
४ भदौ, काठमाडौं । नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेले आफू र आफ्नो पार्टीप्रति सत्तारुढ दलहरूले गरेको प्रतिशोधका कारण आफैंलाई फाइदा पुगेको निष्कर्ष सुनाएका छन् ।
बुधबार आफूलाई भेट्न कारागार पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनले आफ्नो उक्त निष्कर्ष सुनाएका हुन् ।
प्रचण्डका अनुसार, दुई दलले रास्वपालाई गरेको व्यवहारका कारण आगामी चुनावमा बल पुग्नेगरी फाइदा भएको विषयबारे लामिछाने जानकार छन् ।
‘राजनीतिक रुपले अहिले कांग्रेस–एमालेले उहाँमाथि जसरी व्यवहार गरेको देखिएको छ । त्यसले उहाँ र उहाँको पार्टीलाई देशभरि फाइदा भएको छ भन्ने कुरा उहाँले राम्रो बुझ्नुभएको रहेछ,’ प्रचण्डले भने, ‘कांग्रेस एमालेले आफ्नै खुट्टामा बन्चरो हान्ने काम किन गरेका होलान् ?’
उनले आफू प्रधानमन्त्री हुँदा दुई पटकसम्म क्याबिनेटको गृहमन्त्री लामिछाने नै भएको र अभिभावकको हिसाबले पनि भेट्न पुगेको सञ्चारकर्मीसँग बताए ।
‘म भैरहवा पनि मिल्यो भने जान चाहेको थिएँ । समय परिस्थिति नमिलेर मात्रै हो । आज भेट भयो । उहाँको भैरहवा बस्दा खेरिको स्थिति अलि धेरै नै जटिल उहाँको अनुहारमा पनि देखिन्छ । उहाँ दुब्लाउनु भएको छ,’ प्रचण्डले भनेका छन् ।
प्रचण्डसँग रविले अदालतले मागेको बिगो बुझाउँदा पनि किन नदिएको भन्दै गुनासो पोखेका थिए ।
‘कमसेकम अदालतले नै तोकेको बिगो बैंक धरौटी राखेपछि म मुद्दा लड्छु भन्दा खेरि पनि मैले त्यति सुविधा पनि पाइनँ,’ लामिछानेको भनाइ उद्धृत गर्दै प्रचण्डले भने, ‘सरकार र यो गठबन्धन म प्रति यति धेरै अनुदार, यति धेरै विभेद किन गर्यो मैले बुझ्न सक्या छैन भन्ने उहाँको थियो र त्यो उहाँको लजिक वास्तवमा चाहिँ सबैले विचार गर्नै पर्ने लजिक हो ।’
प्रतिक्रिया 4