+
+
Shares

विदेशमा नेपालीलाई रक्सी : जेलदेखि मृत्युसम्मको कहालीलाग्दो यात्रा

जबसम्म विदेश पठाउनुअघि नै श्रमिकलाई सम्बन्धित देशको नियम–कानुन र मदिरा सेवनले निम्त्याउन सक्ने गम्भीर परिणामबारे सचेत गराइँदैन, तबसम्म कुवेत र मलेसियामा जस्ता दु:खद घटना दोहोरिइरहने छ ।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८२ भदौ ४ गते २१:४१
सांकेतिक तस्वीर : एआई

४ भदौ, काठमाडौं । इमान्दार, मिहिनेती र बहादुर, यी तीन शब्दले संसारभरि वैदेशिक रोजगारीमा रहेका नेपालीको परिचय दिन्छ । तर, यही परिचयमाथि अहिले एउटा कालो धब्बा लागेको छ– अत्यधिक मदिरा सेवन र त्यसबाट सिर्जित उच्छृङ्खल गतिविधि ।

हालै कुवेतमा अवैध मदिरा सेवनबाट १२ नेपालीको मृत्यु र ३० भन्दा बढी गम्भीर बिरामी परेको घटनाले विदेशमा नेपालीहरू जेल पर्नेदेखि ज्यान गुमाउनेसम्मको भयावह अवस्थालाई सतहमा ल्याइदिएको छ ।

यो घटना एउटा सानो अंश मात्र हो, खाडीका विभिन्न देश र मलेसियाका जेलहरूमा सयौँ नेपाली मदिराकै कारण थुनिएका छन् ।

कुवेतमा मदिरा सेवन र कारोबार पूर्णत: प्रतिबन्धित छ । तर, लुकिछिपी विषाक्त मदिरा सेवन गर्दा १२ नेपालीले ज्यान गुमाइसकेका छन् ।

कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार गत साता शनिबारदेखि हालसम्म १२ जनाको मृत्यु भइसकेको छ भने ३० भन्दा बढी विभिन्न अस्पतालमा उपचाररत छन् ।

कुवेतमा मदिरा सेवन गरेको प्रमाणित भए जो–कोहीलाई देश निकाला (डिपोर्ट) गर्न सकिन्छ भने कारोबारमा संलग्न भए जेल सजाय हुन्छ । दूतावासका अनुसार हाल कुवेती जेलमा रहेका ५० भन्दा बढी नेपालीमध्ये आधाभन्दा धेरै रक्सी र लागुऔषधकै मुद्दामा छन् ।

अहिले मृत्यु भएकाहरूको अस्पताल रिपोर्टले पनि मदिरा सेवन नै पुष्टि गरेको छ । यो घटनाले कुवेतमा नेपाली समुदायभित्र अवैध मदिराको सञ्जाल कति गहिरो छ भन्ने देखाउँछ ।

गत शनिबार नेपाल सहित भारत, बंगलादेश लगायत देशका आप्रवासी श्रमिकहरूले मिथानोल नामक रसायन मिसिएको विषाक्त मदिरा सेवन गरेका थिए । त्यसको भोलिपल्टदेखि बिरामी परेर अस्पताल जान थालेका थिए । मृत्यु भएका १२ नेपालीमध्ये कतिपयको त अस्पताल बाहिरै उपचार गर्नुभन्दा पहिला नै मृत्यु भइसकेको थियो ।

क्र.सं. देश नेपालीको संख्या जेलमा नेपालीको संख्या मदिरा तथा लागुऔषध संख्या
साउदी अरब ४ लाखभन्दा बढी ५४४ (अनुमानित प्रतिशतमा)
यूएई ३ लाख हाराहारी ३०० ८० प्रतिशत हाराहारी
मलेसिया ४ लाख हाराहारी २५० ७० देखि ८० प्रतिशत हाराहारी
कतार ४ लाख हाराहारी ६४ ८० प्रतिशत हाराहारी
५. कुवेत १ लाख ६० हजार हाराहारी ५० ४ जना रक्सी, २९ जना लागूऔषध
६. ओमान २२ देखि २३ हजार हाराहारी २५ ८० प्रतिशतभन्दा बढी ।
तथ्यांक स्रोत : सम्बन्धित देशमा रहेका नेपाली दूतावास

