
News Summary
Generated by OK AI. Editorially reviewed.- लुम्बिनी विकास कोष र लुम्बिनी केबलकारले पर्यटन प्रवर्द्धनका लागि सम्झौता गरेका छन्।
- सम्झौताअनुसार भीभीआईपी पाहुनालाई केबलकारमार्फत पाल्पाको बसन्तपुर हिल स्टेशन भ्रमण गराइनेछ।
- केबलकारले टिकट दरमा २० प्रतिशत छुट दिने र बसन्तपुरमा पांच तारे होटेल बनाउने तयारी गरेको छ।
१ असोज, बुटवल । लुम्बिनी विकास कोष र लुम्बिनी केबलकार लि.बुटवलबीच पर्यटन प्रवर्द्धनका लागि सम्झौता भएको छ ।
सम्झौता पत्रमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य र लुम्बिनी केबलकारका अपरेसन म्यानेजसर डिएन कायस्थले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी अति विशिष्ट (भीभीआईपी) पाहुनालाई लुम्बिनी केबलकारले केबलकारमार्फत पाल्पाको बसन्तपुर हिल स्टेशन भ्रमण गराउने भएको छ ।
यस्तै लुम्बिनी विकास कोषका पदाधिकारी, कर्मचारी र लुम्बिनी घुम्न आएका पर्यटकलाई केबलकारको टिकट दरमा २० प्रतिशत छुट दिने सम्झौता भएको छ ।
सो अवसरमा बोल्दै लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्यले लुम्बिनी केबलकारसंगको सम्झौताले दुबै ठाउंको पर्यटन प्रवर्द्धनमा सकारात्मक भूमिका खेल्ने बताए ।
उनले लुम्बिनी भ्रमणमा आउने स्वदेशी र विदेशी पर्यटकको बसाई लम्ब्याउन लुम्बिनी केबलकार हुंदै बसन्तपुर यात्रा गराउन आवश्यक रहेको बताए ।
बसन्तपुरको हावापानी तराई भन्दा १० डिग्री कम हुने भएकाले भारतीयसंगै बौद्धमार्गी तेस्रो मुलुकका पर्यटकलाई सजिलै आकर्षण गर्न सकिने बताए ।
शाक्यले श्रीलंका र म्यानमार लगायत बौद्धमार्गी वाहुल्य राष्ट्रका ट्राभल एजेन्सीसंग सहकार्य गरेमा केबलकारमा विदेशी पर्यटक भित्र्याउन सकिने सुझाव दिए ।
लुम्बिनी विकास कोषका वरिष्ठ प्रशासन प्रमुख ज्ञानिन राईले लुम्बिनी केबलकारको टप स्टेसन बसन्तपुर ध्यान केन्द्रका लागि पनि उपयुक्त रहेकाले ध्यान केन्द्र बनाउन सुझाव दिए ।
केबलकारका अप्रेसन म्यानेजर डिएन कायस्थले लुम्बिनी विकास कोषसंग सम्झौताले बसन्तपुर हिल स्टेशन भ्रमणमा पर्यटक आगमन वृद्धि हुने विश्वास व्यक्त गरे ।
समुद्री सतहबाट एक हजार मिटर उचाईमा रहेको बसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाख्या मन्दिरसँगै स्वच्छ, शान्त र शीतल वातावरणमा रहेकाले हरेक वर्ष पर्यटक आगमन वृद्धि भएको कायस्थले बताए ।
बसन्तपुरमा सय वर्ष पुरानो दुर्गा मन्दिर, स्तरीय रेष्टुरेन्ट, सेमिनार हल, जिपलाइन, स्काइ साइक्लिङ, पिङ, सेमिनार हल लगायत पर्यटकीय पुर्वाधार छन् ।
अष्ट्रियाको डुपलमायर कम्पनीबाट निर्मित युरोपियन प्रविधिको लुम्बिनी केबलकारमा २५ वटा गोण्डुला छन् । केबलकारले एक दिनमा ६ हजार जनालाई आवतजावत गराउन सक्छ । सम्झौताले बुद्धजन्मस्थल लुम्बिनी र बसन्तपुरको पर्यटन प्रवर्द्धनसँगै दुई संस्थाबीच आपसी सहकार्य हुने दुवै संस्थाले विश्वास व्यक्त गरेका छन् ।
कम्पनीले छिटै बसन्तपुरमा पाँच तारे होटेल बनाउने तयारी थालेको छ । उक्त होटलमा एक हजार जना क्षमताको बैंक्वेट हल,स्वीमिङ पुल, क्यासिनो लगायत सेवा र सुविधा रहने म्यानेजर प्रज्ज्वल घिमिरेले जानकारी दिए ।
स्थानीयको समेत लगानी रहेको लुम्बिनी केबलकार आईएमई ग्रुप अन्तर्गतको भगिनी कम्पनी हो ।
प्रतिक्रिया 4