
१ भदौ, काठमाडौं । पाटन दरबार क्षेत्र साँझमा चम्किन्छ । मन्दिरसहितका मल्लकालीन सम्पदाहरूमा झलमल्ल बत्ती बल्छन् । साँझमा परिवार, आफन्तजन, साथीसँगीसँग घुम्न आउनेहरूको संख्या बाक्लो हुन्छ ।
मन्दिरका पेटी र पाटीहरूमा बसेर धेरैले आनन्दको सास फेर्छन् ।
फोटो, भिडियो खिच्नेदेखि टिकटक बनाउनेहरूसम्म यहाँ हुन्छन् । धार्मिक क्षेत्र समेत भएकाले साँझमा यहाँ धर्म–कर्म गर्नेहरू पनि आउँछन् ।
साँझको समयमा यहाँको कला, संस्कृति र जनजीवन नियाल्न आउने पर्यटकहरू पनि उत्तिकै हुन्छन् । कतिलाई यहाँको ढुंगेधाराको पानी खान मन पर्छ त कसैलाई यहाँ बसेर गीत गुन्गुनाउन ।
परिवार र साथीसंगीसँग साँझमा पाटन दरबार क्षेत्रमा रमाउने बानी परेकाहरू धेरै छन् । स्थानीय बासिन्दाका लागि त यो क्षेत्र आफू हुर्केको आँगनजस्तै हो ।
यही आँगनमा आइतबार साँझ पुग्दा सिमसिमे झरी परिरहेको थियो । पाटन दरबार क्षेत्रमा पुगेकाहरू कोही छाता खोलेर ओड्दै थिए । कोही छेवैका मन्दिर आसपास र पसलहरूमा ओत लिइरहेका देखिन्थे ।
सम्साँझै यो बेला देखिएको मनमोहन दृश्यका बीच परेको झरीको पाटन क्षेत्र झनै आकर्षक बन्न पुग्यो ।
तस्वीरहरू :
प्रतिक्रिया 4