+
+
Shares
यात्रा : नेपाल अध्ययन :

चुच्चे नक्सामा बस्ने मान्छेहरूका हालखबर

स्पष्ट देखिन्छ- राज्यको उपस्थिति त्यहाँ न्यून छ । सडक खन्न बल्ल शुरु गरिएको छ । देशको मानचित्रमा चुच्चे नक्शा त थपिएको छ तर त्यसको आसपास बस्ने देशवासीको जनजीवनको नक्शा अझै कोरिएको छैन ।

अनुपम रोशी अनुपम रोशी
२०८२ भदौ १ गते १५:०२

दार्चुला ओझेलमा छ, किनभने यो मानचित्रमा मात्रै सीमित छ। सडक छैन, राम्रो अस्पताल छैन, राम्ररी पढ्न मिल्ने विद्यालय छैन। सरकारी घोषणापत्रहरू आउँछन्, योजना आउँछन्, तर साक्षात्कार हुँदैनन् ।

जिन्दगीको दौडधुप र यो व्यस्त शहरको कोलाहलबाट केही समय अलग भएर शान्त र पवित्र प्रकृतिको काखमा रमाउने धोकोले केही समय अघि मलाई सुदूर उत्तरपश्चिम नेपालतर्फ तानेको थियो ।

नेपालको नक्शामा चुच्चेनक्शा थपियो तर, त्यो चुच्चेनक्शा थपिएको ठाउँतिर के छ ? त्यस वरपरका मानिसहरूको जीवन कस्तो छ ? बुझ्न सबैभन्दा पुछारमा रहेको जिल्ला दार्चुला पुग्ने उत्सुकताले डोर्‍याएको थियो ।

अपि गाउँपालिकाको आमन्त्रणमा १२ जना लेखक, कवि र पत्रकारको टोली काठमाडौंबाट धनगढी उडेको थियो। कैलालीको अत्तरियाबाट गाडी चढेपछि डोटी, डडेलधुराको उग्रतारा मन्दिरहुँदै बैतडीको गोकुलेश्वर पुगिन्छ ।

त्यहाँ वास बसेर भोलिपल्ट बिहानै तीन घण्टा गाडी चढेर मकरीगाड पुगिन्छ । त्यहाँबाट शुरु भएको ट्रेक मकरीकोट, नौपाटा, धनबोहोरा, पादु, लिथि, घुसा, नाली, आरुखोड, सिती, खायकोट, छिरछिरे, सिमार, दमोल, धौलीओडार हुँदै पाँचौं दिनमा अपि बेसक्याम्प पुगिन्छ ।

झण्डै चार हजार मिटरको उचाइमा रहेको अपि बेसक्याम्प एउटा एअरपोर्ट नै बनाउन मिल्ने फराकिलो पाटनमा फैलिएको छ । बिहानै सूर्योदयको रक्तिम रङ अपि हिमालको सेतो चुलीमा परेको देख्दा मन निकै हर्षित हुन्छ । जहाँबाट अपि नाम्पा, साइपाल, बबइ र आसपासका थुप्रै हिमालहरू स्पष्ट देखिन्छन् ।

यहाँको मौनता, चिसो हावा, अनि आकाशको छाती चिरेर ठडिएका हिमचुचुराले आत्मालाई नै स्पर्श गर्छन् । फराकिलो घाँसे मैदान, छेउमै बगिरहेको चमेलिया नदीको मुहान र वरिपरि आँखा नै तिरमिर पार्ने हिमाली शृङ्खला देख्दा स्वर्गै अनुभव हुन्छ । लाग्छ हावा मौन र हिमाल बोलिरहेको छ ।

अद्भुत सौन्दर्य बोकेको अपि हिमालको सेरोफेरो- नेपालको सुदूरपश्चिमको एउटा दुर्गम जिल्ला दार्चुलामा छ । देशको नक्शाको कुनामा थन्किए झैं लाग्ने दार्चुला । राज्यको चासोको परिधिभित्र कहिल्यै नपरेको जस्तो अनुभूत हुन्छ ।

यहाँको भूगोल, यहाँका मान्छे, यहाँको जीवनशैली अलिकति कठिन र अज्ञात जस्ता लाग्छन् । लाग्छ, राजधानी काठमाडौंको भुइँचालोले पनि यताको पहाड हल्लाउँदैन जस्तो, नीति र विकासका कुरा त कहिल्यै पुग्दै पुग्दैनन् जस्तो ।

यहाँका कथा नदीले लेखेका छन् जो सीमा बनेर निरन्तर बगिरहेका छन्। झरना र पहाडहरूले लेखेका छन् जसले कहिल्यै मान्छेका हृदय भाँड्न जान्दैनन् । उता भारतको धार्चुला र यता नेपालको दार्चुला- एकै जस्ता अनुहार भएका मानिसहरू, उस्तै भाषा, उस्तै पहिरन, उस्तै सपना । तर महाकालीले छुट्याएको छ- विकास कसको ? अवसर कसको ? अधिकार कसको ?

दार्चुला ओझेलमा छ, किनभने यो मानचित्रमा मात्रै सीमित छ । सडक छैन, राम्रो अस्पताल छैन, राम्ररी पढ्न मिल्ने विद्यालय छैन । सरकारी घोषणापत्रहरू आउँछन्, योजना आउँछन्, तर साक्षात्कार हुँदैनन् । यहाँका बालबालिकालाई लामो उकालो चढ्दै कक्षाकोठासम्म पुग्नै कठिन छ । ज्यानको जोखिम लिएर पुल र तुइनमा झुण्डिएर नदी तर्नुपर्छ । ती पुल र तुइनहरू कहिले हावाले लहराउँछन्, कहिले राज्यको बेवास्ताले चुँडिन्छन् ।

दार्चुला ओझेलमा मात्र छैन, ऊ धैर्यमा पनि छ । यहाँका मानिसहरू ओइलिएका छैनन् कर्मशील छन् । कति कुरामा स्वावलम्बी पनि छन् । आफूलाई आवश्यक पर्ने सबै कुरा उनीहरूले त्यहीं उत्पादन गर्न सिकेका छन् । तर त्यो पर्याप्त छैन । उनीहरू सीमापारि भारत गएर मजदूरी गर्छन्, फेरि फर्केर आफ्नो माटोमा माटो फेर्छन् । उनीहरूको देशप्रेम भाषण होइन, निस्तेज हात र चिरिएका खुट्टामा लुकेका सत्य हुन् ।

आठ दिनको अपि हिमाल बेसक्याम्प यात्रा मेरो लागि केवल हिंडाइ मात्र थिएन; ती जिन्दगीहरूसँगको साक्षात्कार पनि थियो जो दूरदराजमा आफ्नै पौरखले जीवन धानिरहेका थिए। जसको पहुँच राजधानीसम्म आइपुग्न निकै पहराहरू छिचोल्नुपर्ने हुन्छ।

स्पष्ट देखिन्छ- राज्यको उपस्थिति त्यहाँ न्यून छ । सडक खन्न बल्ल शुरु गरिएको छ । प्राकृतिक सौन्दर्यले मुग्ध त भइन्छ तर राज्य आफ्नै ठाउँमा हराएको अनुभव हुन्छ । देशको मानचित्रमा चुच्चे नक्शा त थपिएको छ तर त्यसको आसपास बस्ने देशवासीको जनजीवनको नक्शा अझै कोरिएको छैन । त्यहाँ राज्यको उपस्थिति कति छ ? सुविधाहरू के–के छन् । सीमामा हुने छिमेकीको थिचोमिचो के हो ? जस्ता कुरामा राज्य मौन छ ।

सांस्कृतिक, प्राकृतिक र धार्मिक दृष्टिले अत्यन्त धनी छ दार्चुला । त्यहाँका हिमालहरू यस क्षेत्रका गौरव मात्र होइन, पवित्र सभ्यता पनि हुन्; जहाँ देवत्व, दिव्यता र दुर्गमता एकैसाथ अनुभूत गर्न सकिन्छ ।

यार्सा सुन हो, त्यो सुनको तौल बोकेको काँध सधैं झुकिरहेको छ । त्यो झुकेको काँधलाई उठाउने काम राज्यले गर्न सकेको छैन । यार्सागुम्बा लगायत हिमालमा भेटिने विभिन्न जडीबुटीहरू केवल एक जडीबुटी होइनन्; यी स्वास्थ्य, अर्थतन्त्र, संस्कार र जीवनशैलीको सम्पूर्ण संयोजन हुन् ।

