News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले कोलोम्बोमा सुरु भएको साफ यू-१७ च्याम्पियनसिपमा श्रीलंकालाई २-० ले हराएर विजयी सुरुवात गरेको छ।
- समिर कुमारले खेलको ५२औं र इन्जुरी समयको तेस्रो मिनेटमा गोल गर्दै नेपाललाई जित दिलाएका थिए।
- नेपालले अब बिहीबार बंगलादेशसँग खेल्नेछ र समूहमा एक खेल जितेपछि सेमिफाइनल पुग्ने सम्भावना बलियो छ।
३० भदौ, काठमाडौं । सोमबारदेखि कोलोम्बोमा सुरु भएको साफ यू-१७ च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ ।
कोलोम्बोस्थित कोलोम्बो रेसकवर्समा भएको समूह ए अन्तर्गतको खेलमा नेपालले श्रीलंकालाई २-० ले हराएको हो ।
नेपालको जितमा दुवै गोल समिर कुमारले गरे । उनले खेलको ५२औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
प्रतिश थापा मगरले बायाँ भागबाट दिएको लामो क्रसमा पेनाल्टी बक्समा रहेका समिरले हेडमार्फत गोल गरेका हुन् ।
त्यस्तै इन्जुरी समयको तेस्रो मिनेटमा उनले गोलकिपरलाई बिट गर्दै गोल गरे र नेपालको २-० को जित पक्का गरे ।
नेपालले अब दोस्रो खेलमा बंगलादेशसँग बिहीबार खेल्नेछ ।
यस समूहमा तीन टिम मात्र रहेकोले नेपालले एक खेल जितेपछि मात्रै पनि सेमिफाइनल पुग्ने सम्भावना बलियो भइसकेको छ ।
साविक विजेता भारतसहित पाकिस्तान, भुटान र माल्दिभ्स समूह बी मा छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।
साफ यू-१७ च्याम्पियनसिपको ९ संस्करण भइसक्दा अहिलेसम्म भारतले सर्वाधिक ६ पटक उपाधि जितेको छ भने बंगलादेशले दुई तथा पाकिस्तानले एक पटक उपाधि जितेको छ ।
नेपाल चार पटक फाइनल पुगेपनि उपाधि जित्न सकेको छैन । नेपाल चार पटक नै भारतसँग पराजित भएको थियो ।
प्रतिक्रिया 4