+

बंगलादेशसँग बराबरी खेलेपनि नेपाल सेमिफाइनल पुग्ने

२०८२ असोज  १ गते २०:५७ २०८२ असोज १ गते २०:५७
बंगलादेशसँग बराबरी खेलेपनि नेपाल सेमिफाइनल पुग्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले साफ यू-१७ च्याम्पियनसिपमा बिहीबार बंगलादेशसँग समूह चरणको अन्तिम खेल खेल्दैछ।
  • नेपालले श्रीलंकालाई २-० ले हराएर सेमिफाइनलमा स्थान पक्का गर्ने अवसर पाएको छ।
  • नेपाललाई सेमिफाइनल पुग्न बंगलादेशसँग बराबरी पनि पर्याप्त हुनेछ।

१ असोज, काठमाडौं । श्रीलंकाको कोलोम्बोमा भइरहेको साफ यू-१७ च्याम्पियनसिपमा नेपालले बिहीबार समूह चरणको आफ्नो अन्तिम खेल बंगलादेशसँग खेल्दैछ ।

तीन टोली मात्र समावेश यस समूहमा नेपालले पहिलो खेलमा घरेलु टोली श्रीलंकालाई २-० ले हराएर विजयी सुरुवात गरिसकेको छ । त्यसैले नेपालसामु समूहको अर्को खेल हुनुअघि नै सेमिफाइनलमा स्थान पक्का गर्ने अवसर हुनेछ ।

नेपाललाई सेमिफाइनल पुग्न बंगलादेशसँग बराबरी खेलेमा पनि पर्याप्त हुनेछ । यदि नेपालले बंगलादेशलाई पराजित गर्न सकेमा अन्तिम खेल अघि नै नेपाल समूह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गर्नेछ ।

नेपालका मुख्य प्रशिक्षक सन्जित सिंहले प्रतियोगिताअघि नेपालको पहिलो लक्ष्य सेमिफाइनल पुग्नु रहेको बताएका थिए । त्यसपछि फाइनलमा केन्द्रित हुने उनको भनाई थियो । पहिलो लक्ष्यबाट नेपाल अब एक कदम मात्र टाढा छ ।

पहिलो खेलमा श्रीलंकालाई पराजित गरेपनि नेपालको केही कमजोरी रहेकोले त्यसलाई सुधार गर्दै बंगलादेश विरुद्ध मैदान उत्रने नेपालका मुख्य प्रशिक्षक र कप्तानले बताएका छन् ।

‘पहिलो हाफमा केही कमीकमजोरी रहेको थियो । त्यसलाई हामीले पत्ता लगाएका छौँ र अब बंगलादेश विरुद्धको खेलमा त्यो सुधार गर्नेछौँ ।’ प्रशिक्षक सिंहले भने ।

उनले बंगलादेश विरुद्ध जितकै लागि खेल्ने र समूह विजेता बनेमा सेमिफाइनलमा सहज हुने बताएका छन् । ‘हामी बंगलादेश विरुद्ध जित्नका लागि खेल्छौँ र समूह विजेता बनेमा सेमिफाइनलमा सहज हुन्छ ।’

सिंहले श्रीलंका भन्दा बंगलादेश केही बलियो रहेकोले बंगलादेश विरुद्ध बल पोजेसन राखेर खेल्ने र पाएको अवसरमा गोल गर्ने प्रयास गर्ने बताए ।

यस्तै कप्तान प्रशान्त मोक्तानले पनि पहिलो खेलको कमजोरीलाई सुधार गर्देै दोस्रो खेलमा मैदान उत्रने बताए ।

समूह बी मा साविक विजेता भारतसहित पाकिस्तान, भुटान र माल्दिभ्स छन् । दुवै समूहबाट शीर्ष दुई-दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

साफ यू-१७ मा नेपाल र बंगलादेशको विगत

सन् २०११ मा साफ यू-१६ को नामबाट काठमाडौंमै सुरु भएको यस च्याम्पियनसिपको पहिलो संस्करणमा नेपाल र बंगलादेश दुई पटक भिडेका थिए । समूह चरणमा गोलरहित बराबरी खेलेको नेपालले तेस्रो स्थानको लागि भएको खेलमा बंगलादेशलाई २-१ ले पराजित गरेको थियो ।

सन् २०१३ मा पनि काठमाडौं भएको साफ यू-१६ च्याम्पियनसिपमा नेपाल र बंगलादेश सेमिफाइनलमा भेट भएको थियो । जहाँ नेपाल ५-१ ले विजयी भएको थियो ।
सन् २०१५ मा भएको तेस्रो संस्करणमा भने नेपाल र बंगलादेशबीच भेट भएन ।

सन् २०१७ मा फेरि नेपालमै साफ यू-१५ को नामबाट चौथो संस्करण आयोजना भयो । त्यसबेला सेमिफाइनलमा नेपालले बंगलादेशलाई ४-२ ले पराजित गर्दै फाइनल पुगेको थियो ।

सन् २०१८ मा पनि साफ यू१५ कै नाममबाट नेपालमै पाँचौ संस्करण आयोजना भयो । यस पटक भने दुवै टोली एकै समूहमा थिए र पहिलो पटक बंगलादेशले नेपाललाई २-१ ले हरायो ।

सन् २०१९ मा भारतमा भएको छैटौं संस्करण राउण्ड रोविन लिगको आधारमा खेलाइएको थियो । जहाँ नेपालले बंगलादेशलाई ४-१ ले पराजित गरेको थियो ।

सन् २०२२ देखि भने साफ यू-१७ को नामबाट यस प्रतियोगिता खेलाउन थालियो । श्रीलंकामै भएको सातौं संस्करणमा नेपाल र बंगलादेशबीच भेट भएन ।

त्यसपछि सन् २०२३ मा फेरि साफ यू१६ कै नामबाट भुटानमा आठौं संस्करण आयोजना भयो । जसमा नेपाल, भारत बंगलादेश जस्ता टोली एकै समूहमा थिए ।

नेपाल बंगलादशसँग १-० ले पराजित भएको थियो । भारतसँग पनि सोही नतिजामा पराजित हुँदा नेपाल गोलविहिन र अंकविहिन हुँदै घर फर्केको थियो ।

यस्तै २०२४ मा भुटानमै साफ यू१७ को नामबाट नवौँ संस्करण आयोजना भयो । यस पटक पनि नेपाल र बंगलादेशबीच भेट भएन । साफ यू-१७ उमेर समूहमा नेपाल र बंगलादेश दुई वर्षपछि भेट हुन लागेको हो ।

पछिल्लो समय बंगलादेशले उमेर समूहको फुटबलमा प्रगति गरिरहेको छ । उमेर समूहमा नेपालको प्रदर्शन भने झन् कमजोर बन्दै गएको छ ।

नेपाली यू-१७ फुटबल टोली साफ यू-१७ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय