+
+
Shares

मनासलुलाई फन्को मार्दा

मौसम परिवर्तन भइरहेको थियो। हामी ओर्लर्ने दिशातर्फबाट बादल तथा हुस्सु हामी तिरै अगाडि बढिरहेको थियो। करिब एक घन्टा हिँडेपछि हिउँको सामिप्यता अन्त हुँदै गयो।

अमृतप्रसाद पौड्याल अमृतप्रसाद पौड्याल
२०८२ भदौ ७ गते २१:२०

हिमाली क्षेत्रको पदयात्रा आफैंमा चुनौतिपूर्ण र रोमाञ्चक हुन्छ । हिमाल, हिमालको आधार शिविर, हिमताल र नदीका मुहानक्षेत्र, हिउँ जमेका पहाडका चुचुराहरू लगायतका प्रकृति प्रदत्त सम्पदाहरू तथा हिमाली जीवन, रहनसहन तथा संस्कृतिको भण्डार रहेको नेपालका हिमाली क्षेत्र पदयात्रा, हिमाल आरोहण, अवलोकन लगायतका गतिविधिका लागि संसारभर प्रसिद्ध छ ।

आफ्नै देशको यस्ता अमुल्य सम्पदाहरू अवलोकनका साथै त्यहाँसम्म पुग्दा सामना गर्ने रमाइलो तथा अप्ठेराका क्षणहरूको प्रत्यक्ष अनुभव गर्न गण्डकी प्रदेशमा अवस्थित मनासलु क्षेत्रको पद यात्रामा जाने तय गरियो ।

२०८२ वैशाख २० का दिन “हाईक फर हेल्थ” नामक अनौपचारिक समूहका सदस्यहरूमध्ये हामी सातजना बिहान ६ बजे काठमाडौंबाट गोरखाको सिर्दिवास गाउँको माछा खोलासम्मका लागि लाग्यौं ।

धादिङ बेसीबाट पहाडी भुबनौटमा पिच हालिएको आरुघाट सडकमा दायाँ बायाँ देखिने रुख पात, बुट्यानहरूको हरियाली र हुस्सुले घेरेको वातावरण हेर्दै आँखु खोलामा रहेको टारीबेसि पुल पार गरी सल्यानटारका फराकिला खेत बारी र विकसित हुँदै गरेको घर बस्तीबाट ओर्लदै बुढीगण्डकीको तिरैतिर सिर्दिवास गाउँको धार्चेमा रहेको माछाखोला पुग्यौं । त्यहाँ खाना खाई दिनको एक बजे फिलिम सम्म जानलाई उपलब्ध एक बोलेरो जातको गाडिको छानामा झोला राखी जगत तर्फ हुँइकियौं ।

मनासलु संरक्षण क्षेत्रको प्रवेशमार्गका रुपमा चिनीने साविक सिर्दीबास गाउँ हाल चुमनुब्री गाउँपालिकाको जगतमा प्रति व्यक्ति २ सय तिरेर प्रवेश अनुमति लियौं र अघि बढ्यौं । आकर्षक सेतिखोलाको झरना, सेति खोला तथा कालि खोलाको संगम, चट्टाने भिरमा बनेको साँघुरो एवं खाल्डा खुल्डी तथा उबडखाबड युक्त कच्चि बाटोमा देब्रे तर्फ चट्टानले बनेको आकर्षक भित्तो र दाहिने तर्फ खोँचमा बगेकी बुढीगण्डकीको सामिप्यताले यात्रालाई रोमाञ्चक बनाएको थियो । करिब चार बजे थाङ्चेत गाउँमा रहेको बुढिगण्डकीमा निर्मित झोलुगें पुल भएको ठाउँमा गाडिबाट ओर्लि आ–आफ्नो भारी बोकेर पुल पार गरी फिलिम पुगियो । चुमनुब्री गाउँपालिकाको केन्द्रको रूपमा रहेको उक्त गाउँको एक अतिथि गृहमा पहिलो दिनको यात्रालाई विश्राम दियौं।

भोलिपल्ट बिहान साढे सातबजेबाट शुरु भयो हाम्रो मनासलु क्षेत्र तर्फको पदयात्रा । चुम उपत्यकाको प्रवेशद्वारका रूपमा परिचित तथा गुरुङहरूको बाहुल्यता रहेको फिलिमबाट गमपुल तर्फ लाग्यौं । देब्रेतर्फ खोँचमा बगिरहेको बुढिगण्डकी र ठिक त्यसको छेउमा उभिएको विशाल पहाडको ठाउँ ठाउँबाट खसेको झरनाको अवलोकन गर्दै अगाडि बढदा पानी पर्न शुरु गरेको थियो। सम्भवत: गोर्खा जिल्लाकै सबैभन्दा लामो र अग्लो स्थानमा बनेको झोलुंगे पुललाई हेर्दै करिब एकघन्टाको उकाली–ओरालीपश्चात एक्लेभट्टी पुगेर एक ‘टि हाउस तथा लज’ मा चिया पियौं।

