
News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवागढी क्षेत्रमा १४ साउन बुधबार बिहान २ बजे आएको बाढीले स्याफ्रुबेसी–रसुवागढी सडक पुन: अवरुद्ध गरेको छ।
- बाढीले मेदामुदुङ, कुलुङ, लिङलिङ, तातोपानी, टिमुरे लगायत ८ स्थानमा ५४० मिटर सडक क्षति पुर्याएको छ।
- रसुवागढी हाइड्रोपावर जाने पुल र त्रिशूली नदीको पक्की पुलको प्रोटेक्सन वाल बाढीले भत्काएको छ र मानवीय क्षति भने भएको छैन।
१४ साउन, काठमाडौं । आज बुधबार बिहान अन्दाजी २ बजे आएको बाढीले रसुवागढी क्षेत्रको भौतिक संरचनामा पुन: ठूलो क्षति गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा आएको बाढीले स्याफ्रुबेसी–रसुवागढी सडक पुन: अवरुद्ध भएको छ । २४ असारमा आएको बाढीले यो सडक खण्ड दुई साता अवरुद्ध भएको थियो ।
त्यसपछि अस्थायी सञ्चालनमा आएको यो सडकमा बुधबार मेदामुदुङ, कुलुङ, लिङलिङ, तातोपानी, टिमुरे, घट्टेखोला, भन्सार यार्ड प्रवेशद्वार र नेपाली सेनाको चेकपोस्ट नजिक गरी ८ स्थानमा क्षति पुगेको छ । यस भेगमा ५ सय ४० मिटर क्षति पुगेको कार्यालयले जनाएको छ । सडक पुन: पूर्णरूपमा अवरुद्ध भएको छ ।
स्याफ्रुबेसी–दोभान सडक अन्तर्गत लाङटाङ जलविद्युत् आयोजना प्लान्ट नजिक बाढीका कारण बाटो कटान भई सडक मार्ग अवरुद्ध भएको समेत कार्यालयको विवरणमा उल्लेख छ ।
टिमुरेस्थित भन्सार यार्डमा थप कटान गरेको छ । साथै, यार्डको दक्षिणतर्फ रहेको सानो घर र सँगै रहेको धर्मकाँटा समेत बगाएको छ । टिमुरे भन्सार यार्डको पारिपट्टि रसुवागढी जलविद्युत् आयोजनाको आवास क्याम्पको वर्कसपमा दुई युनिट फोर्ड पिकअप गाडी आज बाढीले बगाएको छ ।
गोसाइँकुण्ड गाउँपालिका–२ तातोपानीस्थित भोटेकोशी नदीमा अवस्थित रसुवागढी हाइड्रोपावर जाने पुल र कालिका गाउँपालिका–१ तथा उत्तरगया गाउँपालिका–१ जोड्ने त्रिशूली नदीमा अवस्थित पक्की पुलको दुवैतर्फको प्रोटेक्सन ग्याबिन/वाल बाढीले भत्काएको छ । अहिले दुवै पुल जोखिममा रहेको कार्यालयले जनाएको छ ।
गोसाइँकुण्ड गाउँपालिका–५ रुङ्गा पुल नजिकै काठले बनेको जस्ताको छानो भएको चार वटा टहरा समेत बाढीले बगाएको कार्यालयले जनाएको छ । २४ असारको बाढीबाट प्रभावित त्रिशूली–३ए जलविद्युत् र त्रिशूली ३बी आयोजनाको हब स्टेसनमा समेत थप क्षति भएको पाइएको छ । आजको बाढीले मानवीय क्षति भने भएको छैन ।
प्रतिक्रिया 4