+
+
Shares

लिपुलेक विवादबारे प्रधानमन्त्रीलाई शाहीको आग्रह : राष्ट्रिय सहमतिको वातावरण बनाउनुस्

उनले हालै नेपालको सहमतिबिना नै लिपुलेक र लिम्पियाधुरालाई समेटेर चीन र भारतबीच भएको सम्झौताप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । शाहीका अनुसार यो सम्झौताले नेपालीको राष्ट्रिय अखण्डतामाथि गम्भीर प्रश्न खडा गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते १३:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले लिपुलेक, लिम्पियाधुरा, कालापानीमा सीमा विवाद समाधानका लागि प्रधानमन्त्रीलाई राष्ट्रिय सहमतिको वातावरण बनाउन आग्रह गर्नुभएको छ।
  • शाहीले चीन र भारतबीच नेपालको सहमतिबिना भएको सम्झौताले राष्ट्रिय अखण्डतामा प्रश्न उठाएको भन्दै तत्काल पहलकदमी लिन प्रधानमन्त्रीलाई अनुरोध गर्नुभएको छ।
  • शाहीले सबै राजनीतिक दल, नागरिक समाज र संघसंस्थालाई एकताबद्ध भएर राष्ट्रिय एकता र भौगोलिक अखण्डताको रक्षा गर्न तयार हुन आग्रह गर्नुभएको छ।

५ भदाै, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपालको वर्तमान भूराजनीतिक अवस्था र विशेषगरी लिपुलेक, लिम्पियाधुरा, र कालापानी क्षेत्रमा देखिएका सीमा विवाद समाधानका लागि प्रधानमन्त्रीलाई राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै शाहीले देशको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका लागि सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

शाहीले आफ्नो सन्देशमा भनेका छन्, ‘हाम्रा पुर्खाहरूले आफ्नो रगत र पसिनाले सिञ्चित गरी जोगाएको यो देश आज विभिन्न भूमरीमा फसेको देख्दा हामी चिन्तित छौं । अंग्रेज, मुगल र तिब्बतसँग लडेर जोगाएको देश नेपालको सिमाना हाम्रा लागि गौरवको विषय हो ।’ उनले इतिहासको स्मरण गराउँदै नेपालको सिमानाको ऐतिहासिक महत्त्वमाथि प्रकाश पारेका छन् ।

उनले हालै नेपालको सहमतिबिना नै लिपुलेक र लिम्पियाधुरालाई समेटेर चीन र भारतबीच भएको सम्झौताप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । शाहीका अनुसार यो सम्झौताले नेपालीको राष्ट्रिय अखण्डतामाथि गम्भीर प्रश्न खडा गरेको छ ।

‘यो संवेदनशील घडीमा सम्पूर्ण नेपालीहरू एकजुट हुनुपर्ने आवश्यकता झनै बढेको छ। राष्ट्रियताको सवालमा कुनै पनि प्रकारको सम्झौता स्वीकार्य हुन सक्दैन,’ शाहीले आफ्नो भनाइमा थप जोड दिएका छन् ।

उनले प्रधानमन्त्रीलाई तत्काल पहलकदमी लिन र सम्पूर्ण राजनीतिक दलहरू, नागरिक समाजका अगुवाहरू, विभिन्न संघसंस्थाहरू र आम नेपालीहरूलाई एकताबद्ध गरी राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्न हार्दिक अनुरोध गरेका छन् ।

शाहीले अन्तमा भनेका छन्, ‘राष्ट्रिय एकता र सहकार्यबाट मात्र हामीले हाम्रो सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्न सक्छौं । यसका लागि सम्पूर्ण नेपाली एक भएर अगाडि बढ्नका लागि तयार छौं ।’

उनको यो आग्रहले देशको सीमा सुरक्षा र राष्ट्रियताको विषयमा सबै दल र नागरिकबीच साझा धारणा बनाउनुपर्ने आवश्यकतालाई उजागर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?