
News Summary
Generated by OK AI. Editorially reviewed.- मिलेनियल्स पुस्ताले नेपाली राजनीतिलाई भ्रष्टाचार र नातावादको पर्याय ठानेका थिए र राजनीतिकमा त्यति चासो लिएन ।
- जेन जी पुस्ता सामाजिक सञ्जालमार्फत राजनीतिक चेतना बढाउँदै स्वस्फूर्त आन्दोलनमा उत्रियो ।
- जेन जी पुस्ताले पारदर्शी र जवाफदेही नेतृत्व खोज्दै नेपालको प्रजातान्त्रिक भविष्यलाई नयाँ दिशा दिने चेतना जगाएको छ।
‘पोलिटिक्स इज अ डर्टी गेम’, ‘यसमा मलाई कुनै चासो छैन’, यो भाष्य अधिकांश नेपाली मिलेनियल्सहरूको थियो ।
मिलेनियल्स भन्नाले अहिले ४५ भन्दामुनि र २९ वर्ष भन्दा माथि उमेरको पुस्ता हो । यो पुस्ताका अकिकांश नेपालीले राजनीतिलाई भ्रष्टाचार, नातावाद र अपारदर्शिताको पर्याय ठानिन्थ्यो ।
किनकी, राजनीति फोहोरी खेल नै जस्तो भइसकेको थियो ।
धेरै युवालाई देशको राजनीतिमा के भइरहेको छ, को-को नेतृत्वमा छन्, मन्त्री वा प्रधानमन्त्री को छन् भन्ने कुराको सामान्य जानकारी पनि थिएन । न त त्यसप्रति चासो नै।
राजनीतिक अज्ञानता यति हावी थियो कि टेलिभिजनका अन्तर्वार्ताहरूमा ‘यो मन्त्रीलाई चिन्नुहुन्छ ?’ भन्ने खण्ड नै राखेर प्रश्न सोधिन्थ्यो ।
एउटा प्रशंग रमाइलो तर चोटिलो छ ।
धरानका मेयर हर्क साम्पाङलाई पत्रकार ऋषि धमलाले अर्थमन्त्रीको नाम सोध्दा उनले ‘थाहा छैन’ भनेर जवाफ दिए । त्यसपछि उनको अर्को जवाफ थियो, ‘नाम थाहापाउने गरी काम पनि गर्नुपर्थ्यो । अनि थाहा हुन्थ्यो ।’
यो जवाफ हर्क साम्पाङको मात्र होइन, अधिकांश सेलिब्रेटीको जवाफ पनि उस्तै हुन्थ्यो ।
केवल हास्यास्पद संवाद मात्र थिएन, त्यो नेपालको राजनीतिक कटु वास्तविकता थियो । मन्त्री, नेताहरूको भीआईपी सवारी, आलोपालो सत्ता, असमानता, भ्रष्टाचार र हालीमुहालीलको खेलबाट आजित भएका युवाहरू दिक्क थिए । कुनै समय राजनीतिमा सक्रिय भएका युवाहरू समेत यसबाट टाढिँदै गएका थिए ।
तर, अब परिदृश्य अलि फरक भएको छ । जेन जी पुस्ता, अर्थात् १९९० को दशकको मध्यदेखि २०१० को सुरुवाततिर जन्मिएकाहरूले ‘डर्टी गेम’ को पुरानो ट्यागलाई चुनौती दिएका छन् ।
यो पुस्ता चिया पसलमा गफिएर समय खेर फाल्दैन । न कतै गएर भाषण गर्छ । न त टोलटोल पुगेर भेला हुन बोलाउँछ । यो पुस्ता सामाजिक सञ्जालबाट राजनीतिक खबरदारी गर्छ ।
जब अघिल्लो सोमबार जेनजी सडकमा उत्रिए, यो परिघटनाले भविष्यको सबैभन्दा ठूला हकदार, कर्णधार जेनजी पुस्तामा राजनितिक चेतना बढ्यो ।