दार्चुलामा गरिबी छ । त्यहाँ मानिसले पहरासँग खेल्नुपर्छ । हिउँसँग बाँच्नुपर्छ, भोकसँग लड्नुपर्छ, र पहाड चढ्दै जीवन काट्नुपर्छ । यो त्यहाँका मानिसहरूको उकालो जस्तै सत्य हो । जहाँ रोजगारी छैन, बाटो छैन, बजार छैन ।

परबाट देखिने आँखाले यति कुरा देख्छ । तर त्यहाँको भीर, पाखा र जङ्गलमा थुप्रै वन्यजन्तु र अमूल्य जडीबुटीहरू छन् । पाँचऔंले, सतुवा, पारसपीपल, सुगन्धवल्लरी जटामसी जस्ता जडीबुटीको ठूलो स्रोत छ ।

पश्चिम उत्तरी पहाडलाई जीवन दिइरहेका स्थानीय क्षेत्री, ठकुरी, लिङ्गवाल, व्यासी रुंग, भोटिया, चाँरुग, तिंकर लगायत समुदायहरूका लागि दार्चुलाका हिमालहरू कुनै सामान्य हिमशृङ्खला मात्रै होइनन्, यी त आस्थाका धरोहर हुन् । सभ्यताको केन्द्र पनि हो ।

यति नजिकबाट यी हिमाललाई हेर्दै गर्दा म आफैंभित्रको सन्नाटालाई सुन्न थाल्छु । लाग्छ प्रकृति कति विशाल र हामी कति साना ! यहाँ कुनै प्रविधिको झन्झट छैन, न त मोबाइलको सिग्नल छ । तर जुन शान्ति यहाँ छ, त्यो आधुनिक संसारले कहिल्यै दिन नसक्ने छ ।

मध्य जेठको गर्मीमा त्यहाँ पुग्दै गर्दा बारीमा जौ र गहुँ पाकेका छन् । आलुखेतीका लामा–लामा पाटाहरूमा स्थानीयले काम गर्दै छन् । आलचा बोटभरि लटरम्म देखिन्छ । गहुँ, जौ, मकै, कोदो, फापर, कागुनो, मार्सी, आलु, सिमी राम्रै उत्पादन हुने रहेछ दार्चुलामा ।

भौगोलिक विकटतासँगै त्यहाँका मानिसले सामना गर्नुपरेका अनेक दुःख, कष्ट र त्यसका बाबजुद एकनासले चलेको जिन्दगीको यात्रा आफैंमा शान्त लाग्छन् । ती सबै दृश्यको सौन्दर्यले पनि छोप्न नसक्ने अर्को सौन्दर्य हो यार्सागुम्बाको सौन्दर्य ।

त्यहाँ हिउँले कठोरता मात्रै खेल्दैन, मौनताले कथा मात्रै सुनाउँदैन; त्यहाँको चिसो र तातोको ओसमा उम्रन्छ एक अद्भुत जीव–वनस्पति यार्सागुम्बा । यो प्रकृतिको एक रहस्यमय उपहार हो, जसले त्यहाँको स्थानीय जीवनलाई नै उज्यालो पारेको छ । र विदेशी औषधि बजारको ध्यान तानिरहेको छ । यार्साले त्यहाँको जीवन मात्रै धानेको छैन; सिंगो विकटतालाई नै गतिशील बनाएको छ ।

जब वैशाख लाग्छ, गाउँका हरेक मान्छे हिमाल चढ्न हिंड्छन् । बाटोभरि देखिन्छन् नाबालक छोराछोरीलाई फेदीतिरै छाडेर चार हजार मिटर उचाइमा किडा (यार्सा) टिप्न जाँदै गरेका बाबु–आमा। स्कूल बन्द गरेर पहाड उक्लँदै गरेका विद्यार्थी । हामी पुग्दा अपि गाउँपालिकाका प्रायः घरहरू सुनसान थिए । किनकि गाउँलेहरू प्रायः सबै बेसक्याम्पतिरै थिए । सिजनमा यार्सा नटिपे वर्षभरि गरिबीको कोर्रा खानुपर्ने बाध्यता उनीहरूसँगै थियो ।

यार्सा यहाँको अस्तित्व हो । समाज विकासको मुख्य धरोहर हो। त्यहाँका मानिसलाई गाउँमै बाँधेर राख्ने बलियो अस्त्र पनि हो। एउटा सानो जीव–वनस्पतिले दार्चुलाको पीडाभित्र एक प्रकारको उज्यालो छरिदिएको छ।

जेठ-असार यार्साको मौसम रहेछ । यतिबेला हिमालको फेदभरि देखिन्छन् मानिसहरू । भीर चढ्दै, टाउको झुकाउँदै हिमाली सुन खोज्न अहोरात्र खटिरहेका छन् । नखटुन् पनि कसरी ! यही यार्सा त हो रोजगारी भने पनि जागिर भने पनि । यसैले वर्षभरिको छाक जुटाउँछ, छोराछोरीको पढाइ खर्च चलाउँछ अनि कहिलेकाहीं टिनको छानो हालिन्छ ।

यार्साको यति धेरै खोजी, मोह र बखान सुनिसकेपछि मलाई जान्न मन लाग्यो आखिर के हो यार्सा ? मैले यसको वास्तविक उपयोगिता के हो भनेर अपि गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकेरे बोहोरालाई सोधेकी थिएँ ।

‘यसको खास उपयोगिता त मलाई पनि थाह छैन । यो खाएर यही हुन्छ भन्ने अनुभव न मैले गर्न सकेको छु न यार्सा टिप्ने कसैले अनुभव गरेको बताउँछन् । महँगो मूल्यमा बिक्री हुन्छ । शक्तिबर्द्धक किरो भनेर विदेशीहरूले खोजी–खोजी लैजान्छन् । यही हाम्रो लागि काफी छ ।’

उनको जवाफ सुन्दा यार्सा टिप्नेहरू जस्तै राज्य पनि अन्जानै छ कि भन्ने भान हुन्छ । खासमा यसको उपयोगिता कति छ ? विदेशीहरूले किन यसलाई खोजी–खोजी महँगो मूल्य तिरेर लैजान्छन् ? यसको वैज्ञानिक प्रयोग के हो ? यसबाट हामीले के–कस्ता औषधीय गुण प्राप्त गर्दछौं ? र यसलाई राज्यले नै संकलन गरेर विभिन्न प्रसाधन बनाएर बेच्न किन सक्दैन ? यी विषयमा न राज्यले धारणा बनाएको देखिन्छ न संकलन कर्ताको सोच पुगेको छ ।

काठमाडौं आएपछि मैले यार्सागुम्बा बारे केही अध्ययन गरें । जसको वैज्ञानिक नामः ओफियोकोर्डिसेप्स साइनेंसिस रहेछ । यसलाई मानिसहरू ‘हिमाली सुन’ पनि भन्ने रहेछन् ।

नेपाल, भारत, भुटान र तिब्बतका उच्च हिमाली भेगमा पाइने यो अनौठो जैविक उत्पादनको यार्सागुम्बा नाम तिब्बती भाषाबाट आएको रहेछ जसको अर्थ गर्मीमा बोट र जाडोमा किरा भन्ने हुँदोरहेछ ।

यार्सागुम्बालाई प्राचीन समयदेखि नै आयुर्वेद, युनानी र चिनियाँ चिकित्सा प्रणालीले जीवन शक्ति बढाउने औषधिको रूपमा प्रयोग गर्दै आएको देखिन्छ ।

यो एक प्रकारको प्राकृतिक एन्टिबायोटिकका रूपमा प्रचलित रहेछ । जसले शरीरको प्रतिरोधात्मक क्षमता बढाउने, थकान कम गर्ने, ऊर्जा बढाउने, यौनशक्तिवर्धक (एफ्रोडिजियाक) को रूपमा दम, क्यान्सर, मधुमेह, रक्तचाप लगायत विभिन्न रोगमा प्रयोग हुने भनिएको छ ।

यसरी हेर्दा यार्साको उपयोगिता अपार देखिन्छ तर यसको दिगोपनबारे राज्य मौन छ । यहाँ न अनुसन्धान केन्द्र छ, न वैज्ञानिक व्यवस्थापन । न थाहा छ कसैलाई यसको वास्तविक उपयोगिता ।

