+
+
Shares

पाल्पाका सरकारी कार्यालयमा छैनन् स्तनपान कक्ष

रासस रासस
२०८२ भदौ ४ गते १९:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाल्पामा कामकाजी महिलाहरूले कार्यालय जानुपर्ने भएकाले नवजात शिशुलाई पूर्ण रूपमा आमाको दूध खुवाउन पाएका छैनन्।
  • पाल्पाका चार पालिकामा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार स्तनपान कक्ष स्थापना हुन सकेको छैन।
  • बालरोग विशेषज्ञ डा. विकासराज अधिकारीले नियमित स्तनपानले आमाको शरीर नबिग्रने र बच्चा पूर्ण रूपमा स्वस्थ हुने बताउनुभयो।

४ भदौ, पाल्पा । तानसेन नगरपालिका–३ भगवती टोलकी शर्मिला केसीले आफ्नो छोरालाई पाँच महिना पनि पूरै दूध खुवाइनन् । निजामती सेवामा कार्यरत उनी कार्यालय जानुपर्ने भएकाले छोरा जन्मिएको चार महिनापछि एक जना हेरालुको साथमा छोडेर हिँड्नुपर्‍यो।

‘कार्यालयबाट घर आउने समयको टुङ्गो नहुँदा छोरालाई पूरा समय आफ्नो दूध खुवाउन पाइनन् । चाहेजति दूध खान नपाएपछि छोराले आफैँ खान छोड्यो । ल्याक्टोजिन, डेरीको दूध, सेरलेक्स खाएरै छोरो हुर्कियो’, उनले भनिन् । आमाको दूध पर्याप्त खान नपाएकाले होला छोरोलाई सानै बिमारले पनि समाइहाल्ने केसी बताउँछिन् ।

तानसेनमा बस्दै आएकी पर्वतकी भीमा कार्कीले तीन वर्षअघि पहिलो सन्तानका रूपमा छोरीलाई जन्म दिएकी थिइन् । उनले छोरी जन्मिएको छ महिना त नियमित दूध खुवाउनुभयो तर सात महिनापछि भने शरीर बिग्रने डरले नियमित दूध चुसाउन छाडिन्।

कार्कीले डेरीबाट दूध ठेक्का लगाएर छोरीलाई खुवाइन् । ‘लामो समयसम्म बच्चालाई दूध चुसाउँदा शरीर बिग्रन्छ भन्छन्, त्यसैले मैले सात महिनासम्म त म आफैँ खुवाएँ, पछि डेरीबाट ल्याएर दूध खुवाएकी हुँ’, उनले भनिन् ।

रैनादेवी छहराकी मञ्जु कुँवरले पाँच महिनाको छोरोलाई माइतीमा राखेर बुटवलमा कोठा भाडा लिई लोकसेवाको तयारीमा जुटिन् । बेलाबेलामा छोरासँग जाने गरे पनि उनले पर्याप्त दूध खुवाइनन् । आमाले भैँसीको दूध खुवाउने गर्नुभएको र आफ्नो दूध खासै नआउने हुँदा छोरालाई पूरै समय दूध चुसाउन नपाएको उनी बताउँछिन् ।

कुँवर भन्छिन्, ‘म बिहे हुनुअघिदेखि नै लोकसेवाको तयारी गरिरहेकी थिएँ । बिहे भएपछि खासै पढ्न पाइनँ, अब अहिले उमेर पनि जान थाल्यो, त्यसैले जसरी भए पनि लोकसेवामा नाम निकाल्नुपर्छ भनेर पाँच महिनाको छोरालाई माइतीमा आमासँग राखेर तयारीमा जुटेकी छु।’

बगनासकालीकी मनिषा बस्याल सरकारी जागिरे हुन् । उनले डढे वर्षअघि छोरीलाई जन्म दिएकी थिइन् । छोरी जन्मिएको तीन–चार महिना त आफ्नै साथमा राखेर दूध खुवाएकी उनले पाँच महिनापछि भने परिवारको साथमा छाडेर अफिस जाने गर्न थालिन् । त्यो समयमा परिवारले बजारबाट लिएको भैँसीको दूध ती शिशुलाई खुवाउने गरे । मनिषाले भैँसीको दूध खुवाउन थालेदेखि भने आफ्नो दूध खुवाउन छाडिन् ।

यी त केही प्रतिनिधि पात्रमात्र हुन्। उनीहरूजस्तै अधिकांश कामकाजी महिलाहरू आफ्ना नवजात शिशुलाई कामको व्यस्तताले स्तनपान गराउँदैनन् । पछिल्ला वर्षहरूमा शिक्षित र सहरिया आमाहरू नै स्तनपान गराउने मामिलामा उदासिन देखिन थालेका छन् ।

पूर्ण स्तनपान अर्थात् छ महिना पूरा नभएसम्म आमाको दूध मात्र चुसाउनु र बच्चा छ महिना पूरा भएपछि कम्तीमा दुई वर्षसम्म आमाको दूध खुवाइराख्नुपर्ने भए पनि अधिकांश आमाहरू शरीरको सौन्दर्य बिग्रिन्छ भन्ने भ्रम र कार्य व्यस्तताले पूर्ण रूपमा खुवाउन चाहँदैनन् ।

शरीरलाई फिट्नेस र सौन्दर्य राख्ने सौखिन महिलाहरूले आफ्ना बच्चालाई पूर्ण स्तनपान गराउने मामिलामा कमजोर देखिन्छन् । तर चिकित्सकहरू भने बच्चालाई दूध चुसाउँदैमा शरीर नबिग्रने बताउँछन् ।

बच्चालाई स्तनपान गराउँदा न आमाको शरीर बिग्रिन्छ न स्वास्थ्य, बरु नियमित स्तनपान गराउने आमा सुन्दर र स्वस्थ हुने तानसेनस्थित युनाइटेड मिसन अस्पतालका बालरोग विशेषज्ञ तथा बालरोग विभाग प्रमुख डा. विकासराज अधिकारी बताउँछन् । ‘कतिलाई स्तनपानले शरीरको सौन्दर्य बिग्रिन्छ भन्ने भ्रम छ । यो भ्रममात्र हो । स्तनपान गराउने नगराउनेभन्दा बढी सुन्दर हुन्छन्’, उनी भन्छन्, ‘बच्चालाई नियमित स्तनपान गराउनेको स्तन चाँडै नै पहिलैकै जस्तो सामान्य आकारमा फर्किन्छ, जुन कुरा धेरैलार्ई थाहा छैन।’

नियमित स्तनपान गराइएका बच्चा पूर्ण रूपमा स्वस्थ हुने डा. अधिकारीले बताउँछन् । नियमित स्तनपान गराउने आमाहरूमा स्तन क्यान्सर, ओभरी क्यान्सर, हाइ ब्लडप्रेसरजस्ता रोगको जोखिम नहुने उनको भनाइ छ ।

स्तनपान गराउँदा आमा र शिशु दुवैको आसनमा विशेष ध्यान दिन जरुरी रहेको पनि उनले बताउँछन् । शिशुलाई जन्मिएदेखि छ महिनासम्म आमाको दूधबाहेक पानीको आवश्यकता नपर्ने उनको भनाइ छ । बच्चाको शारीरिक विकासका लागि सकेसम्म आमाको दूध खुवाउनुपर्ने बताउँदै उहाँले काममा जानुपरेमा आमाको दूध सङ्कलन गरेर राखेर भए पनि खुवाउन सकिने बताउँछन् ।

अहिले शल्यक्रियाबाट जन्मिएका बच्चालाई सुरुवातमा बजारको पाउडर दूध खुवाउनुपर्ने अवस्था रहेको जनाउँदै उनले यसको अन्त्य गर्न सके बच्चा र आमा दुवैको स्वास्थ्य राम्रो हुने बताउँछन् ।

सरकारले हरेक वर्ष जनचेतनामूलक कार्यक्रम आयोजना गर्छ, तर पर्याप्त जानकारी पाएका सचेत आमाहरू नै नवजात शिशुलाई स्तनपान गराउँदैनन् । अर्काको देखासिखी, विभिन्न भ्रामक विज्ञापनको प्रभाव र आफ्नै अहम्ले गर्दा पनि जानीजानी शिक्षित मानिएका आमाहरू नै सन्तानको स्वास्थ्यमा ध्यान दिँदैनन् ।

नेपाल जनसाख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ को प्रतिवेदनअनुसार दुई वर्षसम्म पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या ५५ प्रतिशत छ । पछिल्ला वर्षमा यो सङ्ख्यामा तुलनात्मक रूपले ह्रास आइरहेको छ । कामकाजी महिलाहरू आफ्ना नवजात शिशुलाई कामको व्यस्तताले स्तनपान गराउन पाएका छैनन् ।

ग्रामीण भेगका आमाहरू स्तनपानको महत्व र पर्याप्त ज्ञानको अभावमा आफ्ना सन्तानको पूर्ण स्तनपानको अधिकार खोसिरहेका छन् । विश्वव्यापी रूपमा चासो, चिन्ता र सरोकारको विषय मानिएको स्तनपानको महत्व र गरिमालाई पछिल्लो समय शिक्षित पुस्ताले नै ओझेलमा पार्दै गइरहेका छन् ।

तानसेनस्थित जिल्ला प्रशासन कार्यालय पाल्पा अत्यधिक सेवाग्राहीको भीड हुने कार्यालयमा पर्दछ । मङ्गलबार पनि नागरिकता बनाउन आउने र राहदानीको फोटो र फाराम भर्नेको लाइन छिचोल्न मुस्किलजस्तै थियो। त्यही भीडमध्ये काखे नानी च्यापेर गोलघरमा मङ्गलबार पालो पर्खने आमाहरू पनि थिए ।

बाहिर पानी परिरहेको थियो, काखमा निदाइरहेका नानीलाई सम्हाल्न मुस्किल देखिन्थ्यो । उनीहरूलाई स्तनपान कक्ष जिल्ला प्रशासन कार्यालयको भवनमा छ भन्ने जानकारी थिएन । कार्यालय परिसरमा स्तनपान कक्ष स्थापना गरिएको भए पनि सेवाग्राहीले सहजै देख्न सक्ने ठाउँमा नहुँदा प्रयोगविहीनजस्तै छ ।

यहाँका चार पालिका अझै स्तनपान कक्षविहीन छन् । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा हरेक सार्वजनिक निकायमा अनिवार्य स्तनपान कक्षको व्यवस्था उल्लेख भए पनि अहिलेसम्म जिल्लाका चारवटा पालिकाले स्तनपान कक्ष स्थापना गर्न सकेका छैनन्।

जिल्लाका १० वटा पालिकामध्ये निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिकामा स्तनपान कक्ष स्थापना गरिएको छैन। ती पालिकाले साँघुरा ठाउँका कारण स्तनपान कक्ष स्थापना गर्न नसकेको जनाएका छन्।

निस्दी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशाले पालिकामा ठाउँ अभावका कारण सबै कर्मचारी कोचिएर काम गर्नुपर्ने अवस्था रहेकाले स्तनपान कक्ष स्थापना गर्न कोठाको अभाव रहेको गुनासो गरे ।

उनले भने, ‘अहिले हामीले पोषणमैत्री वडा घोषणाको तयारी गरिहेका छौं। त्यसका लागि प्रत्येक वडाहरूमा स्तनपान कक्ष निर्माणको काम भइरहेको छ । अब छिट्टै पालिका भवनमा पनि जग्गाको व्यवस्था गरेर स्तनपान कक्ष स्थापना गर्ने योजना छ।’ उता पूर्वखोला गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत स्टार्फ नर्स चन्द्रा चलाउने पनि कोठाकै अभावमा स्तनपान कक्ष स्थापना गर्न नसकिएको बताउँछन् ।

यता रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाले पर्याप्त ठाउँ हुँदा पनि स्तनपान कक्ष निर्माणमा ध्यान दिएका छैनन् । यहाँ बनाएका केही पालिकामा भने व्यवस्थित छैनन् । रम्भा गाउँपालिकामा स्तनपानका लागि भनेर कक्ष स्थापना गरे पनि व्यवस्थित छैन । यहाँ पर्दाले बारेर राखिएको छ ।

कोठा अभावका कारण स्कुलको एउटा कोठालाई बारेर कक्ष स्थापना गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शिवप्रसाद अर्यालले बताउनुभयो । माथागढी गाउँपालिकामा पनि सेवाग्राहीले सहजै देख्न र जान सक्ने अवस्थामा छैन । यहाँ साँघुरो कोठा र अँध्यारो भएकाले व्यवस्थित गर्न नसकिएको स्वास्थ्य शाखा प्रमुख केशव जिसीले बताए ।

दूधेबालक च्यापेर हिँड्नुपर्ने बाध्यतामा रहेका महिला सेवाग्राहीलाई स्तनपान कक्षको व्यवस्था हुँदा निकै सहज हुने सेवाग्राही बताउँछन् । पालिकामा सेवा लिन जाँदा खुला स्थानमा असहज रूपमा स्तनपान गराउनुपर्ने बाध्यता रहेको रिब्दीकोट सिरुखर्ककी शान्ता बरालले बताए । यहाँका तानसेन नगरपालिका, रामपुर नगरपालिका, तिनाउ गाउँपालिका, बगनासकाली गाउँपालिका, माथागढी गाउँपालिका र रम्भा गाउँपालिकाले मात्रै स्तनपान कक्ष स्थापना गरेका छन्।

सरकारी कार्यालयमा सेवा लिन आउँदा काखेनानी लिएर आउने महिलाले दूध खुवाउन सहजताका लागि स्तनपान कक्ष निर्माण गर्नुपर्ने ऐन जारी भएको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार सरकारी, गैरसरकारी, वा निजी सङ्घसंस्थाले कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउनका लागि पनि स्तनपान कक्षको व्यवस्था गर्नुपर्ने ऐनमा स्पष्ट व्यवस्था छ तर पाल्पामा सेवाग्राहीको भीडभाड हुने सार्वजनिकस्थलमा स्तनपान कक्षको स्थापना गरेर स्तनपानलाई संरक्षण तथा संवद्र्धन गर्ने काम भएको देखिँदैन।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?