कांग्रेस–एमाले गठबन्धन सरकारले एक वर्ष पार गरिरहँदा फेरि नयाँ गठबन्धनको प्रयास सुरु भएको छ। एमाले र कांग्रेसका असन्तुष्ट नेताहरू समेत सहभागी भएर सुरु भएको उक्त गठबन्धन बनाउने प्रक्रियाको नेतृत्व भने कांग्रेस नेता शेखर कोइरालाले गरेका छन्। यसैको प्रयासस्वरूप नेता कोइरालाले बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र शुक्रबार पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरे। यो गठबन्धनको प्रयासमा संलग्न रहेका प्रतिनिधिसभा सदस्य अमरेश सिंहले यसको पृष्ठभूमि, प्रयास र अहिलेसम्म भएका छलफल बारे खुलेर कुराकानी गरेका छन्। प्रस्तुत छ सिंहसँग अनलाइनखबरकी बिनु सुवेदीले गरेको कुराकानीको सम्पादित अंश:
केही हप्तादेखि तपाईंहरू एउटा अभियानमा लाग्नुभएको रहेछ। सबै पार्टीका असन्तुष्टहरूलाई एकैठाउँमा भेला पार्ने तपाईंहरूको अभियान रहेछ। त्यो के हो ? कसरी सम्भव भयो ? र अहिलेसम्म के–के गरिराख्नुभएको छ ?
अहिले तपाईंले एकदम सही प्रश्न उठाउनुभयो। सरकारले जनतामा कुनै पनि आशाको सञ्चार गर्न सकेन। जनताको काम गर्न सकेन। भ्रष्टाचार दिनका दिन बढेकै छन्। मन्त्रीहरू भ्रष्टाचारमा छन्। उसको अडियो निस्किन्छ तर राजीनामा दिंदैन। धेरै हल्लाखल्ला भयो भने मधेशी भएको कारणले राजकुमार गुप्ताले राजीनामा दिने तर त्यही सत्ताको ग्रुप भएको कारणले बलाराम अधिकारीले राजीनामा नदिनुपर्ने र जुनसुकै ठूला–ठूला भ्रष्टाचारको ढाकछोप गर्ने, न्यायपालिकादेखि कर्मचारी प्रशासनसम्मलाई प्रभावित गर्ने जस्ता काम यो सरकार र गठबन्धनले गर्यो, त्यसका विरुद्ध बलियो गठबन्धन गर्नै पर्ने थियो।
अहिले दुईतिहाइको नाउँमा भइरहेको शेरबहादुर र केपी शर्मा ओलीको गठबन्धनले जे–जे गरिरहेको छ त्यसले देशमा बलियो प्रतिपक्षीको आवश्यकता परेको थियो। अपोजिसनलाई वेटिंग इन गभर्मेन्ट पनि भनिन्छ। यो खाली अपोजिसनको लागि होइन। सरकारको विकल्पका रूपमा पनि शेखर कोइरालालाई अगाडि सारेर यो गठबन्धन बनाउने काम तीव्रता साथ बढिरहेछ। त्यसमा जहाँ–जहाँ पीडितहरू छन् उनीहरूलाई हामीले साथ लिइरहेका छौं। आजको दिनमा विद्याजीलाई एमालेमा पीडित बनाउन खोजेका छन्। हामी उहाँको साथमा छौं। उपेन्द्र यादवलाई नै जुन तरिकाले सरकारको प्रयोग गरेर पार्टी फुटाइयो, हामी त्यसको विरोधमा छौं।
एमाले, कांग्रेस फुट्नु नपर्ने र उपेन्द्रजीको पार्टी किन फुट्नुपर्ने ? त्यो कहिलेसम्म सहने ? त्यसकारणले आजको यो सबै कुरालाई आत्मसात् गरेर यसको छलफल भएको हो। पहिलो यो सरकारलाई स्ट्रोंग अपोजिशनको आवश्यकता छ पार्लियामेन्टदेखि सडकमा। दोस्रो सरकारको विकल्प खोज्नुपर्छ। त्यो सरकारको विकल्पको रूपमा पनि डाक्टर शेखर कोइरालालाई अघि सारिएको हो।
अर्को तत्काल सडकदेखि सदनमा एउटै आवाज बनाउन खोजिरहेका छौं। हामी अहिले कांग्रेसको एउटा समूह, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, रास्वपाका नेताहरू छलफलमा छौं। आजको दिनमा आवश्यकता महसुस गरेर पनि यो एलायन्स बन्न लागेको हो। एलायन्स बनिसकेको चाहिं छैन, फर्मल घोषणा भाको छैन तर हामी सहमतिमा पुगिसकेका छौं। हिजो माओवादीका अध्यक्ष प्रचण्डसँग शेखर कोइरालाले भेट्नुभयो, आज पूर्व राष्ट्रपति विद्या भण्डारीसँग भेट्नुभयो।
यी देखिने भेटहरू बाहिर आएका भेटहरू भए। नआएका अनगिन्ती भेटहरू पनि यहाँहरूले गर्नुभएको होला। अघि तपाईंले भन्नुभयो पनि शेखर कोइरालालाई प्रधानमन्त्री बनाउनका निमित्त हामीले यो छलफल गरिराखेका छौं। यो दलीय प्रणाली भएको हाम्रो जस्तो मुलुकमा यस्तो खालको अलायन्सहरूको के अर्थ हुन्छ र ?
