
३ असोज, काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले नयाँ पुस्ताको चाहाना अनुसार देश विकास हुने विश्वास व्यक्त गरेका छन् ।
आगामी दिनमा देशमा समुन्नत लोकतन्त्र उन्मुख संवैधानिक अभ्यास विकास भई नेपालीको चाहना र आकांक्षाले नयाँ मार्गचित्र तय गर्ने उनको विश्वास छ ।
एघारौं संविधान दिवसका उपलक्ष्यमा आज शुभकामना सन्देश जारी गर्दै रेग्मीले तोकिएको समयमा निर्वाचन सम्पन्न भई अत्यधिक नयाँ पुस्ता र नयाँ वातावरणले ओतप्रोत भएको संसद् निर्माण भई नयाँ पुस्ताकै चाहानाअनुसार देश विकास हुने विश्वास व्यक्त गरेका हुन् ।
वर्तमान सरकार गठनसँगै भ्रष्टाचारमुक्त सुशासन र नागरिकमा नयाँ आशा जागेको पनि उनले उल्लेख गरेका छन् ।
नेपालको इतिहासमा जेनजी युवा आन्दोलन नयाँ प्रकृतिको भएको र यसले एउटा विशिष्ट प्रकृतिको ‘टर्निङ प्वाइन्ट’ ल्याएको उनको भनाइ छ । तर इतिहासदेखि नै नेपाल र नेपालीको पहिचानका रूपमा रहेका महत्त्वपूर्ण राष्ट्रिय सम्पत्ति, सम्पदा र धरोहरहरूमा नोक्सानी पुग्नु निकै दु:खद् विषय भएको उनले बताएका छन् ।
अध्यक्ष रेग्मीले सरकारले घटनामा भएको जनधनको क्षतिको निष्पक्ष छानबिन र दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउने अपेक्षा र विश्वास पनि व्यक्त गरेका छन् ।
आज संविधान जारी भएको एक दशक पूरा भए पनि संविधानले परिकल्पना गरेको र नेपाली समाजले अपेक्षा गरेको भ्रष्टाचारमुक्त शासन, रोजगारी, शिक्षा, स्वास्थ्य र समृद्धिका कुरा गौण हुन पुग्दा जनतामा निराशा र आक्रोश व्याप्त हुँदै गएको उनले उल्लेख गरेका छन् । त्यसले गर्दा जेनजी अर्थात् नयाँपुस्ता बढी नै निराश र आक्रोशित बनेको भन्दै उनले गत भदौ २३ र २४ गतेको घटना त्यसकै कारण भएको उल्लेख गरेका छन् ।
प्रतिक्रिया 4