
News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनमा जापानी माङ्गा 'वान पिस'को स्ट्र ह्याट पाइरेट्स झन्डा प्रयोग गरिएको थियो जुन स्वतन्त्रता र शक्ति विरुद्धको लडाईंको प्रतीक हो।
- आन्दोलनकारीहरूले सिंहदरबारको पश्चिमी गेटमा स्ट्र ह्याट झन्डा झुन्ड्याएका थिए र 'पाइरेट्स वान्टेड' लगायतका पम्प्लेटहरू प्रदर्शन गरेका थिए।
- यो झन्डा नेपालमा मात्र नभएर फ्रान्स र इन्डोनेसियामा भएका आन्दोलनहरूमा पनि प्रयोग भइरहेको छ।
माथिको तस्बिर गतसाता भएको जेनजी आन्दोलनको हो । त्यहाँ एक कपडाको ब्यानरमा कालो पृष्ठभूमिमाथि सेतो रङको खोपडीको चित्र देखिन्छ । जसको माथिल्लो भागमा पहेलो र खैरो रङको ह्याट छ । जसलाई हड्डीले क्रस गरिएको छ ।
धेरै आन्दोलनकारीले यस खालको तस्बिर भएको झण्डा तथा ब्यानर बोकेको देखिन्थ्यो । प्रदर्शनकारीहरूले यो झन्डा लिएर मार्च गरेका थिए । सिंहदरबारको पश्चिमी गेटमा पनि झुन्ड्याएका थिए ।
झण्डामा राखिएको त्यो चित्र के हो त ? आन्दोलनकारीले त्यो किन बोकेका हुन् ?
यदि तपाईं जापानी एनिमे अथवा माङ्गा हेर्नु/पढ्नु हुन्छ भने यो झन्डा सायद चिन्नु हुन्छ ।

उक्त झन्डा जापानी माङ्गा/एनिमेहरूमध्ये चर्चित ‘वान पिस’को हो । यो एउटा समुन्द्री कथा हो । यसमा पाइरेट्स अर्थात् समुद्री डाकुहरूको यात्राको कथा देखाइएको छ । । ती पाइरेट्सहरू संसारभर मूल्यवान खजानाहरूको खोजीमा निस्केका हुन्छन् । त्यही खजनालाई ‘वान पिस’ भनिन्छ ।
उनीहरू डकैती गर्दै हिँड्थे तर उनीहरूको मुख्य उद्देश्य धन र शक्ति जुटाउनु मात्र हुँदैन । स्वतन्त्रता, न्याय र साहसका लागि पनि उनीहरू लड्ने गर्छन् । समूहका हरेक सदस्यको व्यक्तिगत यात्रा र सङ्घर्षलाई सम्मान गर्ने गर्छन् । यसरी उनीहरूले आफ्नो यात्रामा आइपर्ने आपतहरूको सामना मित्रता र सहकार्यको बलमा गर्छन्।

उनीहरू सबैलाई ‘मङ्की डी लुफी’ नाम गरेका कप्तानले सम्हालेका हुन्छन् । निकै चञ्चले र हँसिलो स्वभावका डी लुफीले सधैं परालले बनेको टोपी लगाउने गर्छन् । उनको त्यही टोपीबाट समूह र झण्डाको नाम राखिएको हुन्छ-स्ट्र ह्याट पाइरेट्स ।
यो समूह आफ्नो यात्राका क्रममा भेटिने हरेक आपराधिक तथा स्वार्थ समूहविरुद्ध निडर रूपमा डटेर लड्छ । अनि, जित हासिल गरेरै छाड्छ । यहीकारण यात्राका क्रममा भेटिने सकारात्मक मान्छे वा समूहहरू स्ट्र ह्याटबाट प्रेरित हुन्छन् । यही कारण उनीहरूको समर्थक र अनुयायी बन्दै जाने गर्छन् ।

सङ्क्षिप्तमा भन्दा, यो झन्डा शक्ति र स्वतन्त्रताविरुद्धको लडाईंको प्रतीक हो । यता जेनजी आन्दोलन पनि सत्तामा बसेर मोजमानी गरिरहेकाहरूलाई हटाउने आन्दोलन थियो । जुन कुरा झन्डाको खास भावसँग मिल्थ्यो ।
त्यस्तै झन्डाको मात्र नभएर आन्दोलनकारीहरूले ‘पाइरेट्स वान्टेड’ भनेर निकालिएको सूचना जस्ता पम्प्लेटहरू पनि प्रदर्शनमा ल्याएका छन् । जहाँ निश्चित पैसा तोकेर प्रमुख नेताहरूलाई पक्राउ गर्नेबारे सूचना निकालिएको देखिन्थ्यो । यसका साथै ‘वेकअप नेपाल’ ‘स्टप लुट, स्टार्ट वर्क’ जस्ता नारा पनि लेखिएका थिए ।
यहीकारण नेपालमा भएको जेनजी आन्दोलनमा पनि यो झन्डा देखिएको हो । यद्यपि नेपालमा मात्र नभएर फ्रान्स, इन्डोनेसियामा भएका आन्दोलनमा समेत यो झन्डा प्रयोग भइरहेको छ ।
प्रतिक्रिया 4