+
+
Shares

अरू नेता बालुवाटारमै छाडेर ओली एक्लै चढेका थिए सेनाको हेलिकप्टर

आधुनिक नेपालको इतिहासमा महत्वपूर्ण अर्थ राख्नेगरी पछिल्लो एक साता गणतन्त्रपछिको सबैभन्दा ठूलो विद्रोह भयो । शक्तिमान ठानिएका प्रधानमन्त्री सेनाको सहायतामा निवासबाटै भाग्न पुगे ।

बिनु सुवेदी बिनु सुवेदी
२०८२ असोज २ गते २२:२९

२ असोज । गत भदौ २४ गतेदेखि नेपाली सेनाको सुरक्षा घेरामा शिवपुरीमा बसिरहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बिहीबार भक्तपुरको गुण्डु सरे । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतको समन्वय र व्यवस्थापनमा गुण्डु सरेका ओलीका लागि तीनवटा घर भाडामा लिइएको छ ।

ओली भक्तपुर सर्नुअघि एमालेका नेताहरू बिहीबार उक्त घर निरीक्षण गर्न गुण्डु पुगेका थिए । एमाले पोलिटब्यूरो सदस्य बस्नेतले ओलीलाई भव्य समारोहबीच सार्वजनिक गर्ने बताएका छन् ।

ब्यारेकबाट बाहिरिए पनि ओली सार्वजनिक भइसकेका छैनन् ।

भदौ २४ गते दिउँसो नेपाली सेनाको हेलिकप्टर चढेर सेनाको ब्यारेकमा जानुअघि भने प्रधानमन्त्री ओली बिहानैदेखि पार्टी नेताहरू र चारवटै सुरक्षा संयन्त्रका प्रतिनिधिहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा पालैपालो संवादमा थिए ।

२३ गते भएको जेनजी आन्दोलनमा सुरक्षाकर्मीको गोली लागेर १९ जना प्रदर्शनकारीको निधन भइसकेको थियो । उक्त घटनाको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री रमेश लेखकले त्यसैदिन साँझ राजीनामा दिइसकेका थिए ।

२३ गते साँझ मन्त्रिपरिषद् बैठक बस्नुअघि र बैठक सकिएपछि पनि बसेको सुरक्षा समितको बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले मुलुकको परिस्थिति संकटउन्मुख रहेको भन्दै प्रधानमन्त्रीबाटै राजनीतिक निकास हुनुपर्ने बताएका थिए, तर ओलीले त्यसलाई अनदेखा गरिदिए ।

बरू राजीनामा दिएका गृहमन्त्री लेखकलाई फिर्ता लिन भने । साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रदर्शनकारीहरूले उठाएका २ मागमध्ये एक- सामाजिक सञ्जाल तत्काल नखुल्ने बताए ।

उनी त्यसदिन कुनै १९ जना प्रदर्शनकारी राज्यकै गोली लागेर मारिएकोमा रत्तिभर संवेदनशील देखिएन् । ओलीले त्यस दिनको मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गरेको असंवेदनशील र अमानवीय हठबारे उनकै मन्त्रिपरिषद्का सदस्यहरूले काफी सार्वजनिक गरिसकेका छन् ।

उता कांग्रेसमा भने सामाजिक सञ्जाल बन्द अनि त्यसमा उठेका विरोधबारे सरकारी रवैयाबारे कडा समीक्षा हुन थालिसकेको थियो । नेताहरूले एमालेसँगको सत्ता सहकार्यबारे नै पुनर्विचार गर्ने प्रस्ताव राख्न थालिसकेका थिए ।

यस्तो पृष्ठभूमिमा मन्त्रिपरिषद् बैठकलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवासँग ओलीको भेट भयो । देउवाले स्थितिको संवेदनशीलताबारे आफ्ना बुझाइ राख्दै ओलीलाई उदार बन्न आग्रह गरे ।

देउवासँग भेटेपछि बल्ल ओली प्रतिबन्ध लगाइएका सामाजिक सञ्जाल खोल्न तयार भए । ओली तयार त भए तर त्यस बेलासम्म धेरै कुरा ढिलो भइसकेको थियो ।