एउटा कुरा के बुझ्नुस् भने आजको दिनमा पुराना चेहरालाई जनता झेल्न तयार छैनन्। मेरो भाषा पनि तपाईंलाई अलिकति कठोर लाग्ला तर सत्य यही हो। किनकि शेरबहादुरजीले पाँच चोटिमा देशलाई केही नगर्नु अनि छैटौं चोटि प्रधानमन्त्री बनेर के प्राप्ति हुन्छ? शेरबहादुरजीलाई प्रधानमन्त्रीको रूपमा जनता स्वीकार गर्न तयार छैन। जनताको विश्वासलाई कायम गर्नका लागि न्यायिक र बेदाग चेहरा चाहिन्छ।
अहिलेको बिचौलिया तन्त्रको जुन नेटवर्क छ त्यसलाई भत्काउन हामीले यो एलायन्स बनाएका हौं।
तर; संसदीय पद्धति भएको हाम्रो जस्तो मुलुकमा संसद्को अंकगणितले काम गर्छ, दलले काम गर्छ नि! खै गणित ?
दलका अनुसार अंकगणित पनि पुग्छ नि! तपाईं गन्नु न। अब कांग्रेसको संसदीय दलको नेता नै शेखर कोइराला हुनुहुन्छ।
कसरी हुन्छ र त्यस्तो त, गगन थापा पराजित भएकै हो ?
अब गगन र शेखर एकठाउँमा आउँछन्। नआएर सुखै छैन। गगनले आफ्नो राजनीति बचाउनका लागि पनि शेखर कोइरालासँग मिल्नै पर्छ। शेरबहादुरसँग गगनजीको राजनीति सुरक्षित रहँदैन।
अर्को कुरा पनि म तपाईंलाई भन्छु, पहिला पनि त यही शेरबहादुरजी प्रधानमन्त्री एमालेमा माधव नेपालको समूहले मत दिएको थियो। त्यो बेला पनि दल थियो नि! कोशीमा केदार कार्की मुख्यमन्त्री बन्दाखेरि पनि दल थियो नि! त्यसकारण नम्बरको गेम हो भने पनि नम्बर त यता पनि छ नि!
कति नम्बर छ तपाईंहरूको अहिलेसम्मको हिसाबमा ?
छ हामीसँग। हामी तत्काल सरकारको कामकारबाहीबारे जनताको सामने पर्दाफास गर्छौं सदनदेखि सडकसम्म। दोस्रो कुरा अब हामी कुनै पनि मिटिङ गोप्य गर्दैनौं।
गोप्य मिटिङ जति सकाउनुभयो हैन तपाईंहरूले ?
हामीले हिजोदेखि खुल्लमखुल्ला होस् भन्ने नै चाहेको हो। त्यसैले हिजो शेखरजी र प्रचण्डजीको मिटिङ सार्वजनिक गर्यौं। पूर्व राष्ट्रपतिसँग आज शेखरजीले गर्नुभएको छलफल पनि सार्वजनिक गरेका छौं। अब चाहे उपेन्द्र यादवसँग मिटिङ होस् या माधव नेपालसँग होस्, चाहे स्वर्णिम वाग्ले या डीपी अर्यालसँग मिटिङ होस् यो सबै पब्लिक नै हुन्छ।
तपाईंहरूको दुइटा पब्लिक मिटिङ त हामीले सुन्यौं, समाचार पनि लेख्यौं। त्यसपछि तपाईंसँग कुराकानी गर्दैछौं अहिले। त्यो पब्लिक मिटिङ हुनुभन्दा अगाडिको तपाईंहरूको गोप्य योजना चाहिं के थियो। मैले सुनेको तपाईं, माधव नेपाल, प्रचण्ड, शेखर कोइरालाको छुट्टै बैठक पनि भएको थियो!