यूएई र साउदी : जेलमा रक्सीकै साम्राज्य

मदिरा समस्या कुवेतमा मात्र सीमित छैन । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीस्थित सेन्ट्रल जेलमा ३ सयभन्दा बढी नेपाली रहेका र तीमध्ये अधिकांश मदिरा सेवन र त्यसपछिको झैंझगडाका कारण थुनिएको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका एक अधिकारीका अनुसार यूएईमा मदिरा सेवन गर्ने, होहल्ला गर्ने तथा सडक माझमा हिँडेर सवारी दुर्घटनामा समेत पर्ने गरेका छन् । त्यस्तै अत्यधिक मदिरा सेवनका कारण कोठामा अचेत अवस्थामा समेत फेला परेका घटना यूएईमा छन् ।

उता, साउदी अरबको अवस्था झनै चिन्ताजनक छ । साउदीका जेलमा ५ सय ४४ नेपाली छन्, जसमध्ये ८० प्रतिशतभन्दा बढी मदिरा तथा लागुऔषधसँग सम्बन्धित मुद्दामा छन् ।

श्रम, तथा रोजगार मन्त्रालयका एक अधिकारीले साउदीमा नेपालबाटै बच्चाको ‘डाइपर’ वा अन्य सामानमा लुकाएर रक्सी बनाउने कच्चापदार्थ लैजाने गरिएको बताए ।

साउदी पुगेपछि कोठामा अवैध फ्याक्ट्री चलाउने र त्यहीँबाट बिक्री वितरण गर्ने गरेको ती अधिकारीको भनाइ छ । साउदीको कडा कानुन अनुसार यस्ता गतिविधिमा संलग्नलाई कालोसूचीमा राखेर खाडी मुलुक (जीसीसी) मा कहिल्यै काम गर्न नपाउने गरी फर्काइन्छ । तर पनि नेपालीहरू साउदीमा मदिरा उत्पादन, सेवन तथा बिक्री वितरण गर्न छाड्दैनन् ।

साउदीमा बढी आम्दानी हुने लोभले नेपालीहरूले मदिरा सेवन र बेचबिखन गर्ने गरेको देखिन्छ । साउदीको रियाधस्थित नेपाली दूतावासका श्रम काउन्सेलर कविराज उप्रेतीका अनुसार हाल ५ सय ४४ जना साउदीका जेलमा छन् ।

तीमध्ये अधिकांश मदिरा तथा लागुऔषधसँग सम्बन्धित मुद्दाका छन् । घरेलु मदिरा उत्पादन, बिक्री वितरण, ओसारपसार र सेवन गर्नेमा धेरै नेपाली छन् । साउदीमा मदिरा गैरकानुनी छ । जुन कुरा सबैलाई थाहा छ । तर पनि पक्राउ परिएन भने छोटो समयमा टन्न पैसा कमाइ हुन्छ भन्ने लोभले यतातिर लाग्ने गरेको उप्रेतीको भनाइ छ ।

साउदीमा सात दशकदेखि मदिरामाथि प्रतिबन्ध छ । साउदीमा मदिरा राख्ने वा बेचबिखन गर्नेलाई जरिबाना गराउनेदेखि जेलमा थुन्ने र कोर्रा हान्नेसम्मको सजाय तोकिएको छ ।

साउदीमा नेपालीहरूले नेपालबाट घरेलु रक्सी उत्पादन गर्ने मर्चा लिएर जान्छन् । त्यसपछि साउदीमा पाइने गहुँ, चामल तथा खजुर राखेर रक्सी उत्पादन गर्ने गरेको दूतावासका अधिकारीको भनाइ छ ।

