+
+
Shares
ब्लग :

अग्निपरीक्षामा नेपाल : के तपाईं तयार हुनुहुन्छ ?

हाल युवा पुस्तामाझ विश्वास, आत्मविश्वास, निर्णयक्षमता, विवेकशीलता, सद्भाव, समन्वय सबैको गहिरो खाडल देखिन्छ। हामी सबैले यस विषयमा गम्भीर हुन आवश्यक भइसक्यो। नत्र धेरै ढिला हुनेछ भावी पुस्ताको लागि सुरक्षित देश दिनको लागि।

सुरेश भट्टराई सुरेश भट्टराई
२०८२ असोज २ गते १३:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको समाज मानसिक रूपमा रोगी बनेको छ र नेतृत्वविहीन अवस्थामा पुगेको छ भन्ने चिन्ता व्यक्त गरिएको छ।
  • विदेश जानुपर्ने बाध्यता र हीनताबोधले समाजमा नैराश्य र अविश्वास फैलिएको उल्लेख गरिएको छ।
  • सामुदायिक भावना सहितको शिक्षालय पुनर्जागरण गरी सामाजिक मूल्य र व्यक्तित्व विकासमा जोड दिनुपर्ने आव्हान गरिएको छ।

मानव सभ्यताको विकासलाई निकाल्दै गर्दा समाज एक सामूहिक चिन्तनको एक स्वरूप हो। त्यसैले त भनिंदै आएको छ मानिस सामाजिक प्राणी हो। अनि चिन्तन गर्न सक्ने भएकोले सर्वश्रेष्ठ प्राणी हो भनेर हामीलाई सानैदेखि पढाइयो तर व्यवहारमा त्यो त्यति लागू गर्न सकेनन् हाम्रा अग्रजहरूले वा भनौं चाहेनन्।

जसरी अग्रजहरू सत्तामा आफ्नो पहुँचसँगै भष्मासुरको भूमिकामा देखिंदै गए, समाजमा एक खालको नैराश्य फैलिंदै गयो। हाम्रो समाज मानसिक रूपमा रोगी भयो। आफ्नै अस्तित्व प्रति अविश्वास बढ्दै गयो फलस्वरूप समाजलाई आफू हुनुमा लज्जाबोध हुन थाल्यो अनि यो लज्जा र नैराश्यताबाट छुटकारा पाउने अन्तिम र एकमात्र विकल्प भनेको विदेश भासिनुपर्छ भन्ने भाष्य बन्न पुग्यो।

यो एक गम्भीर सामाजिक पृष्ठपोषण हाम्रो देशमा हुन थालेको धेरै भएको छैन। इन्टरनेटको विकास र पहुँचसँगै यो सोच समाजमा यसरी फैलियो कि आज हाम्रो देश नेतृत्वविहीन अवस्थामा छ। समाजको इन्जिनियरिङ यसरी गरियो कि हरेकमा विश्वासको संकट पैदा गरियो।

एकातर्फ विश्वमा संयुक्त राष्ट्रसंघ जस्ता संस्था खडा भए। ती संस्थाले शान्ति, सद्भाव र भाइचारा अनि सहकार्य नै मानवजीवनको रक्षार्थ अपरिहार्य भनियो। त्यहीं यसलाई अवलम्बन गर्नेहरूमै संशयको बीज रोपियो।

सनातन समाजले हामीलाई दिएको वसुधैवकुटुम्बकम्‌को भावनालाई कमजोर बनाइयो र ज–जसले यो अवलम्बन गर्छन् उनीहरूलाई पुरातनवादी, पाखे, पाखण्डी जस्ता पदवी दिइयो। आफ्नो सांस्कृतिक मूल्य, मान्यता र भावनालाई नमान्ने जमातलाई उन्नत जातका नागरिक भन्ने भाष्य निर्माण गरियो। साथै, शिक्षा तथा शिक्षक पेशा सम्मानजनक भन्दा पनि जीवनमा असफल व्यक्तिले कमाइखाने भाँडो हो भन्ने भाष्य निर्माण गरियो।

