+
+
Shares
भक्तपुरमा दिदीबहिनी मृत घटना :

मुम्बईबाट आफैं काठमाडौं आएको निष्कर्ष, पोस्टमार्टम रिपोर्ट कुर्दै प्रहरी

‘उनीहरूलाई मुम्बईबाट कसैले काठमाडौं ल्याएको भन्ने कोणबाट अनुसन्धान गरेका थियौं । तर उनीहरू आफैं आएको देखिएको छ,’ डीएसपी नेउपानेले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १२ गते १२:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ बोडे सिन्टीटारमा मृत भेटिएका किशोरी दिदीबहिनी आफैं भारतको मुम्बईबाट काठमाडौं आएको प्रहरीले निष्कर्ष निकालेको छ।
  • किशोरी मेनुका कँडेल (१५) र सिर्जना कँडेल (१३) झुन्डिएको अवस्थामा भेटिएका थिए र पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ।
  • परिवारले छोरीहरूलाई होटलमा काम लगाइएको आरोप लगाएको भए पनि प्रहरीले मृत्यु संकास्पद नभएको बताएको छ।

१२ साउन, काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ बोडे सिन्टीटारमा मृत फेला परेका किशोरी दिदीबहिनी आफैं भागेर भारतको मुम्बईबाट काठमाडौं आएको प्रहरीले निष्कर्ष निकालेको छ ।

किशोरी दिदीबहिनी मेनुका कँडेल (१५) र सिर्जना कँडेल (१३) लाई कोही कसैले मुम्बईबाट ललाई फकाई तथा भगाएर काठमाडौं ल्याएको हुनसक्ने परिवारको आशंका थियो । तर यो कोणबाट अनुसन्धान गर्दा उनीहरू आफैं मुम्बईबाट आएको देखिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानेले बताए ।

‘उनीहरूलाई मुम्बईबाट कसैले काठमाडौं ल्याएको भन्ने कोणबाट अनुसन्धान गरेका थियौं । तर उनीहरू आफैं आएको देखिएको छ,’ डीएसपी नेउपानेले भने ।

करिब तीन साताअघि भारतको मुम्बईस्थित मीरा भाइन्दरबाट उनीहरू हराएको बाबुआमाले बताएका थिए ।

मुम्बईबाट हराएको भनिएको केही समयपछि उनीहरु मृत भेटिएका थिए । गत बिहीबार बिहान सिन्टीटारस्थित चक्रधर प्रजापतिको घरमा झुन्डिएको अवस्थामा उनीहरु मृत भेटिएका थिए ।

बिहीबार बिहान ६:४५ बजेतिर प्रजापतिको इँटा र फलामले बनेको दुई तले घरको भुइँतलामा दिदीबहिनी मृत अवस्थामा भेटिएका थिए । उनीहरूको घर सुर्खेत पञ्चपुरी नगरपालिका–८ रहेको प्रहरीले बताएको छ । आफू बस्ने डेरा कोठाको प्यासेजमा नाइनलको डोरीले बाँधेर झुन्डिएको अवस्थामा उनीहरूको शव फेला परेको थियो ।

फलामको डन्डीमा नाइनलको डोरी घुसाएर दुईतर्फको टुप्पाले घाँटीमा पासो लागेको अवस्थामा उनीहरू मृत भेटिएका हुन् ।

मृतक किशोरीका बाबुआमाले भने आफ्ना छोरीहरूलाई कसैले होटलमा काम लगाएको आरोप लगाएका छन् । मृत्युको खबर पाउनुपूर्व उनीहरू छोरीहरूको खोजी गर्दै भारतको एक अनलाइन टेलिभिजनमा पुगेका थिए ।

सिगास अनलाइन टेलिभिजनमा कुराकानी गर्दै किशोरीका बाबुआमा (वासुदेव, उमा) ले सीसी क्यामेरा नभएको ठाउँमा होटल साहुजीले काम लगाउने गरेको बताएका थिए ।

उनीहरूले यो कुरा तीन दिन पहिला ५ साउनमा बताएको प्रकाशित अन्तर्वार्ताको मितिबाट खुल्छ । त्यसको तीन दिनपछि दुवैजना झुन्डिएको अवस्थामा मृत भेटिएको खबर सार्वजनिक भएको छ । यता, यस विषयमा केही जानकारी नभएको प्रहरीले बताएको छ ।

प्रहरी स्रोतका अनुसार मृत भेटिएका किशोरी करिब १५ दिनअघिबाट उक्त घरमा बसेको पाइएको छ । उनीहरूले घरबेटीलाई भने आफूहरू कलेज पढ्ने भनेर कोठा लिएको बताएको प्रहरीले अनलाइनखबरलाई जनाएको छ ।

मृत दिदीबहिनीको शव परिवारलाई जिम्मा लगाइसकिएको डीएसपी नेउपानेले बताए । गत शनिबार नै शव जिम्मा लगाएका दाहसंस्कार समेत भइसकेको प्रहरीले बताएको छ ।

काठमाडौं मेडिकल कलेज दुवाकोट, भक्तपुरबाट पोस्टमार्टम रिपोर्ट आउन भने बाँकी नै रहेको छ । उक्त रिपोर्टमा कुनै संकास्पद कुराहरू देखिएमा त्यसलाई आधारमा मानेर थप अनुसन्धान गरिने प्रहरीले बताएको छ । अहिलेसम्मको प्रहरीको अनुसन्धान अनुसार उनीहरु मृत्यु संकास्पद नदेखिएको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?