
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एकीकृत समाजवादीको युवा संगठनमा अध्यक्ष माधवकुमार नेपाल पक्ष र झलनाथ खनाल पक्षबीच २४ घण्टे अल्टिमेटमसहित मतभेद उत्कर्षमा पुगेको छ।
- असन्तुष्ट पक्षले संघको विधान उल्लङ्घन गरी जारी गरिएको सर्कुलर सच्याउन २४ घण्टाभित्र निर्णय लिन आग्रह गरेको छ।
- युवा संघ नेपालका इन्चार्ज लक्ष्मण केसीले पुरानो कमिटी भंग गरी नयाँ आयोजक कमिटी गठन गरेका छन्।
३१ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीको युवा संगठनमा देखिएको मतभेद उत्कर्षमा पुगेको छ ।
अध्यक्ष माधवकुमार नेपाल पक्षले जारी गरेको सर्कुलर फिर्ता लिँदै निर्णय सच्याउन असन्तुष्ट पक्षले २४ घण्टे अल्टिमेटम दिएको छ । गत २७ साउनमा युवा संघ नेपालका इन्चार्ज लक्ष्मण केसीले सर्कुलर मार्फत् महाधिवेशन आयोजक कमिटी सार्वजनिक गरेका थिए ।
तर सम्मानित नेता झलनाथ खनाल पक्षका नेताहरूले कुनै छलफल र परामर्श बिना एक्लौटी ढंगले सर्कुलर जारी भएको भन्दै निर्णय सच्याउन २४ घण्टे अल्टिमेटम दिएका हुन् ।
‘पटकौंपटक खबरदारी गर्दा समेत संघको विधानको बलमिच्याइ गरी रहेकोले २४ घण्टाभित्र निर्णय नसच्याए, संघलाई गलत दिशाबाट जान रोक्न युवा संघ नेपालको विधान, पद्धति र प्रक्रिया पालना गर्दै नसच्याए समाजवादी आन्दोलनलाई क्रान्तिकारी रुपान्तरणका लागि संगठनलाई व्यवस्थित गर्दै अगाडि बढाउने कुरा जानकारी गराउँदछौं’, असन्तुष्ट पक्षको बक्तव्यमा लेखिएको छ ।
अर्थात् फरक कमिटी बनाउने चेतावनी विज्ञप्तिमा उल्लेख छ । असन्तुष्ट पक्षको बक्तव्यमा गत १० माघ अघिकै हैसियतमा नेताहरूको पद उल्लेख गरिएको छ ।
त्यसबेला उपमहासचिव रहेका सन्जीप राई र निर्भिक खनाल, सचिवहरू बाबुराजा बोगटी, अनिल बोगटी, जितबहादुर हमाल, खड्का आचार्य र भेषराज शाहले विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।
तर १० माघमा जारी अपानि बमोजिम युवा संघका इन्चार्ज बनेका लक्ष्मण केसीले पुरानो कमिटी भंग गरी रोशन थापा संयोजक अनि सन्जीप राई र धर्म शाही सहसंयोजक रहनेगरी आयोजक कमिटी बनाएका छन् ।
प्रतिक्रिया 4