
News Summary
Generated by OK AI. Editorially reviewed.- पोखराको सिर्जना सिटी मार्टमा २४ भदौको जेन-जी प्रदर्शनका क्रममा आगजनी हुँदा ३० भन्दा बढी परिवार प्रभावित भएका छन्।
- साना व्यवसायीहरूले २ देखि ९ लाख रुपैयाँसम्म लगानी गरेका पसलहरू जलेर नष्ट भएका छन्।
- उनीहरू अहिले सडकमा पसल गरेर जीविका चलाइरहेका छन्।
२ भदौ, पोखरा । पोखराकी लक्ष्मी विक केही वर्ष अघिसम्म शहरका गल्ली चहार्दै डोकोमा फलफूल बेच्थिन् ।
एकातिर ज्यानलाई सकस, अर्कातिर नगर प्रहरीले सामान फालिदिने डर । यसबाट मुक्ति पाउन उनले २/३ लाख रुपैयाँ खर्चेर सिर्जनाचोकस्थित सिर्जना सिटी मार्टभित्र सानो ठाउँ लिइन् ।
लक्ष्मीले डेढ वर्षदेखि त्यहाँ फलफूल पसल चलाएकी थिइन् । त्यही पसलबाट दुई छोराछोरी हुर्काउने, पढाउने, र घर खर्च जोहो गर्दै थिइन् ।
२४ भदौको जेन-जी प्रदर्शनका क्रममा कसैले उनको पसलमा आगो झोसिदियो । आगजनीबाट पूरै सिटी मार्ट खरानी भयो । अहिले लक्ष्मी सडकमा आइपुगेकी छिन् ।
जेन-जी आन्दोलनका क्रममा पोखराका सरकारी संरचना, मन्त्री, नेता, व्यवसायीका घर, मल, सुपरमार्केट मात्रै मात्र ध्वस्त भएनन्, लक्ष्मी जस्ता थोरै लगानीमा व्यापार-व्यवसाय चलाइरहेका धेरैजना सडकमा आइपुगे ।
२४ भदौ बिहान पोखरामा कर्फ्यू आदेश जारी भयो । लक्ष्मी लगायतका व्यापारी केही व्यापार गरेर १० बजेपछि पसल बन्द गरी निस्किए ।
दिनभर देशभरजस्तै पोखरामा पनि ध्वंश मच्चिएका दृश्य हेरेका, सुनेका व्यवसायी त्रासमा त थिए तर २-४ लाख लगानी गरेर जीविका धानिरहेका पसलमा पनि कसैले आगो झोस्ला भन्ने कल्पना उनीहरूले गरेका थिएनन् । दिनभरि जोगोएको सिटीमार्ट राति १० बजेतिर जलेर खरानी भयो ।
सिर्जना मिनीमार्टमा विभिन्न ठाउँका नागरिकहरूले सानोसानो लगानी गरी फलफूल तथा तरकारी, खाजा, टेलर्स, कस्मेटिक लगायतका पसल चलाइरहेका थिए ।
मिनी मार्टको सडकतर्फ १० वटा सटर र पछाडितर्फ खुला रूपमा टहराहरूमा पसल चलाइएका थिए । १५६ वटा टहरा तथा सटरमध्ये ८० स्टलमा व्यवसाय थिए ।
मिनीमार्ट भित्रका सबै संरचना जलेर नष्ट भएका छन् । जसका कारण ३० भन्दा बढी परिवार पीडामा छन् । सडकबाट स्टल लिएर व्यवस्थित ब्यापार थालेका साना व्यवसायी भने सडकमा आइपुगेका छन् ।
मार्ट रहेको जग्गा जिल्ला समन्वय समिति मातहत छ । त्यो जग्गा भाडा लिएर सञ्चालन भइरहेको बजार व्यवस्थापनको ठेक्का जंगल लज प्रालिमार्फत विष्णु जीसीले पाएका छन् ।
