+

आन्दोलनको प्रभाव : घरेलु फुटबलका सबै गतिविधि स्थगित

२०८२ भदौ  ३० गते २१:५१ २०८२ भदौ ३० गते २१:५१
आन्दोलनको प्रभाव : घरेलु फुटबलका सबै गतिविधि स्थगित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रीलंकाको कोलम्बोमा सुरु भएको साफ यू-१७ च्याम्पियनसिपमा नेपाली टोलीले घरेलु टोलीसँग पहिलो खेल खेलेको छ।
  • जेनजी आन्दोलनपछि नेपालमा फुटबल लगायत सबै खेलकुद गतिविधि स्थगित भएका छन्।
  • अखिल नेपाल फुटबल संघले फुटबल गतिविधि अवस्था सामान्य भएपछि मात्र सुरु गर्ने जनाएको छ।

३० भदौ, काठमाडौं । श्रीलंकाको कोलम्बोमा सोमबारदेखि सुरु भएको साफ यू-१७ च्याम्पियनसिपमा नेपाली यू-१७ फुटबल टोली पहिलो खेलमै घरेलु टोली विरुद्ध खेल्यो ।

अहिले नेपाली फुटबल जोडिएको यो नै एक मात्र कार्यक्रम हो । राष्ट्रिय स्तरमा भने सबै फुटबल गतिविधि ठप्प भएको छ ।

गत साता भएको जेनजी आन्दोलन र त्यसबाट उत्पन्न भएको विषम परिस्थितिले गर्दा नेपाली खेलकुद क्षेत्र पनि प्रभावित बनेको छ । त्यसमा पनि सबैभन्दा चर्चित खेल मध्ये एक फुटबलको घरेलु गतिविधि नै रोकिएको छ ।

आन्दोलनपछि देशले सुशिला कार्कीलाई नयाँ प्रधानमन्त्रीको रुपमा पाइसकेको छ भने तीन नयाँ मन्त्री पनि थपिइसकेका छन् । तर फुटबल लगायत खेलकुद गतिविधिहरु भने धमाधम स्थगित हुने क्रममा छ ।

अहिले भइरहेका फुटबलका केही प्रतियोगितासहितका कार्यक्रम स्थगित भएका छन् भने यसपछि हुने विभिन्न फुटबल सम्बन्धित गतिविधिहरु पनि प्रभावित हुने पक्का जस्तै छ ।

जेनजी आन्दोलनका कारण अहिले भइरहेको एन्फा यू-१६ युथ लिग देखि एन्फा महिला लिग छनोट पनि स्थगित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

यसैबीच एन्फाले स्थगित भएको यू-१६ युथ लिगको विषयमा छलफल गर्न लिगमा सहभागी ए डिभिजन क्लबलाई भदौ ३० गते छलफल गर्नका लागि पत्र काटेको थियो । तर क्लबका प्रतिनिधिहरु सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उपस्थित हुँदा एन्फाका अध्यक्ष र महासचिव भने उपस्थित भएनन् ।

एन्फाले मेसेज पठाएर बैठक स्थगित भएको जानकारी गराएको भएपनि क्लबका पदाधिकारीहरुले भने स्थगित भएको सूचना पनि पत्र पठाएर नै जानकारी दिनुपर्ने बताएका छन् ।

एन्फाका निवर्तमान अध्यक्ष तथा हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बैठक स्थगित गरेको जानकारी मेसेजमा दिएर नहुने बताउँछन् । ‘हामीलाई पत्रमार्फत बैठकमा बोलाइएको थियो । तर हिजो एसएमएस पठाएर आजका लागि तय भएको बैठक र फुटबलका सबै गतिविधि अर्को सूचना आउन्जेल सम्मका लागि स्थगित भनिएको छ । स्थगित भएको जानकारी पनि पत्रमार्फत नै गराउनुपर्‍यो । मौखिक रुपमा भनेर वा एमएमएस पठाएर भएन’ शेर्पाले अनलाइनखबरसँग भने ।

शेर्पाले बैठक राखेर एन्फाको अध्यक्ष र महासचिव नै उपस्थित नभएपछि एन्फा सिइओ, सहमहासचिव लगायत पदाधिकारीहरुसँग अन्तरकृया जस्तो गरेर फर्किएको बताए ।

