
News Summary
Generated by OK AI. Editorially reviewed.- केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)सँग आफ्नै भवन नभएर लाजिम्पाटस्थित नेपाल ट्रष्टको भवनमा बस्दै आएको छ र त्यहाँबाट हटाउन तयारी भइरहेको छ।
- देशभरका ७९१ प्रहरी कार्यालयसँग आफ्नै भवन छैन र ती कार्यालयहरू भाडामा वा अन्य कार्यालयको भवनमा आश्रय लिएर बसेका छन्।
- ८०२ प्रहरी कार्यालयसँग आफ्नै शौचालय छैन भने ८४३ कार्यालयमा ब्यारेक र ८३३ कार्यालयमा मेश समेत छैन।
१४ साउन, काठमाडौं । देशभरका जघन्य र ठूला प्रकृतिका घटनाहरुको अनुसन्धान गर्ने जिम्मेवारी पाएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को आफ्नै भवन छैन ।
लाजिम्पाटस्थित नेपाल ट्रष्टको भवनमा सीआईबी बस्दै आएको छ । नेपाल ट्रष्टको भवनमा बस्दै आएको सीआईबीलाई त्यहाँबाट समेत लखेट्ने तयारी भइरहेको छ । व्यापारिक घरानालाई भाडा दिएर रकम उठाउने योजना बनाएपछि सीआईबीलाई त्यहाँबाट हट्न ताकेता सुरु भएको छ ।
यसअघि महाराजगञ्जमा आफ्नै भवनमा रहेको सीआईबीलाई त्यहाँ राष्ट्रपति कार्यालयका लागि जग्गा चाहिने भन्दै सारिएको थियो । यद्यपी अहिले पनि त्यहाँ सीआईबीको हिरासत कक्षसहितको सानो कार्यालय छँदैछ ।
अपराध अनुसन्धानको मेरुदण्ड मानिने विशिष्टिकृत इकाई सीआईबी समेत अब कहाँ बस्ने भन्ने टुंगो लाग्न सकेको छैन भने अरु प्रहरी युनिटको अवस्था झनै विकराल छ । सीआईबीकै माहतह रहेका मानव बेचबिखन अनुसन्धान ब्युरो, लागु औषध नियन्त्रण ब्युरो, साइबर ब्युरो पनि अहिलेसम्म भाडामै बस्दै आएका छन् ।
साइबर ब्युरोका लागि भने अहिले कोरियन सरकारको सहयोगमा भवन बनिरहेको छ । बाँकी दुई वटा ब्युरो भने लामो समयदेखि भाडामा बस्दै आएका छन् । कतिसम्म भने आफैं मुद्दा चलाउने मावन बेचबिखन ब्युरोको आफ्नै हिरासत समेत नहुँदा अन्य प्रहरी कार्यालयमा थुनुवा पठाउनु पर्ने अवस्था छ । साइबर ब्युरोको हालत पनि अहिलेसम्म त्यस्तै छ ।
यता कोटेश्वरमा भाडामै बसेको लागु औषध नियन्त्रण ब्युरोको आफ्नै हिरासत कक्ष भए पनि त्यो पर्याप्त नहुँदा अन्य प्रहरी कार्यालयमा थुनुवा राख्न थालेको पनि लामो समय भइसकेको छ ।
भाडामै बसिरहेको काठमाडौं उपत्यकाका तीन जिल्लाहरुको अनुसन्धान गर्ने जिम्मा पाएको अपराध अनुसन्धान कार्यालयको भने भवन बन्ने काम जारी छ । संघीय राजधानी काठमाडौंमा रहेका र विशिष्ट श्रेणी (एआईजी) का अधिकृत बस्ने कार्यालयहरु समेत भाडामा बस्नु पर्ने अवस्था विद्यमान छ ।
आफ्नै भवन नहुँदाका समस्या र ठाउँ सरिरहनुपर्ने बाध्यता प्रहरीमा छ । आफ्नै भवन नहुँदा र हिरासत नहुँदा अनुसन्धानमा समस्या हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन् । मानव बेचबिखन ब्युरोका एक अधिकृत भन्छन्, ‘आफ्नै भवन तथा हिरासत कक्ष नहुँदा अनुसन्धानमा पनि समस्या हुने गरेको छ । अनुसन्धानका क्रममा थुनुवासँग जतिखेर पनि सोधपुछ गर्नुपर्ने हुनसक्छ । तर आफ्नो हिरासत छैन । अनि थुनुवा कुन प्रहरी कार्यालयको हिरासतमा भन्ने बुझेर त्यहाँ पुगेर ल्याएर सोध्नुपर्ने अवस्था छ’ तीन अधिकृतले भने ।