साउदीका जेलमा ५ सय ४४ जना आधिकारिक रूपमा रहेको रेकर्ड भए पनि करिब ८ सय हाराहारी हुन सक्ने अनुमान छ ।

मदिरा बनाउने, ओसारपसार गर्ने, बेच्ने, सेवन गर्ने र सेवनपछि होहल्ला तथा झगडा गर्नेजस्ता गतिविधिमा संलग्न देखिएका छन् । साउदीमा मदिरा ओसारपसार र सेवनलाई गम्भीर अपराध मानिन्छ । साउदीमा विशेषगरी ट्रक ड्राइभरहरू यस्ता घटनामा बढी संलग्न छन् ।

दूतावासले यो समस्या न्यूनीकरण गर्न विभिन्न कार्य गर्दै आएको काउन्सेलर उप्रेतीले बताए । फेसबुक तथा सामाजिक सञ्जाल मार्फत सचेतना फैलाउने विभिन्न संघसंस्थासँगको सहकार्यमा कार्यक्रम समेत अघि बढाउँदै आएको उनको भनाइ छ । दूतावासले साउदी आउनुअघि के गर्ने, आएपछि के गर्ने लगायत सम्पूर्ण जानकारी दिने गरी हाते पुस्तक समेत निकालेको छ ।

मलेसिया : रक्सी, दुर्घटना र मृत्यु चक्र

खाडी मुलुकभन्दा मदिरामा केही खुकुलो मानिने मलेसियामा समस्याको रूप फरक छ, तर परिणाम उस्तै दर्दनाक छ । मलेसियास्थित नेपाली दूतावासका श्रम काउन्सेलर कृष्णप्रसाद भुसालका अनुसार यहाँबाट महिनामा औसत ४० नेपालीको शव नेपाल पठाइन्छ, जसमध्ये धेरैजसोको मृत्युमा कुनै न कुनै रूपमा रक्सी जोडिएको हुन्छ ।

मलेसियामा २ सय ५० हाराहारीमा नेपाली जेलमा छन् । तीमध्ये धेरैजसो मदिरासँग जोडिएको केसमा रहेको भुसालले बताए । ‘रक्सी खाएर होसमा नभई बाटो काट्दा गाडीले हानेर मर्ने, आपसमा झगडा गरेर एकअर्काको हत्या गर्ने वा विषाक्त घरेलु रक्सी पिएर मर्ने घटना सामान्य जस्तै भइसकेका छन्,’ भुसालले भने ।

रक्सी सेवन गरेर बिरामी परेका श्रमिकको शरीरमा अल्कोहल भेटिए कम्पनीको बीमाले समेत काम गर्दैन, जसले गर्दा उपचार पाउनै मुस्किल हुन्छ । कतिपय त रक्सी पिएर दूतावासमै आएर कर्मचारीलाई दुर्व्यवहार गर्ने हदसम्म पुग्छन् । सन् २०१८ मा पनि मलेसियामा विषाक्त मदिरा सेवनबाट ६ जना नेपालीको मृत्यु भएको थियो ।

खानेबित्तिकै झ्याप्प लाग्ने खालको रक्सी बनाउने, त्यसका लागि चाहिने भाँडाकुँडा तथा कच्चापदार्थ समेत नेपालबाटै लैजाने गरेको उनको भनाइ छ । तलब आउने बित्तिकै रक्सी खाएर सक्ने र घर परिवारका लागि एक पैसा समेत नपठाउने नेपाली समेत रहेको उनको भनाइ छ ।

मलेसिसामा हालै एक जनालाई अचेत अवस्थामा अस्पताल पुर्‍याइएको थियो । नुवाकोट घर भएका ती श्रमिकको अस्पतालमा परीक्षण गर्दा शरिरभरि अत्यधिक रक्सीको मात्रा देखिएको भुसालले बताए ।

