+

दुखाइ कम गर्ने औषधि जथाभावी खाँदा कलेजोमा कस्तो असर पर्छ ?

२०८२ साउन  ४ गते १३:२६ २०८२ साउन ४ गते १३:२६
Shares
दुखाइ कम गर्ने औषधि जथाभावी खाँदा कलेजोमा कस्तो असर पर्छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दुखाइ निवारक औषधिको अनियन्त्रित प्रयोगले कलेजोमा गम्भीर क्षति पुर्‍याउन सक्छ, विशेषगरी पारासिटामोलको अत्यधिक सेवनले एक्युट लिभर फेलियर निम्त्याउन सक्छ।
  • दुखाइ निवारक औषधि र रक्सीको संयोजनले कलेजोमा विषाक्त प्रभाव पार्छ र एक्युट लिभर फेलियरको सम्भावना ५० प्रतिशतले बढाउँछ।

कहिलेकाहीं टाउको दुखाइ, महिनावारीको दुखाइ, मांसपेशीको तनाव वा अन्य शारीरिक असुविधाबाट राहत पाउन प्रायः सबैले दुखाइ निवारक औषधिको सहारा लिन्छन् । यस्ता औषधिले तत्काल राहत प्रदान गर्छन्, तर जथाभावी र बारम्बार प्रयोगले शरीरका विभिन्न अंगहरू, विशेषगरी कलेजोलाई गम्भीर क्षति पुर्‍याउन सक्छ ।

कलेजो शरीरको एक महत्त्वपूर्ण अंग हो, जसले विषाक्त पदार्थहरू निष्कासन, पाचन प्रक्रिया र रक्त शुद्धीकरणमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

दुखाइ निवारक औषधिको अनियन्त्रित प्रयोगले कलेजोमा पार्ने प्रभाव:

पारासिटामोलको अत्यधिक प्रयोग र कलेजोमा क्षति

पारासिटामोल ‘एसिटामिनोफेन’ विश्वभर व्यापक रूपमा प्रयोग हुने दुखाइ निवारक औषधि हो । यो सामान्यतया सुरक्षित मानिन्छ, तर सिफारिस गरिएको मात्राभन्दा बढी सेवनले कलेजोमा गम्भीर क्षति पुर्‍याउन सक्छ ।

वैज्ञानिक अध्ययनहरूका अनुसार, पारासिटामोलको मेटाबोलिज्म कलेजोमा हुन्छ, जहाँ यो ग्लुटाथियोनसँग संयोजन भएर निष्क्रिय हुन्छ। तर, अत्यधिक मात्रामा सेवन गर्दा ग्लुटाथियोनको मात्रा अपर्याप्त हुन्छ, जसले ‘एन–एसिटिल–पी–बेन्जोक्विनोन इमाइन’ नामक विषाक्त पदार्थको सञ्चय हुन्छ । यो विषाक्त पदार्थले कलेजोको कोशिकाहरूलाई नष्ट गर्न सक्छ, जसले एक्युट लिभर फेलियर निम्त्याउन सक्छ ।

वैज्ञानिक तथ्य : विश्व स्वास्थ्य संगठनका अनुसार, वयस्कहरूका लागि सुरक्षति मात्रा भनेको दैनिक मात्रा सामान्यतया ४ ग्राम भन्दा कम हो । एकैपटक ७–१० ग्राम वा लामो समयसम्म सिफारिसभन्दा बढी प्रयोगले कलेजोमा गम्भीर क्षति पुर्‍याउन सक्छ ।

कलेजोका इन्जाइमहरूको स्तरमा वृद्धि

नन–स्टेरोइडल एन्टी–इन्फ्लेमेटरी औषधिहरू जस्तै आइबुप्रोफेन वा डाइक्लोफेनाकको नियमित र अनियन्त्रित प्रयोगले कलेजोका इन्जाइमहरूको स्तर बढाउन सक्छ । यी इन्जाइमहरूको वृद्धिले कलेजोको कोशिकामा क्षति भएको संकेत हो ।

हेपाटोलोजी जर्नलमा प्रकाशित एक अध्ययन अनुसार नन–स्टेरोइडल एन्टी–इन्फ्लेमेटरी औषधिको दीर्घकालीन प्रयोगले औषधिजन्य कलेजो क्षतिको जोखिम बढाउँछ, जुन प्रायः बिनालक्षण नै हुन्छ । यसले रोगीहरूलाई आफ्नो कलेजो कमजोर भएको थाहा नहुन सक्छ, जुन समयसँगै गम्भीर बन्न सक्छ ।

फ्याटी लिभर र कलेजो सुन्निने जोखिम

केही नन–स्टेरोइडल एन्टी–इन्फ्लेमेटरी, विशेषगरी आइबुप्रोफेनले कलेजो सुन्निने समस्या निम्त्याउन सक्छ । यदि कसैलाई पहिलेदेखि नै नन–अल्कोहलिक फ्याटी लिभर डिजिज छ भने, यस्ता औषधिहरूले यो अवस्थालाई झन् बिगार्न सक्छ ।