यार्सागुम्बा उच्च हिमाली भेगको त्यस्तो झ्याल हो, जहाँबाट एउटा सुदूरको नयाँ बिहान देख्न सकिन्छ। तर त्यो झ्याल अझै टेकोमा अडिएको छ। रअ मेटरियल र धुल्यानहरूमा सीमित बसेको छ । यदि हामीले वैज्ञानिक योजना, स्थानीय सहभागिता र दिगोपन नअपनाएमा त्यो झ्याल भत्किन सक्छ । यार्सा सुन हो, त्यो सुनको तौल बोकेको काँध सधैं झुकिरहेको छ । त्यो झुकेको काँधलाई उठाउने काम राज्यले गर्न सकेको छैन ।

यार्सागुम्बा लगायत हिमालमा भेटिने विभिन्न जडीबुटीहरू केवल एक जडीबुटी होइनन्; यी स्वास्थ्य, अर्थतन्त्र, संस्कार र जीवनशैलीको सम्पूर्ण संयोजन हुन् । यसको दिगो उपयोग र संरक्षणको सन्तुलन मिलाउनु अहिलेको आवश्यकता देखिन्छ । यसरी नै ध्यान नदिए यार्सा लगायत जडीबुटी हिमाली सुनबाट आकाशको जून बनिरहने छन् । र हामीले परैबाट हेर्न मात्रै विवश हुनेछौं ।

यार्सा लगायत जडीबुटीलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्न सकियो भने स्थानीय युवाहरूको रोजगारी यहीं सिर्जना गर्न सकिन्छ। सुरक्षित संकलन र उचित व्यवस्थापनमा राज्यले नै ध्यानदिने हो भने यार्सागुम्बा लगायत हिमाली जडीबुटी राष्ट्रिय सम्पत्तिको ठूलो स्रोत बन्ने थिए ।

जापान, कोरिया, अमेरिका र युरोपमा यार्साबाट बनेका इनर्जी ड्रिंक, सप्लिमेन्ट, हर्बल क्याप्सुल निकै लोकफ्रिय छन् ।

एन्टी–एजिङ, इम्युन् बुस्टिङ, स्ट्यामिना एन्हान्सिङ र सेक्सुअल हेल्थ इम्प्रुभ्मेन्ट जस्ता विषयमा यसको माग ऊच्च रहेछ । औषधि कम्पनीहरू यार्सालाई नेचुरल एडाप्टोजन मान्छन् । नेपालमा पाइने यार्सा विदेशी बजारमा ब्रान्डका नामले बिक्दा रहेछन् तर नेपालले यसको पेटेन्ट वा लाभको हिस्सा पाएको छ कि छैन ?

यार्साको बायोजेनेटिक सम्पत्तिको पेटेन्ट अधिकार सुरक्षित गर्नेतर्फ राज्यको कदम कमजोर भएको हो कि ? यार्साको प्रभावशाली गुणबारे अध्ययन विश्वभर भइरहे पनि नेपालभित्र दीर्घकालीन अनुसन्धान न्यून देखिन्छ । विदेशीहरू सस्तोमा निर्यात गर्छन् र महँगोमा ब्रान्ड बनाएर बेच्छन् ।

विश्वस्तरीय वैज्ञानिक अनुसन्धानमा लगानी गर्न राज्यले कसको मुख ताकिरहेको हो ? विश्वस्तरीय प्रयोगशाला, परीक्षण प्रमाणपत्र र बायोपेटेन्ट हासिल गर्ने प्रक्रिया अगाडि बढाउने; स्थानीय समुदायसँग सहकार्यमा आधारित संरक्षण र पुनः उत्पादन कार्यक्रम ल्याउने; यार्सा लगायत जडीबुटी प्रोसेसिङ उद्योग स्थापना गरेर अर्ग्यानिक प्रोडक्ट उत्पादन गरी नेपाली ब्रान्ड बनाउने र विदेशी बजारमा पुर्‍याउने हो भने यार्सागुम्बा नेपालका लागि केवल एउटा जडीबुटी होइन, यो हिमालको गर्भमा लुकेको सुन नै सावित हुनेछ जसले सिंगो गाउँ, सिंगो अर्थतन्त्र र नेपाली अस्मितालाई नै त्यसमा अड्याउने क्षमता राख्न सक्छ ।

लेखक
अनुपम रोशी

लेखकका ‘कालो छाया’ ‘कुमारी आमा’ लगायत उपन्यास र केही कथा प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?