मिनीमार्टमा फलफूल तथा तरकारीका पसल धेरै थिए भने एउटै छानामुनि सबै खालका सामान पाउने गरी यसको परिकल्पनाअनुसार थोरै लगानी गरेर साना व्यवसायीले गुजारा चलाइरहेका थिए ।
अब यो बजार कहिलेबाट सञ्चालनमा ल्याउन सकिन्छ भन्नेबारे सञ्चालक जीसी नै अनविज्ञ छन् ।
सडकबाट टहरामा पुगेका साना व्यवसायी पुन: सडकमै फर्किएका छन् । उनीहरू जलेको मार्ट बाहिर सडकमा थोरै मात्रामा भए पनि फलफूल तथा तरकारी बेच्न थालेका छन् ।
सामानसहित टहरा जलेपछि लक्ष्मी दु:खको सुस्केरा हाल्छिन्, ‘हामी दिनभरि दु:ख गरेर राति एक किलो चामल किनेर खाने मान्छे हौं । अब चाडबाड आयो, कसरी मान्ने हो ?’ उनी अहिले मण्डीबाट केही फलफूल ल्याएर मार्टकै बाहिरपट्टी सडकमा बेचिरहेकी छिन् ।
पसल जलेपछि सडकमा तरकारी बेचिरहेकी मुना नेपाली भन्छिन्, ‘हाम्रो अहिलेसम्मको लगानी खरानी भयो । बिहान खाए बेलुका के खाम भन्ने अवस्था छ । हाम्रो दु:ख कसले पो देखोस् ।’
२४ भदौ दिनभर विध्वंस मच्चियो । रातको १० बजेतिर अब त सुरक्षित होला भनेर बजारका सुरक्षा गार्ड श्याम रायमाझी पल्टिएका मात्र के थिए, बाहिर ठूलोठूलो आवाज सुनियो । एकैछिनमा धुँवा फैलियो । आगोको लप्काले छुनै लागिसकेको अवस्थामा उनी आत्तिँदै बाहिर निस्किए । त्यतिबेलासम्म बजारभरि आगो सल्किइसकेको थियो ।
भविष्यको सपना र दैनिकी नै जलेपछि ती साना व्यवसायीले भनिरहेका छन्, ‘जेन-जीले त देश परिवर्तन र रोजगारीको माग राखेका थिए । खै कसले गरिबका टहरामा आगो झोस्यो, बुझ्न सकेका छैनौं ।’
मञ्जु नेपालीले पनि सानो लगानीमा तरकारी पसल चलाएको डेढ वर्ष भयो । उनले ३ लाख लगानी गरेर पसल गरेकी थिइन् ।
‘३ लाखमा किनेको पसल खरानी भयो । तरकारी पसल मात्रै होइन, बच्चाको जुत्ता, किताब, लुगासमेत जल्यो,’ मञ्जुले सुनाइन्, ‘बिहान-बेलुका खान नै धौ-धौ भयो ।’
सुस्मिता सुनाम सिर्जनाचोकको मिनीमार्टमा पसल राखेको डेढ वर्षमात्र भएको थियो । उनले सानो कपडा र कस्मेटिक पसल चलाएकी थिइन् । उनकी सासु त्यहीँ सिलाइको काम गर्थिन् । उनको लगानी करिब ९ लाख पुगिसकेको थियो । ७ महिनाको बच्चा च्यापेर त्यही पसलमा आउँथिन्, खटिन्थिन् । अहिले सबै जलेर खरानी भयो ।
उनलाई यो जलाउने काम अहिले आएका जेन-जीले गरेजस्तो लाग्दैन । तर कसले जलायो भन्ने अनुमान पनि गर्न सक्दिनन् । यहाँ राजनीति पनि हुने गरेको र भित्रभित्रै षड्यन्त्र पनि हुन सक्ने उनको आशंका छ ।
