+
+
Shares

रसुवा बाढीको चपेटामा परेको टिमुरेमा अब सुक्खा बन्दरगाह असम्भव !

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार चिनियाँ कम्पनीले अहिलेकै स्थानमा थप संरचना बनाउनु जोखिमपूर्ण हुने र विकल्प खोज्नुपर्ने सुझाव दिएको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८२ साउन १४ गते २१:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवागढीको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह परियोजना बाढीले क्षति भएपछि निर्माण कम्पनीले थप काम नगर्ने जानकारी दिएको छ।
  • निर्माण कम्पनीले जोखिमपूर्ण ठानेर नेपाल र चीन सरकारलाई विकल्प खोज्न सुझाव दिएको छ।
  • परियोजनामा २ अर्ब १६ करोडको लगानी भएकोमा १ अर्बभन्दा बढी क्षति भएको र २२ कामदारको मृत्यु भएको छ।

१४ साउन, काठमाडौं । रसुवागढी बाढी चपेटामा परेको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह परियोजना अलपत्र परेको छ ।

निर्माण कम्पनी तिब्बत फुली कन्स्ट्रक्सनले अब यहाँ थप संरचना निर्माणको काम नगर्ने जानकारी नेपाल इन्टरमोडल यातायात विकास समिति र चीन सरकारलाई समेत दिएको छ ।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार कम्पनीले अहिलेकै स्थानमा थप संरचना बनाउनु जोखिमपूर्ण हुने र विकल्प खोज्नुपर्ने सुझाव दिएको छ । यसबारे अब नेपाल र चीन सरकारबीच छलफल भई विकल्पमा जानुपर्ने उनले बताए ।

प्रोजेक्ट म्यानेजर याङ लीले २४ असारको बाढीले १ अर्बभन्दा बढी क्षति भएको जानकारी समितिलाई गराएका छन् । मंगलबार रातिको बाढीले थप क्षति पुर्‍याएको गजुरेलले बताए ।

‘२ अर्ब १६ करोडको यो परियोजनामा अहिले पूर्णरूपमा क्षति भएको अवस्था छ,’ उनले भने, ‘केही डाँडामा रहेका कारण प्रशासकीय भवन बचेको छ ।’

यस्तो अवस्थामा अब सोही स्थानमा यति ठूलो लगानी गरेर थप संरचना बनाउनु हुँदैन भन्नेमा समितिको समेत राय रहने उनले जानकारी दिए । विकल्पमा रसुवाभरिमा फराकिलो स्थान रहेको र नुवाकोट विकल्प हुने भन्दै नुवाकोटमा सुक्खा बन्दरगाह बनाउनु भन्दा सडक संरचनामा लगानी बढाएर सिधै चोभार सुक्खा बन्दरगाह ल्याउनु उपयुक्त हुने समेत उनले बताए ।

‘खोला किनारमा यति ठूलो संरचना बनाउनु हुँदैन रहेछ भन्ने निष्कर्ष हाम्रो पनि छ,’ उनले भने । तर, अब विकल्पमा के गर्ने भन्ने टुंगो दुई सरकारबीच हुने छलफलबाट हुने उनले बताए ।

आगामी ३० वर्षको बाढी प्रक्षेपण गरी अगाडि बढेको आयोजना, तर अनुमान फेल

समितिका अनुसार टिमुरेमा बन्दै गरेको सुक्खा बन्दरगाह चीन सरकारको सहयोगमा अगाडि बढेको हो । जसमा प्राविधिक तथा आर्थिक सहायता चीन सरकारको रहेको छ । यहाँ संरचना बनाउनु अगाडि आगामी ३० वर्ष भोटेकोशी नदीमा आउन सक्ने बाढी प्रक्षेपण पनि गरिएको थियो । तर, अनुमान गरेभन्दा भयानक बाढीले संरचना ध्वस्त बनाएको छ ।

‘संरचना निर्माणमा चीनले गरेको अध्ययन विश्वसनीय मानिन्छ,’ गजुरेलले भने, ‘तर, प्रकृतिका अगाडि सबै असम्भव देखियो, प्रक्षेपणभन्दा ठूलो बाढीले तहसनहस बनाएको पाइयो ।’

यो आयोजनाको अध्ययनदेखि निर्माण र आर्थिक सहयोग चीनले गरेको हो । त्यसकारण चीनले जोखिम मोलेर अर्बौं रुपैयाँ खर्च नगर्ने भन्दै प्रक्षेपण गरिएभन्दा ठूलो बाढीले क्षति गरेको उनको भनाइ छ । निर्माण कम्पनीका अनुसार भोटेकोशीको बाढीको बेगले जुनसुकै समयमा पनि ठूलो क्षति हुन सक्ने अवस्था टिमुरेमा देखिएको छ ।

के–के भयो क्षति ?

भोटेकोशी नदीतर्फ लगाइएको रिटेन्सन पर्खाल ४ सय मिटर भत्किएको छ । २ सय ५० युनिट सवारीसाधन पार्किङ गर्न मिल्ने गरी बनाइएको कंक्रिट ढलान पूर्णरूपमा क्षति भएको छ  २ वटा गोदाममा माटो र ढुंगा भरिएको छ । २ वटा लोडिङ/अनलोडिङ सेडमा क्षति पुगेको छ । यी समेत कुल १ अर्ब रुपैयाँ बराबर क्षति भएको समितिले जनाएको छ । बन्दरगाह निर्माणमा खटिएका कामदारमध्ये १४ चिनियाँ र ८ नेपाली कामदारको मृत्यु भएको छ । सुक्खा बन्दरगाह परिसरमा बनाइएका संरचनामध्ये प्रशासनिक भवनमात्र ठिक अवस्थामा छ ।

आज बुधबार पनि आएको बाढीले टिमुरेस्थित भन्सार यार्डमा थप कटान गरेको छ । साथै यार्डको दक्षिणतर्फ रहेको सानो घर र सँगै रहेको धर्मकाँटा समेत बगाएको छ । टिमुरे भन्सार यार्डको पारिपट्टि रसुवागढी जलविद्युत आयोजनाको आवास क्याम्पको वर्कसपमा फोर्ड पिकअप दुई वटा गाडी आज बाढीले बगाएको छ ।

यो आयोजना चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको हो । आयोजना लागत २ अर्ब १६ करोड बराबर छ । यो बन्दरगाह चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बनिरहेको छ । १६ अक्टोवर २०१४ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

१० अप्रिल २०१५ मा लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको थियो । निर्माण गर्ने सम्बन्धमा २०७६ सालमा हस्ताक्षर भएसँगै आयोजना अगाडि बढेको हो । यो आयोजनाको निर्माण अवधि १६ फागुन २०८२ सम्म छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?