उता एन्फा प्रवक्ता सुरेश शाहले भने अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राई काठमाडौं बाहिर भएकोले बैठक स्थगित भएको जानकारी दिए । ‘आन्दोलन सुरुभएपनि स्थगित भएको यू१६ लिग के गर्ने भन्ने विषयमा छलफल गर्न आजको बैठक बोलाइएको थियो । तर अध्यक्ष र महासचिव बाहिर भएकोले गर्दा आजको बैठक स्थगित भएको हो’ उनले भने ।

उनले आजको बैठक लगायत गतिविधि स्थगित भएको विषयमा क्लबहरुलाई जसरी भएपनि सूचना पुर्‍याउने काम भएको दावी गरे । ‘हाम्रो बुझाईमा सूचना जसरी पनि क्लबसम्म पुग्नुपर्छ भन्ने हो’ प्रवक्ता शाहले भने, ‘क्लबहरुलाई यू१६ लिगको विषयमा बैठक लगायत फुटबल गतिविधिहरु स्थगित भएको विषयमा पत्र पठाएर जानकारी गराउनेछौँ ।’

यस्तै भदौ ३१ गतेका लागि तय भएको ए डिभिजन क्लबहरुसँगको कार्यशाला पनि स्थगित भएको र त्यसबारे पनि क्लबहरुलाई जानकारी गराएको प्रवक्ता शाहले बताए ।

अहिले स्थगित भएका फुटबल प्रतियोगिता लगायत गतिविधिहरु कहिले सुरु हुन्छ भन्ने एकिन जवाफ एन्फासँग छैन । एन्फाले केही समयअघि ए डिभिजन क्लबहरुसँगको बैठकमा शहीद स्मारक ए डिभिजन लिग आउने पुष ९ गते देखि होम एण्ड अवे फर्म्याटमा गर्ने भन्दै छलफल गरेको थियो । तर क्लबहरुले भने एन्फाको प्रस्ताव अनुसार खेल्न नसकिने बताउँदै आएको छ ।

यस्तै एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पाले सोमबारको छलफल/अन्तरक्रियापछि यू१६ लिग लगायत सम्पूर्ण फुटबल गतिविधि हालका लागि स्थगित गर्ने निचोडमा पुगेको पनि जानकारी दिए ।

यस्तै शेर्पाले यू१६का दुई प्रतियोगिता र यू१८ का एक प्रतियोगिताको पैसा पनि एन्फाले उपलब्ध गराउन बाँकी रहेको र तत्काल उपलब्ध गराउन एन्फासँग माग राखेको बताए । क्लबलाई दिनुपर्ने रकम बाँकी रहेको भए प्रकियागत रुपमा क्लबले पाउने एन्फा प्रव्कता सुरेश शाहले जानकारी दिए ।

एन्फा प्रवक्ता सुरेश शाहले अहिले खेलकुद लगायत सबै क्षेत्रमा असर गरेकोले अवस्था सामान्य भएपछि फुटबल गतिविधि सुरु गर्ने बताए । ‘अहिलेका लागि फुटबल मात्र नभएर धेरै क्षेत्रमा असर परेको छ । फुटबलको डोमेस्टिक क्यालेन्डरमा असर पुगेको छ । अहिलेको अवस्थामा केही सुधार भएपछि हामी अझ शसक्त रुपमा अघि बढ्छौँ भन्ने एन्फाको धारणा हो’ उनले भने ।

ए डिभिजन लिग पुषमा सुरु गर्ने तयारी भएपनि अहिलेको परिस्थतीमाले गर्दा मितिमा केही तलमाथि हुन सक्ने शाह बताउँछन् । ‘अहिलेको अवस्थामा मितिमा केही तलमाथि हुन सक्छ । तर ए डिभिजन लिग त जसरी पनि गर्नैपर्छ । क्लबहरु पनि त्यसका लागि तयार हुनुपर्छ’ उनको भनाइ छ ।

एन्फा प्रवक्ता शाहले अहिलेको अवस्थामा एन्फाले चाहेर मात्र पनि सबै काम गर्न नसक्ने र अहिलेको माहोल शान्त भएपछि मात्र फुटबल ट्रयाकमा फर्कने बताए ।

आन्दोलनको प्रभाव घरेलु फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय