
News Summary
Generated by OK AI. Editorially reviewed.- राति अचानक निद्रा खुल्नु \'मध्यरात्री जागरण\' वा \'स्लिप डिस्ट्रप्सन\' भनिन्छ र यसले दिनमा थकान, चिडचिडापन र एकाग्रताको कमी ल्याउँछ।
- शारीरिक, मानसिक, वातावरणीय, जीवनशैली र उमेरका कारणले राति निद्रा भंग हुन्छ, जस्तै स्लीप एप्निया, तनाव, कोठाको तापक्रम र क्याफिन सेवनले पनि यस्तो समस्या ल्याउँछ।
राति अचानक निद्रा खुल्नु एक सामान्य समस्या हो, जसलाई चिकित्सकीय भाषामा ‘मध्यरात्री जागरण’ वा ‘स्लिप डिस्ट्रप्सन’ भनिन्छ ।
यसो हुनुको कारण शारीरिक, मानसिक, पर्यावरणीय र जीवनशैलीसँग सम्बन्धित हुन्छन् । यो समस्याले निद्राको गुणस्तरमा असर पार्छ, जसले दिनमा थकान तथा आलस्यपन महसुस हुने, चिडचिडापन र एकाग्रताको कमी जस्ता समस्या निम्त्याउछ।
राति अचानक निद्रा खुल्ने सम्भावित कारण के-के हुन् त ? तिनको प्रभाव र समाधानका उपायहरू के-के छन् ?
१. शारीरिक स्वास्थ्य समस्या
श्वासप्रश्वास सम्बन्धी समस्या
स्लिप एप्निया जस्ता अवस्थाले राति सास रोकिने वा अप्ठ्यारो हुने गर्छ, जसले निद्रा खुल्छ । यो विशेष गरी घुर्ने व्यक्तिहरूमा देखिन्छ । स्लीप एप्नियाले मस्तिष्कमा अक्सिजनको कमी गराउँछ, जसले व्यक्ति अचानक ब्यूँझिन्छ।
पाचन समस्या
राति खाएको भारी खाना, अमिलो खानेकुरा, वा ग्यास्ट्रिक रिफ्लक्सले पेटमा अप्ठ्यारो हुन्छ, जसले निद्रा भंग गर्छ । ग्यास्ट्रोइन्टेस्टाइनल रिफ्लक्स रोग भएका व्यक्तिहरूमा यो समस्या बढी देखिन्छ।
हर्मोनल परिवर्तन
थाइराइडको समस्या, रजोनिवृत्ति वा अन्य हर्मोनल असन्तुलनले राति पसिना आउने, तातो महसुस हुने, बेचैनी हुने हुनसक्छ, जसले निद्रा खुल्छ ।
दुखाइ
-जोर्नी दुख्ने, मांसपेशी दुख्ने वा माइग्रेनले पनि राति निद्रा भंग गर्न सक्छ ।
-राति बारम्बार पिसाब लाग्दा पनि निद्रा खुल्छ । यो मधुमेह, प्रोस्टेटको समस्या वा अत्यधिक तरल पदार्थ सेवनको कारण हुन सक्छ।
२. मानसिक समस्या
– दैनिक जीवनको तनाव, कार्यस्थलको दबाब, वा व्यक्तिगत समस्याले मनमा चिन्ता उत्पन्न गर्छ । यस्तो बेला मस्तिष्क सक्रिय रहन्छ, जसले राति अचानक ब्यूँझिन्छ।
– डिप्रेसनले निद्राको चक्रमा असर पार्छ । डिप्रेसन भएका व्यक्तिहरूमा राति ब्यूँझने र फेरि निदाउन नसक्ने समस्या हुन्छ।
– विगतका दु:खद् घटनाहरूको प्रभावले राति नराम्रो सपना देखिन्छ, जसले निद्रा भङ्ग गर्छ ।
३. वातावरणीय कारक
-कोठाको तापक्रम धेरै तातो वा चिसो हुनु, उज्यालो बत्ती, असहज विछ्याउना वा तकियाको प्रयोगले बीच-बीचमा निद्रा खुल्छ ।
-वा स्क्रिनको नीलो प्रकाशले पनि मेलाटोनिन (निद्रा नियन्त्रण गर्ने हर्मोन) उत्पादनमा बाधा पुर्याउँछ ।
-बाहिरी आवाज, जस्तै: गाडीको हर्न, कुकुरको भुकाइ वा अन्य कुनै प्रकारका हल्लाका कारण पनि निद्रा भंग हुन्छ।
-एउटै कोठा सुत्ने व्यक्ति घुर्ने अथवा एउटै बेडमा सुत्ने व्यक्ति धेरै चलमल गर्ने, खुट्टा बोकाउने वा कुनै प्रकारले सुत्न अप्ठ्यारो भएमा पनि निद्रा खुल्छ ।