यसको लागि नेपालको मौलिक शैक्षिक प्रणाली तथा सामाजिक तथा पारिवारिक संरचनालाई निकै कमजोर भनाइयो। मान्छेको विवेकलाई भन्दा भाषा, प्रविधिको प्रयोग र सामाजिक संरचनालाई कमजोर बनाउने अवयवहरूलाई गौरवीकरण गर्न शुरु गरियो। हाम्रा कलिला बालमस्तिष्कमा हमला गरियो।

स्मरणरहोस् म पनि कुनै यस्तै बालक थिएँ। संयोगले संस्कृत शिक्षासँगै आधुनिक शिक्षा लिने अवसर जुट्यो। जहाँ पढे त्यहाँ कहिल्यै भेदभाव महसुस गरिनँ। मेरा गुरुहरूले मलाई असल नागरिक बनाउन प्रयत्नरत हुनुहुन्छ भन्ने कुरामा विश्वास थियो, मलाई उहाँहरूको जीविकोपार्जनका लागि आवश्यक पैसाका लागि मात्रै पढाउँदैछन् भन्ने भावना कहिल्यै आएन।

नेपालमा पहिले रहेको अहिले हराएको सामुदायिक भावना सहितको शिक्षालयको पुनर्जागरण गर्न आवश्यक देखिएकोले त्यसतर्फ हामी एकीकृत हुन जरूरी छ। के तपाईं तयार हुनुहुन्छ ?

कक्षाकोठामा सबैजसो जिल्लाका साथीहरू हुन्थे। शायद यही संस्कृत शिक्षाको जगले नै हाल हाम्रो समाजमा व्याप्त व्यक्तित्व विनाशको असरबाट सचेत हुँदै व्यक्तित्व निर्माण सहित आधुनिक शिक्षाकै माध्यमबाट सामाजिक मूल्यलाई केन्द्रमा राख्दै युवा पुस्तालाई उत्पेरित गर्ने ऊर्जा केही हदसम्म भए पनि निर्माण गर्न सकें जस्तो लाग्छ।

यहाँ उचाल्नेहरू नै हुन् खसाल्ने त्यसैले हाम्रो सामाजिक मूल्य, मान्यताका साथै समग्र विश्व समुदायलाई योगदान गर्न सक्ने भावी पुस्ताको तालिममा अग्रसर हुन सकें वा भनौं प्रयास गर्दैछु। यो एकल प्रयास भने होइन सामूहिक हो।

कुनै पनि देश एक भौगोलिक चारकिल्लामा मात्रै सीमित हुँदैन यसको समाज, सोच अनि सांस्कृतिक भावनाको अदृश्य सीमा हुन्छन्। अहिलेको बदलिंदो परिवेशमा कुनै पनि समाजलाई निमिट्यान्न पार्दै आफ्नो प्रभुत्व जमाउने हो भने यो अदृश्य सीमाहरूलाई भत्काउनुपर्ने हुन्छ अहिले विश्वमा भइरहेको यही नै हो।

यसका लागि विश्व सम्राटहरू शिक्षा प्रणालीलाई आफू केन्द्रित गर्दै सृजनशील युवा भन्दा पनि भोगी युवा तयार गर्दैछन्। सृजनाशीलता विना विवेक निर्माण गर्न कठिन छ। विवेक विना सही र गलत, न्याय र अन्याय, विकास र विनाश, समृद्धि र शोषणको फरक छुट्याउन निकै कठिन हुन्छ। अहिले भइरहेको यही नै हो भन्दा फरक नपर्ला।

हाल युवा पुस्तामाझ विश्वास, आत्मविश्वास, निर्णयक्षमता, विवेकशीलता, सद्भाव, समन्वय सबैको गहिरो खाडल देखिन्छ। हामी सबैले यस विषयमा गम्भीर हुन आवश्यक भइसक्यो। नत्र धेरै ढिला हुनेछ भावी पुस्ताको लागि सुरक्षित देश दिनको लागि। नवयुवा लगायत सम्पूर्णले यसतर्फ ध्यान दिन आवश्यक छ।

त्यसैले विश्व मानचित्रमा विभिन्न कालखण्डमा विशेष भूमिका खेलेको यस खण्डको रक्षार्थ तथा सामाजिक सद्भाव, प्रेम, सहिष्णुता, भाइचाराको विस्तारका लागि विश्वमा रहेका सबै नेपालीले सक्रिय भूमिका खेल्न जरूरी छ।

नेपाल लगायत विश्वको कुनै पनि कुनामा हुनु हुने नेपालीले आफ्नो नेपाली पहिचान प्रति गर्व गर्नुपर्छ न कि हीनताबोध, यो रोग हाम्रो समाजमा रोपिएको धेरै भएको छैन। मेरो मातापितामा वा समकक्षीहरूमा त्यो रोग त्यति धेरै देखिंदैन शायद बाह्य समाजसँग हिमचिम नभएका देशका दूरदराजमा रहनुहुने कैयन् आमाबुबामा देखिंदैन। राष्ट्रिय भावना र प्रेम यथावत् देखिन्छ।

बाह्य समाजसँग हिमचिम भएकाहरूको व्यवहार अघिल्लो पुस्ताको राजनीतिक नेतृत्वले देखाउन बाँकी राखेनन्। हाम्रा अग्रजले आत्मालोचना गर्दै सच्चिनु जरूरी छ। यो रोग पछिल्लो समय युवापुस्तामा भने निकै फैलिएर ग्रसित बनाएको देखिन्छ।

त्यसैले तत्काल हाम्रा पाठ्यपुस्तकहरू यो हीनताबोधलाई हटाउने खालको बनाउन जरूरी छ। यसो भन्दै गर्दा हाम्रो समाजमा व्याप्त अन्धविश्वास, कुरीति छन् भने त्यसलाई समयसापेक्ष विचार–विमर्श गर्दै समाजबाट हटाउन जरूरी छ।

हामी सबै चिन्तनशील नेपाली समाज र समुदायको निर्माणका लागि भावी पुस्तालाई तयार गर्न जागरूक हुँदै स्वलगानी गर्न तयार हुनुपर्छ। सुनको थालमा भिख माग्ने संस्कारको अन्त्य गरौं। आज नेपालमा यस्तो भाष्य निर्माण भएको छ कि तपाईं कुनै योजना लिएर कसैलाई भन्नुभयो भने वैदेशिक सहायताको लागि सुसाउँछन्।

यदि तपाईं स्थानीय स्रोत–साधनले देश तथा विदेशमा आफ्नो सेवा दिंदै हुनुहुन्छ भन्ने यस्तो पनि हुन्छ र यो हुनैपर्छ सक्दैन, भन्ने सुन्नुहुन्छ। तर समाजमा यस्ता कामहरू भइरहेका छन् अपनत्व गरिन सिकौं, हामी पनि सक्छौं नेपालमै बसेर विश्वलाई सेवा दिन भन्ने कुरा स्वीकार गरौं।

सकिंदैन, हुँदैन, छैन जस्ता पछिल्लो समय हाम्रो समाजमा रोपिएको भाग्यलाई चिरौं। हाम्रो शैक्षिक प्रणालीलाई सुधारौं। यसका लागि, नेपालमा पहिले रहेको अहिले हराएको सामुदायिक भावना सहितको शिक्षालयको पुनर्जागरण गर्न आवश्यक देखिएकोले त्यसतर्फ हामी एकीकृत हुन जरूरी छ। के तपाईं तयार हुनुहुन्छ ?

विज्ञान शिक्षाको प्रवर्धनमा लागेका भट्टराई युवा वैज्ञानिक हुन्।

लेखक
सुरेश भट्टराई

भट्टराई विज्ञान शिक्षाको प्रवर्द्धनमा क्रियाशील अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?