उपत्यकामा मात्रै होइन प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार देशभरका ७९१ प्रहरी कार्यालयका आफ्नै भवन छैनन् ।
आफ्नै भवन नभएका कार्यालयहरु आश्रय लिएरदेखि भाडामा बस्नुपर्ने बाध्यता प्रहरीमा छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार ३७० प्रहरी कार्यालयहरु अन्य कार्यालयहरुको भवनमा भाडामा बसेका छन् । ४२१ प्रहरी कार्यालयहरु विभिन्न निकाय तथा व्यक्तिका घरमा समेत आश्रय लिएर बसेका छन् ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार देशभर २ हजार ६६० प्रहरी कार्यालयहरु छन् । ती मध्ये १ हजार ८६९ प्रहरी कार्यालयको मात्रै आफ्नै भवन छ । बाँकी ७९१ प्रहरी कार्याहरु भने भाडामा र आश्रय लिएर बसेका छन् ।
यसका साथै जग्गादेखि ब्यारेक, मेश र ट्वाइलेटसम्मको समस्या प्रहरीमा छ । आफ्नै शौचालय नहुँदा छिमेकीकोमा जानुपर्नेदेखि त्रिपाल बेरेर शौच गर्नुपर्नेसम्मको समस्या ग्रामिण इलाका प्रहरी चौकीमा अहिले पनि ब्याप्त रहेका छन् ।
प्रहरी प्रधान कार्यालयकै तथ्यांकअनुसार ८०२ प्रहरी कार्यालयहरुमा आफ्नै शौचालय समेत छैनन् । उनीहरु छिमेकीको शौचालयमा जानुपर्ने अवस्थादेखि त्रिपाल बेरेर शौच गर्न बाध्य छन् । सेनाले निरन्तर बंकर टु ब्यारेक अभियान चलाएर भवन निर्माणमा निरन्तरता दिँदा प्रहरी भने चुहिने पालमा बस्नुपर्ने अवस्था रहेको गुनासो प्रहरीभित्रै हुने गरेको छ ।
यसका साथै ८४३ प्रहरी कार्यालयमा अहिलेसम्म ब्यारेक छैन । २४ सैं घण्टामा ड्युटीमा खट्नुपर्ने प्रहरी ब्यारेक नहुँदा बस्न समेत समस्या हुने गरेको छ । अर्कोतर्फ ८३३ प्रहरी कार्यालयमा मेश समेत नरहेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ ।
प्रहरीको आफ्नै भवन, ब्यारेक तथा शौचालय नहुँदा दैनिक पुलिसिङमै असर पर्ने बुझाई पूर्वआईजीपी सर्वेन्द्र खनालको छ ।
‘एउटा त प्रहरीकै आफ्नो आवश्कता छँदैछ । बस्नलाई ब्यारेक चाहियो, कार्यालय चाहियो, मेस चाहियो । यो सँगैसगै समाजकै सुरक्षा पनि जोडिएर आउँछ । समाजको सुरक्षा गर्नुपर्ने प्रहरीनै भवनका कारण असुरक्षित हुँदा पुलिसिङमा असर पर्न जान्छ’ खनालले अनलाइनखबरसँग भने ।
खनालकै पालामा बजेट निकास भएर जिल्ला प्रहरी परिसर भद्रकाली, अपराध अनुसन्धान कार्यालय टेकु, पुलिस क्लबको भवन शिलान्यास भएको थियो । अहिले परिसर काठमाडौं र पुलिस क्लबको भवन निर्माण भइसकेर नयाँ कार्यालयबाट काम सुरु गरिरहेका छन् । अपराध अनुसन्धान कार्यालयको भवन भने निर्माणाधीन अवस्थामै छ ।
यता प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले आफूले नेतृत्व सम्हालेपछि भवन निर्माणमा पनि जोड दिएको दाबी गर्दै आएका छन् । गत ५ चैतमा नेतृत्व सम्हाले यता मात्रै ५६ स्थानमा प्रहरी कार्यालय भवन निर्माणको प्रक्रिया अघि बढाइएको दाबी गरेका छन् ।
गत आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मलेन कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ का उपलब्धीहरु सार्वजनिक गर्दै प्रवक्ता घिमिरेले ५ चैत २०८१ यता ५६ वटा भवनहरु निर्माणको काम अघि बढेको दाबी गरे ।
प्रतिक्रिया 4