+
+
Shares
जेन-जी आन्दोलन : :

कर्णालीका ५५ संरचनामा क्षति, ८० सवारी जले

कर्णाली प्रदेश प्रहरी कार्यालयले तयार पारेको विवरणअनुसार सुर्खेतमा ४७, जुम्लामा ६ र मुगुमा २ वटा सरकारी तथा निजी भौतिक संरचना क्षति भएको छ ।

यज्ञ खत्री यज्ञ खत्री
२०८२ असोज २ गते १६:४८

२ असोज, सुर्खेत । जेन-जी आन्दोलनका क्रममा कर्णाली प्रदेशका ५५ वटा निजी तथा सरकारी भवनमा क्षति पुगेको छ । २३ र २४ भदौमा भएको आन्दोलनमा अराजक समूहले तोडफोड र आगजनी गर्दा कर्णाली प्रदेशका तीन जिल्लाका सरकारी तथा निजी भवनहरूमा क्षति पुगेको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालयले तयार पारेको विवरणअनुसार सुर्खेतमा ४७, जुम्लामा ६ र मुगुमा २ वटा सरकारी तथा निजी भौतिक संरचना क्षति भएको छ ।

प्रदेश प्रहरीको रिपोर्टअनुसार संघीय सरकारी कार्यालय ६, प्रादेशिक कार्यालय ७, जिल्ला तथा स्थानीय तहका कार्यालय १८, व्यक्तिगत तथा निजी ९, पार्टी कार्यालय १२ वटा र अन्य ३ वटा संघ संस्था पूर्ण, आंशिक र सामान्य क्षति भएको उल्लेख गरिएको छ ।

त्यस्तै संघीय १, प्रादेशिक ४, जिल्ला तथा स्थानीय ७, व्यक्तिगत ४, अन्य संघसंस्था १ र पार्टी कार्यालय ७ वटा पूर्ण रूपमा जलेर नष्ट भएको कर्णाली प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक केदार खनालले जानकारी दिए । ‘कर्णालीका तीन जिल्लामा क्षति पुगेको छ । सबैभन्दा बढी सुर्खेतमा क्षति छ,’ उनले भने ।

प्रदेशका १० जिल्लामध्ये सुर्खेत, जुम्ला र मुगुमा रहेका सरकारी कार्यालय, संस्थाका कार्यालय, राजनीतिक दलका कार्यालय, सरकारी निवास र जनप्रतिनिधिका निजी निवासमा तोडफोडसँगै आगजनी भएको छ ।

प्रदेशका अन्य ७ जिल्लाहरूमा आन्दोलनकारीले प्रदर्शन गरे पनि सार्वजनिक र निजी सम्पत्ति तोडफोडका घटना नभएको प्रदेश प्रहरीले जनाएको छ ।

आन्दोलनपछि क्षतिग्रस्त भौतिक संरचना तथा अन्य क्षतिको विवरण सङ्कलन गरेको प्रदेश प्रहरीले सबैभन्दा बढी क्षति सुर्खेतमा भएको बताएको छ ।

आन्दोलनकारीले प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेका कर्णाली प्रदेशसभा, सिटी हल, वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, नापी कार्यालय, प्रदेश लेखा नियन्त्रकको कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, झुप्रा बृहत् खानेपानीको कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धानको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्य न्यायाधिवक्ताको कार्यालय, वीरेन्द्रनगरका वडा नम्बर १ देखि १२ का वडा कार्यालय तोडफोड गर्नुका साथै जलाइदिएका छन् ।

उच्च सरकारी वकिलको कार्यालय, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको कार्यालय, श्रीकृष्ण तथा साधारण माध्यमिक विद्यालय, मुख्यमन्त्रीको सरकारी निवास, कृषि मन्त्री, भौतिक मन्त्री निवास, हिमाली पुस्तकालय वीरेन्द्रनगर, नेपाल रेडक्रस सोसाइटी भैरवस्थान उपशाखा लगायतका सार्वजनिक कार्यालयहरूमा तोडफोडसँगै आगजनी भएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जनमोर्चाको पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको छ ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निवास, मुख्यमन्त्री यामलाल कँडेलको निवास, वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल र उपप्रमुख नीलकण्ठ खनालको निवास, प्रदेश अस्पतालका पूर्वनिर्देशक डा. डम्बर खड्काको निवास, विष्णु खड्काको माया पेट्रोल पम्पमा तोडफोडसँगै आगजनी गरिएको छ । आन्दोलनकारीले प्रदेशसभामा रहेको एनआईसी एसिया बैंकको एटीएममा आगजनी गरेका छन् ।

प्रदेश प्रहरीको विवरण हेर्दा प्रदेशमा ८० वटा सवारी साधनमा क्षति पुगेको छ । जसमा ७२ वटा सरकारी र ८ वटा निजी गाडीमा आंशिक र पूर्ण क्षति भएको छ । ११ वटा तीनपाङ्ग्रे र २८ वटा दुईपाङ्ग्रे सरकारी गाडीमा पूर्ण क्षति भएको छ । २१ वटा तीनपाङ्ग्रे र १२ वटादुई पाङ्ग्रेमा आंशिक क्षति भएको छ ।

त्यस्तै दुईवटा तीनपाङ्ग्रे र पाँचवटा दुईपाङ्ग्रे निजी सवारी साधनमा पूर्ण क्षति भएको छ । एउटा दुईपाङ्ग्रे निजी सवारीमा आंशिक क्षति भएको प्रदेश प्रहरीले जनाएको छ ।