त्यसपछि सूचना प्रविधि तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङले मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै सामाजिक सञ्जाल खोल्ने निर्णय भएको बताए । सरकारले यस्तो निर्णय सार्वजनिक गर्दासम्म देशका होनाहार युवाहरूको ज्यान गइसकेको थियो, आक्रोशको ज्वाला बलिसकेको थियो ।

‘प्रधानमन्त्री छोड्ने पक्षमा अध्यक्ष कमरेड विल्कुल हुनुहुन्थेन,’ एमाले स्रोत भन्छ, ‘अरू नेताहरूले पनि छोड्नुहुँदैन भनेपछि विष्णु कमरेड करिब-करिब एक्लो हुनुभएछ ।’

जेनजीको आन्दोलनलाई सोसल मिडिया बन्द निर्णयले उत्तेजित बनाएको पक्कै हो तर तिनको माग सामाजिक सञ्जालको प्रतिबन्ध हटाउनुपर्छ भन्नेमात्रै थिएन । उनीहरूले मुलुकमा ब्याप्त भ्रष्टाचारको अन्त्य र सुशासनको सुरूवातका निमित्त आवाज उठाएका थिए ।

त्यसैले राज्यले लगाएको कर्फ्यू तोड्दै युवाहरू आन्दोलनमा उत्रिए, अराजकता मच्चाउन मौका पर्खिरहेका अरूहरूले विध्वंशका लागि उपयुक्त मौका पाए । आक्रोश र आगोका लप्काहरूले २४ गते बिहानैदेखि काठमाडौं दन्किन थालिसकेको थियो, असर देशैभरी परिरहेको थियो ।

२४ गते बिहान प्रधानमन्त्री निवास बालुवाटारमा एमालेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली र विष्णु रिमाल भेला भइसकेका थिए । उक्त छलफलमा पौडेलले ‘यति धेरै धनजनको क्षति भइसक्यो, सुरक्षा निकायको रिपोर्टिङ पनि राम्रो छैन अब छोडिदनुपर्छ होला’ भनेका थिए ।

तर पोखरेल, रिमाल र ज्ञवालीले बिचैमा प्रतिवाद गरे ।

‘प्रधानमन्त्री छोड्ने पक्षमा अध्यक्ष कमरेड विल्कुल हुनुहुन्थेन,’ एमाले स्रोत भन्छ, ‘अरू नेताहरूले पनि छोड्नुहुँदैन भनेपछि विष्णु कमरेड करिब-करिब एक्लो हुनुभएछ ।’

प्रदर्शनकारीहरूले बिहान ९ बजेदेखि नै नेताहरूको घर खोजीखोजी तोडफोड र आगजनी गर्न सुरु गरिसकेका थिए । प्रहरी बिटहरूमा आक्रमण सुरु भइसकेको थियो, प्रदर्शनकारीको भीडलाई एक्लै थेग्न नसक्ने अवस्थामा पुगेका प्रहरीलाई आफ्नै ज्यान जोगाउन हम्मे परेको थियो ।

बिहान १० बजेतिर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरू बालुवाटार पुगे । त्यहाँ चारै सुरक्षा प्रमुखको आवाज एउटै थियो- परिस्थिति नियन्त्रणबाहिर गइसक्यो, प्रधानमन्त्रीज्यूले तुरून्तै राजीनामा दिनुपर्‍यो ।

तर ओली टसको मस भएनन् । बरू सुरक्षाको जिम्मा लिएर पनि किन सुरक्षा दिन नसकेको भनेर उनीहरूमाथि नै जाइलागे ।

‘तपाईंहरूले आफ्नो दायित्व पुरा गर्नुस्, पाएको जिम्मेवारी पुरा गर्नुस्,’ ओलीको भनाइ उद्धृत गर्दै उच्चस्रोतले भन्यो, ‘मेरो काँधमा राष्ट्रको जिम्मेवारी छ, त्यो पुरा गर्न दिनुस् ।’

त्यसबेला ओली र प्रधानसेनापति अशोकराज सिग्देलबीच निकैबेर गलफती चल्यो । ‘अघिल्लो दिन राति राजीनामा दिएर निकाश निकालेको भए सेनाले उपाय निकाल्थ्यो । सुरक्षा गर्न चुक्नपर्ने स्थिति ओलीबाटै सृजना भएको हो,’ घटनालाई नजिकबाट हेरेका एक उच्च अधिकारीले भने ।

साँझ ६ बजेका लागि सर्वदलीय बैठक बोलाएर बालुवाटारमा प्रधानसेनापतिसँग गलफती गरिरहेका ओली र प्रधानसेनापतिबीचमा ‘राजीनामा दिनुपर्ने र दिन्नँ’ भन्ने हठ निकैबेर चल्यो । त्यसबेलासम्म प्रदर्शनकारी प्रधानमन्त्री निवास बालुवाटारमा भेला भइसकेका थिए ।

तीन नम्बर गेट तोडेर पार्किङसम्म पुगेका प्रदर्शनकारीहरूले सवारीसाधनमा आगो लगाउन थालिसकेका थिए, २ नम्बर गेट हल्लिसकेको थियो । एक नम्बर गेटबाहिर पनि प्रदर्शनकारीहरूको ठूलो भीड जम्मा भइसकेको थियो ।

ओली बल्ल झस्किए ।

एमालेका ती नेता भन्छन्, ‘अध्यक्ष संवदेनाहीन हुनुहुन्छ भन्ने त बेलाबेला भोगिएकै थियो, तर यति असंवेदनशील हुनुहुन्छ भन्ने सोचिएको थिएन ।’

उनले नेपाली सेनासँग सुरक्षा मागे । प्रधानसेनापति सिग्देलले उही कुरा दोहोर्‍याए- पहिले राजीनामा आओस् अनि बल्ल सुरक्षाको प्रत्याभूति हुन्छ ।

ओलीले तुरून्तै राजीनामा प्रधानसेनापति सिग्देलको हातमा थमाए, राजीनामा तत्कालै राष्ट्रपति भवन शितलनिवास पुग्यो र स्वीकृत पनि भयो ।

‘भाग्नुपर्ने भएपछि बल्ल प्रधानमन्त्रीले राजीनामा दिनुभयो । जननिर्वाचित संसद्‌बाट निर्वाचित प्रधानमन्त्रीले आफ्नो राजीनामा पनि राष्ट्रपतिलाई बुझाउन सक्नुभएन । आर्मीमार्फत बुझाउन पर्‍यो,’ त्यसदिनको घटनाबारे व्याख्या गर्दै एमालेका एक नेताले भने, ‘नेपाली राजनीतिमा विरलै हुने घटना हामीले ब्यहोर्‍यौं ।’

ओलीको राजीनामा स्वीकृत भएपछि नेपाली सेनाका दुईवटा हेलिकप्टर प्रधानमन्त्री निवास बालुवाटारमा अवतरण भए । पहिलो हेलिकप्टरमा ओली, उनकी धर्मपत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश बज्राचार्य र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारसमेत रहेका एमाले उपमहासचिव विष्णु रिमाल चढेर शिवपुरी गए । दोस्रोमा चारवटा सुरक्षा निकायका प्रमुखहरू चढेर सेनाको हेडक्वार्टर फर्किए ।

‘जति देश र जनता पनि अप्ठ्यारोमा त आफू र आफ्नै परिवार हुने रहेछ नि, त्यस्तो बेलामा हेलिकप्टर मगाएर आफू राधिका शाक्य रिमाल र राजेश ब्रजाचार्यलाई लिएर उहाँ जानुभएछ, त्यहीँ भएका अरू नेताहरूको सुरक्षाबारे एकपटक चासो पनि राख्नुभएनछ,’ एमालेका ती नेता भन्छन्, ‘अध्यक्ष संवदेनाहीन हुनुहुन्छ भन्ने त बेलाबेला भोगिएकै थियो, तर यति असंवेदनशील हुनुहुन्छ भन्ने सोचिएको थिएन ।’

प्रधानमन्त्री ओली श्रीमती, सल्लाहकार र स्वकीयसहित एउटा हेलिकप्टर र सुरक्षा निकायका प्रमुखहरू अरु नेताहरूलाई उद्धार गर्ने आदेश छैन भन्दै अर्को हेलिकप्टरमा चढेर गएपछि बिलखबन्दमा परे बालुवाटारमै रहेका विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली ।