अमेरिकी ग्यास्ट्रोइन्टेरोलोजी जर्नलमा प्रकाशित एक अध्ययन अनुसार दीर्घकालीन प्रयोगले कलेजोमा बोसो सञ्चयलाई बढावा दिन सक्छ, जसले गैर–मदिराजन्य स्टेटोहेपाटाइटिसको जोखिम बढाउँछ । यो अवस्था सिरोसिस वा कलेजो क्यान्सरको कारण बन्न सक्छ ।

रक्सीसँगको खतरनाक संयोजन

रक्सी र दुखाइ निवारक औषधिको संयोजनले कलेजोमा विषाक्त प्रभाव निम्त्याउन सक्छ । विशेषगरी पारासिटामोल र रक्सीको मिश्रणले ‘एन–एसिटिल–पी–बेन्जोक्विनोन इमाइन’को उत्पादनलाई तीव्र बनाउँछ, जसले कलेजोको कोशिकाहरूलाई तीव्र गतिमा नष्ट गर्छ।

द ल्यान्सेटमा प्रकाशित एक अध्ययन अनुसार रक्सी सेवन गर्ने व्यक्तिहरूले पारासिटामोलको सामान्य मात्रा लिँदा पनि कलेजो क्षतिको जोखिम उच्च हुन्छ । यो संयोजनले एक्युट लिभर फेलियरको सम्भावना ५० प्रतिशतले बढाउँछ ।

दुखाइको कारण लुकाउने खतरा

दुखाइ निवारक औषधिहरूले दुखाइलाई दबाउँछन्, तर रोगको मूल कारणलाई सम्बोधन गर्दैनन् । उदाहरणका लागि, यदि कसैलाई बारम्बार टाउको दुखाइ वा जोर्नीको दुखाइ छ र उसले केवल दुखाइ निवारक औषधिमा निर्भर गर्छ भने, गम्भीर रोगहरू जस्तै माइग्रेन, अर्थराइटिस जस्ता समस्या लुकेर रहन सक्छन् ।

ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार दुखाइ निवारक औषधिको अत्यधिक प्रयोगले दीर्घकालीन स्वास्थ्य समस्याहरूलाई निदान गर्न ढिलाइ गर्न सक्छ, जसले रोगलाई जटिल बनाउँछ ।

कलेजो विफलताको गम्भीर जोखिम

लामो समयसम्म र चिकित्सकको सल्लाहबिना दुखाइ निवारक औषधिको अत्यधिक प्रयोगले कलेजो विफलता ‘लिभर फेलियरको अवस्था’ निम्त्याउन सक्छ । हेपाटोलोजी जर्नलमा प्रकाशित एक अध्ययनअनुसार, पारासिटामोलसँग सम्बन्धित कलेजो विफलता विश्वभर औषधिजन्य कलेजो क्षतिको प्रमुख कारण हो । यस्तो अवस्थामा कलेजो प्रत्यारोपण वा अन्य जटिल उपचार आवश्यक पर्न सक्छ ।

सुरक्षित प्रयोगका लागि सुझावहरू

आवश्यकतामा मात्र प्रयोग गर्ने : दुखाइ निवारक औषधिहरू तीव्र दुखाइको अवस्थामा र चिकित्सकको सल्लाहमा मात्र प्रयोग गर्नुपर्छ । वैकल्पिक उपायहरू जस्तै, फिजियोथेरापी, योगलाई प्राथमिकता दिनुपर्छ।

मात्रामा ध्यान दिने : सधैं औषधिको प्याकेजमा उल्लिखित वा चिकित्सकले सिफारिस गरेको मात्रा पालना गर्नुपर्छ । पारासिटामोलको हकमा, २४ घण्टामा ४ ग्रामभन्दा बढी सेवन गर्नु हुँदैन ।

चिकित्सकसँग परामर्श : यदि बारम्बार दुखाइ निवारक औषधि लिनुपर्ने अवस्था छ भने, चिकित्सकसँग सम्पर्क गरी दुखाइको मूल कारण पत्ता लगाउनुपर्छ ।

रक्सीबाट टाढा रहने : दुखाइ निवारक औषधि सेवन गर्दा रक्सी पूर्ण रूपमा बन्द गर्नुपर्छ, किनकि यो संयोजनले कलेजोमा तीव्र क्षति पुर्‍याउँछ ।

 वैकल्पिक उपाय अपनाउने : अकुपञ्चर , ध्यान र हल्का व्यायाम जस्ता गैर-औषधीय उपायहरूले दुखाइ व्यवस्थापनमा सहयोग गर्न सक्छ ।

औषधि कलेजो पेनकिलर
प्रा.डा. विद्या सागर प्रसाद
लेखक
प्रा.डा. विद्या सागर प्रसाद
इन्टरनल मेडिसिन

प्रा.डा. प्रसाद मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालमा कार्यरत छन्। इन्टरनल मेडिसिनमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ११३७५ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय