
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको अनौपचारिक अर्थतन्त्र कुल गार्हस्थ्य उत्पादनको ४१ देखि ५१ प्रतिशतसम्म रहेको छ, जुन विश्वमा तेस्रो ठूलो अनुपात हो।
- विश्वका ३१ विकासशील तथा विकासोन्मुख मुलुकमा गरिएको अनुसन्धानले उपभोग करले गरिबी निवारणमा सहयोग पुर्याउने देखाएको छ।
- अनौपचारिक क्षेत्रमा गरिबले बढी किनमेल गर्दा कम कर तिर्छन् र धनीले औपचारिक क्षेत्रमा बढी किनमेल गरेर बढी कर तिर्छन् भन्ने नयाँ आर्थिक सिद्धान्त 'इन्फर्मलिटी एङ्गल कर्भ' पुष्टि भएको छ।
अनौपचारिक अर्थतन्त्र भनेको त्यस्ता आर्थिक गतिविधि हुन्, जो सरकारको कानूनी ढाँचाभित्र दर्ता भएका हुँदैनन्, वा नियमनमा बसेका हुँदैनन् । अर्थात् सरकारसँग नजोडिएको अर्थतन्त्रलाई अनौपचारिक अर्थतन्त्र मानिन्छ । यस्ता गतिविधिमा संलग्न व्यक्तिहरू प्राय: कर प्रणाली बाहिर रहन्छन् । करमा दर्ता भएर पनि करको दायरामा नपरेका वा कर नतिर्ने कारोबारहरू पनि अनौपचारिक अर्थतन्त्रको एउटा भाग मानिन्छन् ।
यस्ता कारोबारले कर प्रशासनलाई जानकारी नदिई कारोबार गर्छन् वा झुटो विवरण पेश गरेर कर छली गर्छन् । सडक पसले, अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुर, सानो किराना पसल वा खासै कर नतिर्ने स्थानीय बजारका पसल जस्ता कामहरू यस अर्थतन्त्र अन्तर्गत पर्दछन् । यी व्यक्ति तथा व्यवसायहरूले कानून बमोजिम कर तिर्ने सम्भावना न्यून हुन्छ । अनौपचारिक अर्थतन्त्रले देशको समग्र उत्पादन र रोजगारीमा महत्वपूर्ण योगदान दिए पनि औपचारिक तथ्याङ्कमा समेटिने गरेको पाइँदैन ।
नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा अनौपचारिक अर्थतन्त्रको हिस्सा निकै ठूलो छ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले गत वर्ष गरेको अनुसन्धानले नेपालको अनौपचारिक अर्थतन्त्र कुल गार्हस्थ्य उत्पादनको ४१ प्रतिशत रहेको देखाएको थियो । त्यस्तै, अर्न्स्ट एन्ड योङ्गले गरेको अनुसन्धानले नेपालको कुल गार्हस्थ्य उत्पादनको ५१ प्रतिशत अर्थतन्त्र अनौपचारिक रहेको देखाएको छ, जुन अनुपातमा संसारमै तेस्रो ठूलो हो ।
अनौपचारिक अर्थतन्त्रमा उपभोगमा आधारित करको परिपालना भएको हुँदैन भने भएको अवस्थामा पनि आंशिक रूपमा मात्रै भएको हुन्छ ।
उपभोगमा आधारित कर भन्नाले सामान वा सेवाको उपभोग गर्दा लाग्ने करलाई जनाउँछ । यस्तो कर तिर्ने जिम्मेवारी उपभोक्ता माथि हुन्छ, जसले सामान वा सेवा किन्ने बेला सो कर तिर्छन् । यस्तो कर प्रणालीमा जति धेरै उपभोग गर्यो, त्यति नै धेरै कर तिर्नुपर्छ । कम उपभोग गर्दा कर पनि कम नै लाग्ने गर्छ ।
मूल्य अभिवृद्धि कर (भ्याट), भन्सार महसुल, अन्त:शुल्क, वस्तु तथा सेवा कर (जीएसटी) आदि उपभोगमा आधारित करका उदाहरण हुन् । यस्तो कर गरिब र धनी दुवैलाई समान दरमा लाग्छ । कतिपय अवस्थामा यसलाई प्रतिगामी कर प्रणालीका रूपमा व्याख्या गरिन्छ । अर्थात् यस किसिमको करले न्याय गर्न सक्दैन भनेर आलोचना पनि हुने गरेको छ । जस्तै, धनीले पिठोे किन्दा र गरिबले किन्दा मूल्य अभिवृद्धि कर समान रूपमा अर्थात् १३ प्रतिशत लाग्ने गर्छ । तर आयकर, नाफाकर, सम्पत्ति कर, घर–जग्गा कर जस्ता प्रत्यक्ष कर भने करदाताको आफ्नो आय, नाफा वा सम्पत्तिका आधारमा बुझाउनुपर्छ ।
कम आयमा कम कर, बढी आयमा बढी कर लिने प्रणालीलाई प्रगतिशील कर प्रणाली भन्छन् । तर, जनताको आयस्तरलाई वास्ता नगरी सबैलाई समान रूपमा लाग्ने हुनाले उपभोग करका विषयमा नकारात्मक धारणा छ । उपभोक्ताहरू यो करका कारण सामानको मूल्य बढेको छ भन्छन् । राजनीतिकर्मीहरू यस्ता कर लगाउँदा आफू अलोकप्रिय बनिने हो कि भन्ने जोखिम देख्दछन् । व्यापारीहरू पनि यस्ता करले गर्दा सामान महङ्गो हुने भएकाले ग्राहक कम भई किनमेल नै कम हुने विश्वास गर्छन् ।
विकसित मुलुकहरूमा भएका अध्ययनहरूले पनि उपभोग कर गरिब विरोधी रहेको देखाएका छन् । यसले गरिबहरूलाई चरम अन्याय भएको निष्कर्ष ती अध्ययनहरूले देखाएका छन् ।
तर, हालै इन्स्टिच्युट फर फिस्कल स्टडिज (आईएफएस) का लागि अर्थशास्त्रीहरू पियरे वाचास, लुसी गाडेन र एन्डर्स जेन्सेनले विश्वका ३१ वटा विकासशील तथा विकासोन्मुख मुलुकहरूमा गरेको एक अनुसन्धानले उपभोग कर र गरिबी बीच एक अनपेक्षित तस्वीर प्रस्तुत गरेको छ ।
विगतमा रहेको मान्यता विपरीत यो अध्ययनले विकासशील तथा विकासोन्मुख देशहरूमा उपभोग करले गरिब जनतालाई फाइदा पुर्याउने देखाएको छ । यस्ता मुलुकमा उपभोग करले गरिबी निवारणको प्रभावकारी उपकरणका रूपमा कार्य गर्दै आएको सो अध्ययनले देखाएको छ । यसले धनी र गरिब बीचको खाडल घटाउन मद्दत पुर्याएको छ भने कर प्रणाली मार्फत सामाजिक तथा आर्थिक न्याय प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको निष्कर्ष अनुसन्धानमा उल्लेख गरिएको छ ।
यो अनुसन्धानले बुरुन्डीदेखि चिलीसम्म ३१ वटा विकासशील तथा विकासोन्मुख मुलुकहरूमा व्यापक अध्ययन गरेको थियो । अफ्रिकाका १५, एशियाका ८ र ल्याटिन अमेरिकाका ८ मुलुकहरू यो अध्ययनमा समावेश थिए । यो अध्ययनले विकासशील तथा विकासोन्मुख मुलुकहरूको विविधताको प्रतिनिधित्व गर्छ ।
यसअघि यस्ता अनुसन्धानहरू मुख्यत: युरोप र अमेरिकाका विकसित मुलुकहरूमा केन्द्रित थिए, जहाँ अनौपचारिक क्षेत्र नगण्य छ । त्यहाँका अनुसन्धानहरूले उपभोग करले गरिबहरूलाई चरम अन्याय भएको र तिनीहरूले आफ्नो आम्दानीको ठूलो हिस्सा उपभोग करमा खर्च गर्नुपर्ने देखाएका थिए । त्यसका कारण गरिब जनताले गुणस्तरीय जीवन बाँच्न कठिनाइ भोग्नुपरेको एवम् गरिब झनै गरिब बन्दै गएकाले यस्ता करहरू प्रतिगामी रहेको निष्कर्ष निस्कने गर्थ्यो । तर विकासशील र विकासोन्मुख मुलुकहरूमा भएको यो नयाँ अनुसन्धानले त्यो धारणालाई पूर्ण रूपमा उल्टाइदिएको छ ।
अनुसन्धानकर्ताहरूले लाखौं घरपरिवारको खर्चको विवरण संकलन गरी यो अनुसन्धान गरेका थिए । ती घरपरिवारले सडकदेखि सुपरमार्केटसम्म गरेको हरेक किनमेलको स्थान रेकर्ड उनीहरूले गरेका थिए । कुन वर्गका मानिसले आफूलाई चाहिने सामग्रीहरू कहाँबाट कति किनमेल गर्छन् भन्ने उनीहरूले पत्ता लगाएका थिए ।
यसबाट के पत्ता लाग्यो भने अनौपचारिक क्षेत्रमा गरिएको किनमेलमा उपभोग कर लाग्दैन, लागे पनि सोको अनुपात एकदमै नगण्य हुन्छ । त्यसकारण, जुन वर्गले यो क्षेत्रमा बढी किनमेल गर्छ, त्यो वर्गले कम कर तिर्छ ।
‘इन्फर्मलिटी एङ्गल कर्भ’ – एक नयाँ आर्थिक सिद्धान्त
यो अनुसन्धानको सबैभन्दा महत्वपूर्ण खोज ‘इन्फर्मलिटी एंगल कर्भ’ हो । यो एउटा नयाँ आर्थिक सिद्धान्त हो, जसले आम्दानी बढ्दै जाँदा मानिसहरूले अनौपचारिक क्षेत्रबाट कम किनमेल गर्छन् भनी पुष्टि गरेको छ ।
उदाहरणको लागि रुवाण्डामा सबैभन्दा गरिब १० प्रतिशत मानिसहरूले आफ्नो ९० प्रतिशत किनमेल अनौपचारिक क्षेत्रबाट गर्छन् । सडकका फलफूल बिक्रेता, साना किराना पसल, स्थानीय बजारका ठेलाहरूसँग उनीहरूले सामान किन्छन् । यसैबीच तिनीहरूभन्दा १० प्रतिशत बिन्दुले कम गरिबले ७० प्रतिशत मात्र सामान अनौपचारिक क्षेत्रबाट किनमेल गर्छन् । यो अनुपात आम्दानी वृद्धि भएसँगै क्रमश: घट्दै जान्छ अर्थात् आम्दानी अलि राम्रो हुने बित्तिकै मानिसहरूले गर्ने किनमेल अनौपचारिक क्षेत्रबाट औपचारिक क्षेत्रतर्फ वृद्धि हुँदै जान्छ ।
यस्तो अवस्था किन देखिन्छ त ? यो अनुसन्धानले मुख्यत: तीन वटा कारण पहिचान गरेको छ:
पहिलो, गरिब मानिसहरूका लागि कहाँ समान किन्ने भन्ने तय गर्न मूल्य सबैभन्दा महत्वपूर्ण कारक हो । सडकको ठेलाबाट किनेको टमाटर र सुपर मार्केटको टमाटर गुणस्तरमा फरक हुन सक्ला तर मूल्यमा ठूलो अन्तर पर्दछ । तर पनि यी दुवैले आधारभूत आवश्यकता पूरा गर्छ । त्यसैले कम आय भएकाहरू सस्तो विकल्प रोज्छन् ।
अनौपचारिक क्षेत्रमा वस्तुको गुणस्तर नियन्त्रण पक्ष कमजोर छ । उपभोक्ता सुरक्षाका मापदण्डहरू पालना हुँदैनन् । तर, साना व्यवसायले कर मात्र नभएर श्रम कानून, वातावरण सम्बन्धी कानून लगायत पनि कम पालना गरे हुन्छ । त्यस्ता कानूनहरू पालनामा कडिकडाउ नहुँदा पनि अनौपचारिक क्षेत्रमा सामानको मूल्य कम हुन्छ ।
दोस्रो– ठूला सुपरमार्केट तथा औपचारिक बजारसम्म गरिब जनताको पहुँचमा पनि समस्या छ । ठूला सुपर मार्केटहरू शहरका केन्द्रमा वा विशेष क्षेत्रमा हुन्छन् । गरिब मानिसहरूका लागि त्यहाँ पुग्न यातायात खर्च लाग्छ । समय लाग्छ । यसैले नजिकको साना पसललाई नै उनीहरूले प्राथमिकता दिन्छन् ।
तेस्रो, धनी मानिसहरू सुविधा, गुणस्तर र प्रतिष्ठाका लागि महँगा पसलहरूमा जान्छन् । तिनीहरूका लागि एकै ठाउँमा सबै सामान पाउनु, गुणस्तरीय सामान पाउनु, वस्तुको गुणस्तरमा ढुक्क हुने विषय प्राथमिकताका विषय हुन् । किनमेलमा सन्तुष्टि दिने पक्षहरू जस्तै वातानुकूलित वातावरण, डिजिटल भुक्तानी सुविधा जस्ता कुराहरूले उनीहरूका लागि अर्थ राख्दछ ।
आर्थिक न्यायको नयाँ आयाम
यो अनुसन्धानले दिएको नयाँ निष्कर्ष भनेको धनी र गरिब दुवै वर्गका लागि समान दरले उपभोग कर लगाउँदा पनि धनी वर्गले गरिब वर्गको तुलनामा बढी कर तिर्दछ भन्ने हो । यसको मुख्य कारण अनौपचारिक अर्थतन्त्रको उपस्थिति हो ।
उदाहरणका लागि, गरिब परिवारले आफ्नो ९० प्रतिशत किनमेल अनौपचारिक क्षेत्रबाट गर्छ, जहाँ कुनै उपभोग कर तिर्नुपर्दैन वा न्यून मात्रामा मात्र तिर्नुपर्छ । उसले केवल १० प्रतिशत किनमेलमा मात्र धनीले तिर्ने बराबरको कर तिर्छ । यसैबीच धनी परिवारले ७० प्रतिशत किनमेल औपचारिक क्षेत्रबाट गर्छ र सोही अनुपातमा कर तिर्छ । यसरी धनी परिवारले गरिब परिवारको तुलनामा सात गुणा बढी प्रभावकारी कर तिर्छ । यसले उपभोग करको प्रगतिशील प्रकृतिलाई देखाउँछ ।
त्यसका अतिरिक्त धनीले गरिबको तुलनामा धेरै मूल्यको वस्तु किनमेल समेत गर्ने भएकाले उसले तिर्ने करको मात्रा गरिबको तुलनामा धेरै नै हुन्छ । गरिब र मध्यमवर्गीय मानिसहरूले अनौपचारिक क्षेत्रबाटै आफ्ना दैनिक आवश्यकताका वस्तुहरू किन्छन् । तिनीहरूका लागि यो किफायती छ । समय बचत हुन्छ । स्थानीय सम्पर्क हुन्छ । मोलमोलाइ गर्न सकिन्छ । उधारो पाउन सकिन्छ । यसरी करको दायरामा नभएको क्षेत्रबाट किनमेल गर्ने हुनाले उनीहरूलाई करको भार पनि कम पर्ने गर्दछ ।
विकासशील तथा विकासोन्मुख मुलुकहरूमा आयकर प्रणाली कमजोर छ । धेरै मानिसले आयकर तिर्दैनन्, तिरे पनि अत्यन्त न्यून तिर्छन् । कर छली व्यापक छ । यस्तो अवस्थामा उपभोग करले आयकरको काम गरिरहेको छ ।
नेपालमा पनि प्रत्यक्ष करको असुली एकदमै कम छ । आयकर तिर्नेहरूको संख्या अत्यन्त न्यून छ । सम्पत्ति करको अवस्था झनै दयनीय छ । घरजग्गाको कारोबारमा लाग्ने कर झनै अनौपचारिक छ । असुली कमजोर छ । भ्रष्टाचार व्यापक छ । यी कारोबारबाट सिर्जित आयमा खासै आयकर वा सम्पत्ति कर संकलन हुन सक्दैन ।
नेपालको सान्दर्भिकता
नेपाल जस्तो अल्पविकसित मुलुकका लागि यस अध्ययनका निष्कर्षहरू अत्यन्त महत्वपूर्ण छन् । सामान्यतया यहाँको सामान्य दैनिक कारोबारमा न त बिल दिइन्छ, न सो कारोबारमा सही तरिकाले भ्याट नै तिरिन्छ । व्यापारीहरूले आफ्नो आम्दानीको सही तरिकाले रेकर्ड राखेर कर तिर्दैनन् । कर अधिकारीहरूले प्रभावकारी निरीक्षण गरी आवश्यक कारबाही समेत गर्दैनन् । यस्तै व्यवहारका कारण नेपालमा औपचारिक अर्थतन्त्रको समानान्तर रूपमा अनौपचारिक अर्थतन्त्र सञ्चालन भइरहेको छ । तराईका शहरहरूमा अनौपचारिक ढङ्गले आयात गरिएका भारतीय उत्पादनहरू सहज रूपमा पाइन्छ । व्यावहारिक रूपमा पहाडी क्षेत्रहरूमा त व्यवसायहरू खासै औपचारिक दायरामै आउन सकेका छैनन् ।
माथि उल्लेख गरिएको अनुसन्धानको निष्कर्ष अनुसार जानेर वा नजानेर जसरी बनाएको भए पनि नेपालको उपभोग कर प्रणाली पनि पहिलेदेखि गरिबमैत्री रहेछ । यसको मूल कारण अनौपचारिक क्षेत्रको उपस्थितिले सिर्जना गरेको संरचनागत विशेषता हो ।
यस अध्ययनबाट एक कुरा स्पष्ट भएको छ– नेपाल जस्ता विकासशील तथा अल्पविकसित मुलुकमा उपभोग कर अब गरिबहरूको शत्रु होइन, साथी हो । यसले आर्थिक न्यायको लडाइँमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । नेपालको भविष्यको आर्थिक नीतिमा यो एक महत्वपूर्ण आधारशिला बन्न सक्छ । नेपाल जस्ता देशका लागि धनी–गरिब बीचको खाडल पूर्ति गर्न उपभोग कर शक्तिशाली उपकरण हुन सक्छ ।
निष्कर्ष
धनी मानिसहरूले औपचारिक क्षेत्रबाट बढी किनमेल गर्छन् र फलस्वरूप बढी कर तिर्छन् । गरिब मानिसहरूले अनौपचारिक क्षेत्रबाट बढी किनमेल गर्छन् र कम कर तिर्छन् । त्यसैले उपभोग करलाई मात्र राजस्व उठाउने माध्यम मात्र मान्नुहँुदैन । यसलाई गरिबी विरोधी उपकरणको रूपमा हेरिनुपर्छ । यसले नीति निर्माताहरूको दृष्टिकोण परिवर्तन गर्न सक्छ । यो अनुसन्धानको नतिजाको आधारमा राजनीतिक दलहरू तथा सरकारले उपभोग करको दायरा वृद्धिलाई गरिबी विरोधी उपायको रूपमा प्रचार गर्न सक्नेछन् ।
अर्थतन्त्रको औपचारिकीकरणका निश्चय पनि धेरै फाइदा छन् । अनौपचारिक क्षेत्रलाई औपचारिक बनाउने नीतिहरू सावधानीपूर्वक लागू गर्नुपर्छ । सरल कर संरचना, न्यून करको दर, प्रभावकारी कर प्रशासन र अनौपचारिक क्षेत्रका फाइदाहरूलाई कायम राख्दै सावधानीपूर्वक औपचारिकीकरणको दिशामा अगाडि बढ्ने एक अत्यन्त कठिन कार्य हो । तर यो असम्भव भने पक्कै छैन । विस्तारै कडाइ गर्दै, स्वेच्छिक रूपमा प्रोत्साहन दिएर अनौपचारिक अर्थतन्त्रलाई औपचारिकीकरण गर्नुपर्छ । तर, त्यसका लागि जबरजस्ती गर्ने वा हतार गर्ने काम गरियो भने दुर्घटना हुन सक्छ ।
यस व्यापक अनुसन्धानले विकासशील तथा अल्पविकसित मुलुकहरूमा उपभोग करको बारेमा हाम्रो बुझाइलाई ठूलो परिवर्तन गरेको छ । विकसित र विकासशील मुलुकहरूबीच कर नीतिको प्रभावमा आकाश र पातालको फरक रहेको समेत पुष्टि भएको छ । प्रत्यक्ष करबाट मात्र आर्थिक न्याय हुन्छ भन्ने परम्परागत अवधारणालाई यस अनुसन्धानले विकासशील तथा अल्पविकसित मुलुकको हकमा पूर्ण रूपमा खारेज गरेको छ । आर्थिक न्यायमा प्रत्यक्ष करले निश्चित योगदान दिन सक्छ तर केवल प्रत्यक्ष करबाट मात्र आर्थिक न्याय आउँदैन । यसमा उपभोगमा आधारित करले निकै ठूलो योगदान दिन्छ भन्ने निष्कर्ष यस अध्ययनको मूल मर्म हो । नेपाल जस्ता मुलुकहरूका लागि यो एक अत्यन्त सुखद् खबर हो ।
नेपालका नीति निर्माताहरूले यस अनुसन्धानका निष्कर्षहरूलाई गम्भीरतापूर्वक अध्ययन गरी उपभोग कर सम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयन गर्न सक्दछन् । अल्पविकसित तथा विकासशील राष्ट्रहरूमा प्राय: कमजोरीका रूपमा देखिने अनौपचारिक अर्थतन्त्रलाई उपयुक्त कर नीतिको माध्यमबाट व्यवस्थित गरेर आर्थिक सन्तुलन, आर्थिक तथा कर न्याय, आर्थिक समानता र गरिबी न्यूनीकरणमा महत्वपूर्ण सफलता हासिल गर्न सकिन्छ । यसरी, अनौपचारिक अर्थतन्त्रलाई चुनौतीका रूपमा नहेरी अवसरका रूपमा लिएर प्रभावकारी नीतिनिर्माण र कार्यान्वयनले नेपालको समग्र आर्थिक रूपान्तरणमा दीर्घकालीन र दिगो योगदान पुर्याई गरिबी निवारणमा एउटा ठूलो कोसेढुंगा बन्न सक्छ ।
(सीए दाहाल हाल हार्वर्ड विश्वविद्यालयमा ‘तुलनात्मक कर नीति तथा प्रशासन’ विषयमा अध्ययनरत छन् ।)
प्रतिक्रिया 4