उनीहरू भित्रि बाटोबाटै भागेर प्रधानमन्त्री निवासको छेवैमा रहेको सभामुख निवास पुगे । त्यहाँ सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल थिए । त्यही बेला सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष दाहाललाई लिन नेपाल प्रहरीको २ वटा गाडी सभामुख निवास बालुवाटार आइपुगे ।

उनीहरू पनि प्रहरीको त्यही गाडीमा चढेर प्रहरी प्रधान कार्यालय नक्सालतिर सोझिए । तर बालुवाटारबाट नक्साल पुग्दा बाटोमा पर्ने वर्णबास होटेल तोडफोड गर्न प्रदर्शनकारीहरू भेला भइसकेका थिए । उक्त होटेल नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंको हो ।

प्रहरीले फेरि गाडी फर्काएर सभामुख निवासमै ल्यायो । केहीबेरमा प्रदर्शनकारीहरू त्यहाँबाट हिंडेको थाहा पाएपछि बल्ल प्रहरीले यी नेताहरूलाई उद्धार गरेर प्रहरी प्रधान कार्यालय पुर्‍यायो ।

साँझ ७ बजेपछि भने प्रहरीले पनि ‘अब आफ्नो व्यवस्था आफ्नै गर्नुस्’ भनेपछि त्यहाँ रहेका नेताहरू सुरक्षा निकायको निगरानीमा आफ्नै व्यवस्थापनमा बसेका थिए ।

‘भन्न त बाहिर आर्मीले सुरक्षा दिएर शिवपुरी पुर्‍याएको भनेर चर्चा चल्यो, तर अन्तिम समयमा प्रधानमन्त्रीले छोडेपछि र सुरक्षाकर्मीले पनि व्यवस्थापन गर्नुस् भनेपछि उहाँहरू सुरक्षा निकायको निगरानीमा आफ्नै व्यवस्थापनमा बस्नुभएको हो ।’

अहिले एमाले नेताहरूले भन्न त ‘जेनजी आन्दोलनभन्दा पनि प्रतिक्रियावादीहरूको षडयन्त्रका कारण २३ र २४ गतेको घटना भएको हो’ भनिरहेका छन् । घटनाको पछाडि ओलीलाई कारक मान्न नहुने तर्क उनीहरूको छ ।

सरकारकै अराजकताले राज्यमाथि जनताको भरोसा भासिएको हो भन्ने स्वीकार गर्न उनीहरू तयार छैनन् । बुधबार संविधान दिवस मनाउने तयारीका लागि भन्दै डाकिएको विभागहरू र जनवर्गीय संगठनहरूको बैठकमा महासचिव शंकर पोखरेलले यसको स्पष्ट संकेत गरिसकेका छन् ।

‘बाहिर मान्छे आए ढुंगामुठा गरे, पुलिसले गोली चलायो । प्रधानमन्त्रीको यसमा कुनै पनि गल्ती छैन,’ महासचिव पोखरेलको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘संकटका बेला कुनै पनि नयाँ विषयमा प्रवेश गर्न हुन्नँ । वाद हुन्छ प्रतिवाद हुन्छ यसले त झन पार्टीलाई विघटनतिर लान्छ ।’

सेनाले उद्धार गरेको थिएन प्रचण्ड र माधव नेपाललाई पनि

कांग्रेस र एमालेको गठबन्धनमा धेरै कुराहरू मिलिरहेका थिएनन तर सरकार चलिरहेको थियो । पटकपटक प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा नयाँ सरकार बनाउने भनेर कांग्रेस र माओवादीबीच संवाद पनि चलिरहेको थियो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई उन्मुक्ति दिन माओवादीले २ बुँदे सहमति गर्नुको अन्तर्य पनि कांग्रेस र माओवादीको गठबन्धनमा सरकार बनाउने पहल थियो ।

माओवादीका एक नेताका अनुसार त्यसबेला ओलीले आफूले कुर्ची छोड्न परे नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु देउवालाई प्रकाउ गर्ने बताएपछि कांग्रेस हच्किएको थियो ।