मलेसियामा मदिरा सेवनमा खाडी मुलुकको जस्तो कडाइ छैन । खाएर होहल्ला गरेको खण्डमा पक्राउ गरेर १/२ दिनमा जरिबाना तिराएर छाड्ने गरिएको छ । जसले गर्दा मलेसियामा नेपालीहरू खुलेआम मदिरा उत्पादन, कारोबार तथा सेवन गर्ने गरेको देखिन्छ ।

भुसालका अनुसार रक्सी खाएर दूतावाससम्म पुग्ने र कर्मचारीहरू थर्काउने गरेका छन् । ‘हाम्रो कर तिरेको पैसाले तलब खाएर हाम्रो काम नगर्ने भन्दै थर्काउन आउँछन् । एकदमै विकृति देखिएको छ,’ भुसालले भने ।

कतारमा रक्सीभन्दा लागुऔषध बढी

कतारमा मदिरा सेवन, उत्पादन तथा बिक्री वितरणमा नेपालीको संलग्नता कम देखिन्छ । तर, लागुऔषध सेवनकर्ता तथा बिक्री वितरण गर्नेको संख्या भने बढी देखिन्छ । कतारका जेलमा हाल ४ जना नेपाली मात्रै मदिरा सेवनको केसमा परेका छन् । उनीहरू मदिरा सेवन गरेपछि एकापसमा झैंझगडा गरेर हत्या अभियोगमा पक्राउ परेर जेल परेका हुन् ।

नेपाली दूतावास कतारका श्रम काउन्सेलर सीता दुवाडीका अनुसार कतारका जेलमा ६४ जना नेपाली छन् । तीमध्ये १ जना महिला छिन् । त्यसरी जेलमा रहेकामध्ये २९ नेपाली लागुऔषध केसमा छन् ।

कतारमा मदिरा सेवन गरेर जेल पर्नेको संख्या निकै कम रहेको उनले बताइन् । साथीभाइ मदिरा सेवन गरेर झैंझगडा गर्ने, होहल्ला गर्ने गरेको तर केही समयमै छुट्ने गरेका छन् । कतारमा यो एकदमै न्यून संख्या रहेको उनको भनाइ छ ।

ओमानमा बेलाबेला आउँछ समस्या

ओमानमा करिब २३ हजार नेपाली कार्यरत छन् । ओमानमा समेत बेलाबेला मदिरा सेवन गर्ने, होहल्ला गर्ने, प्रहरीले पक्राउ गर्ने जस्ता घटना हुने गरेका छन् ।

नेपाली दूतावासका श्रम सहचारी दामोदर ज्ञवालीका अनुसार ओमानमा खुला रूपमा मदिरा खरिद–बिक्रीमा प्रतिबन्ध छ । पाँचतारे होटल वा अनुमतिप्राप्त विशेष रेस्टुरेन्टमा मात्रै मदिरा कारोबार हुन्छ ।

नेपालीहरू कहिलेकाहीँ मदिरा सेवन गरेपछि पक्राउ पर्ने गरेका छन् । तर, अन्य मुलुकको जस्तो अहिलेसम्म ठूलो समस्या भने ओमानमा नआएको ज्ञवालीको भनाइ छ ।

पक्राउ पर्ने, १/२ दिन जेल बस्ने गरेको देखिए पनि मदिरा सेवन गरेकै कारण डिपोर्ट गरिएको घटना भने आफ्नो जानकारीमा नरहेको उनको भनाइ छ । ओमानमा हाल करिब २५ जना नेपाली जेलमा छन् । तीमध्ये केही मदिरासँग सम्बन्धित विषयका छन् ।

रक्सीको कुलतमा किन फस्दैछन् नेपाली ?