४. जीवनशैली सम्बन्धी कारक
-साँझको समयमा क्याफिन (कफी, चिया) वा मदिरा सेवनले निद्राको चक्रमा असर पार्छ । क्याफिनले मस्तिष्कलाई उत्तेजित गर्छ भने मदिराले गहिरो निद्रामा बाधा पुर्याउँछ।
-अनियमित सुत्ने र उठ्ने समयले शरीरको जैविक घडीमा असर पार्छ, जसले राति निद्रा खुल्छ।
-सुत्नुअघि मोबाइल, ल्यापटप वा टिभीको प्रयोगले मेलाटोनिन उत्पादनमा कमी ल्याउँछ, जसले निद्रा भङ्ग हुन्छ।
-राति धेरै खाना खाने, मसालेदार खानेकुरा वा चिनीयुक्त खानाले पाचनमा गडबडी हुन्छ, जसले निद्रा खुल्छ।
५. उमेरको प्रभाव
– उमेर बढ्दै जाँदा निद्राको चक्र परिवर्तन हुन्छ । वृद्धावस्थामा गहिरो निद्रा कम हुन्छ, जसले राति ब्यूँझिरहने हुन्छ।
–साना बच्चाहरूमा निद्रा चक्र पूर्णरूपमा विकसित नहुने भएकाले राति ब्यूँझने समस्या हुन सक्छ । किशोरहरूमा हर्मोनल परिवर्तन र तनावले यस्तो हुन्छ।
६. औषधि र रासायनिक प्रभाव
केही औषधिहरू, जस्तै: एन्टिडिप्रेसन्ट, बीटा-ब्लकर, वा स्टेरोइड) ले निद्रामा असर पार्छ । यी औषधिहरूले मस्तिष्कलाई उत्तेजित गर्छ वा निद्रा चक्रमा बाधा पुर्याउँछ ।
निकोटिन र अन्य रसायन : धूम्रपान वा निकोटिनको सेवनले पनि निद्रा खुल्छ, किनभने यो उत्तेजक पदार्थ हो।
के हुन्छ असर ?
-अपर्याप्त निद्राले दिनभर थकान, कमजोरी, र एकाग्रतामा कमी हुन्छ।
-लामो समयसम्म यो समस्या रहँदा चिन्ता, डिप्रेसन र चिडचिडापन बढ्छ ।
-निद्राको कमीले रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ, जसले रुघाखोकी वा अन्य रोगको जोखिम बढ्छ ।
-काम बाधा पुग्दा उत्पादकता र निर्णय लिने क्षमतामा कमी आउँछ ।
-दीर्घरोगहरू मधुमेह, उच्च रक्तचाप र हृदय रोगको जोखिम बढ्छ।
समाधान र रोकथामका उपाय
-हरेक दिन एकै समयमा सुत्ने र उठ्ने बानी बसाल्ने । यो बानीले शरीरको जैविक घडीलाई नियमित गर्छ।
-सुत्नुअघि चिया कपी र मदिरा सेवन नगर्ने
-राति हल्का र सजिलै पच्ने खाना खाने। मसालेदार, धेरै चिल्लो वा चिनीयुक्त खाना नखाने ।
-सुत्नु भन्दा कम्तीमा १ घन्टाअगाडि मोबाइल, ल्यापटप, वा टिभी हेर्न बन्द गर्ने।
-दिनमा कम्तीमा ३० मिनेट मध्यम व्यायाम गर्ने, जसले निद्रा सुधार्छ, तर साँझको समयमा भारी व्यायाम नगर्ने।
-सुत्ने कोठामा अँध्यारो र शान्त वातावरण बनाउने।
-जाडो समय छ भने कोठा न्यानो बनाएर राख्ने । गर्मीमा झ्यालहरू खुल्ला राखेर हावा पास हुन दिने ।
-सुत्दा सहज हुने खालको बिछ्याउना र तकिया छनोट गर्ने ।
-सुत्नुअघि ५-१० मिनेट ध्यान गर्ने वा गहिरो श्वास लिने छाड्ने अभ्यास गर्ने ।
-चिन्ता कम गर्ने उपायहरू अपनाउने
-डरलाग्दा सपनाहरू कम गर्न सुत्नुअघि सकारात्मक किताब पढ्ने वा मिठो र रोमाञ्चक संगीत सुन्ने।
-यदि स्लीप एप्निया, ग्यास्ट्रिक रिफ्लक्स वा अन्य शारीरिक समस्याहरू छन् भने चिकित्सकसँग परामर्श लिने ।
-चिन्ता, डिप्रेसनको लक्षण देखिएमा मनोवैज्ञानिक वा साइक्याट्रिस्टसँग सम्पर्क परामर्श लिई उपचार गर्ने ।
प्रतिक्रिया 4