+
+
Shares

आफ्नै पार्टी कार्यालयमा संविधान दिवस मनाउँदै दलहरू

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३ गते ७:००

३ असोज, काठमाडौं । जेनजी युवा आन्दोलनपछि रक्षात्मक अवस्थामा पुगेका प्रमुख राजनीतिक दलहरुले आ–आफ्ना पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरी संविधान दिवस मनाउँदैछन् । जेनजी युवा आन्दोलनको क्रममा आगजनी भएका आ–आफ्नै पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरी दिवस मनाउन लागिएको हो ।

जेनजी युवा आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भए पनि लोकतान्त्रिक गणतन्त्र माथि आक्रमण हुनसक्ने आशंकामा रहेका दलहरुले संविधान रक्षाका लागि खबरदारीसहित दिवस मनाउने बताएका छन् ।

नेपाली कांग्रेसले ७७ वटै जिल्लामा शान्तिपूर्ण तरिकाले संविधान हातमा लिएर संविधान दिवस मनाउन सर्कुलर जारी गरेको थियो । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काका अनुसार ‘संयमतापूर्वक, दृढतापूर्वक संविधानको रक्षा गर्ने जिम्मेवारीलाई शीरमा राखेर संविधान दिवस मनाउने निर्णय’ भएको छ ।

यसैगरी नेकपा एमालेले काठमाडौंको हकमा जेनजी आन्दोलनको क्रममा आगजनी भएको पार्टी केन्द्रीय कार्यालय परिसरमा संविधान दिवस मनाउने तयारी गरेको छ ।

कार्यक्रम बिहान ८ बजे आयोजना गरिएको छ । सो कार्यक्रममा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन् । जेनजी युवा आन्दोलनपछि सरकार छाड्न बाध्य भएका ओली सैनिक व्यारेकको बसाइँपछि आज पार्टी कार्यालयमा सार्वजनिक हुने तयारी छ ।

महासचिव शंकर पोखरेलले आन्दोलनका नाममा संवैधानिक व्यवस्थालाई कमजोर बनाउन सुनियोजित षड्यन्त्र भइरहेको उल्लेख गर्दै संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि संविधान दिवसको कार्यक्रम आयोजना हुने बताएका छन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रको हकमा च्यासलस्थित पार्टी कार्यालयमा र राजधानी बाहिर ७७ वटै जिल्लामा संविधान तथा लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि वृहत कार्यक्रम आयोजना गरेर दिवस मनाइने बताए ।

नेकपा माओवादी केन्द्रले पनि बिहान ८ बजे नै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा संविधान दिवसको कार्यक्रम आयोजना गरेको छ । जेनजी आन्दोलनमा आगजनी भएको पार्टी केन्द्रीय कार्यालय परिसरमा पार्टी अध्यक्ष प्रचण्डको सहभागितामा कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाउन लागिएको हो ।

संविधान माथि खतरा पैदा भएको भन्दै माओवादीले हालसम्मको राजनीतिक उपलब्धि रक्षाका लागि खबरदारीसहित संविधान दिवस मनाउने जनाएको छ । नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयका सचिव गणेशमान पुनले संविधान र व्यवस्थाको रक्षाका लागि आह्वान गर्दै दिवस मनाउने जानकारी दिए । उनले शहीदहरुको सम्झनामा दीप प्रज्वलन लगायतका कार्यक्रम पनि आयोजना गर्ने बताए ।

नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलका अध्यक्ष पुष्प ओलीले बदलिँदो परिस्थिति अनुसार संविधान र व्यवस्थाको रक्षाका लागि खबरदारी गर्दै दिवस मनाउने बताए । ‘ठूलो बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्नुपर्ने दायित्व छ, व्यवस्था बचाउनुपर्ने छ,’ वाईसीएल अध्यक्ष ओलीले भने, ‘त्यसैले आन्दोलनको नाममा हुने अराजकताको विरोध गर्दै, संविधानलाई जोगाउँदै युवा आन्दोलनको मूल मर्मलाई सम्बोधन गर्न आह्वान गर्दै दिवस मनाउने तयारी गरेका छौं ।’

नेपालको संविधान घोषणा भएको एक दशक पुगेको अवसरमा यस वर्ष भव्यताका साथ उत्सव मनाउने तयारीसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन गरिएको थियो । तर ७४ जनाको ज्यान जाने गरी जेनजी युवा आन्दोलनले राजनीतिक उथलउपुथलपछि सामान्य कार्यक्रम गरेर दिवस मनाउने तयारी गरिएको छ ।

‘अघिल्ला वर्ष जस्तै यस वर्ष पनि संविधान दिवसको अवसरमा टुँडिखेलस्थित सैनिक मञ्चमा कार्यक्रम आयोजना हुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलको अध्यक्षतामा बिहान साढे आठ बजे आयोजना हुने कार्यक्रमलाई अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन् ।

तर सैनिक मञ्चको कार्यक्रममा विगतको जस्तो तामझाम नगरी सामान्य तरिकाले दिवस मनाउने तयारी गरिएको छ । विशेष राजनीतिक परिस्थिति सिर्जना भएको भन्दै साँस्कृतिक झाँकीसहितको उत्सवमय तरिकाले दिवस नमनाइने गृह मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलले पनि आज अपराह्न साढे ३ बजे शीतल निवासमा कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाउने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?