सम्भवत: गोर्खा जिल्लाकै सबैभन्दा लामो र अग्लो स्थानमा बनेको झोलुंगे पुललाई हेर्दै करिब एकघन्टाको उकाली–ओरालीपश्चात एक्लेभट्टी पुगेर एक ‘टि हाउस तथा लज’ मा चिया पियौं। र, अघि बढ्यौं।  हामी हिँड्ने बाटोमा खच्चडका बथानको आवत जावत चलिरहेको थियो । बाटोको केही भाग ठाउँ ठाउँमा छेउतिर फलामेबार ठड्याई सुविधाजनक हिँडाइका लागि सिँढी बनाइएको थियो । आ–आफ्ना भारी बोकेर झोला बोकेर हिँडदा केही कठिनाइ महसुस भए पनि झरनाको सौन्दर्य, खोलाको गडगडाहाट, रुखपात, झाडी तथा बुट्टया्नबाट सिर्जित हरियाली एवं चराचुरुङ्गीको चिरबिरले उत्साहमा ऊर्जा थपेको थियो ।

चर्चित चुम उपत्यका तर्फ जाने बाटो छोडी १,५५९ मिटरको उचाइमा रहेको गम्पुलबाट झोलुंगे पुलतिर देब्रे्र तर्फ जानुपर्ने संकेत पाटीमा कोरिएको जानकारीले हामीलाई लार्केपास जाने मनासलु मार्ग तर्फ डोर्‍यायो। तीनवटा ढुंगाको गजुर आकृति शीरमा रहेको ढुंगाबाट नै निर्मित द्वारबाट अगाडि बढ्दै गर्दा बाटो केही ओरालो त्यसमाथि पानी परेकोले चिप्लो समेत थियो।

अगाडि बढदै गर्दा एक स्थानमा चट्टाने भीर माथिदेखि तलसम्म फैलिएको थियो । भीरको माथिल्लो भागमा बाटो बनाउने तरखरले ढुंगाहरू फुटाएको देखिन्थ्यो भने सोही कारणले झरेका तथा पहिरो समेत गएर अस्तव्यस्त पाराले ठूलादेखि स–साना आकारका ढुंगाहरू यत्रतत्र छरिएर ढुंगाकै थुप्रो बनेको थियो। त्यही थुप्रोमा बाटो यकिन गर्दै सिमसिम पानी परिरहेको क्षणमा ढाडमा गर्‍हौं झोला बोक्दै र लठ्ठी टेक्दै केही हात तल तर्फ उर्लिरहेको बुढीगण्डकीको गडगडाहटलाई श्रवण गर्दै पाइला सार्दा खुट्टो चिप्लेलाकी भनी उब्जिएको एक प्रकारको डर पनि यात्राको रोमाञ्चक क्षण थियो।

खाना खाँदै र विश्राम पनि गर्दै करिब पैंतालिस मिनेट ड्याङमा बिताइ राना गाउँ हुँदै २,०१० मिटरको उचाइमा रहेको भिइफेदी र पान्दु्रग पुग्दा साँझ पर्न लागिसकेको थियो। लामो हिँडाइ र भारी झोलाका कारण शरीरले विस्तारै थकान महसुस गर्न थालेकोले पूर्व निर्धारित नामरुङ पुग्ने योजनालाई परिवर्तन गरी बाटोमा आराम गर्न मिल्ने विश्राम गृहको खोजी गर्दा गर्दै करिब ६ बजे भुर पुग्यौं। चार–पाँचवटा अतिथि गृह रहेको उक्त स्थानको भुर गेष्ट हाउसमा बस्ने निर्णय गर्‍यौं। उकालो, ओरालो, हिलो र चिप्लो मार्गमा स्याँस्याँ र फ्याँफ्याँ गर्दै हिँडे पनि पूर्ण प्राकृतिक सेरोफेरो भएकोले काठमाडौंको धुलो धुवाँ र कोलाहालमा अभ्यस्त हाम्रो फोक्सोले पक्कै पनि पुनर्ताजगी महसुस गरेको थियो।

बाटोको हिसावले दुर्गम भए पनि सानो क्षमताको जलविद्युत् परियोजनाले गर्दा घरहरू झिलीमिली देखिन्थे। पदयात्री तथा पर्यटकहरूसँग मिजासिलो व्यवहार प्रस्तुत गर्ने हँसिलो अनुहारका स्थानीयहरूसँगको जम्काभेटले पनि यात्रालाई सम्झनायोग्य बनाएको थियो।

नुब्री गाउँको मकैखेती

तेस्रो दिन बिहान भुरबाट पदयात्रा जारी रह्यो। देब्रेतर्फ गहिरो खोच तथा दाहिने तर्फको भीरमा खसेको पहिरोमा मुस्किलले एकजना मात्र हिँडन सकिने सानो गोरेटो, फैलिएर बसेको ठूलो पत्थरको माथिल्लो भागमा कोरिएको बाटोको धर्साे, केही खण्डमा हिलो र बिग्रेका ढुंगाका सिँढीमा र सँगसँगै ओहोरदोहोर गरिरहने खच्चडको बथानलाई छेउ दिँदै हिँडेको करिब एक घन्टामा ग्याप नामक स्थानमा पुगियो। नुब्रीघाप लामा अतिथि गृहमा एकछिन चिया खाँदै आराम गर्‍यौं। अघिल्लो दिन दिन भरी जस्तै पानी परिरहेकोमा त्यस दिन भने विहान देखिनै मौसम सफा थियो र झलमल्ल घाम लागेको थियो। त्यस दिन स्याला पुग्ने योजनाका साथ चुमनुब्री गाउँको प्रोक नामक स्थानबाट अगाडि बढदै गर्दा दुई पहाडको विचमा रहेको उपत्यका प्रकारको भुभागमा ढकमक्क भर्खर उमे्रका मकै, भटमास लगायतका बालिको बोटले स्थानीय उत्पादनको प्रतिनिधित्व गरेको देखियो।

अमृत प्रसाद पौड्याल

बौद्ध धर्मसँग सम्बन्धित मन्त्रहरू ढुंगामा कुँदेर बाटोको विचमा लामो पर्खालजस्तो बनाएको, एक आपसमा टाउको जुधाएर बसेको दुई ठुला ढुंगाले बनाएको ककारो हेर्दै पुन: बुढिगण्डकीमा बनेको झोलुगे पुल तरेर सुकसुम तर्फ जाने फेदिबाट नामरुङ्ग तर्फ जाने ठाडो उकालो उक्लियौं ।

नुब्रीमा एक स्याउको बगैंचा देखियो। स्याउका खाद्य उत्पादनहरू बिक्रीका लागि राखिएको बाटैमा अवस्थित होटलको बेन्चमा बसी एकछिन सुस्ताउँदै ‘एप्पल पाइ’ खाएर अगाडि बढ्यौं । करिब दिनको एक बजे २,६३० मिटरको उचाइको नुब्री होटलमा पुगेर खाना खाने तय गर्‍यौं र केही समय विश्राम गर्‍यौं। त्यस दिन स्याला पुग्ने योजना भए पनि त्यहाँ भेटिएका एक अनुभवी यात्रुले हामी त्यसदिन स्यालामा पुग्न नसक्ने र लो मा नै बस्नु उपयुक्त हुने सुझाव दिएपछि करिब पौने तीनबजे आकर्षक एवं ठूलो गाउँ नामरुङ्ग हुँदै अगाडि बढयौं।

रातो फूल फुलेका गुराँसका बोटहरू, ओहोरदोहोर गरेका यात्रु तथा स्थानीयहरूसँग बोल्दै लि मा रहेको बौद्ध गुम्बा, अमिताभ बुद्धको ठूलो मूर्ति, आठवटा आकर्षक सेता स्तुपाहरू, नामसाङ खोला माथिको झोलुंगे पुल तरेपश्चातको भीरमा लामो पुच्छर भएका बाँदर र नाउर प्रजातिको जनावर एक आपसमा भिड्दै गरेको जीवन्त दृश्य अवलोकन गर्दै ३,१३५ मिटर उचाइमा रहेको लो मा पुग्दा साँझको ६ बजिसकेको थियो। अँध्यारो भइसकेको र पानी पर्न शुरु गरिसकेकोले बाटोमै रहेको ‘ब्लु स्काइ’ नामक अतिथिगृहमा बास बस्यौं।