हो त, भएको थियो त। प्रचण्डजीकोमा हामीले ब्रेकफास्ट खाएर बैठक गरेका थियौं।
कुरा के भएको थियो त्यहाँ ?
कसरी त्यसमा हामी मिलेर जाने भन्ने नै कुरा भयो। हामी राजनीति गर्ने मानिस हौं, राजनीतिक व्यक्तिसँग मिटिङ गर्छौं। हामीले कुनै अपराध त गरेको छैन। जब शेरबहादुर र ओलीजीले संयन्त्रको बैठक गर्न मिल्ने, त्यसलाई मिडियामा तपाईंले न्युज बनाउन मिल्ने अनि हामीले मिटिङ गर्दाखेरि किन नमिल्ने?
मिल्ने! त्यो थाहा पाएसम्म मिल्ने नि…
त्यसै कारण हामीले हिजो निर्णय गर्यौं कि हामी खुल्लमखुल्ला एलायन्समा छौं। यो शेरबहादुर र ओलीजीको गठबन्धनको विकल्पको रूपमा हामी एलायन्स खडा गर्दैछौं। त्यत्ति हो।
यो इन्ट्रेस्टिङ खालको एलायन्स छ, यस्तो कसरी सम्भव हुन्छ ?
कांग्रेस पार्टी शेरबहादुरजीको निजी सम्पत्ति होइन नि! उहाँहरूले पार्टीमा निर्णय गर्नुहुन्छ र ? रातमा रामेश्वर थापाको घरमा साइन गर्दाखेरि पार्टीमा निर्णय गरेर जानुभएको थियो! उहाँ श्रीमान्–श्रीमती मात्र जानुभएको थियो। शेरबहादुरले पार्टीलाई मान्नु नपर्ने अरूले मान्दिनुपर्ने भन्ने हुन्छ ? सभापति भनेको पार्टी होइन नि! पार्टीको सभापति मात्र हो।
तपाईंले भन्नुभए अनुसार प्रचण्डको निवासमा जुन ब्रेकफाष्ट मिटिङ भएको थियो त्यहाँ अबको रोडम्याप यो–यो हो, हामी यसरी अगाडि बढ्ने भन्ने त पक्कै कुराकानी भयो होला। त्यो मलाई अलि विस्तृतमा भनिदिनु न !
हामी सरकारले गरेका कमि–कमजोरीलाई सिधा जनतामा एक्सपोज गर्छौं। यो सरकारले जनताको हित गर्न सकेन। राष्ट्रको भलो गर्न सकेन। विदेश सम्बन्ध सन्तुलित भएन। वैदेशिक ऋण बोकाएको बोकाएकै छ।
लोकतन्त्र खालि कानून मात्र होइन एउटा अभ्यास पनि हो। एउटा निष्ठा पनि हो। एउटा कल्चर पनि हो। संस्कृति हो, नेतृत्वमा लोकतान्त्रिक संस्कारमा हुर्केको मान्छे हुनुपर्छ। उहाँहरूले आफ्नो फाइदाको लागि निर्णय गरेका छन्। तपाईंले भन्नुहुन्छ फेरि शेरबहादुरजीले गरेको निर्णय कांग्रेसको निर्णय भयो।
संगठनात्मक पदले शेरबहादुरलाई त अधिकार नै दिएको छ त !
एक्लै निर्णय गर्ने अधिकार दिएको छ ? मलाई बताउनु न। त्यो दिनको फोटो पनि तपाईंसँग पक्कै होला, हामीसँग छ। रामेश्वर थापाको घरमा उहाँ र ओलीजीले साइन गर्दाखेरि आफ्नो–आफ्नो एउटा लेखनदास राख्नुभएको थियो। पार्टीलाई जानकारी थियो ? थिएन। कांग्रेस महामन्त्रीलाई जानकारी थिएन।
उहाँले निर्णय गर्दा पार्टीको निर्णय चाहिंदैन, संसदीय दलको निर्णय चाहिंदैन, केन्द्रीय समितिको निर्णय चाहिंदैन भने शेखर कोइरालालाई प्रचण्डसँग एलायन्स गर्दा या माधव नेपालसँग या उपेन्द्र यादवसँग या विद्यादेवी भण्डारीसँग एलायन्स बनाउनका लागि किन पार्टीको स्वीकृति चाहियो?
