
News Summary
Generated by OK AI. Editorially reviewed.- चीनको शांघाईस्थित हैडिलाओ रेष्टुराँमा दुई १७ वर्षका किशोरले सुपमा पिसाब फेरेको अभियोगमा ४ करोड २३ लाख रुपैयाँ जरिबाना तिराउने फैसला भएको छ।
- अदालतले किशोरका अभिभावकलाई जरिबाना तिर्नुपर्ने र उनीहरूको हर्कतले रेष्टुराँको प्रतिष्ठामा आँच पुगेको ठहर गरेको छ।
- हैडिलाओले ४ हजारभन्दा बढी ग्राहकलाई मुआब्जा दिएको र सबै भाँडाकुँडा बदलिएर सफाइ गरिएको जनाएको छ।
१ असोज, काठमाडौं । चीनको एक हटपट रेष्टुराँमा सुपको भाँडो पिसाब फेरेको अभियोगमा दुई किशोरलाई झण्डै ४ करोडभन्दा बढी जरिबानाको सजाय सुनाइएको छ ।
मदिरा सेवन गरेर १७ वर्षका दुई किशोरले सुपमा पिसाब फेरेको भिडियो उनीहरू आफैंले अपलोड गरेपछि इन्टरनेटमा भाइरल भएको थियो । गत फेब्रुअरीमा चीनको सबभन्दा ठूलो हटपट चेन रेष्टुराँ हैडिलाओको शांघाईमा रहेको शाखामा भएको घटना हो यो ।
किशोरहरूको घिनलाग्दो हर्कत पुष्टि भएपछि अदालतले ३ लाख अमेरिकी डलर अर्थात् ४ करोड २३ लाख ५७ हजार नेपाली रूपैयाँ जरिबाना तिराउने फैसला गरेको हो ।
जरिबाना बापतको रकम दुई क्याटरिङ कम्पनीलाई पनि दिइने चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।
घटना बाहिरिएपनि उनीहरूले पिसाब गरेको सुप कुन ग्राहकले पिए भन्ने खुलेन । भिडियो भाइरल भएपछि हैडिलाओ रेष्टुराँले केही दिनसम्म खाना खाने हजारौं ग्राहकलाई मुआब्जा दिने बताएको थियो ।
मातापिताले तिर्नुपर्ने छ जरिबाना
गत शुक्रबार शांघाईको एक अदालतले दुई किशोरको आपत्तिजनक हर्कतले रेष्टुराँको सम्पत्तिको अधिकार र प्रतिष्ठामा आँच पुर्याएको ठहर गर्यो ।
उनीहरूको हर्कतले भाँडा दूषित भएको र जनतामा गहिरो असुविधा पैदा भएको अदालतको ठहर छ ।
चिनियाँ सरकारी समाचार संस्थाहरूका अनुसार अदालतले किशोरद्वयका मातापिता अभिभावकीय जिम्मेवारी निभाउन असफल भएको निष्कर्ष निकालेको छ ।
साथै जरिबाना बापतको मुआब्जा अभिभावकले नै तिर्नुपर्ने अदालतको फैसला छ ।
जरिबानाको कूल रकममध्ये ३ करोड ९५ लाख २० हजार रूपैयाँ रकम अपरेशनल र प्रतिष्ठानको क्षतिका लागि, झण्डै २५ लाख ६० हजार रूपैयाँ क्याटर्सको भाँडाकुँडाको नोक्सानको भरपाइँ र सफाइका लागि तथा १३ लाख ८४ हजार रूपैयाँ कानुनी खर्चका लागि तोकेको छ ।
यद्यपि अदालतले रेष्टुराँ हैडिलाओले ग्राहकलाई तिरेको मुआब्जाको अतिरिक्त रकम दुई किशोरमाथि थोपरेको छैन । कम्पनीले स्वेच्छा ग्राहकलाई ‘कम्पनसेसन’ दिएकाले यसको बोझ किशोरमाथि थोपर्न नहुने अदालतले भनेको छ ।
हैडिलाओले गएको २४ फेब्रुअरीमा भएको घटनापछि ८ मार्चसम्मको बीचमा रेष्टुराँमा आएका ४ हजारभन्दा बढी ग्राहकलाई खरिदको पूरै पैसा फिर्तासँगै बिलभन्दा १० गुणा मुआब्जा दिने बताएको थियो । साथै कम्पनीले रेष्टुराँमा प्रयोग हुने सबै भाँडाकुँडा बदलिएर किटाणु हटाउने कार्य र सफाइ गरिएको बताएको थियो ।
हैडिलाओले चीनको सिचुआन प्रान्तको जियानयाङमा पहिलो शाखा खोलेर सेवा सुरु गरेको थियो । अहिले विश्वभर हैडिलाओका एक हजारभन्दा बढी रेष्टुराँ छन् ।
ग्राहकको सेवामा समर्पित हुनेर र पारिवारिक वातारणका कारण हैडिलाओले चीनसहित अन्य देशमा लोकप्रियता बटुलेको छ । अर्डर गरेर कुरिन्जेल महिलालाई म्यानिक्योरको सुविधा दिने र बच्चाका लागि क्यान्डि फ्लास दिइने कारण उपभोक्ताहरू हैडिलाओका रेष्टुराँ जाने गर्दछन् । तर, पछिल्लो घटनाले भने यो चेन रेष्टुराँलाई असर पुर्याएको छ ।
प्रतिक्रिया 4