चौथौ दिन बिहान घाम लागेको र सफा निलो आकाशको प्रतिविम्बले लो गाउँ झलमल्ल देखिन्थ्यो। बिहानीको प्रहर गाउँलेहरू आ–आफ्ना कार्यमा व्यस्त देखिन्थे। अधिकांश घरहरू अतिथिगृहको रूपमा संचालन भएकोले स्वदेशी र विदेशी पाहुनाहरू पनि देखिन्थे।

बिहानको पौने सातबजे हामी स्यालातर्फ लाग्यौं। थोरै उक्लिए र गाउँमा रहेको गुम्बा पार गरेपश्चात उत्तरतिर हाँसिरहेको मनासलुले हामीलाई स्वागत गरिरहेको थियो। पुन: उकालो, ओरालो, झोलुँगे पुल, अस्थायी साँघु पार गर्दै पुगिएको जंगल बीचमा कञ्चन पानीयुक्त खोलाको सुसाइ अनि पहेँलो फूलका बुट्टयानले ढकमक्क ढाकेका कान्लाहरू हुँदै ९ बजे पुगियो ३,५०० मिटरको उचाइमा रहेको स्यालामा।

आकर्षक रुपमा सजिएका अतिथिगृहहरू, गाउँको बिचमा रहेको गुम्बा र विद्यालय तथा पदयात्रीहरूको चहलपहल, विशेषत: पर्यटकलाई बेच्न राखिएका सामानहरूको स–साना पसलहरूले सुसज्जित स्याला गाउँबाट उत्तर–पश्चिमतर्फ उक्लँदै गएपछि खोलामाथिको लामो झोलुगे पुल पार गरेपश्चात सामागाउँको अगाडि रहेको फराकिलो हरियो चौर देखा पर्‍यो । प्रसिद्ध मनासलु संरक्षण क्षेत्र भित्रको नुब्री उपत्यकाको रूपमा चिनिने उक्त स्थानमा चौंरीका बथानहरू तथा एकाध याक देखिन थाले। लार्के जाने मार्ग, मनासलु बेसक्याम्पको द्वार, एतिहासिक फ्युग्यान गुम्बा र वीरेन्द्र ताल जस्ता सम्पदाहरूले सु–सज्जित ३,५३० मिटर उचाइमा अवस्थित गोरखा जिल्लाकै आकर्षक सामागाउँ पर्यटकीय दृष्टिबाट समेत महत्वपूर्ण रहेछ।

वीरेन्द्र ताल।

गाउँको बिचमा रहेको एक होटलमा खाना खाँदै मनासलु बेसक्याम्प जाने कि भन्ने विषयमा एकछिन छलफल भयो। मनासलु बेस क्याम जान आउन करिब चार घन्टा लाग्ने भएता पनि र त्यसदिन बादलले आकाश ढाकेको र पानी पर्न सक्ने संभावना भएकोले बेसक्याम्पको भ्रमण सार्थक नहुने निष्कर्षपश्चात हामी वीरेन्द्र ताल हुँदै साम्दो जान तम्सियौं। दिनको एक बजे, हावा लागिरहेको तथा कालो बादलले आकाश ढाकिरहेको बेला ३,६९१ मिटरको उचाइमा रहेको हरियो रङमा मुस्कुराइरहेको वीरेन्द्र तालको किनारामा एकछिन रमायौं र साम्दो पुग्न पुन: पाइला अगाडि बढायौं।

तीन बजे साम्दो पुग्दा पानी परिरहेको थियो र वरिपरिका पहाडहरू सबै बादलले घेरिएका थिए। सामा गाउँ, साम्दो, स्याला लगायतका ठाउँहरूमा बौद्धधर्मका अनुयायीहरूको बाहुल्यता रहेछ। पदमार्गका केही ठाउँहरूमा बौद्ध धर्मका मन्त्रहरू कुँदिएका ढुंगाका छ्योर्तेनहरू, काठ एवं ढुंगामाटोबाट बनाइएका द्वारहरू, फरफराइएका ध्वजा तथा लुङ्गता देख्न सकिन्थ्यो। उत्तरी गोरखाको यस भेग सडक तथा हवाइ यातायातको दृष्टिकोणले दुर्गम देखिन्थ्यो। साम्दो तर्फ जाँदै गर्दा बाटोमा चौंरी तथा फाट्टफुट्ट याकहरू पनि भेटिएको थिए।