विदेशमा रहेका नेपाली पारिवारिक निगरानीबाट टाढा हुने, कामको तनाव, स्वतन्त्रताको दुरुपयोग र साथीभाइको संगतले रक्सीको कुलतमा फस्ने गरेको अधिकारीहरूको भनाइ छ ।

श्रम मन्त्रालयका एक अधिकारी भन्छन्, ‘समस्याको मुख्य जड भनेको नेपालबाटै सचेत गराएर नपठाउनु हो । विदेश जानुअघि दिइने अभिमुखीकरण तालिम कर्मकाण्डी मात्र भयो । त्यहाँको कानुन, संस्कृति र धार्मिक संवेदनशीलता बारे गम्भीरतापूर्वक सिकाइँदैन ।’

जबसम्म विदेश पठाउनुअघि नै श्रमिकलाई सम्बन्धित देशको नियम–कानुन र मदिरा सेवनले निम्त्याउन सक्ने गम्भीर परिणामबारे सचेत गराइँदैन, तबसम्म कुवेत र मलेसियामा जस्ता दु:खद घटना दोहोरिइरहने उनको भनाइ छ ।

श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालले बिदाका दिनमा कामदारहरूले अत्यधिक रक्सी सेवन गर्ने गरेको बताए । ‘मैले गल्फ मुलुकहरूमा जाँदा देखेको छु, विशेषगरी शुक्रबारको दिन कामदारहरूले अत्यधिक रक्सी सेवन गर्छन् । उनीहरू रक्सीले यति धेरै मात्तिएका हुन्छन् कि उनीहरूसँग राम्ररी बोल्न पनि नसकिने अवस्था हुन्छ । त्यहाँका मानिसहरूले नै भन्छन्, ‘आज शुक्रबार हो, यिनीहरूसँग धेरै नबोल्नुहोला, आक्रामक हुन सक्छन्,’ उनले भने ।

यसरी अत्यधिक रक्सी पिउनुका पछाडि उनीहरूको मनमा भएको पीडा र निराशा रहेको उनको भनाइ छ । भने अनुसार काम र तलब नपाउनु, परिवार छाडेर एक्लै बस्नुपर्दाको पीडा, घर कहिले फर्कन पाइएला भन्ने चिन्ता र घर फर्कनलाई पनि पर्याप्त कमाइ नहुनुजस्ता थुप्रै कारण उनीहरूले रक्सी खाने गरेको बताए ।

‘यी सबै कुराले उनीहरूमा एक प्रकारको आक्रोश र तनाव उत्पन्न गराएको हुन्छ । त्यो पीडालाई एकछिन भए पनि भुल्नका लागि उनीहरू रक्सीको सहारा लिन्छन् । मान्छेलाई रक्सी पिउन बहाना चाहिएको हुन्छ,’ उनले भने, ‘कहिले गर्मी भयो भनेर पिउँछन्, कहिले पानी पर्‍यो भनेर । तर, विदेशमा रहेका नेपालीका लागि यो एक रातका लागि भए पनि आफ्नो पीडा भुल्ने माध्यम बनेको छ ।’

कतिपय अवस्थामा साथीभाइको संगतले पनि मदिरा सेवनको लत लाग्ने गरेको उनको भनाइ छ ।

यसको न्यूनीकरणका लागि प्रस्थान–पूर्व अभिमुखीकरण तालिममा उनले जोड दिए । ‘विदेशमा जानुअघि दिइने अभिमुखीकरण तालिमलाई प्रभावकारी बनाउन जरुरी छ । यो तालिममा विदेशको कानुन, संस्कृति, स्वास्थ्य र सुरक्षाका विषयमा विस्तृत जानकारी दिनुपर्छ,’ नेपालले भने, ‘मदिरा सेवनका खतरा र विषाक्त रक्सीबाट बच्ने उपायबारे पनि जानकारी दिनुपर्छ ।’

उनीहरूको मानसिक स्वास्थ्य ध्यानमा राखी विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । साथै, विषाक्त मदिरामा पनि उनीहरूले आफूलाई चाहिने भाँडा किनेर लुकिछिपी रक्सी बनाउनेको उत्पादन र बिक्री–वितरणमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउनुपर्ने समेत उनले बताए ।

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?