
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामाले इमान्दारीपूर्वक राजीनामा नदिए पद्धति र प्रक्रियाबाट बिदाइ गर्ने बताएका छन्।
- बानियाँले बहादुरसिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएपछि राजनीतिमा नैतिकता र लोकतान्त्रिक परम्परालाई मान्नुपर्ने बताए।
- उनले कांग्रेसभित्र आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर पक्ष भएको र यसमा कसैको जित वा हार नभएको उल्लेख गरेका छन्।
१४ साउन, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बहादुरसिंह लामाले इमान्दारीपूर्वक मुख्यमन्त्री पदबाट राजीनामा नदिए पद्धति र प्रक्रियाबाट बिदाइ गर्ने बताएका छन् ।
बुधबार संसदीय दलको नेतामा चयन भएपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै बानियाँले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री लामाले संसदीय दलको नेताको हैसियत गुमाउँदैमा राजनीमा दिनु नपर्ने बताइरहेको समयमा बानियाँको यस्तो भनाइ आएको हो ।
बानियाँले भने, ‘बहादुरसिंह लामा नेपाली कांग्रेसको संसदीय दलको नेताको हैसियतले दुई पार्टीको गठबन्धनबाट मुख्यमन्त्री हुनु भएको हो । अहिले संसदीय दलको नेताको हैसियत गुमेको अवस्था छ । त्यसकारण राजनीतिमा नैतिकता, इमान्दारिता, लोकतान्त्रिक परम्परा र परिपार्टी, जनता र पार्टीका साथीहरूको कुरालाई मान्नु भएन भने यो लोकतन्त्रको दुर्भाग्य कुरा हो । यसको लागि प्रक्रिया छ । धेरै लामो दिन जाँदैन । त्यो प्रक्रियालाई उहाँले मार्गप्रसस्त गरे तुरुन्तै हुन्छ । नत्र भने लोकतन्त्रको अभ्यास छ । उहाँले नचाहेर हुँदैन । पद्धति र प्रक्रियाले सहज रूपमा उहाँलाई बिदाइ गर्छौं ।’
पार्टीभित्र आन्तरिक र बाह्य संघर्ष हुनुलाई बानियाँले लोकतन्त्रको सुन्दर पक्ष भएको बताए ।
लोकतन्त्रमा दलका नेताले ठिक ढंगले कार्य सम्पादन नगर्दा दलीय व्यवस्थामा आफ्नो पार्टी कमजोर हुन्छ कि भनेर दलको नेतृत्व अदलीबदली हुनुलाई अन्यथा मान्न नहुने उनको तर्क छ ।
एक दलीय तानाशाही निरंकुश व्यवस्थामा जस्तो भए पनि दलको नेता परिवर्तन गर्न नपाइने भन्दै उनले प्रजातन्त्र, गणतन्त्र, संघीयता, समावेशी व्यवस्थामा त्यस्तो सम्भव नहुने बताए ।
गणतन्त्र र संघीयता प्रतिको विश्वासलाई थप बलियो बनाउन कांग्रेसभित्र अहिले आन्तरिक प्रतिस्पर्धा भएको भन्दै उनले भने, ‘यहाँ कसैको जित पनि छैन । कसैको हार पनि छैन । हिजो जिम्मेवारी एउटा साथीको थियो आज अर्को साथीको छ । फरक त्यति मात्रै हो ।’
प्रतिक्रिया 4