भौगोलिक कठिनता, हावापानीको प्रतिकुलतामा समेत संघीय सरकार वा स्थानीय निकाय वा संरक्षण कार्यालयबाट पदयात्रीको सहजताका लागि बनाएका झोलुगें पुल, कहिँ कतै काठका अस्थायी साँघु, ढुंगाका सिँढीहरू, ढलान गरिएका सफा बाटाहरू र जानकारीमूलक बोर्डहरू तथा स्थानीय व्यावसायीहरूले लगानी गरेका टी हाउस, लज तथा होटलहरूले यात्रालाई सहज बनाएको थियो। यस प्रकारको पदयात्रामा जाने यात्रुहरूले समेत आफ्नो झोलामा लुगा फाटा लगायत व्यक्तिगत सुविधाका आवश्यक सामाग्रीहरूका अतिरिक्त पानी तथा अन्य बोक्न मिल्ने खानेकुराहरू बोक्दा यात्रा सहज हुने रहेछ। स्थानीयहरू हिँडेरै एक गाउँबाट अर्काे गाउँ पुगेका भेटिन्थे । सामान ढुवानीको माध्यम खच्चडहरू थिए।

पदयात्रुको आकस्मिक उद्धार कार्यका लागि साम्दोमा हेलिकप्टर ओहोर दोहोर गर्ने रहेछ साथै त्यस गाउँमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकीसमेत रहेछ । पानी परिरहेको र उचाइमा भएकोले चिसो हुनु स्वभाविक थियो। साम्दोमा रहेका अधिकांश होटलहरूमा स्वदेशी तथा विदेशी पर्यटक, गाइड र भारीबोक्ने सहयोगीहरू थिए।

साम्दोमा रहेको स्वागतद्वार।

भोलिपल्ट बिहानदेखि नै मौसम खुल्यो। घाम लाग्दा वरिपरि सेता चुचुराहरूले घेरिएको मनासलु क्षेत्रको महत्वपूर्ण साम्दो गाउँको सुन्दरतामा मन्त्रमुग्ध थियौं । लार्केपास पुग्ने पदयात्रुको आकस्मिक उद्धार कार्यका लागि साम्दोमा हेलिकप्टर ओहोर दोहोर गर्ने रहेछ साथै सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकी समेत रहेछ । हामीमध्ये सुनिल पोखरेल, डा. गेहराज दाहाल, डा. गोपाल सेढाइ, डा. प्रेम बसेल र डा. सुशील पौडेल त्यहाँबाट लार्केबजार हुँदै १५ किलोमिटरको दूरीमा रहेको नेपाल–चीन रुइला नाका तर्फ लाग्नुभयो भने म र डा. उमेश खनाल त्यहीँ साम्दो गाउँ घुमेर बस्यौं। वहाँहरू मध्ये डा. प्रेम नाकामा नै पुग्नु भएछ भने अन्य साथीहरू आधा बाटोसम्म पुगेर फर्कनुभएछ।

होटलको खाना खाने ठूलो हलमा हामी अन्य स्वदेशी तथा विदेशी पदयात्रुहरूसँग यात्राका अनुभव, यात्राका भोगाइहरूबारे गफ गर्दै र दिउँसो साथीहरूले मोवाइलमा कैद गर्नुभएको लार्केबजारबाट अगाडि बढ्ने क्रममा नजिकबाट गिद्धहरूको झुण्डले सिनो खाइरहेको रोमाञ्चक दृश्य हेर्दै समय बितायौं। त्यहाँ रहेका हामी सबैको मनासलुलाई नजिकबाट नियाल्ने र नेपालकै हिमाली पास मध्येको लामो लार्केपास छिचोल्ने समान उद्देश्य थियो। भुरदेखि व्यवस्था गरिएको दुईजना झोला बोक्ने सहयोगीले साम्दोसम्म मात्र हाम्रा झोलाहरू पुर्‍याइदिएकोमा साम्दोबाट फेरि अर्काे दुईजना सहयोगीहरू खोजी भीमथानसम्म बोकिदिने व्यवस्था पनि गरेका थियौं।

छैटौं दिन बिहान आठ बजे साम्दोबाट हिँडेका हामी करिब तीनबजे धर्मशाला पुग्यौं। एकछिन होटलमा आराम गरी वातावरण अनुकुलनका लागि सँगै रहेको पहाडको ‘भ्यू प्वाइन्ट’ उक्लन थाल्यौं । भीर ठाडै भएकोले छेउ तिरबाट विस्तारै एकसुरे बाटो रुपी धर्काेलाई पछ्याउँदै माथि उक्लँदै गर्दा एकपछि अर्काे विन्दुहरू आउने रहेछ । ए त्यही त रहेछ नी भनी त्यहाँ सम्म पुग्यो, फेरि त्यहाँ भन्दामथि अर्काे विन्दु देखिन्थ्यो । ए त्यहाँसम्म जाउन त भनी फेरि उक्लियो, पुन: अर्काे विन्दु। ठाडो भीर भएर होला पूरै माथिल्लो भाग नदेखिने । एवंरितले करिब दुई चारवटा विन्दुहरू पुग्दा समेत अझै माथि अर्को विन्दुबाट एक दुईजना यात्रुहरू तल झरिरहेको देखेपछि भने हामीले हाम्रो हिँडाइ त्यहीँ रोक्यौं।

हावा पनि चलिरहेको, ठिक अगाडि उभिएको विशाल पहाडको माथिल्लो भेग हिउँले ढाकिएको, अनि बगिरहेको हावासँगै हिँउ पनि झरिरहेको क्षण अद्वितीय नै थियो। केहीबेर उक्त क्षणलाई प्रत्यक्ष महसुस गर्दै हामी ओर्लन थाल्यौं। पाँच बजेतिर साँझको खाना खाइसक्नुपर्ने भएकोले खाना खाई यात्राको समीक्षा गर्न थाल्यौं। उचाइको उक्त विन्दुमा निद्रा नलाग्नु स्वभाविक थियो। पातलो निन्द्राले केही समय भए पनि साथ दिएको थियो। अर्ध चन्द्रमाको प्रकाश र बादल फटेर आकाश सफा भएकोले कोठाकै भ्यालबाट मध्यरातमा बाहिर पहाडको चुचुरोमा रहेको हिउँ टल्किएको देखिन्थ्यो।

सातौं दिन बिहान चार बज्दा चिया, कफी र आफूसँग भएका खानेकुराहरू खाई यात्राको मुख्य गन्तव्य पार गर्न सवा चार बजेको अँधेरोमा टाउकोमा बत्ती टाँसेर उकालो उक्लिन शुरु गर्‍यौं। उचाइमा रहेको स्थानमा सायद उज्यालो पनि चाँडै देखिने रहेछ। लगभग पाँच बज्न थाल्दा नथाल्दै विस्तारै उज्यालो प्रकाशले वरपरको दृश्यहरू देखिन थाल्यो। हाम्रो देब्रेतर्फ तेर्साे परेर पल्टिएझैं गरी मनासलु शृखंला बसेको थियो।

बिहानको शान्त समयमा क्रमश: सूर्यको लालीले हिमालका ती चुचुराहरू चुम्न थालेको दृश्यलाई सजिव रूपमा आँखा हुँदै मस्तिष्कमा पुर्‍याउने सौभाग्यका लागि नै हामी लगायत अन्य पदयात्रुहरू त्यहाँ पुगेका रहेछौं। लामो पास भएकोले सुस्तरी सुस्तरी हिँड्नु पर्ने, शुरुमा मट्यौले भूईंको बाटो रहे पनि क्रमश: उकालो उक्लँदै गर्दा वरिपरि सबैतिर ढुंगै ढुंगा छरिएर रहेको फराकिलो सतहमा सुस्तरी–सुस्तरी ढुंगाका साना ठूला टुक्राहरूको बिच पाइला सार्नुपर्दथ्यो। हिँड्ने बाटो अप्ठेरो भए पनि एकतिर सूर्यको लालीले आकर्षक देखिएको मनासलु हिमशृखंला र अर्काे तर्फ पनि पहाडको माथिका हिमाली चुचुराहरूको आकर्षणले उक्लने जाँगरमा कुनै कमि ल्याएको थिएन।

करिब आठ बजेसम्म यस्तै भू–भागमा हिँडेका हामी एक अप्ठेरो ढिस्को पार गरेपछि भने त्यसप्रकारका ढुंगे सतहलाई पूरै हिउँले ढाकेर समतल आँगन झैं देखिएको सतहमा हिँड्न थाल्यौं। उचाइ लिँदै हिउँको साम्राज्यमा हिँड्दा थकान हुन्थ्यो र केही पलका लागि उभिएर लामो स्वास लिनू अथवा अडेस लागेर एकछिन रोकिनुपर्दथ्यो । हिउँको थुप्रोमा टेक्नुपर्दा आउने क्र्याम क्र्याम आवाजले कानलाई मालिस गरेझै लाग्दथ्यो । घाम लाग्दै गएको तर हावा नचलेको कारण चिसोको कुनै महससु भएको थिएन।

हामी जस्तै लगभग २०–२५ स्वदेशी एवं विदेशी यात्रुहरू समेत यही सौन्दर्यमा रमाइरमाइ उक्लिरहेका थिए। हातैले छुन सकिनेझैं नजिक लाग्ने देब्रेतर्फ हसिया आकारमा थपक्क बसेको मनासलु हिमालको आँगनका रूपमा भूईं तथा वरिपरिका भित्ताहरू सबै नै कमेरोले पोते जस्तो सेतो हिउँले ढाकिएको फराकिलो भूभाग थियो। आँगनको कुनै भाग पानी जमेर सिसा झै देखिन्थ्यो भने हिँड्ने बाटोको रूपमा यात्रुको जुत्ता तथा घोडा खच्चरका खुट्टाका डोबहरूले बनाएको धर्साे थियो। सोही धर्साेमा लठ्ठी टेक्दै अगाडि बढदा चिप्लन सकिने जोखिमसमेत थियो।

निलो आकाशमा राज गरेको सूर्यको प्रकाश परावर्तन हुने भएकोले खुल्ला आँखाले एकोहोरो वरिपरि हेर्न समेत अप्ठेरो भए पनि त्यस अमूल्य क्षणलाई मस्तिष्कमा भरपुर भण्डार गर्दै र एकछिन सुस्ताउँदै, फोटो खिच्दै र लार्केको शिरलाई परैबाट हेर्दै हिँड्दा पाइएको सन्तुष्टिलाई नै स्वर्गीय आनन्द भनिन्थो होला जुन कुनै मूल्यसँग तुलना गर्न सकिँदैन थियो।

पवित्र हिमालको तथा चारैतिर छरिएको हिउँको चमकको सामिप्यता, शान्त वातावरण, झलमल्ल घामले न्यानो महसुस भएको क्षण र एकोहोरो उद्देश्य प्राप्तिमा तल्लिन पदयात्रुहरूसँगको जम्काभेटले नसा पिएर मस्त भएजस्तो असिम आनन्दमा डुब्दै स्वत: चालिएका पाइलाहरूले करिब बिहानको नौ बज्दा त लार्के पासको शिरानीमा पुर्‍याएछ। ‘५१०६ मिटरको उचाइमा अवस्थित लार्केपासमा तपाईंलाई  स्वागत छ’ लेखिएको पाटीले हाँसीहाँसी हामीलाई आफ्नो हिउँको बिस्कुन सुकाएको आँगनमा आतिथ्यता प्रदान गर्दा आफूलाई भाग्यमानी सम्झिएका थियौं।

नेपालको हिमाली पास मध्येको लामो मानिएको लार्के पास त्यसै विश्व प्रसिद्ध भएको होइन रहेछ, यसको जादुयी मोहकतामा त्यहाँ जम्मा भएकामध्ये हामी चार–पाँच जना एकछिन त छमछम नाच्न पो थालेछौं। सकुशल त्यहाँ पुग्न पाइएकोमा सबै जसो यात्रुहरू आ–आफ्नै समूहका सदस्यबीच एक अर्कालाई अंकमाल गर्दै भावविह्वल हुँदै थिए। हिँडेर पुग्न नसक्दा धर्मशालादेखिनै घोडामा चढेर नै भए पनि त्यहाँसम्म पुगी सन्तुष्ट भएका यात्रुहरू पनि भेट्यौं। गोर्खा र मनाङ जिल्ला जोड्ने उक्त पास नेपालको हिमाली पासहरू मध्यकै कठिन र लामो रहेछ । नखाए पनि पेट भरिने गरी फोटाहरू खिची करिब एकघन्टा बिताएपछि फेदीतर्फ जानको लागि अझै लगभग एकघन्टा हिउँ नै हिउँमा हिँडनुपर्ने भएकाले जुत्ताको तलुवामा फलामे अंकुश भिरी लार्केपासको आँगनबाट भारी मन लिएर मनाङ तर्फ ओरालो झर्न थाल्यौं।

मौसम परिवर्तन भइरहेको थियो। हामी ओर्लर्ने दिशातर्फबाट बादल तथा हुस्सु हामी तिरै अगाडि बढिरहेको थियो। करिब एक घन्टा हिँडेपछि हिउँको सामिप्यता अन्त हुँदै गयो। धेरै तल आइसकेपछि जुत्तामा कसिएका फलामे अंकुशलाई झिकी ढुंगाका स–साना गेग्रानहरूयुक्त भूभाग पुगियो। ठाडो ओरालो भएकोले उक्त भाग पनि खुट्टा घिस्रन वा चिप्लन सक्ने जोखिमयुक्त थियो। एवं रितले अन्य यात्रुहरूलाई अगाडि वा पछाडि पर्र्र्र्दै करिब एकबजे हामी लार्के फेदीमा रहेको विश्राम गृहमा आइपुग्याैं र थकित शरीरलाई एकछिन सुस्ताउन दियौं।