त्यो त फेरि उनीहरूले पछि स्वीकृत गरे त ! त्यो कुरालाई केन्द्रीय समितिले अनरशिप नलिएको भए, विरोध गरेको भए हुन्थ्यो नि! शेखर कोइरालाले त आफ्नो लागि मन्त्रीको बार्गेनिङ गर्नुभयो, यो निर्णय बेठिक थियो भनेर त भन्नुभएन त्यतिबेला…
हैन उहाँले पटक–पटक भन्नुभएको छ। यसपालिको केन्द्रीय कमिटीमा शेखर कोइरालाले के बोल्या छ तपाईंलाई थाहा छ होला।
थाहा छ, तर अहिले आएर गरेर भएन नि त! त्यो बेला मन्त्री मागेको त हो नि…
एक वर्ष सरकारका लागि काफी हुन्छ, सरकारले राम्रा काम गर्छ भन्ने थियो। तर सरकारले त जनताको पक्षमा कामै गरेन। त्यो सहमति शेरबहादुरजी र उहाँको श्रीमतीको लागि राम्रो भयो। परराष्ट्रमन्त्री ५० वटा देश घुमिसक्नुभयो सरकारी पैसामा।
परराष्ट्रमन्त्रीको काम पनि हो नि त्यो…
परराष्ट्रमन्त्री घुमेर नेपाललाई के फाइदा भयो ? कति आर्थिक इन्भेस्टमेन्ट भयो, कति इकोनोमिक डिप्लोमेसी बढ्यो? कुन देशसँग सम्बन्ध विकास भयो?
छ होला, पक्कै आफ्नो ठाउँबाट किन नहुनु र ?
होइन परिणाम बताउनु न! कोसिस त्यही भएको छ कि जसले इंग्लिस नबोल्ने त्यसलाई पनि राजदूत बनाइएको छ। परराष्ट्र मन्त्रालयले आफैं कार्यविधि बनाएको छ एम्बेस्डरको नियुक्तिका लागि। त्यो कार्यविधि पालन भएको छ? तपाईं त पढ्ने मान्छे हो नि! राजदूत नियुक्तिबारे परराष्ट्र मन्त्रालयले बनाएको कार्यविधि पालना भएको छ त ?
त्यो त छैन…
के कानून तोड्ने उहाँलाई छुट छ ? के उहाँ राजा हो कानून तोड्नलाई ?
यो अर्को कुरा भयो यसमा हामीले फेरि कुरा नि गरौंला नै। इन्ट्रेस्ट लागेको त त्यही विषय छ तपाईंहरूको अलायन्सकै। तपाईंहरू बस्नुभयो, यो अलायन्स अगाडि बढ्यो। यसका कारण पनि भन्नुभयो। ल अब भन्नु त यसको दूरगामी उद्देश्य के हो ?
अहिले अदालतमा शेरबहादुरजी र ओलीजीको एकलौटी छ। भोलिदेखि यो एलायन्स बनेपछि अदालतमा उहाँहरूको एक्लौटी रहँदैन। अदालतले पनि कुनै एकतर्फी निर्णय गर्नलाई दश चोटि सोच्नुपर्छ। अहिले पुलिस प्रशासन एकतर्फी छ, त्यो पनि एकतर्फी रहँदैन। अहिले राज्य संयन्त्रको दुरुपयोग भैरा’छ त्यो दुरुपयोगमा लगाम लाग्छ। दोस्रो यो सरकारसँग जो–जो असन्तुष्ट छन् सबै मिल्छन्।
तपाईहरूको संयन्त्रमा?
हो।
को को रे ? एक–एकको नाम भनिदिनु त !
पूर्व राष्ट्रपति विद्या भण्डारीजीको समूह नै छ यहाँ। विद्याजीलाई व्यक्ति नठान्नु, उहाँ संस्था हो। शेखर कोइरालाको ग्रुप, प्रचण्डजीको सिंगो पार्टी, माधव नेपालजीको सिंगो पार्टी, उपेन्द्र यादवजीको सिंगो पार्टी, प्रभु शाहको सिंगो पार्टी। तपाईंलाई बताउँ स्वर्णिम वाग्ले र उहाँको सिंगो पार्टी पनि हाम्रो एलायन्समा छ। नाउपा पनि छ हामीसँग। तपाईंले देख्नुभयो उहाँहरू संसद्मा पनि विपक्षीमै बस्नुभयो।
विपक्षीमै बस्नुभयो तर राजीनामा स्वीकृत भएको छैन नि!