पसल खरानी भए पनि उनले थोरैथोरै फलफूल ल्याएर मार्टबाहिर सडकमा बेचिरहेकी छन् । उनलाई पसल खोल्दा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ । ‘आफैं रोडमा आइयो । अब ऋण कसरी तिर्ने हो । क्षतिपूर्तिको आस छ ।’
मुना नेपालीले ब्यापार गर्न थालेको १० वर्ष पुगिसक्यो । पहिले खाजा पसल गरिन् । पछि तरकारी पसल खोलिन् । उनले १५ हजार भाडा तिर्दै आएकी छन् ।
व्यापार बढ्दै गएपछि उनले दुई वटा सटर लिएकी थिइन् । राज्यको कानुनअनुसार चलाउनुपर्छ भनेर दर्ता गरेकी थिइन् । आम्दानीअनुसार करसमेत तिर्दै आएकी थिइन् । तर अस्तीको आन्दोलनका क्रममा सबै सटरहरुमा, सिंगो बजारमै आगो लागेपछि सबै खरानीमा परिणत भयो । करिब १२ लाख रुपैयाँ जति आफ्नो क्षति भएको मुना सुनाउँछिन् ।
‘पसलमा चेकहरू थिए, बच्चाको कापीकिताब सबै जले । आफ्नो घर छैन, भाडामा बस्ने भएपछि बेलुका खान, खान सुत्न कोठा छैन । बच्चाहरूलाई यहीँ ल्याएर ड्रेस लगाएर पठाउँथ्यौं । ड्रेसहरू पनि जल्यो, क्षतिपूर्ति त कसले दिने हैन होला ?,’ मुनाले भनिन्, ‘हाम्रो लगानी भनेकी यति थियो, सबै घाटामा गयो, अब लगानी गर्न सक्ने क्षमता छैन ।’
अहले अलिकति मण्डीबाट फलफूल, तरकारी ल्याएर सडकमै बसेर बेच्ने गरेको उनले सुनाइन् ।
नेताका घर जलेका, सरकारी संरचना ध्वस्त भएका उनले थाहा पाएकी छन्, देखेकी छन् । तर सानोसानो लगानी गरेर जीविका चलाइरहेका व्यापारीको जीवनमाथि कसले आगो झोस्यो र खरानी बनाइदियो उनले अहिलेसम्म बुझ्न सकेकी छैनन् ।
राति १० बजेसम्म शान्त भएको बजारमा एकएक आगो दन्किएको थियो । यो घटनाको राज्यले अनुसन्धान गर्नुपर्ने उनलाई लागेको छ ।
सिर्जना मिनीमार्टका साना व्यवसाय अधिकांश अलग्गै दर्ता छैनन् । त्यसैले बीमा हुने कुरै भएन । सञ्चालकले मार्टकै समेत बीमा गरेका छैनन् । यस्तो अवस्थामा ऋणधन गरेर थोरै लगानी गरेका साना व्यवसायीलाई ठूलो मार परेको छ ।
मिनि मार्टका अघिल्ला सटरबाट १५ देखि १८ हजारसम्म भाडा उठाउँछन्, सडकको मुखमै भएका ती पसलबाट सञ्चालकले एड्भान्ससमेत लिन्छन् । त्यसभन्दा पछाडि रहेका स्टल २ देखि ६ हजार रुपैयाँसम्म मासिक भाडा तिरेर साना व्यवसायीले पसल चलाएर गुजारा चलाइरहेका थिए ।
सञ्चालकलले ६ वर्षका वार्षिक ३ हजार ५१ हजार भाडा तिर्ने गरी जिल्ला समन्वय समितिसँग ६ वर्षका लागि सम्झौता गरेका छन् । सञ्चालक जीसीका अनुसार वार्षिक १० प्रतिशतका दरले भाडा वृद्धि हुन्छ । आजलागीले सञ्चालक आफैं मारमा परेको बताइरहेका छन् भने साना व्यवसायीलाई कसले सुरक्षा गर्छ ? कसैसँग जवाफ छैन ।
प्रतिक्रिया 4