
News Summary
Generated by OK AI. Editorially reviewed.- वरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको नेतृत्वमा लोकतन्त्र असफल भएको भन्दै उनीहरूले राजीनामा दिनुपर्ने बताए।
- आचार्यले जेन-जी पुस्ताले बिना स्वार्थ त्याग गर्दै सत्तामा नजाने घोषणा गरेको पहिलो आन्दोलन भएको र यो आन्दोलन भविष्यउन्मुख रहेको उल्लेख गरे।
- विश्लेषक आचार्यले पुरानो पुस्ताले नबुझेको समस्या जेन-जी पुस्ताले बुझेकोमा खुशी व्यक्त गर्दै नयाँ पुस्तालाई धन्यवाद दिनुपर्ने बताए।
२ असोज, काठमाडौं । वरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले ठूला राजनीतिक दलका शीर्ष नेताहरूकै कारण लोकतन्त्र असफल भएकाले उनीहरूले राजीनामा दिनुपर्ने बताएका छन् ।
उनले ठूला राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नेतृत्व गरिरहेकै नेताहरू असफल भएका आन्दोलनबाट पुष्टि भइसकेको तर्क गरे ।
न्युज एजेन्सी नेपालसँगको संवादमा विश्लेषक आचार्यले नेता र नेतृत्वको विरुद्धमा जनता सडकमा निस्किनु भनेको उनीहरू असफल भएको प्रमाण रहेको बताए ।
‘उनीहरूको नेतृत्वमा लोकतन्त्र असफल भएको छ । उनीहरूको विरुद्धमा जनता सडकमा निस्किएका छन्, जसको सरकार हुँदा गोली चलेको छ’ उनले भने, ‘एकातिर कांग्रेस र एमालेले त सरकारको पतनसँगै राजीनामा पनि आफ्नो पार्टीमा सँगसँगै बुझाउनुपर्ने हो ।’
उनले थपे, ‘आन्दोलनमा टेकेर यत्रो अपराध भएको छ, तोडफोड भएको छ, हत्या भएको छ । उनीहरू राजकाज चलाउन पूर्ण रूपमा फेल भए । जेसुकै कारणले होस् । आम जनतको लागि यो सरकार पूर्ण रूपमा फेल भयो र जे जस्तो घटना भयो, त्यो उनीहरूको असफलतामा टेकेर भएको हो ।’
विश्लेषक आचार्यले सत्ता बाहिर रहेको माओवादी केन्द्रका नेताले पनि यसअघि नै राजीनामा दिनुपर्ने तर्क गरे । ‘दुब्लाएर हात्तीबाट मुसा भइसक्यो तर पनि पार्टीको नेताले नेतृत्व छोडेका छैनन् । यी तीनजनै नेताहरूले आफ्नो ढंगले जति हामीले गर्यौँ, अब हामीलाई बिदाबारी दिनुस् भनेर गइसक्नुपर्ने हो’ उनले भने, ‘कार्यकर्ताको चेत खुल्ने हो भने त्यो गर्ने हो । होइन भने दासत्व स्वीकार गरेर बस्ने ।’
तीन दलका कार्यकर्ताहरूले शीर्ष नेताहरूलाई सचेतापूर्वक पार्टीबाट बिदाइ गर्नुपर्नेमा उनले जोड दिए ।
जेन-जी आन्दोलन भविष्यमुखी
विश्लेषक आचार्यले जेन-जी पुस्ताले देशको समस्या बुझेर आन्दोलन गरेको पनि बताए । यो आन्दोलन भविष्यउन्मुख रहेको तर्क गर्दै उनले भने, ‘यो आन्दोलन भविष्यउन्मुख छ ।’
उनले थपे, ‘उनीहरूले बिना स्वार्थ त्याग गरेका छन् । किनभने जेन-जीले आन्दोलन गरेर एकथरीलाई लगेर सत्तामा बसाइदिएको छ । आफू बसेको छैन । आफू जान्न भनेर घोषणा गरेको छ ।’
सत्ताको लोभबिना भएको यो पहिलो आन्दोलन भएको विश्लेषक आचार्यले तर्क गरे ।
‘अहिलेसम्म नेपालको इतिहासमा २००७ सालदेखि अहिलेसम्म आन्दोलन गर्नेहरू हत्तपत्त सत्तामा जान र सत्तामा लुछाचुँडी गर्न नाम कहलिएका थिए, कुख्यात भएका थिए’ उनले भने, ‘चाहे त्यो २००७ सालको क्रान्ति होस्, त्यसपछि आएको २०३६ सालको क्रान्ति होस् वा २०४६, २०६२—२०६३ सालको ।’
उनले थपे, ‘आन्दोलन केका लागि गरेको भन्दा झन्डै झन्डै एउटा मान्यता र मानक स्थापित भएको थियो कि सत्तामा जान भन्ने ।’
जेन-जी आन्दोलनकारीले आफूहरू सत्तामा नजाने बताएर यो पुष्टि गरेको उनले बताए । ‘यो पहिलो आन्दोलन हो । जुन आन्दोलनकारी समूहले आन्दोलन गरेको हो हामी सत्तामा जाँदैनौँ भनिरहेको छ’ उनले भने, ‘त्यसैले यहाँ त्याग पनि छ, निःस्वार्थपन पनि छ । यो आन्दोलनले नयाँ मानक स्थापित गरेको छ ।’
विश्लेषक आचार्यले यसका लागि पुरानो पुस्ताले नयाँ पुस्तालाई धन्यवाद दिनुपर्ने बताए ।
जेन जी पुस्ताले आफूहरू आन्दोलन गर्न सक्षम रहेको, सत्ता परिवर्तन गर्न सक्षम रहेको तर सत्ता सञ्चालन गर्न परिपक्व नभएको बुझेको विश्लेषक आचार्यले उल्लेख गरे । ‘त्यो उनीहरू आफैँले भनेका पनि छन् । नेपालको अहिलेसम्मको सबैभन्दा ठूलो समस्या पहिलाको पुस्ताले बुझेन अहिलेको पुस्ताले बुझ्यो । पहिलेको पुस्ताले हामी सबैकुरा जान्दछौँ भन्थ्यो,’ उनले भने ।
विश्लेषक आचार्यले नेपालको अहिलेसम्मको पुस्ताले नबुझेको समस्या जेन-जी पुस्ताले बुझेकोमा खुशी व्यक्त गरे ।
प्रतिक्रिया 4