+
+
Shares

रास्वपालक्षित विष्णु पौडेलको टिप्पणी- खहरे हुन्, आयु लामो छैन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते १५:३७

१ भदौ, काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिगामी शक्ति, रास्वपा र माओवादीले नेपालमा अस्थिरता चाहेको आरोप लगाएका छन् । उनले यस्ता राजनीतिक शक्तिहरूको अब नेपालमा भविष्य नरहने पनि बताए ।

नेपाल पत्रकार महासंघ पाल्पाले आज तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पौडेलले प्रतिगामीहरुले केही समय पहिले राजनीतिक अस्थिरता मच्चाउन सकिन्छ कि भनेर प्रयास गरेको तर त्यसलाई जनताले विफल पारेको उल्लेख गरे ।

‘प्रतिगामी शक्तिको रुपमा आएका कथित राजावादीको प्रयासलाई जनताले तिरस्कार गरिसके । उनीहरू अहिले छिन्नभिन्न अवस्थामा छन्’ पौडेलले भने, ‘राजावादी कित्तामा लागेर व्यर्थमा जिन्दगीको समय नगुजार्न म आग्रह गर्दछु ।’

प्रतिगामीहरूले गणतन्त्रवादीसँग जोरी खोज्नु भनेको ‘कुइनोले पहरो ठेले जस्तो’ मात्र भएको उनको भनाइ छ ।

उपप्रधानमन्त्री पौडेलले भविष्य नभएको दोस्रो शक्तिको रुपमा रास्वपालाई लक्षित गरे ।

‘यसपालि मनसुन अलि ढिला सुरु भयो । त्यही भएर अहिले खहरे खोलाहरू बढेका छन् । तर मनसुन सकिएपछि ति खहरेमा कमिला कुद्छन्,’ पौडेलले भने, ‘राजनीतिमा पनि खहरे देखिएका छन् । तिनीहरूको आयु लामो छैन ।’

उपप्रधानमन्त्री पौडेलले विरोधको राजनीति गरेर, जनतामा भ्रम छरेर यस्ता खहरेहरूले जनतालाई अलमलमा पार्न खोजेको तर जनताले उनीहरूको नियत थाहा पाएको बताए ।

‘म युवाहरूलाई यस्तो खहरे राजनीतिको भेलमा नहेलिन आग्रह गर्दछु,’ पौडेलले भने, ‘भूलभूलैयामा परेर जिन्दगीको महत्त्वपूर्ण समय कसैले पनि खेर नफाल्नुहोस् ।’

पौडेलले अस्थिरता चाहने तेस्रो शक्तिको रुपमा माओवादीलाई लक्षित गरे ।

‘देशमा अस्थिरता चाहने अर्को एउटा शक्ति छ । त्यो सधैं सरकार ढाल्छु भन्छ । सरकारलाई नै निशाना बनाउँछ,’ पौडेलले  भने, ‘सरकार ढाल्ने प्रयास सफल नभएपछि अहिले सरकार हाम्रो प्राथमिकता होइन भन्छ । त्यसैले यो शक्तिको भ्रमबाट जनता मुक्त हुनु पर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?