News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय क्रिकेट टिमका पेस बलर सोमपाल कामीले अस्ट्रेलियामा नेपाली समर्थकहरूको साथ आशीर्वादजस्तै भएको बताए।
- सोमपालले टप एन्ड टी-२० सिरिजमा मेलबर्न रेनेगेड्सविरुद्ध ५ विकेट लिएर म्यान अफ द म्याच घोषित भए।
- नेपालले सिरिजमा लगातार हारपछि मंगलबार र बुधबार जित निकाल्यो र शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्नेछ।
४ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पेस बलर सोमपाल कामीले नेपाल खेलिरहेको स्थानमा आएर नेपाली समर्थकहरूले दिने साथ र समर्थन आशीर्वाद जस्तै भएको बताएका छन् ।
टप एन्ड टी-२० सिरिजअन्तर्गत बुधबार भएको मेलबर्न रेनेगेड्ससँगको खेलमा ५ विकेट लिएका सोमपालले म्यान अफ द म्याच घोषित भएपछि पोस्ट म्याचमा कुरा गर्दै नेपाली समर्थकहरूको साथलाई फरक अनुभव भएको उल्लेख गरेका हुन् ।
‘यो मेरो पहिलो अस्ट्रेलिया भ्रमण हो। यहाँका नेपाली फ्यानहरूले समर्थन गरिरहेका छन्, यो बिल्कुलै फरक अनुभव हो। मलाई यो निकै मन पर्छ’ सोमपालले भने, ‘यो बिल्कुल आशीर्वाद जस्तै छ’।
उनले नेपाल र विश्वभर रहेका नेपाली फ्यानहरूलाई पनि टिमलाई सधैं यसरी नै साथ दिइरहन अपिल गरे । ‘हामीले सबै कुरा गर्न सकेनौं, तर धेरै कुरा सिक्यौं। लगातार राम्रो खेल भयो। आशा छ आगामी खेलहरू पनि राम्रो हुनेछ, समर्थन गरिरहनुहोला’ सोमपालले भने।
त्यस्तै उनले अस्ट्रेलिया भ्रमणमा धेरै नयाँ कुरा सिक्ने अवसर मिलेको पनि बताए । ‘यहाँ फरक शैलीका खेलाडीहरू छन्, उनीहरू पावर हिटिङ गर्छन्। तर हाम्रा खेलाडी पेसमा खेल्छन्, हामी पूर्णतया एशियाली कन्डिशनका खेलाडी हौं’ सोमपालले भने, ‘अस्ट्रेलिया आउँदा सबै कुरा फरक हुन्छ। बलको उछाल फरक हुन्छ र दूरी पनि फरक हुन्छ। यो सबैका लागि धेरै सिक्ने अवसर पनि हो।’
सिरिजमा नेपाल सुरुवाती ३ खेलमा लगातार पराजित भएको थियो । त्यसयता नेपालले मंगलबार र बुधबार लगातार जित निकालेको छ । सोमपालले टिमको प्रदर्शन सुधार भएकाले लगातार हारपछि जित निकाल्न सफल भएको बताए ।
‘जब जीत हुन्छ, सधैं अद्भुत लाग्छ। हाम्रा खेलाडीहरूले खेलेको तरिका धेरै राम्रो थियो, किनभने ब्याटिङ सजिलो थिएन। तर १४० रन बनाउँदा हामीलाई थाहा थियो कि त्यो विकेटमा कसरी खेल्ने। जब फरक विकेटमा सफल हुन्छौं, राम्रो महसुस हुन्छ’ उनले भने ।
सिरिजमा नेपालले अब अर्को खेल शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।
प्रतिक्रिया 4