उहाँले आफ्नो सिट त आफैं चेन्ज गर्नुभयो नि! रञ्जिताजी त यहाँको दलको नेता हो। रञ्जिता श्रेष्ठ पहिला मेरै छेउमा हुनुहुन्थ्यो। अहिले चेन्ज गर्नुभयो। म अहिले पनि सत्ता पक्षमै बसिरा’छु।
तपाईंले चाहिं अझै समर्थन गरिराख्नु भा’छ ?
म त हेरिरा’छु नि!
ए तपाईंले सत्तालाई समर्थन गरेर सत्ताको विरुद्ध लागिराख्नु भा’छ है अहिले ?
सत्ताको विरुद्धमा लागेको होइन नि! देशको डेमोक्रेसी मजबुत गर्नु आजको आवश्यकता हो। देशको लोकतन्त्रलाई कानूनी राज्यको मान्यता स्थापित गर्नलाई राज्य संयन्त्रको दुरुपयोग बढिरहेको छ, यो असन्तुलनलाई सन्तुलनमा ल्याउनका लागि यो मोर्चा आवश्यक हो।
तर तपाईं अब सत्ताको सिटमा बस्ने, सत्ता पक्षमा बस्ने, जसपा नेपाल जो मन्त्रालय लिएर सरकारमा जान ठिक्क परेकालाई चाहिं तानेर ल्याउने हैन ?
ओलीजीले उहाँको पार्टी फुटाइदिने र उहाँ ओलीजीसँग बसिराख्ने भन्ने हुन्छ त? तपाईंले यही भन्न खोज्नुभएको छ ? कसले पार्टी फुटाइदियो उपेन्द्रजीको ? तपाईंले फुटाउनुभएको हो कि मैले फुटाएको ?
त्यो त अब त्यतिखेरका माओवादी, एमालेले फुटाए होलान्!
ओलीजी हो फुटाउने। प्रचण्डको क्षमता छैन, कसैको पार्टी फुटाउने।
भनेपछि यी सबै कुराको बदला लिन नयाँ संयन्त्र बन्ने भयो हैन त ?
हो।
आज भोलि नै तपाईंहरूको के सेड्युल छ ?
हामी सबैसँग कुराकानीमा छौं। यति मात्र भनौं न।
तर सँगै त बस्नु भा’छैन तपाईं सबै जना?
सँगै पनि बस्छौं नि! पहिला त कुराकानी गरेर हामी यही कमन एजेन्डामा आउनुपर्यो।
कमन एजेण्डा चाहिं शेखर कोइरालालाई प्रधानमन्त्री बनाउने हैन त ?
नेपाली जनता नयाँ चेहरा चाहन्छ। यो तीन वटाबाट देशको कल्याण हुँदैन। त्यो नेपाली जनताले भनिराख्या छ।
यो तीनटा भनेको प्रचण्ड, देउवा ओली हो ?
हो।
ए अनि त्यसमा चाहिं प्रचण्ड सहमत हुनुहुन्छ ?
प्रचण्ड सहमत हुनुहुन्छ। उहाँले २०८४ सम्म म प्रधानमन्त्रीतिर जान्नँ, मबाट देशलाई न्याय हुन्न भन्नुभएको छ। देशले नयाँ चेहरा खोजेको छ, उहाँको पनि भनाइ त्यही हो।
तपाईंहरू कहिलेसम्म सफल हुनुहुन्छ होला ?
यो त जनतासँग सोध्नुपर्छ।
जनतासँग त २०८४ को चुनावमा न सोध्ने हो!
त्योभन्दा पहिले जनता सडकमा आउँछ नि! जनता कति पीडित छन्। सरकारलाई अकाउन्टेबल बनाउनलाई हरेक विधि प्रयोग गर्छौं। अनि सरकार गठनको लागि पनि हरेक प्रयास गर्छौं। दुइटा कुरा सूत्रमा यति बुझ्नुहोस्।
अब सडक आन्दोलन गर्नुहुन्छ ?
जरुरत परे त गरिन्छ नि!
प्रतिक्रिया 4