‘२ बुँदे सहमति हुँदा भत्किने चरणमा पुगेको थियो । त्यसबेला ओलीले देउवालाई पक्राउ गरेर जान्छु भनेपछि फेरि कांग्रेस पछि हट्यो,’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकट एक नेताले भने, ‘२३ गतेको घटनामा १९ जनाको ज्यान गएपछि नै अध्यक्ष कमरेडले सरकार ढल्छ अब नयाँ ढंगले जानुपर्छ भनेर छलफल थाल्नुभएको थियो ।’

उनले पार्टीकै नेताहरूसँग पनि अब सरकार ढल्छ भन्दै आफूहरू नेतृत्वका लागि तयार हुनुपर्ने ब्रिफिङ पनि गरेका थिए । प्रचण्डले २३ गते साँझ नै कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेर ‘तपाईंहरू अझै पनि सत्तामै टाँसिने हो’ भनेर सोधेका थिए ।

जवाफमा देउवाले प्रचण्डलाई राजीनामा दिन आग्रह गर्दा पनि ओलीले मान्दै नमानेको जवाफ दिएको प्रचण्ड सचिवालयका एक सदस्यले बताए । भदौ २४ गते बिहानै विपक्षी दलहरूको बैठकका लागि सिंहदरबार पुगेका प्रचण्ड, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरू सिंहदरबारमै थिए ।

तर, आन्दोलनकारीहरूले सिंहदरबार पनि जलाउन आउँदैछन् भन्ने थाहा पाएपछि उनीहरू त्यहाँबाट निस्किए । ‘सेनाले उद्धार गरेर शिवपुरी पुर्‍याएको भनेर प्रचार गरियो,’ माओवादीका एक नेताले भने, ‘अध्यक्ष प्रचण्डसहितका विपक्षी दलका नेताहरू आफ्नै व्यवस्थापनमा त्यहाँबाट बाहिरिनु भएको हो । अध्यक्ष प्रचण्ड बानेश्वरमा बस्नुभएको थियो ।’

यद्यपि उनी नेपाली सेनाको निगरानीमा भने थिए । २५ गते राष्ट्रपति निवासमा नयाँ सरकार गठनबारे छलफल सुरु भयो । सेनाले राष्ट्रपतिलाई पनि राजीनामा दिन दबाब दिइरहेको खबरहरू सार्वजनिक भए । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देलसहितका नेताहरूले जेनजीका प्रतिनिधिसँग वार्ता गरिरहेका थिए ।

जेनजीका प्रतिनिधि बनेर अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याल पनि वार्तामा गएका थिए । २६ गते राष्ट्रपति पौडेलले खबर गरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, उपमहासचिव वर्षमान पुन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू शीतलनिवास पुगे ।

उनीहरूले माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कांग्रेस महामन्त्री गगन थापा, एमाले महासचिव शंकर पोखेरलगायतसँग पनि फोन मार्फत् समन्वय गरिरहेका थिए । राष्ट्रपति निवासमा पहिले प्रतिनिधिसभा विघटन गर्ने कि पहिले सरकार बनाउने भन्ने कुरामा फेरि लामो गलफती भयो ।

यिनै नेताहरूसँगको छलफलमा कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको लिखित सिफारिसमा नयाँ सरकार बनाउने र उक्त सरकारले प्रतिनिधि सभा विघटन गरेर चुनावको मिति घोषणा गर्ने सहमति बल्लबल्ल जुट्यो ।

ओलीले उक्त सिफारिस गरेपछि सुशीला कार्की भदौ २७ गते राति अन्तरिम सरकारको प्रधानमन्त्री बनिन् ।

२६ गते राति ९ बजे शीतलनिवास छिरेका नेताहरू बिहान ६ बजेमात्रै फर्किएका थिए । नेताहरूले आफूहरू शिवपुरी नभएर राजनीतिक संवादमै रहेको नेताहरूले बताएका छन् ।

‘२३ गतेदेखि आजसम्म आर्मीको असँग पनि मेरो भेट भएको छैन,’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ उद्धृत गर्दै उनी निकट एक नेताले भने ।

घटनापछि नेपाल र प्रचण्ड भने सार्वजनिक भइसकेका छन् । उनीहरूले फागुन २१ गते निर्वाचन हुनुपर्ने भन्दै सार्वजनिक अपिल पनि गरिरहेका छन् ।

लेखक
बिनु सुवेदी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?