+
+
Shares

ओलीको तर्क : ७० वर्षे लगाउने हो भने मैले जेल बसेको समय घटाउनुपर्छ

पूर्व राष्ट्रपति भण्डारीसँग भेटेरै कुरा गर्न तयार भएका ओलीले पोलिटब्युरोका नेताहरूसँग भने नेतृत्व नछोड्ने स्पष्ट सन्देश दिएका छन् ।

सइन्द्र राई सइन्द्र राई
२०८२ साउन ४ गते २२:०१
शुक्रबार र शनिबार बसेको एमालेको पोलिटब्युरो बैठक

४ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्ने सूचना सार्वजनिक भएपछि ठूलो संख्यामा समर्थकहरू च्यासल पुगेका थिए ।

पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने योजना अध्यक्ष ओलीले शनिबारको पोलिटब्युरो बैठकमै सुनाएका थिए । पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरण, पार्टी भूमिका लगायतबारे बसेरै टुंग्याउने ओलीले बताएका थिए ।

त्यसैअनुसार ओलीले आज पूर्वराष्ट्रपति भण्डारी र उनी निकट नेताहरूसँग संवादको योजना बनाएका हुन् । स्रोतका अनुसार पूर्वराष्ट्रपति भण्डारीका बारेमा छलफल गर्नकै निम्ति वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ओलीले बालुवाटार बोलाएका थिए । पोखरेलसँगको संवाद सकेर पूर्व राष्ट्रपतिसँग कुरा गर्ने ओलीको योजना थियो ।

तर भण्डारी बालुवाटार जान मानिनन् । ‘अस्ति ३ जेठमा बालुवाटार गएर कुरा गरेकै हो, तर त्यो भेटको कुरालाई अध्यक्षले मान्यता दिनुभएन । र, सल्लाह विना राजनीतिमा आउने घोषणा गरेको कुरा भनिरहनुभएको छ’, भण्डारी निकट स्रोत भन्छ, ‘बालुवाटारको कुरा रेकर्डमा रहँदैन भने च्यासलमै बसौं भनिएको हो ।’

पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणबारे छलफल हुने अभिव्यक्ति र पार्टी नेतृत्व हस्तान्तरण नगर्ने ओलीको अडानका कारणले पनि यो भेटवार्तालाई चासोका साथ हेरिएको छ । च्यासलमा शीर्ष नेताहरू र भण्डारी समर्थक युवा-विद्यार्थीको भीड लाग्नुले पनि आजको भेटवार्ताको महत्व अनुमान लगाउन सकिन्छ ।

नेताहरूकै दबाब

शनिबारको पोलिटब्युरो बैठकमा सहभागी नेताहरूका अनुसार पूर्व राष्ट्रपति भण्डारीसँग वार्तामा बस्न ओलीलाई अधिकांश नेताहरूले सुझाव दिएका थिए ।

‘पूर्व राष्ट्रपतिले राजनीतिमा सक्रिय हुने सार्वजनिक घोषणा गरिसकेपछि थप कुराकानी गर्ने दायित्व पार्टी अध्यक्षकै हुने तर्क अधिकांश पोलिटब्युरो सदस्यहरूले गरेका थिए’, एक नेताले भने । ती नेताका अनुसार लगभग बैठक हलकै सुझाव मिल्दो थियो ।

‘हिजो तपाईंहरू (ओली र भण्डारी) मिलेर आउनुभएको हो । अब पनि मिलेरै अगाडि बढ्नुपर्छ भन्ने मत बैठकमा लगभग साझा थियो’, उनी भन्छन् । पूर्वराष्ट्रपति भण्डारीसँग वार्ता मार्फत एउटा निकास दिनुपर्छ भन्ने ओलीलाई उनी निकटकै नेताहरूले पनि दिएका थिए ।

‘दुवैतिर झुकाव राख्नेहरूले भित्र कुरा गरौं, बाहिर विभाजित अभिव्यक्ति नदिऔं भन्ने नै थियो’, अर्का पोलिटब्युरो सदस्य भन्छन् । अन्तत: बैठक समापन गर्दै ओलीले पनि भण्डारीसँग सदस्यता नवीकरण, पार्टीमा भूमिका लगायतबारे गरेर एउटा टुंगोमा पुग्ने आश्वासन दिएका थिए ।

‘उमेर हद नमान्ने, नेतृत्व नछोड्ने’

पूर्व राष्ट्रपति भण्डारीसँग भेटेरै कुरा गर्न तयार भएका ओलीले पोलिटब्युरोका नेताहरूसँग भने नेतृत्व नछोड्ने प्रष्ट सन्देश दिएका छन् ।

बैठक स्रोतका अनुसार ओलीले पूर्वराष्ट्रपति भण्डारीप्रति चर्को आक्रोश नै पोखेका थिए । आफूसँग सल्लाह नगरी पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा आउने घोषणा गरेको, सरकार ढाल्ने षड्यन्त्रमा लागेको जस्तो आरोप ओलीले लगाएका थिए ।

‘विद्याजीलाई हामीले राष्ट्रपति बनाएको हो । पार्टीले सल्लाह गरेर पठाएको हो’, ओलीले भनेका थिए, ‘तर अहिले हामीसँग सल्लाह नगरी राजनीतिमा आउने घोषणा गर्नुभयो । सरकार फेर्ने षड्यन्त्रमा लाग्नुभयो । उहाँलाई पार्टी बाहिर छलफल गर्नु परेको छ ।’

तर पार्टी बाहिर जति छलफल गरे पनि नेतृत्व छोड्न नसकिने अडान ओलीले लिएका थिए । ‘पार्टी बाहिर छलफल गर्दै हिंड्नुभएको छ । तर नेतृत्व हस्तान्तरण गर्न सकिंदैन’, ओलीको भनाइ उद्धृत गर्दै अर्का पोलिटब्युरो सदस्यले भने ।

७० वर्षे उमेर हद कार्यान्वयन गर्न नसकिने पनि ओलीले बताएका थिए । ‘क-कसलाई ७० वर्षे उमेर हद मान्नुछ, उहाँहरूले माने हुन्छ, बिदा लिए हुन्छ’, ओलीले भनेका थिए, ‘म त कामको हिसाबले अहिले ५० वर्ष जस्तो खटिरहेको छु ।’

यदि ७० वर्षे उमेर हद लागू गर्ने हो भने आफूले १४ वर्ष जेल बसेको घटाउनुपर्ने ओलीले तर्क गरेका थिए । ‘७० वर्षे उमेर हद मान्ने हो भने मैले १४ वर्ष जेल बसेको समय घटाउनुपर्छ । जेल बस्दा मैले १४ वर्ष काम गर्न पाइनँ,’ ओलीले यसो भनिरहँदा बैठक हल हाँसोमय बनेको थियो ।

‘मैले जेल बसेको समय घटाएर उमेर गणना गर्नुस् भन्दा सबै नेताहरू हाँस्नु भयो’, ती नेता भन्छन् ।

पार्टीले जुन काम गर्दैछ, त्यसबारे भ्रम नछर्न पनि ओलीले चेतावनी दिएका थिए । विशेषगरी तीनपटक पार्टी विधान छापिएको बारेमा अब धेरै तर्क नगर्न ओलीले निर्देशन दिएका थिए । ‘अध्यक्षले कर्ण थापाको नामै लिएर अब स्टप गर्नुस् भन्नुभयो’, बैठक स्रोत भन्छ ।

स्रोतका अनुसार आफ्नो भूमिका अझै आवश्यक रहेकाले नै पार्टी विधानबाट ७० वर्षे उमेर हद हटाएर संशोधन प्रस्ताव तयार पारिएको ओलीले बताएका थिए ।

‘आवश्यकता परेकाले मैले नै विष्णु पौडेललाई यस्तो संशोधन प्रस्ताव तयार पार्न भनेको हुँ,’ ओलीले भनेका थिए ।

पार्टीका हरेक निर्णय आवश्यकताका आधारमा हुने र पाँचौं महाधिवेशन यता सधैं आफूले दस्तावेज पेश गर्दै आएको पनि अध्यक्ष ओलीले बताएका थिए ।

‘चौथो बाहेक यताका सबै महाधिवेशनमा मैले दस्तावेज तयार पारेको छु’ ओलीले बैठकमा भएका केही नेताहरूलाई साक्षी मान्दै भनेका थिए, ‘७० वर्षे उमेर हद आवश्यकताका आधारमा राखियो र आवश्यकताकै आधारमा हटाउनु पर्‍यो ।’

यसो भनिरहँदा ओलीले गणतन्त्रको निर्णयमा आफूबारे गलत बुझाइ रहेको पनि बताएका थिए । ‘कांग्रेस तयार नभएसम्म हामीले मात्र गरेर (गणतन्त्रमा जाने निर्णय) हुँदैन भनेको हुँ’, ओलीको स्पष्टोक्ति थियो ।

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?