् । हामीले गर्ने प्रत्येक व्यवहार तथा साचाइहरू यिनै चेतन मन, अवचेतन मन र अचेतन मनबाट निर्देशित हुन्छन् ।

वास्तममा हाम्रो मन किन हामीले भनेको जस्तो बनाउन सक्दैनौं ? यो गम्भीर विषय हो । मानिसले कसैको मनबारे टिप्पणी गर्दा, फलानाको मन त कस्तो कालो, फलानाको मन त कस्तो कमलो, कमिलाको जत्रो मन, हात्तीको जत्रो मन इत्यादी भन्ने गरेको हामी सुन्छौँ ।

वास्तवमा तपाईंको मन चाहिँ कस्तो छ ? के तपाईंको मन तपाईंले चाहेजस्तै खुसी छ त ? किन मानिस मन खुसी बनाउनका लागि देश-विदेश भौँतिरिइरहेका छन् ?

सबैले मनकै कुरा गर्छन् । मलाई त त्यो ठाउँ कस्तो मन मर्छ, मलाई त्यो सँग बोल्नै मन लाग्दैन, मलाई त्यो ठाउँमा बस्नै मन लाग्दैन, मलाइ खान मनै लाग्दैन, पढ्नै मन लाग्दैन, काम गर्न मन नै लाग्दैन, एक्लै बस्न मन लाग्छ, मरुमरु लाग्छ, रुन मन लाग्छ…। कति हो कति !

नदेखिने मनले कत्तिको प्रभाव पारेको रहेछ त भनेर कहिल्यै मामिले सोचेका थियौँ त ? यत्ति ठूलो जीवनमा अर्थ राख्ने मनलाई हामिले कत्तिको महत्व दिएका छौ त ? अनुहार राम्रो बनाउन हामिले जति श्रृंगारमा ध्यान दिएका छौँ त्यतीनै मन राम्रो बनाउन हामिले गर्ने व्यवहारलाई ध्यान दिएका छौँकी छैनौत । आज जति मानिस भेटिन्छन् ।
उनीहरूलाई तपाईको मन कस्तो छ भनेर सोध्यौ भने अधिंकासको उत्तर निराशावादी आउछन् । सबै भएर पनि केही नभएको जस्तो अनुभूति हुन थाल्यो भने अब सोच्नुपर्यो मनमा पो समस्या हो कि ?

मनको विषयमा भगवानको पालमा समेत चर्चा हुने गरेको धार्मिक ग्रहन्थहरूमा उल्लेख गरेको पाइन्छ । महाभारत कथाको एक प्रसंगमा अर्जुनले कृष्णलाई भन्छन्, ‘हे कृष्ण ! मन अत्यन्त चञ्चल, प्रबल र बलवान् छ । यसलाई नियन्त्रण गर्नु साँच्चिकै कठिन छ।’

भगवानहरूलाई पनि मनलाई नियन्त्रण गर्न कठिन हुन्थ्यो भने हामी मानवले कसरी नियन्त्रण गर्न सक्छौँ त ? आज मानिसले मन नियन्त्रण गर्न नसक्दा कति दु:ख, समस्या भोग्नु परिरहेको हामीले देखेकै छौँ ।

उच्च पदस्थ र विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तिहरू समेतले मनलाई नियन्त्रणमा राख्न नसक्दा पद नै खुस्किने, बदनामी कमाएका, जेल परेका, जीवन लथालिंग भएका धेरै उदाहरण हाम्रासामु छन् ।

जसले आफ्नो मनलाई नियन्त्रण गर्न सक्छ वास्तवमा ती व्यक्ति सफल भएका छन् ।

बुद्ध दर्शनमा भनिएको छ, ‘मन चञ्चल हुन्छ, वायुभन्दा पनि तेज गतिमा हिँड्छ ।’ जब व्यक्तिहरूको मनमा नकारात्मक सोचहरू आउँछ, यसले दैनिक जीवनमा समेत अप्ठेरो पारिरहेको छ । हामीले जे सोच्छौँ, त्यो सबै होसपूर्वक हुँदैन, धेरै कुरा अचेतन मनमा दबिएको हुन्छ । यसैले मानिसले कहिलेकाहीँ आफूले नचाहेको कुरा पनि सोच्ने वा गर्ने गर्छ ।

संसारलाई हेर्ने दृष्टिकोण हाम्रो मनको स्थितिमा निर्भर गर्छ । बलियो मन, सकारात्मक सोच र आत्मविश्वासले मानिस कुनै पनि परिस्थितिमा उभिन सक्छ । मनलाई आफ्नो नियन्त्रणमा राख्न नसक्दा मानसिक समस्या बढिरहेको छ । तीव्र गतिमा बदलिँदो आजको जीनवशैली, सामाजिक प्रतिस्पर्धा, पारिवारिक असमझदारी, प्रेम सम्बन्धका चोटहरू, व्यापारमा घाटा, नसोचेको अकल्पनीय घट्नाहरूले मनको समस्याहरू बढिरहेका छन् । जब हामी डर, रिस, लोभ, मोह वा तनावमा हुन्छौं, तब भावनाहरूले तर्कशक्ति कमजोर बनाउँछ ।

जसले गर्दा मनको समस्या हुने गर्दछ । मन बलियो भयो भने जस्तो सुकै दु:ख, कष्ट र पीडाहरूलाई पनि सहज रूपमा पार लगाउन सक्छौँ । जसले गर्दा जीवनमा आइपर्ने तनावजन्य घट्नाहरूबाट मुक्ति पाउँछौँ । मनको समस्या हुन नदिनु भनेको आफूलाई चिन्नु, स्वीकार गर्नु र आफूले आफैँलाई माया गर्नु हो ।

(लेखक मनोसामाजिक परामर्शकर्ता हुन् )

लेखक
रामकुमार थापा

लेखक मनोसामाजिक परामर्शकर्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?