जेन-जी आन्दोलनका क्रममा प्रदेशभर १३ जना सर्वसाधारण घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको र विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रदेशमा कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

व्यापारीदेखि विद्यालयसम्म प्रभावित

भ्रष्टाचारविरुद्ध जेन-जीले गरेको आन्दोलनले कर्णालीमा राजनीति मात्रै नभई सामाजिक, शैक्षिक, आर्थिक र स्वास्थ्य लगायतका क्षेत्रमा पनि ठूलो क्षति पुर्‍याएको छ । आन्दोलन हिंसात्मक बन्दा त्रसित शहरी क्षेत्रका सामुदायिक तथा निजी विद्यालय बन्द भए । कतिपय विद्यालय अझै खुल्न सकेका छैनन् ।

प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको जननमुना माध्यमिक विद्यालयले सूचना नै जारी गरेर पठनपाठन बन्द गरेको छ । उक्त विद्यालयले ११ कात्तिकसम्मका लागि पठनपाठन बन्द गरेको प्राचार्य यामबहादुर श्रेष्ठले जानकारी दिए ।

वीरेन्द्रनगर बजार क्षेत्रका अधिकांश विद्यालयहरूले पठनपाठन बन्द गरेका छन् । बालबालिकाको सुरक्षालाई ध्यानमा राखेर विद्यालय बन्द गरिएको जनाइएको छ ।

मध्यपश्चिम विश्वविद्यालयले नियमित सञ्चालन हुने परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरी पठनपाठन बन्द गरेको छ । केही निजी विद्यालयहरूले भने आइतबारदेखि पठनपाठन सुरु गरेका छन् ।

जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली प्रकट गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल, सुर्खेतले जिल्लाका सामुदायिक विद्यालय चार दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

महासंघका अध्यक्ष चन्द्राकुमारी खड्काले जारी गरेको विज्ञप्तिमा बन्दका कारण हुन नसक्ने पठनपाठनका दिनहरूलाई स्थानीय बिदासँग मिलान गर्न विद्यालयहरूलाई अनुरोध गरिएको छ ।

जेन-जी आन्दोलनबाट कर्णालीको निजी क्षेत्र पनि प्रभावित भएको छ । आन्दोलनकारीले विभिन्न कार्यालयहरूमा तोडफोड तथा आगजनी गरेका छन् । होटेल तोडफोड भएका कारण व्यापार-व्यवसाय शिथिल भएको छ । धेरैको रोजगारी गुमेको छ ।

यो समय व्यापार व्यवसायका हिसाबले अनुकूल मानिन्छ । मानसरोवर जानका लागि आन्तरिक मात्र नभई बाह्य पर्यटक पनि प्रदेशको राजधानी वीरेन्द्रनगर भएर जाने गरेका छन् ।

आन्दोलनका कारण निजी क्षेत्रलाई ठूलो धक्का लागेको कर्णाली प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले बताए । उनका अनुसार तोडफोड र आगजनीका कारण निजी क्षेत्रको व्यवसाय धरापमा परेको छ ।

उत्पन्न परिस्थितिका कारण बेरोजगारी दर बढेको, पर्यटन प्रबर्द्धनमा धक्का पुगेको, महँगी बढ्न सक्ने सम्भावनासमेत बढेको जनाइएको छ । चाडपर्वका लागि आवश्यक पर्ने धेरैजसो सामान भन्सारमा रोकिएका छन् । यो परिस्थितिका कारण आर्थिक गतिविधि ठप्प बनेको अध्यक्ष शाहीले बताए ।

बितण्डा मच्चाउनेहरूको खोजी

जिल्ला प्रहरी कार्यालय सुर्खेतले जेन-जी आन्दोलनमा घुसपैठ गरेर बितण्डा मच्चाउनेहरूको खोजी कार्य थालेको छ । आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरूको खोजी थालिएको छ ।

प्रहरीले सुर्खेत जिल्लाका विभिन्न स्थानमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी र लुटपाटमा संलग्नहरूको फोटो भिडियोसमेत पठाउन अनुरोध गरेको छ ।

‘आम सर्वसाधारणमा त्रास सिर्जना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्वीर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिंकहरू उपलब्ध गराउन अनुरोध गरिन्छ,’ सुर्खेत प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आन्दोलनका नाममा अराजकता फैलाउनेहरूको खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले बताए । उनले निजी तथा सार्वजनिक सम्पत्तिमाथि तोडफोड, आगजनी र लुटपाट मच्चाउनेहरूलाई कानुनी दायरामा ल्याएर कसुरअनुसार कारबाही गरिने बताए ।

सामाजिक सञ्जाल बन्द तथा भ्रष्टाचार र अनियमितको विरुद्धमा जेन-जीले २३ भदौदेखि थालेको आन्दोलनमा सरकारले अत्यधिक बल प्रयोग गरेर सोही दिन १९ जनाको मृत्यु भएको थियो । त्यसको प्रतिकारस्वरूप दोस्रो दिन सडकमा उत्रिएका जेन-जीले कर्णालीका महत्त्वपूर्ण सरकारी निकायका दस्तावेजसमेत ध्वस्त पारेका थिए ।

यसका साथै विभिन्न सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको निजी सम्पत्तिमा पनि अराजक समूहले तोडफोड र लुटपाट गरेको छ ।

लेखक
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?