+
+
Shares
एमाले सचिवालय बैठक :

केपी ओली र ईश्वर पोखरेलबीच नोकझोंक : ईश्वरले भने- अब तपाईंले छोड्नुस्  

सइन्द्र राई सइन्द्र राई
२०८२ साउन २ गते १:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले सचिवालयको बैठक १० घण्टा बढी जारी रहँदा विधान महाधिवेशनको एजेण्डामा छलफल भयो।
  • उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्ताव गरेको पदाधिकारी र केन्द्रीय कमिटीको आकार घटाउने मस्यौदा बैठकले अनुमोदन गर्‍यो।
  • अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच विधानको उमेर हद र नेतृत्व छोड्ने विषयमा विवाद भयो।

२ साउन, काठमाडौं । विधान महाधिवेशनको एजेण्डामाथि छलफल गर्न बसेको नेकपा एमाले सचिवालयको बैठक १० घण्टा बढी जारी रह्यो ।

बिहीबार दिउँसो पौने २ बजेबाट सुरु भएको बैठक मध्यरात सकिएको थियो । बैठकमा पार्टी विधानको प्रस्तावमाथि लामो छलफल चल्यो ।

उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको मस्यौदामाथि नेताहरुले आफ्ना कुरा राखेका थिए । पौडेलले ल्याएको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष पद हटाउने, पदाधिकारी र केन्द्रीय कमिटीको आकार घटाउने लगायत थियो ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार १५ जनाको पदाधिकारी नै स्थायी कमिटी सदस्य हुने प्रस्ताव पनि पारित भएको छ । केन्द्रीय कमिटीको आकार २५१ सदस्यीय हुनेछ । सदस्यता दुई खाले हुने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ ।

तर धेरैले चासोका साथ हेरेको ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रस्तावमा भने धेरै लामो छलफल चलेको छ । ‘सबै नेताहरुले आफ्नो कुरा राख्नुभयो । यद्यपि सहमति जुट्न सकेन’, बैठक स्रोतले भन्यो, ‘पछि बहुमतका आधारमा यो प्रस्ताव पारित भयो ।’

विधानको धारा ६४ मा रहेको यो व्यवस्थाबारे छलफल हुँदा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच नोकझोंक नै भएको थियो । विधानमाथि धारणा राख्ने क्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले भूमिका सहित पार्टी विधान तीन पटक छापिएको प्रशंग उठाएका थिए ।

प्रथम विधान महाधिवेशनले गरेको निर्णय र दशौं राष्ट्रिय महाविधेशनको परिस्थितिबारे बोल्दै जाँदा वरिष्ठ उपाध्यक्ष पोखरेलले तीनपटक विधान छापिएको प्रशंग उठाएका थिए ।

पोखरेल बोल्दै गर्दा ओलीले आपत्ति जनाए । ओलीले भने- ‘तपाई कर्ण थापाको कुरा बोकेर आउने हो ?’

स्रोतका अनुसार ओलीले कर्ण थापाको कुरा बोकेर नआउन भनेपछि ईश्वर पोखरेल झोक्किएका थिए । ‘म आफ्नो कुरा राखिरहेको छु, कर्ण थापासँग मलाई किन जोड्नुहुन्छ ?,’ पोखरेलले उल्टै प्रश्न गरेका थिए ।

यसपछि भने ओली बोलेनन् । पोखरेलले आफ्ना कुरा राख्न थाले ।

बोल्ने क्रममा पोखरेलले ओलीलाई नेतृत्व छोड्न सुझाव नै दिएका छन् ।

‘तपाई र म बीचमा कुनै आइडोलोजीको समस्या होइन, छैन, तर तपाईंको शैलीमा समस्या भयो,’ पोखरेलले भने, ‘कार्यकर्ता र जनतासँग गर्ने शैली ठीक भएन, पार्टीभित्र मूल्यांकन गर्ने विधि भएन, त्यसैले अब तपाईले छोड्नुस् (नेतृत्व) ।’

पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन पनि ओलीले नेतृत्व छोड्नुपर्ने तर्क पोखरेलले गरेका थिए । ‘आत्मालोचना भन्ने चिज छैन, विचारको विमर्शलाई झगडा भन्नुहुन्छ,’ ओलीसँग नेतृत्व छोड्नुको विकल्प नरहेको तर्क पोखरेलले गरेका थिए ।

तर यो सबै सुनिरहेका प्रधानमन्त्री समेत रहेका ओलीले भने नेतृत्व छोड्ने अवस्था नरहेको जवाफ फर्काएका थिए । ‘ईश्वर कमरेडले शान्त शैलीमै नेतृत्व छोड्नुस् भन्नुभयो, यो सबै सुनिरहनुभएका अध्यक्ष कमरेडले मिल्दैन भन्नुभयो’, स्रोतले भन्यो ।

पार्टीमा अझै आफ्नो आवश्यकता रहेकाले छोड्न नमिल्ने ओलीको तर्क थियो । स्रोतका अनुसार विधानकै बारेमा घण्टौ छलफल भएको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयले पनि प्रवेश पाएको थियो । तर यो विषयमा धेरै छलफल भने भएन ।

अध्यक्ष ओली आफैंले यो विषयमा थप छलफल गरिने भनेपछि नेताहरुले कुरा राखेनन् । ‘यसबारेमा थप कुरा गर्नुपर्छ, केन्द्रीय कमिटी बैठक र विधान महाधिवेशनको बीचतिर उहाँका (विद्या भण्डारी) बारेमा छलफल गर्नुपर्छ,’ ओलीले भनेका थिए । तर विद्या भण्डारी राजनीतिमा आउन ठीक नभएको तर्क भने ओलीले बैठकमा राखेका छन् ।

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?