गत साताको त्यो आन्दोलन कुनै एक नेतृत्वमा सीमित थिएन । बरु, यो स्वस्फूर्त र सामूहिक जागरण थियो । जुन नेपालले होइन, सारा विश्वले देख्यो । अहिलेको यो पुस्तामा देश राम्रो अरूले होइन, आफूले बनाउने हो भन्ने चेत देखियो ।
राजनीतिक जागरणतर्फ जेनजी
पहिला सामाजिक सञ्जालमा त्यति सक्रिय नहुँदा सामाजिक शिक्षाको पाठ्यक्रम भए पनि त्यसले सैद्धान्तिक ज्ञान मात्र दिन्थ्यो, व्यवहारिक बुझाइ जोड्दैनथ्यो । ‘हाम्रो प्रधानमन्त्री को हो?’ भन्ने प्रश्नले स्कूले विद्यार्थीहरू समेत अलमलमा पार्थे ।
मन्त्रीमण्डल कसरी बन्छ, किन बन्छ, कस्ता मान्छे छानिन्छन् भन्ने कुरा जनमानसलाई थाहा थिएन । विदेशमा बस्ने नेपालीहरूले त झन् निर्वाचनमा मतदान गर्न नेपाल फर्कने झन्झट मोल्दैनथे । सबैको भाष्य थियो, जो आए पनि उस्तै ।
उनीहरूको बुझाइमा, भोट हालेर केही फरक पर्दैनथ्यो, किनकि सधैं वर्षौँदेखि सधैं उस्तै अनुहार सत्तामा पुगिरहेको देखिन्यो । तर, जेन जी पुस्ताले यो धारणालाई तोड्यो ।
टिकटक, इन्स्टाग्राम र रेडिट, जुन पहिले मनोरञ्जनका लागि मात्र प्रयोग हुन्थे, अब राजनीतिक चेतनाको मञ्च बनेका छन् । ह्यासट्यागहरू, लाइभ स्ट्रिमहरू र भाइरल भिडियोहरूले युवाहरूलाई राजनीतिमा खबरदारी गर्न एकजुट बनाएका छन् ।
जेन जीको खबरदारी
यो पुस्ताले बुझ्यो कि राजनीति केवल नेताहरूको दूषित प्रणालीको खेल होइन, यो देशको भविष्य बनाउने प्रक्रिया हो । उनीहरूले प्रश्न गर्न थालेका छन्, ‘हाम्रा नेताहरू किन छानिए ? मन्त्री बन्ने प्रक्रिया के हो ? किन युवाहरूलाई अवसर दिइँदैन ?’
यस्ता प्रश्नहरूले उनीहरूमा सैद्धान्तिक र व्यवहारिक बुझाइको विकास गरेको छ । सोमबारको परिघटनाले निवार्चनमा हरेक एक भोटको मूल्य हुन्छ, र यो भोटले देशको भविष्य बदल्न सक्छ भन्ने कुरा युवाहरूले बुझेका छन् ।
यो जागरणले देशभक्तिको नयाँ रूप जन्माएको छ । पहिले टिकटकमा भाइरल डान्स र मिम्स बनाउने युवाहरू अहिले देशको नीति, नेतृत्व र निर्वाचन प्रक्रियाबारे छलफल गर्छन् । मन्त्रीहरूको जवाफदेहीतामाथि प्रश्न उठाइरहेका छन् ।
विदेशमा बस्ने नेपालीहरूले समेत अब भोटका लागि नेपाल फर्कनुपर्छ भन्ने भावना जागृत भएको छ । प्लस टु पढेपछि विदेश जानुपर्छ, यहाँ बस्नेले गर्छन् भन्ने सोच अब जेन जीमा देखिँदैन । बरु, उनीहरूमा ‘हामीले नगरे कसले गर्ने?’ भन्ने चेतना पलाएको छ ।
विदेशमै बस्ने नेपाली युवाले समेत अब भोट हाल्न नेपाल फर्कनुपर्छ भन्ने भावना बोकेका छन् । अस्ट्रेलियामा रहेकी नायिका जस्मिता गुरुङले त सरकारले घोषणा गरेको आउँदो चुनावलाई सफल पाउन सामाजिक सञ्जालबाट अपिल गरेकी छिन् ।
‘विदेशमा बस्नुहुने सबै नेपालीलाई नयाँ नेपाल निर्माणका लागि योगदान गर्ने मौका छ’ उनी लेख्छिन्, ‘कामबाट विदा लिनुस् र मतदानका लागि घर जानुस् ।’
यो भावनाले जेनजी पुस्तालाई मात्र होइन, सम्पूर्ण नेपालीलाई देशप्रतिको जिम्मेवारी सम्झाइरहेको छ ।
अर्कोतर्फ, यो पुस्ताले नेतृत्वमा नयाँ अनुहार खोजिरहेको छ । उनीहरू पुरानो ‘आलोपालो’ प्रणालीलाई स्वीकार्न तयार छैनन् । उनीहरू खोज्छन् — पारदर्शी, जवाफदेही र क्षमतावान नेतृत्व ।
यस मागले राजनीतिक दलहरूलाई आफ्नो संरचना र उम्मेदवार छनोट प्रक्रियामा सुधार गर्न दबाब सिर्जना गरेको छ । जे होस्, जेन जी पुस्ताले नेपालको राजनीतिमा नयाँ आशा जगाएको छ । उनीहरूको खबरदारीले राजनीतिलाई ‘फोहोरी खेल’ बाट जनताको शक्तिको मञ्चमा रूपान्तरण गरिदिएको छ ।
हरेक भोटको मूल्य बुझ्दै, उनीहरूले देशको भविष्य आफ्नै हातमा लिएका छन् । यो आन्दोलन केवल सडक वा सामाजिक सञ्जालमा सीमित छैन ।
यो घरघर, मनमनमा पुगेको छ । यदि यो गति कायम रह्यो भने, जेन जी पुस्ताले नेपालको प्रजातान्त्रिक भविष्यलाई नयाँ दिशा दिनेछ । मिनियल्स पुस्तालाई पहिला प्रधानमन्त्री जो भए पनि सरोकार नै थिएन । सरोकार हुने जति मनबाट भन्दा बढी स्वार्थ लुकेको देखिन्थ्यो ।
तर, यो जेनजी पुस्ताले आन्दोलनपछि देशको अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई पाउँदा नवजवानहरूले हर्ष उन्मादमा सच्चा भावले स्वागत गरेको देखियो । यो स्वागतको जोश यस्तो थियो कि सायद पहिलो पटक नै यस्तो उफान देखियो, जसले पुरानो राजनीतिको धरापमा नयाँ आशाको उज्यालो चम्कायो ।
यसरी सक्रिय, सचेत र देशप्रति भाव जागृत भएको यो पुस्ताको भावनामाथि कसैले खेलवाड गर्छ भने त्यो ठूलो पाप हुनेछ । अबको पुस्ताले देशका प्रमुख पदमा बसेकाहरूलाई ‘बा’ वा ‘आमा’ जस्ता ट्याग लगाएर चाकडी गर्नुभन्दा खबरदारीमा जोड दिनुपर्छ ।
ठेक्का-पट्टा, सेटिङ मिलाइदिने, भ्रष्टाचार र शक्तिको आडम्बर देखाउने प्रवृत्तिलाई निरुत्साहित गर्दै सच्चा भावले देश विकासमा उन्मुख भए मात्र जेन जीको आन्दोलनमा शहीद बनेकाहरूको बलिदानले सार्थकता पाउनेछ ।
जेन जीको यो जागरणले एउटा कुरा प्रष्ट गरेको छ-नेपालको भविष्य उनीहरूको हातमा छ, र उनीहरू त्यसलाई बदल्न तयार छन् ।
प्रतिक्रिया 4