५,१०६ मिटरको उचाइबाट लगभग ४,००० मिटरको फेदी हुँदै ३,७०० मिटर उचाइको भिमथाङमा आउने मार्गको दायाँ बायाँ रहेका पहाडहरू पनि आकर्षक थियो। रगत पोतिएझै देखिने रातो रंगको ढुंगाहरूयुक्त पहाडको एक खण्ड, पोंकर ताल लगायतका दर्शनयोग्य सम्पदाहरूको रहेको उक्त मार्गबाट पनि लार्के उक्लन सकिन्थ्यो। तीनबजे हामी भीमथाङमा रहेको होटलमा आइपुग्यौं।

मनासलु, हिमचुली, पोंकर लागतयका हिमाली चुचुराहरूले घेरिएको, हरियो जंगल दुवै तर्फ रहेको बिचमा लामो फाँटमा अवस्थित भीमथान मनाङको आकर्षक विश्रामयोग्य स्थान रहेछ। बिहान चार बजे ४६०० मिटरको उचाइबाट शुरु भई ५१०६ मिटरसम्म पुगी दिनको तीनबजे ३७०० मिटरमा आइपुग्दा शरीर गलेको थियो । लक्ष्य प्राप्ति भइसकेकाले मानसिक थकानसमेत बढेको थियो । त्यसलाई भीमथानको पर्यावरणले सन्चो बनायो।

आठौं दिन भीमथानबाट तिल्चेसम्म हिँड्नुपर्ने भएपछि पुन: झोलाहरू बोक्न खच्चडको सहारा लियौं। बिहान सात बजे निस्किएका हामी केही परसम्मको चौर, त्यसपछिको थोरै उकाली अनि ओरालीको दायाँ बायाँ रहेका स–साना वनस्पति, झाडी र बुट्ट्यानका बिच मनाङको दूधखोला आइपुगियो। लार्केफेदीबाट आएको दूधखोलामाथि बनेको पुल तरेपश्चात यात्रामा अर्काे मोहकता थपियो।

रातो, सिम्रिक तथा रातो सेतो रंगको सम्मिश्रणयुक्त गुराँसका फूलहरूले ढकमक्क ढाकेको जंगल बीचमा रहेको पदयात्रा मार्ग। मार्गको वरिपरि गुराँसले झपक्कै फूलेका रुखहरू तथा झरेका फूलका पत्रहरूले ढाकेको भूईंमा पाइला राख्दै हिँड्दाको अनुभूतिलाई प्रकृतिको अनुपम कोसेली मान्दै अगाडि बढयौं। गडगडाउँदै बगेको दूधखोलाको तिरैतिर कतै भिरालो, कतैसम्म हुँदै मिलारेप गुफा, हाबु, चौली खर्क, सुर्की हुँदै मनाङ जिल्लाको नासोङ गाउँपालिकाको गोवामा करिब दिनको साढे एक बजे आइपुगेपछि लार्के पिक अतिथि गृहमा एकछिन विश्राम गर्‍यौंं। करिब सवा दुई बजे तिल्चे पुग्न पुन: लम्किन थाल्यौं। करिब साढे चार बजे मोटर चढेपश्चात पैदल यात्रालाई विश्राम दिँदै लमजुङको बेशिसहर पुगेर बास बस्यौं।

भोलिपल्ट बिहान चिया खाजा खाई करिब नौ बजे वातावरणमैत्री बिजुलीबाट चार्च भई गुडने माइक्रोबसमा चढेर बेसिशहरबाट काठमाडौं तर्फ लाग्यौं। नौं दिनको यात्रामा काठमाडौंबाट छुटेर लार्के पास सम्पन्न गरी काठमाडौं घरसम्म फर्किने क्रममा खाना, तातोपानी, चिया, खाजा, होटल, भरिया, यातायात लगायतमा प्रतिव्यक्ति ३० हजार रुपैयाँ बराबर खर्च भएछ। मनासलु यात्रा र लार्केपास जस्तो नेपालकै लामो हिमाली पास सफलतापूर्वक पार गर्दा मिलेको सन्तुष्टिको मूल्य यदि मापन हुन्थ्यो भने त्यो ३० हजारभन्दा कयौं गुणा बढी मिल्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?