News Summary
Generated by OK AI. Editorially reviewed.- मखाना, चिया सिड र आलसजस्ता सुपरफुडहरूले भोक नियन्त्रण, मुटु, दिमाग र पाचन स्वास्थ्यमा फाइदा पुर्याउँछन्।
- मखाना प्रोटिन, फाइबर र खनिजले भरिपूर्ण छ र डायबेटिक फ्रेन्डली भएकाले तौल घटाउन मद्दत गर्छ।
- चिया सिड र आलसलाई दैनिक खानपानमा थोरै मात्रामा मिसाएर सेवन गर्न सकिन्छ, जसले समग्र स्वास्थ्य सुधार गर्छ।
आधुनिक जीवनशैलीसँगै सन्तुलित आहारको खोजी बढ्दै गर्दा मखाना, चिया सिड र आलसजस्ता सुपरफुडहरूको चर्चा चुलिएको छ । यी प्राकृतिक, साधारण देखिने तर पोषणले भरिपूर्ण खानेकुराले भोक नियन्त्रणदेखि मुटु, दिमाग र पाचन स्वास्थ्यसम्मका लागि फाइदा दिन्छन् भन्ने विभिन्न अध्ययनहरूले पुष्टि गरेका छन् ।
यस्तोमा यी सुपरफुडका फाइदा, खाने तरिका र दैनिक खानपानमा कसरी समावेश गर्ने लगायतको विषयमा पोषणविद्, मिताहारा डाइट क्लिनिककी सह-संस्थापक आस्था कार्कीसँग अनलाइनखबरका लागि सुमित्रा लुइटेलले गरेको कुराकानीको सम्पादित अंश :
मखाना के हो, किन यसलाई सुपरफुड मानिन्छ ?
मखाना अहिले चर्चामा छ । तर यसको प्रयोग भने हाम्रो समाजमा वर्षौँदेखि हुँदै आएको छ । खास गरी तिहारको भाइमसलामा मखाना सामेल गरिन्छ । अहिले भने मखानालाई स्वादिष्ट र पौष्टिक खाजाको रुपमा दैनिक खान थालिएको छ ।
मखाना, जसलाई फक्स नट वा लोटस सिड पनि भनिन्छ, एक पौष्टिक र स्वास्थ्यकर खानेकुरा हो जुन नेपाल र भारतमा लोकप्रिय हुँदैछ । यो कम क्यालोरी, उच्च पोषक तत्त्व भएको सुपरफुड हो, जसमा प्रोटिन, फाइबर र कम्प्लेक्स कार्बोहाइड्रेट प्रशस्त मात्रामा पाइन्छ ।
मखाना डायबेटिक फ्रेन्डली छ, किनभने यसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । यसमा फस्फोरस, आइरन, पोटासियम र क्याल्सियम जस्ता खनिजहरू हुन्छन्, जसले हड्डीको स्वास्थ्य, रक्तचाप नियन्त्रण र पाचन प्रणालीलाई फाइदा पुर्याउँछ । मखानाले भोकलाई लामो समयसम्म नियन्त्रण गर्छ, जुन तौल घटाउन चाहनेहरूका लागि उत्कृष्ट खाजाको विकल्प बन्छ ।
धेरैलाई मखाना खान गाह्रो लाग्छ, किनभने यो सादा हुन्छ, मखाना कसरी खाने ?
मखाना खाने धेरै रमाइला तरिकाहरू छन् । सिम्पल तरिकाले रोस्ट गरेर खाँदा पपकर्नजस्तै क्रन्ची हुन्छ । बच्चाहरूलाई मन पर्ने कुरकुरे, चटपटे स्वादको लागि थोरै घिउमा भुटेर मरीच, टिमुर वा बिरेनुन मिसाउन सकिन्छ ।
गुलियो खानेकुरा मन पराउनेले खीर बनाएर ड्राइफ्रुट्स मिसाएर खान सक्छन् । मखानालाई प्रोटिन पाउडरमा मिसाएर पोस्ट–वर्कआउट स्मूदीमा पनि प्रयोग गर्न सकिन्छ । करी वा ग्रेभीमा समेत मखाना हालेर नयाँ स्वाद लिन सकिन्छ ।
मखानाको मूल्य धेरै उतार–चढाव भइरहन्छ त्यसैले मान्छेहरूले यो महँगो भएर खान डराउँछन् नि ?
हो, मखानाको मूल्य उत्पादनमा निर्भर गर्छ । राम्रो सिजनमा उत्पादन धेरै भए सस्तो हुन्छ, तर खडेरीले उत्पादन कम भए महँगो हुन्छ । तर ३० ग्राम मखाना एक सर्भिङको लागि पर्याप्त हुन्छ, जुन पपकर्नजस्तै हल्का र स्वस्थ स्न्याक्स हो । यो थोरै मात्रामा खाँदा पनि धेरै पोषण दिन्छ, त्यसैले यो किफायती पनि छ ।
चियाडिसले तौल घटाउँछ भनेर अहिले धेरैले यसको सेवन गर्छन्, चियासिड के हो र कसरी काम गर्छ ?
चिया सिड अर्को सुपरफुड हो, जुन फाइबर, प्रोटिन र ओमेगा–३ फ्याटी एसिडले भरपुर हुन्छ । यो विशेष गरी पेटको स्वास्थ्य, कब्जियत कम गर्न र भोक नियन्त्रण गर्न उपयोगी छ । पानीमा भिजाउँदा चिया सिड फुल्छ, जसले पेट अघाएको महसुस गराउँछ र खानाको मात्रा नियन्त्रण गर्छ ।
यसमा एन्टिअक्सिडेन्टहरू पनि हुन्छन्, जुन मुटुको स्वास्थ्य र क्यान्सर प्रतिरोधका लागि फाइदाजनक छन् । नेपालमा यो अहिले चितवन, दाङ जस्ता ठाउँमा थोरै उत्पादन हुन थालेको छ, तर धेरैजसो आयात हुन्छ ।
चिया सिड खाने सही तरिका के हो ?
चिया सिड खाँदा सही तरिका महत्त्वपूर्ण छ । रातभरि पानीमा भिजाएर खानुपर्छ, नत्र ड्राई खाँदा कब्जियत बढ्न सक्छ । सुरुमा आधा चम्चाबाट थाल्नुपर्छ, बिस्तारै एक चम्चासम्म पुर्याउन सकिन्छ । सलाद वा पानीमा मिसाएर खान सकिन्छ । चिया सिड खाँदा पर्याप्त पानी पिउनु पनि जरुरी छ, नत्र फाइबरले समस्या निम्त्याउन सक्छ।
पछिल्लो समय आलसको पनि चर्चा हुने गरेको छ, के यो पनि सुपरफुड हो ?
आलस हाम्रो स्थानीय खानेकुरा हो, कतिपय व्यक्ति भने चिल्लो हुन्छ भनेर खान डराउँछन् । तर, आलस हाम्रो लागि औषधि जस्तै हो । यो ओमेगा–३ फ्याटी एसिड, प्रोटिन र फाइबरले भरपुर हुन्छ । यो मुटुको स्वास्थ्य, कोलेस्ट्रोल नियन्त्रण र इन्फ्लामेसन कम गर्न उपयोगी छ । विशेष गरी महिलाहरूमा पिसिओएस जस्ता समस्यामा आलसले हार्मोन सन्तुलन गर्न मद्दत गर्छ । बच्चाहरूको दिमागी विकास र तौल बढाउन पनि यो फाइदाजनक छ । आलसलाई रोस्ट गरेर सलाद, लिटो वा स्मूदीमा मिसाएर खान सकिन्छ ।
यी तीनै सुपरफुडलाई दैनिक खानपानमा कसरी समावेश गर्ने ?
बिहान चिया सिडलाई पानी वा कागती पानीमा मिसाएर सुरु गर्न सकिन्छ । दिउँसोको खाजामा मखानालाई रोस्ट गरेर वा चटपटे बनाएर खान सकिन्छ । आलसलाई सलाद, लिटो वा रोटीमा मिसाउन सकिन्छ । यी सबै थोरै मात्रामा (१–२ चम्चा) खाँदा पर्याप्त हुन्छ । यी सुपरफुडहरूले पोषण मात्रै दिन्न, मुटु, पेट र दिमागको स्वास्थ्य पनि राख्छ।
पहिलेका मानिसहरू यस्ता खानेकुरा सेवन गर्दैन थिए तैपनि स्वस्थ नै थिए नि ?
पहिला–पहिला मखाना, आलस जस्ता खानेकुरालाई सामान्य खानाको रूपमा चिनिन्थ्यो । यसलाई सुपरफुडको रूपमा चिनिएको थिएन किनभने यसको पौष्टिक गुणहरूबारे वैज्ञानिक अनुसन्धान र जागरूकता कम थियो । त्यसैले यस्ता खानेकुरा खाने चलन थिएन । पहिलेका मान्छेहरूको खाना सन्तुलित हुन्थ्यो । प्राकृतिक खानेकुरालाई प्राथमिकता दिइन्थ्यो । त्यसैले पनि पहिलेका मान्छेहरू यस्ता खानेकुरा नखाए पनि स्वस्थ नै थिए ।
स्वस्थ व्यक्तिका लागि दैनिक डाइट कस्तो हुनुपर्छ ?
एउटा स्वस्थ व्यक्तिको डाइट एकदमै सन्तुलित हुनुपर्छ । बिहान मनतातो पानी वा तुलसी/ज्वानो पानीबाट सुरु गर्न सकिन्छ । अफिस जानेहरूले ९ बजे नै खाना खानुहुन्छ भने भइहाल्यो नत्र नास्तामा नुनिलो खानेकुरा जस्तै:- ओट्स, बेसन रोटी, स्प्राउट्स वा अण्डा खान सकिन्छ ।
दिउँसोको खानामा दाल, भात, तरकारी, सलाद र प्रोबायोटिक जस्तै:- गुन्द्रुक, मुलाको अचार समावेश गर्न सकिन्छ । स्न्याक्समा मखाना, आलस, बदाम वा सिजनल फलफूल खान सकिन्छ ।
बेलुका कम्प्लेक्स कार्बोहाइड्रेट जस्तै:- कोदो, फापरको रोटी र फाइबरयुक्त खाना दाल, तरकारी खान सकिन्छ । हरेक खानामा प्रोटिन र फाइबर सन्तुलन हुनुपर्छ यो तरिकाले खानाले पोषण मात्रै होइन, दीर्घकालीन स्वास्थ्य पनि सुनिश्चित गर्छ ।
भिडियो
प्रतिक्रिया 4