+
+
Shares

कोशीमा सभामुख फेर्ने कसरत, कांग्रेसभित्र फरक मत

सत्तागठबन्धनबीच सभामुखको जिम्मेवारी नेपाली कांग्रेसलाई दिने तयारी छ । यद्यपि विष्टलाई हटाउने विषयमा कांग्रेसभित्र विवाद छ । कांग्रेसको संस्थापन पक्ष मात्रै उनलाई हटाउने पक्षमा छ ।

हरि अधिकारी हरि अधिकारी
२०८२ भदौ ४ गते १९:१९
अम्बरबहादुर विष्ट/फाइल तस्वीर

४ भदौ, विराटनगर । २४ पुस २०८० मा कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित अम्बरबहादुर विष्टलाई हटाउने कसरत सुरु भएको छ ।

सरकार गठनमा समस्या भएपछि तत्कालीन सत्तारुढ गठबन्धनले माओवादी केन्द्रबाट सभामुख बनेका बाबुराम गौतमलाई राजीनामा गराएर विष्टलाई सभामुख बनाएको थियो ।

नेपाली कांग्रेस-नेकपा एमाले गठबन्धनको सरकार बनेको एक वर्षपछि विष्टलाई हटाउने गृहकार्य सुरु भएको हो ।

सत्तागठबन्धनबीच सभामुखको जिम्मेवारी नेपाली कांग्रेसलाई दिने तयारी छ । यद्यपि विष्टलाई हटाउने विषयमा कांग्रेसभित्र विवाद छ । कांग्रेसको संस्थापन पक्ष मात्रै उनलाई हटाउने पक्षमा छ ।

कृष्णप्रसाद सिटौला र डाक्टर शेखर कोइराला समूह भने हटाउन नहुने पक्षमा छ । कांग्रेस संसदीय दलको नेता सिटौला समूहका नेता उद्धव थापा छन् । उनी प्रदेशको वेटिङ मुख्यमन्त्री पनि हुन् । मुख्यमन्त्रीमा थापालाई रोक्नका लागि पनि देउवा समूहले सभामुख फेर्नका लागि जोडबल गरिरहेको हो ।

‘नेकपा एमालेले सुरुदेखि नै सभामुख हटाउन लबिइङ गरिरहेको छ, तर हटाउनु हुँदैन भन्ने पक्षमा हामी छौं,’ कांग्रेस संस्थापन पक्षका एक नेताले भने, ‘सभामुख हटाउने वित्तिकै मुख्यमन्त्रीको (हिक्मतकुमार कार्की) मनोमानी चल्छ, कांग्रेस-एमाले गठबन्धन भत्किए नयाँ सरकार गठन गर्न कठिन हुन्छ ।’

सभामुखलाई हटाएको अवस्थामा कांग्रेसबाट हिमाल कार्की, भीम पराजुली र इस्राइल मन्सुरी मध्ये एकलाई सभामुखमा पठाउने तयारी छ । तर भीम पराजुलीले सभामुख नबन्ने बताइसकेका छन् ।

उनी सभामुख फेर्न नहुने पक्षमा छन् ।  उनले सभामुख हटाउने विषयमा कांग्रेसभित्र छलफल नभएको बताए । ‘कांग्रेसभित्र यो विषयमा कुनै छलफल भएको छैन,’ उनले भने, ‘सभामुख हटाउनु हुँदैन ।’

सभामुखलाई फेर्ने कसरत सुरु भएपछि कोशी प्रदेश सभा बैठकमा नेकपा माओवादी केन्द्रले विरोध जनाएको छ ।

बुधबार प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले कोशीका सभामुख विष्टलाई पनि हटाउन ‘बन्द कोठा’ मा तयारी भइरहेको बताए ।

विषेश समय लिएर बोल्दै माओवादीका सांसद दुर्गा चापागाईंले सभामुख हटाउन खोजिएको भन्दै विरोध जनाए ।

‘म गठबन्धनलाई प्रश्न गर्न चाहन्छु । हिजो के भनेर कांग्रेस र एमालेकै सहमतिमा यहाँको सभामुख नियुक्ति गरियो ? अहिले उहाँहरू फेरि यहाँको सभामुखलाई पनि हटाउन बन्द कोठाभित्र छलफल गरिरहेको र मिडिया ट्रायलका लागि समाचारहरू बाहिर आइरहेका छन्,’ उप्रेतीले भने, ‘ के आधारमा तपाईंहरूले यस्तो गरिरहनु भएको छ ?’

एमाले संसदीय दलका उपनेता समेत रहेका सांसद तीलकुमार मेन्याङ्बो प्रदेशमा सभामुख फेर्ने विषयमा कुनै छलफल नभएको बताउँछन् ।

‘माथिको उपसभामुखको कुरा जोडेर यहाँ भन्या हो, त्यस्तो तयारी केही छैन,’उनले भने, ‘ अहिले त्यस्तो केही भएको छैन ।’

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?